अब्बल बन्दै सामुदायिक विद्यालय
१४ साउन २०७४
•
२४ मिनेट पाठ
अब्बल बन्दै सामुदायिक विद्यालय
काठमाडौं- दरिलो व्यवस्थापनका कारण काठमाडौं उपत्यकाका सार्वजनिक विद्यालय काँचुली फेर्दै छन्। गुणस्तरमा सुधारसँगै नमुना बन्दै छन्। प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका हुन्। जसको परिणाम अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ। आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउन उनीहरूबीच तँछाडमछाड चलेको छ। 

प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन्। जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ।

पालीसँगै अंग्रेजी माध्यम

नेपालीसँगै अंग्रेजी माध्यमबाट पनि पठनपाठन, प्रारम्भिक बालकक्षादेख ३ कक्षासम्म ग्रेड टिचिङ र शनिबारबाहेक अन्य दिन बिदा नदिने स्कुल व्यवस्थापन समितिको नीतिका कारण राजधानीको त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुल नमुना बनेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरिका सामुदायिक विद्यालयतर्फबाटै ३.९ जिपिए ल्याएर यस स्कुलकी छात्रा रोजिना अधिकारी सर्वोत्कृष्ट भएकी छिन्।

६० जिल्लाका २ हजार ३ सय विद्यार्थी अध्ययनरत यस स्कुलमा यस वर्ष चाहेजति विद्यार्थीले नयाँ भर्ना पाउन सकेनन्। अत्यधिक चापका कारण भर्ना हुन आएजतिलाई भर्ना गर्न नसकेर फर्काउनुपरेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।

'यस वर्ष ३ सय नयाँ विद्यार्थी भर्ना भए। कक्षा ९ मा तीन सेक्सनबाट चार बनाएको छु,' प्रधानाध्यापक कँडेलले सुनाए, 'ठाउँ अभावका कारण यस वर्ष कक्षा ८ र ९ मा भर्ना हुन आएका सय विद्यार्थीलाई फर्काउनुको पीडा छुटै छ।'

१० रोपनी जग्गामा फैलिएको यो स्कुलको तीनटा भवन छन्। भवन भुइँचालोले भत्किएपछि ४ वटा टहरामा कक्षा सञ्चालन गरिएको छ। यस्तो अवस्थामा पनि स्कुलले कायम गर्न सकेको शैक्षिक गुणस्तर अब्बल छ।

२०५२ सालदेखि स्कुलमा कम्प्युटर विज्ञान विषय पनि पढाइ हुँदै आएको छ। साथै स्कुलले आइसिटी प्रयोगलाई जोड दिएका कारण पनि विद्यार्थी आकर्षण बढ्दै गएको छ।  अतिरिक्त क्रियाकलाप र सहकार्यकलाप पनि विद्यालयले जोड दिएको छ। 

तहगत रुपमा शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कार व्यवस्था र आर्थिक रुपमा कमजोर विद्यार्थीलाई प्रायोजक खोजी स्टेसनरी तथा पोसाकको व्यवस्था जस्ता राम्रा अभ्यासका कारण विश्वनिकेतन स्कुलमा विद्यार्थी आकर्षण र शैक्षिक गुणस्तर बढेको हो। 'गणित, विज्ञान र अंग्रेजी जस्ता प्रमुख विषयलाई थप कक्षाको व्यवस्था गरिएको छ,' प्रधानाध्यापक कँडेलले स्कुलको राम्रा अभ्यासबारे भने, 'नियमति रुपमा अभिभावक भेटघाट, नजिता अनिवार्य रुपमा अभिभावकको हातमा दिने व्यवस्था र कमजोर विद्यार्थीका अभिभावकसँग विशेष भेटघाटले  सिकाइ उपलब्धि स्तरीय बनेको छ,' उनले थपे, 'विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रयोगात्मक पक्षलाई जोड दिनु र अपेक्षित सिकाइ उपलब्धि भएनभएको लेखाजोखा गरिने परिपाटीकै कारण विश्वनिकेतन स्कुल अब्बल हुन सफल भएको छ।'

विश्वनिकेतनमा कार्यरत २१ शिक्षकले छोराछोरीलाई यहीं पढाएका छन्। आआफ्ना नानी आफंैले अध्यापन गराउने स्कुलमा पढाउँदा शिक्षक पनि बढी जिम्मेवारी हुने प्रधानाध्यापक कँडेलको अनुभव छ। उनले पनि आफ्ना दुई छोराछोरीलाई यही स्कुलमा प्लस टु पढाएको बताए।

स्मार्ट कक्षाले आकर्षण

त्यस्तै बाफलमा रहेको ज्ञानोदय माध्यामिक विद्याललय पनि सरकारी हो। यहाँको पढाइ निजी विद्यालयको भन्दा राम्रो छ। जसले गर्दा वर्षेनि यस स्कुलमा विद्यार्थी भर्ना गर्न अभिभावक तँछाडमछाड गर्छन्। पछिलो समय ज्ञानोदय स्कुलले स्मार्ट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ।

नागरिककर्मी स्कुल पुग्दा कक्षा ९ का प्राविधिक धारका विद्यार्थी स्मार्ट बोर्डमा निकै रोमाञ्चक बन्दै पाठमा केन्द्रित बनेको पाइयो। 'किताबबाट कक्षामा सरहरूले बुझाउँदा निकै समस्या पर्थ्यो,' कक्षा ९ का इन्जिनियरिङतर्फका एक छात्रले नागरिकसँग भने, 'अहिले स्मार्ट बोर्डमा नेटबाटै भिजुयल देखेरै अध्ययन गर्दा विषयबारे प्रष्ट हुन्छ।' विज्ञानको 'प्रेसर' बारे स्मार्ट बोर्डमा अध्ययन गरिरहेका ती छात्रले थपे, 'चाहेका विषयवस्तु स्मार्टबोर्डको मद्दतले अनलाइन खोजेर पढ्ने बानीसमेत हामीमा बस्दै गएको छ।'

विद्यार्थी चापका कारण यस स्कुलमा भर्ना गर्न त्यति सजिलो छैन। नानीहरूलाई सरकारी स्तरबाटै प्रारम्भिक बालकक्षामा मन्टेश्वरी प्रणालीबाट पठनपाठन गराउने यो पहिलो स्कुल हो। प्रधानाध्यापक नातिकाजी  महर्जनले स्कुलमा सिकाइ उपलब्धि राम्रो गर्न कक्षा १–३ सम्म  ग्रेड टिचिङको व्यवस्था गरेकै कारण शैक्षिक स्तरमा वृद्धि हुँदै गएको दाबी गरे।

स्कुलमा उदार कक्षाउन्नति प्रणाली लागू भएदेखि विद्यार्थीमा पढ्ने र शिक्षकमा बुझाएर पढाउने परिपाटी विकास भएको महर्जनले बताए। यो वर्ष भर्नाको समयमा धेरै विद्यार्थी फर्काउनुपर्दा निकै दुःख लागेको उनले सुनाए।

५० वर्षको इतिहास बोकेको यो स्कुलमा हाल प्रारम्भिक बालकक्षादेखि १२ सम्म २ हजार २३ विद्यार्थी अध्ययनरत छन्। यस वर्ष कक्षा १–९ सम्म भर्ना हुन आएका मध्ये साढे २ सय विद्यार्थीलाई ठाउँ नभएर फर्काउनु परेकोमा दुःख उनलाई अझै छ। 'विद्यार्थी धेरै भएर पढाउने ठाउँ नभएकाले भर्ना नलिई फिर्ता पठायौं,' महर्जनले भने, 'भर्नाको समयमा  दबाब आउन थालेपछि मोबाइल बन्द गरेर बस्नुपर्छ।' टाढाका विद्यार्थीका लागि बासको समेत व्यवस्था भएको यो स्कुलमा निजी स्कुलबाटै बढी विद्यार्थी आउने गरेका छन्।

यो स्कुलमा विद्यार्थीलाई सजाय होइन सल्लाह, सुझाव र हौसला दिएर सिकाइन्छ। मध्यम र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था छ। अंग्रेजी माध्यमबाट पनि पढाइने यस स्कुलमा लामो बिदामा कोचिङ कक्षा सञ्चालन गरिन्छ।  प्लस टुमा विज्ञान र व्यवस्थापन पठनपाठन हुने यस विद्यालयले भौतिक पूर्वाधार विकासमा पनि जोड दिएको छ।

समन्वयले समृद्धि

कीर्तिपुरको पाँगास्थित जनसेवा माध्यामिक विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सक्षम व्यवस्थापन समिति, समुदायको अटुट विश्वासका कारण यो स्कुल नमुना बन्न सफल छ।

गत वर्ष शिक्षा मन्त्रालयले जनसेवा माविलाई नमुना घोषणा गरेको थियो। प्रधानाध्यापक नन्दकुमारी महर्जनले व्यवस्थापन समिति, प्रशासन, पूर्वविद्यार्थी, कर्मचारी र समुदायबीचको अन्तरसम्बन्ध बलियो बनाउन सकेकै कारण जनसेवा मावि देशकै नमुना बन्न सफल भएको बताइन्।

सेवासुविधा सम्पन्न भौतिक पूर्वाधार, खेलमैदान, प्राविधिक शिक्षामा जोड अतिरिक्त क्रियाकलाप र विद्यार्थीप्रति जवाफदेही शिक्षक नै यस स्कुलको शैक्षिक सुधारका मुख्य कारण हुन्। 'स्कुलमा हामीले विद्यार्थीलाई अन्य देशका विद्यार्थीसँग अनलाइन स्काइप माध्यमबाट श्रव्य–दृश्यमा आधारित शिक्षा उपलब्ध गराएका छौं,' प्रधानाध्यापक महर्जनले नागरिकसँगको भेटमा भनिन्, 'हाम्रा नानीहरू जापानका स्कुलका नानीहरूसँग स्काइपबाटै प्रत्यक्ष कुराकानी गरी शिक्षण सिकाइबारे अनुभव आदानप्रदान गर्छन्। यसले विद्यार्थीहरू सिर्जनात्मक बन्दै गएका छन्।' ३६ वर्षदेखि शिक्षण पेसामा संलग्न उनको अनुभवमा पारदर्शिता कायम गर्न सके स्कुलप्रति समुदायको विश्वास जित्न सकिन्छ।

विगतमा १० प्रतिशत मात्र स्थानीयको पहुँचमा रहेको यो स्कुलमा हाल ५० प्रतिशत विद्यार्थी स्थानीय समुदायकै छन्। जुन प्रधानाध्यापक महर्जनका लागि निकै गर्वको विषय  बनेको छ। कक्षा ३ देखि नै कम्प्युटर शिक्षाले विद्यार्थीलाई थप आकर्षण गरेको छ।

१५ रोपनी जग्गामा आफ्नै भवन, बाटोको राम्रो व्यवस्था र सूचना तथा प्रविधिमा जोड दिएकै कारण अहिले यहाँ निजी विद्यालय छाडेर आउने विद्यार्थी धेरै छन्।

'यस वर्ष विद्यार्थी भर्ना समयमा प्राविधिकतर्फ डेढ सय र कक्षा १–८ सम्मका सय विद्यार्थीलाई फर्काउनु पर्दा नमज्जा लाग्यो,' उनले सुनाइन्, 'हामीसँग विद्यार्थी राख्ने ठाउँ छैन। ५ सय थप भर्ना हुनका लागि विद्यार्थी दिनहुँ धाइरहेका छन्।'

बिदामा पनि कक्षा

मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलाई न त कहिल्यै कुनै बन्द र हड्तालले असर गर्छ न त कुनै सार्वजनिक बिदाले। शनिबारको बिदाबाहेक अन्य सबै दिन पठनपाठन सञ्चालन गरेर यो स्कुलले आफ्नो छुटै शैक्षिक पहिचान बनाएको छ।

एक दशकअघिसम्म यो स्कुलमा न उचित कक्षा कोठा थिए न भवन। खाजापछि पानी पिउन स्कुलबाहिर पाँच मिनेट हिँडेर ढुंगेधारा पुग्नुपर्थ्याे। छात्राका लागि छुट्टै चर्पी थिएन।

विद्यालयको नेतृत्व (प्रधानाध्यापक) जब गीता खरेल शिवाकोटीको हातमा आयो, स्कुलले काँचुली मात्र फेरेन, अब्बल बन्न पुग्यो। यस स्कुलका चारवटा नयाँ भवन, खेल मैदान, इसिए हल, छुट्टाछुट्टै पाँच–पाँचवटा सुविधायुक्त शौचालय छन्। तिनै भवनमा २ हजारभन्दा बढी विद्यार्थी अहिले खुसीसाथ अध्ययनरत छन्।

प्रधानाध्यापक खरेलका अनुसार यस वर्ष नयाँ भर्ना भएका ५ सय ५७ विद्यार्थीमध्ये ३ सय ९ जना वरिपरिका निजी विद्यालयका छन्। 'अन्य सरकारी विद्यालयमा विद्यार्थी नभएर समस्या छ, हाम्रोमा धेरै भएर कहाँ राखेर पढाउने भन्ने समस्या आउन थालेको छ', उनले नागरिकसँग भनिन्, 'प्रधानाध्यापक जागिरे मानसिकता त्यागेर घरपरिवारमा झैं जिम्मेवार भए स्कुल राम्रो बन्दोरहेछ। भर्ना हुन आएका ४ सयजति विद्यार्थीलाई पढाउने ठाउँ अभावमा भर्ना नलिई फर्काउनु पर्‍यो।'

आफू प्रधानाध्यापक भएपछि पहिलो काम नै प्रारम्भिक बालविकासदेखि  कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको उनले सुनाइन्। यसले विद्यार्थी आकर्षण ह्वात्तै बढायो। यो स्कुलमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाटै पठनपाठन हुन्छ।

विद्यार्थीलाई ठाउँ अभावका कारण पुस्तकालय, ग्यारेज, भान्छाकोठा, हलमा समेत राखेर पढाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

अभिभावकको मागअनुसार कम्प्युटर शिक्षा थपियो। उनले मागेरै ५० वटा कम्प्युटर जुटाइन्। २०७२ सालमा भूकम्पले पूर्ण क्षति भएको भवनका लागि मागेरै एक करोड संकलन गरिन् उनले। २०३८ सालमा प्रावि शिक्षकका रुपमा रत्नराज्य प्रवेश गरेदेखि नै आफूले यसलाई निजी स्कुलसरह बनाउने कल्पना गरेको सुनाइन्।

'प्रत्येक विषयमा कम्तीमा एक महिनामा हामीले बैठक बसाएर विद्यार्थीको विषयगत शैक्षिक सुधारबारे छलफल गर्छौं,' खरेलले भनिन्, 'विभिन्न संघसंस्था र व्यक्तिलाई अनुरोध गरेर छात्रावृत्तिको व्यवस्था मिलाएका छौं। यसले जेहेन्दार विद्यार्थीलाई थप हौसला दिन्छ र विद्यार्थी अध्ययनशील हुँदारहेछन्।'

प्रत्येक शैक्षिक सत्र सुरु हुनुअघि शैक्षिक योजना बनाउन अन्तर्क्रिया गर्ने र योजना अनुसार भए नभएको तीनतीन महिनामा समीक्षा गर्ने, नयाँ भर्ना लिँदा परीक्षा लिने  र सदन अनुसार अतिरिक्त क्रियाकलापको व्यवस्थाले नानीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार शैक्षिक सुधार र क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको खरेलले बताइन्। मोवाइललाई प्रविधिसँग जोडिएर शिक्षा उपलब्ध छ

कालीमाटीस्थित नीलबाराही स्कुलमा गत वर्षदेखि रमाइलो वातावरण छ। विद्यार्थीहरू रमाएर स्कुलमा पठनपाठन गर्न आउँछन्। अभिभावकहरू पनि ढुक्कसाथ नानी स्कुल पठाइरहेका छन्। यो स्कुलले नानीहरूलाई गत वर्षदेखि मोबाइललाई शिक्षासँग जोडेको छ। विद्यार्थीहरू आफूलाई आवश्यक शैक्षिक सामग्री शिक्षकको सहयोगमा मोबाइलबाटै खोजेर अध्ययन गर्ने भएका छन्। त्यही भएर यस वर्ष विद्यार्थी भर्ना संख्या पनि ह्वात्तै बढ्यो। तर कक्षाकोठा अभावका कारण सबैलाई भर्ना लिन नसकिएको स्कुलकी प्रधानाध्यापक जानुका नेपालले बताइन्।

एक दशकअघिसम्म छाप्रोमा सञ्चालित थियो यो स्कुल। कक्षा १–८ सम्म १ सय ३० विद्यार्थी थिए। पानी, चर्पी र भौतिक पूर्वाधार थिएन। शौच गर्न नजिकैको टंकेश्वरस्थित सार्वजनिक शौचालय पुग्नुपर्ने बाध्यता थियो।

जब प्रधानाध्यापक भएर नेपालले नेतृत्व सम्हालिन्, स्कुलको पनि मुहार फेरियो। २०६२ सालमा प्रअ भएलगत्तै उनले स्कुल सञ्चालनमा आमूल परिवर्तन ल्याउन सुरु गरिन्। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मको मिहिनेतले एक दशकमा स्कुलले नयाँ रुप पाएको छ। स्कुलसँग अहिले तीनवटा सुविधासम्पन्न चारतले भवन छन्। प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ९ सय १५ विद्यार्थी अध्ययनरत छन्।

०६३ सालमा पहिलो ब्याचले एसएलसीमा शतप्रतिशत नतिजा दियो। 'यो परिणामले मलाई हौसला मिल्यो र मैले सबै शिक्षक र समुदायको सहयोगमा ०६८ सालमै कक्षा ११ र १२ सुरु गरे', उनले नागरिकसँग भनिन्, 'हाम्रो स्कुलमा कक्षा ७ सम्म अंग्रेजी माध्यमबाटै पढाइन्छ,  शिक्षक पनि ग्रेड टिचिङमै हुनुहुन्छ।'

खानेपानी, छात्रा र छात्रका छुट्टाछुट्टै शौचालय, पुस्तकालय, व्यवस्थित विज्ञान ल्याब, कम्प्युटर ल्याब  र अतिरिक्त क्रियाकलापले स्थानीय विद्यार्थी र अभिभावकको चाहना नै नीलबाराही मावि बनेको उनले बताइन्। नेपालले विद्यार्थीलाई बेलाबेलामा शैक्षिक भ्रमण लग्ने र त्यसको प्रतिवेदन तयार पार्न लगाउँदा सिर्जनात्मक र नेतृत्व क्षमता विकास हुने अनुभनव उनको छ।

'शिक्षकहरूले विद्यार्थीले ल्याएको मोबाइलमा आवश्यक शैक्षिक सामग्री डाउनलोड गर्न लागाउनु हुन्छ,' उनले भनिन्, 'विद्यार्थी गुगलमा गएर नेटसँग फेमिलियर भएर आवश्यक शैक्षिक सामग्रीहरू खोजेर आफै डाउनलोड गर्छन्।' उनले थपिन् 'अनि विद्यार्थी अध्ययन गर्छन्।' यो स्कुलमा साना बच्चाका आमालाई भेला गराएर नानीहरूका कमीकमजोरीबारे छलफल गराई समाधानको उपाय खोज्ने व्यवस्था मिलाइएको छ। 'हामीले वार्षिक शैक्षिक योजना तयार गरी विभिन्न विषयको शैक्षिक प्रदर्शनी आयोजना गर्छौं,' उनले भनिन्, 'यसले नानीहरूको नेतृत्व क्षमता विकासमा सहयोग पुर्‍याएको छ।

विषय समितिले सहयोग

डिल्ली बजारस्थित महिला मात्र पढ्ने पद्यमकन्या माध्यमिक विद्यालयमा शैक्षिक सुधारको नयाँ पाटो अपनाइएको छ। स्कुलले वरिपरिका निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले विषयगत कक्षा सुधारमा विशेष ध्यान केन्द्रित गरेको प्रधानाध्यापक रीता तिवारीले जनाइन्।

उनका अनुसार गत वर्षदेखि स्कुलमा अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक शिक्षा सुधार गर्न विषयगत समिति  गठन गरिएको छ। महिनाको एकपटक विषयगत शिक्षकले कमीकमजोरीबारे छलफल गरी सुधाका उपाय सुझाउँछन्।

तीन वर्षयता उनले प्रअको जिम्मेवारी सम्हालेपछि स्कुलमा  विद्यार्थी केन्द्रित पठनपाठन सुरु गरिएको छ। जसले शैक्षिक उपलब्धिमा सघाउ पुगेको उनको दाबी छ।

छोरीहरू प्रायः स्कुल भोकभोकै आउने थाहा पाएपछि उनले एक गैरसरकारी संस्थासँग सहयोग मागेरै स्कुलमा खाजाको व्यवस्था गरिन्। ४२ वर्षीय  तिवारीको मुख्य लक्ष्य नै स्कुलमा भर्ना भएका छात्रालाई निरन्तर कक्षामा टिकाइराख्नु हो। जसका लागि स्कुलमै खाजाको व्यवस्था गरेको उनले बताइन्। कक्षा १२ सम्म  कुल ९ सय छात्रा अध्ययन गर्ने यो स्कुलमा प्रअ  तिवारीले प्राविधिक धारको शिक्षा लागू गरेपछि माथिल्लो कक्षामा विद्यार्थी आकर्षण बढेको छ।

'स्कुललाई नमुना बनाउन एक सयजना अट्ने छात्रावास निर्माण गराइरहेकी छँु', तिवारीले योजना सुनाइन्, 'आगामी शैक्षिक सत्रमा देशभरिका सरकारी विद्यालयमा अध्ययन गर्ने छात्राबीच प्रतिस्पर्धा गराई बूढानीलकण्ठ स्कुल जस्तै कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने योजना छ।'
अर्को समाचार
अब्बल बन्दै सामुदायिक विद्यालय
३० चैत्र २०७५
•
१२ मिनेट पाठ
अब्बल बन्दै सामुदायिक विद्यालय
फाइल फोटो
काशीराम शर्मा

बाँके - सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ। बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन्।

खजुरा र बैजनाथलगायतका गाउँपालिकाका कतिपय विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरीद गरेका छन्। कतिपय विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन्।

जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ। खजुराको आदर्श मावि डीगाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटी तथा बैजनाथको जीगाउँस्थित प्रभात माध्यामिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेपछि त्यहाँ विद्यार्थीको सङ्ख्या वर्षेनी बढिरहेका छन्। आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छाडेर विद्यार्थी आदर्श माविमा भर्ना भएको जानकारी दिए। आदर्श माविले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेको छ। विद्यार्थीलाई विद्यालयसम्म सकुशल ल्याउन र घरसम्म पु¥याउनका लागि आदर्श माविले गत वर्ष बस खरीद गरेपछि यस वर्ष विद्यार्थीको सङ्ख्या झनै बढ्ने प्रअ सापकोटाको अनुमान छ। आदर्शलगायतका कतिपय विद्यालयले संस्थागत विद्यालयजस्तै पिङ, झुलालगायतका खेल सामग्री सामुदायिक विद्यालयमा राखिएका छन्।

बाँकेमा रहेकामध्ये धेरै सामुदायिक विद्यालयले हरेक वर्षको एसइईमा सतप्रतिशत उत्तीर्ण गराउन सफल हुँदै आएको तत्कालीन जिल्ला शिक्षा कार्यालयको रेकर्डले पनि देखाउँछ। बाँकेका कतिपय निजी स्कूललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौधौ छ। कम शुल्कमा निजी स्कूलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिलगायतका अवसरले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको छ।

कतिपय सामुदायिक विद्यालयले शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पढाउने गरेका छन्। अहिले अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ। सरकारले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थीले सरकारी विद्यालयमा भर्ना हुन थालेको छ।

“हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौँ, रिजल्ट राम्रो छ, अध्ययनका लागि आवश्यक पूर्वाधारयुक्त छ, धेरै मिहिनेत गरेर पढाउँछौँ भने आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाउने ?” प्रधानाध्यापक सापकोटाले भने, “कुनै निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौँ।” अधिकांश नेपालीको आयस्तर न्यून छ। त्यसैले महङ्गो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ, उनले भने।

तर, विज्ञापन र प्रतिष्पर्धाले धेरै अभिभावक निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने बाध्यता वा भ्रममा अभिभावक रहेको बाँकेका सामुदायिक विद्यालयका शिक्षक बताउँछन्। राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त हुन सकिन्छ। किनकि सामुदायिक विद्यालयमा शैक्षिक शुल्क निजीको तुलनामा धेरै नै सस्तो भएको उनीहरुको भनाइ छ।

“बढी शुल्क लिने विद्यालय राम्रो हो कि भन्ने पर्छ तर त्यस्तो होइन, सामुदायिक विद्यालयले कम शुल्क लिएर पनि राम्रो अध्यापन गराइरहेका छन्। सामुदायिकमा तालीमप्राप्त शिक्षक बढी छन्”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका निमित्त प्रमुख उद्धव श्रेष्ठले भन्नुभयो, “त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था छैन।”

समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालीमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ, सामुदायिक विद्यालयबाट अध्ययन गर्नेहरू सरकारीलगायत जागिरका क्षेत्रमा बढी जाने गरेका छन्। लोकसेवा आयोगको पछिल्लो तथ्याङ्कअनुसार वर्षेनी करीब छ लाखको हाराहारी आवेदन पर्ने गरेको छ। त्यसमा पनि सामुदायिक विद्यालय पढेर उच्च शिक्षामा गएकाहरूकै बाहुल्यता छ। सामुदायिक विद्यालयमा विभिन्न प्रकारका छात्रवृत्ति सुविधा हुन्छन्। समुदायको स्रोतबाट समेत चल्ने भएकाले त्यहाँ विभिन्न आर्थिक कोष बनाएर विद्यार्थीका लागि छात्रवृत्ति राख्ने गरिन्छ। त्यसबाहेक सरकारले नै तोकिदिएको करीब तीन प्रतिशतलाई दिनैपर्ने छुट्टै छात्रवृत्ति त छँदैछ। पछिल्लो समयमा सरकारले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने नीति लिएको छ।

एक निर्वाचन क्षेत्रमा कम्तीमा एक प्राविधिक शिक्षालयको योजना सरकारको छ। त्यही योजनाअन्तर्गत माध्यमिक तहमा हाल २४० विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ। तीमध्ये ६० भन्दा बढी विद्यालयमा पनि प्राविधिक पढाइ हुन थालेको छ। प्राविधिकअन्तर्गत विद्यालय तहबाट कृषि, कम्प्युटर, सिभिल इञ्जिनीयरिङलगायतका विषय पढाइ हुन थालेपछि प्राविधिक विषय पढ्ने विद्यार्थीका लागि सामुदायिक विद्यालय उपयुक्त बन्न थालेका छन्।

प्राविधिक विषय पढ्न धेरै ठूलो अतिरिक्त शुल्क तिर्नुपर्दैन। नियमित शुल्ककै हाराहारीमा पढ्न पाइन्छ। कतिपय सामुदायिक विद्यालयमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समयमा सुधार्दै गएको पाइन्छ। अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ। स्थानीय तहहरुले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयले व्यवस्थापकीय कमजोरीलाई सुधार्दै गएका छन्।

आठौँले फेरियो ‘कोहलपुर क्रिकेट मैदान’

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट खेल बाँकेमा आयोजना हुने भएपछि कोहलपुर क्रिकेट मैदानको स्वरुप फेरेको छ। निर्माण घोषणा भएको डेढ दशकपछि प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले काँचुली फेरेको हो।

रु १५ लाख लागतमा चार पिच निर्माण गरिएको छ भने कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा खेलमैदान क्षेत्रमा तारजाली गरिनुका साथै शौचालय र ड्रेसिङरुम निर्माण गरिएको मैदान निर्माण तथा खेल सञ्चालन समितिका सदस्य दीपेन्द्र थापाले जानकारी दिए।

उहाँका अनुसार नगर विकास समिति कोहलपुर र उद्योग वाणिज्य सङ्घ कोहलपुरको संयुक्त लगानीमा मैदान क्षेत्रभित्र खेलाडीको अभ्यासका लागि प्राक्टिस पिचसमेत निर्माण गरिएको छ। घोषणा भएको लामो समयसम्म कुनै संरचना नबनेपछि अतिक्रमणको मार खेप्दै आएको मैदानमा आठौँ राष्ट्रिय खेलकूद आयोजना हुने भएपछि निर्माणमा गति लिएको हो।

आगामी वैशाख ४ गतेबाट कोहलपुर मैदानमा क्रिकेट खेल सञ्चालन हुने भएकाले मैदान मर्मतसँगै अन्य तयारी अन्तिम चरणमा पुगेको क्रिकेटर तथा अन्तर्राष्ट्रिय क्रिकेट स्कोरर होमेन्द्र क्षेत्रीले जानकारी दिए। उनका अनुसार मैदानमा घाँस काट्ने, रोलिङ गर्ने, पानी हाल्नेलगायतका काम भइरहेका छन्। विसं २०६० मा कोहलपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा निर्माण गर्न प्रस्ताव गरिएको थियो। सोहीबमोजिम तत्कालीन नगर विकास समितिले मैदान निर्माणका लागि चार बिघा १८ कठ्ठा १८ धुर जमीन उपलब्ध गराएको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस