पाँचथर, रानीगाउँ हङ्थुवाका माइतबल लिम्बु घर छोडेर हिँड्दा २० वर्षका थिए। एक जना गाउँले साथीसँग मेची खोला कटेर कोइलाखानी (असम) भारत भासिएका उनी त्यसयता कहिल्यै जन्मभूमिमा पाइला टेकेनन्।
उनी रानी गाउँका वीरबहादुर र कान्छीमायाका ८ सन्तान (४ छोरा, ४ छोरी) मध्ये जेठो थिए। उनी घर छोडेर हिँडे पछि सम्पर्कविहीन भए पनि भाइहरूलाई कहीँ कतै छ भन्ने आशा जीवितै थियो। असमबाट गाउँ आउजाउ गर्ने व्यक्तिहरूले माइतबल जीवितै भएको खबर पनि दिए, तर सम्पर्कमा आउन सकेनन्। घर छोडेर हिँडेको ६० वर्षपछि भने माइतबल मातृभूमिमा पाइला टेके, तर उनले भारतमा रहँदा आफ्नो नाम फेरेर जयबहादुर भएका रहेछन्।
माइतबल उर्फ जयबहादुरको शनिबार धरानमा माइला भाई पदमप्रसाद (७६ वर्ष), साहिला भाई गमबहादुर (७४ वर्ष) र कान्छी बहिनी सुकमायासँग एक साथ भेट भयो। साहिला भाई र कान्छी बहिनीसँग झण्डै एक महिनाअघि नै भेट भइसकेको भएपनि माइला भाई पदमप्रसादसँग पहिलो चोटि शनिबार उनको भेट भयो। दुवैले हेराहेर गरे, हाँसे पनि। जेठा दाईलाई निरन्तर खोजी गरेर भारतमा छन् भन्ने पत्ता लगाउने माइला भाई पदमप्रसाद नै हुन्। तर, उनी बेलायतमा भएको कारण भेट ढिलाइ भएको थियो।
‘मैले नै दाई जीवितै छ भनेर सोधखोज गरिरहे। उ एक महिना अघि नै आउँदा चैँ बेलायतमा थिएँ, त्यसैले आजै हो भेट भएको, ’माइला पदमप्रसादले भने, ‘१९, २० सालतिर गएपछि दाई फर्किएनन्। हामी त माइतबल भन्थ्यौं, उता चैँ नाम फेरेर जयबहादुर भनेर बसेछ। हामीले खोज्दा माइतबल भनेर खोज्छौं, उता अर्कै नाम थिएछ।’ लामो सोधी खोजी पछि जेठा दाई असममा छन् भन्ने थाह भएपनि भेट हुन भने नसकेको उनले बताए। ‘दाई पनि यता आएनन्, हामी पनि उता जानै सकेनौँ,’ उनले थपे।
बिरामी कान्छा भाईले जेठा दाजु भेट्ने तीव्र इच्छा गरे पनि मात्र यसपाली जयबहादुर मातृभूमि आएका थिए। क्यान्सरसँग जुधिरहेका कान्छा भाई उनी आएको १८ दिनमा नै बिते। तीन दाजुभाईले जेठा दाईलाई पुर्ख्यौली सम्पत्ति जग्गाजमिन छुट्याएर राखिदिएका थिए, त्यसैले कान्छा भाईले दाईको नागरिकता पनि बनाइदिने भनेर बोलाएपछि उनी आएका हुन्। तर कान्छा भाई नै बितेपछि नागरिकता बनाउने योजना पनि अन्योलमा छ।
‘म २० बर्षको हुँदा अचानक घरबाट भारत हिँडे। असम, अरुणाञ्चलतिर कता कता पुगे। उतै घरबार भयो, यता त बिर्सी पो हाले, ’जेठा जयबहादुरले भने, ‘२ वर्ष मात्र भयो, फोनमा माइला भाइसँग बातचित भएको। कान्छा भाई साह्रो बिरामी छ भन्ने खबर पुगेर आएको थिएँ, म आएको १८ दिनमै भाई बित्यो।’
यता रानी गाउँमा पनि जयबहादुरको १९ बर्षको उमेरमा बिहे भएको थियो। उनी घर छोडेर हिँडेको लामो समय नफर्के पछि श्रीमती पनि हिँडिन्। असममा बिहे गरेकी श्रीमती पनि गत चैतमा बितेको जयबहादुरले बताए। उनका २ भाई छोरा र एक बहिनी छोरी छिन्।
‘यतै बसौँ भन्ने त लाग्छ, तर घर व्यवहार उतै छ, ’उनले भने, ‘फर्कने बेला भैगयो।’ अहिले असममा बसाई र अरुणाञ्चलमा खेती गर्ने गरेको पनि उनले सुनाए। जन्म गाउँ (पाँचथर रानीगाउँ) पुग्दा मान्छेहरु सहर तिर धमाधम बसाई सरेको देखेपछि उनलाई लाग्यो, ‘गाउँमा घरघरमा गाडी त पुगेछ, तर छोराछोरी राम्रो पढाउन भनेर सबै सहर झर्दैछन्, गाउँ त चाडै तित्तिदैछ।’
बाध्यताले फेरि भारत फर्कन लागेका जयबहादुर नेपालमै बसे हुन्थ्यो भन्ने उनका भाई बहिनीलाई लाग्छ।
‘दाजु हिँडेदेखि नै कति खोज्यौं, बल्ल भेटियो। यतै बसोस् भन्ने लाग्छ,’ झापा झिलझिले बस्दै आएका साहिला भाई गमबहादुरले भने, ‘कुनै दिन दाजु फर्केला भनेर नै जग्गाजमिन छुट्याएर राखिदिएका छौं। भोली भारतबाट खेदिनु पर्यो भने त्यतिबेला आफ्नो बाउ बाजेको सम्पत्ति सम्झिनुपर्छ, छोरा नातिले पनि सम्झिएर आउनुपर्छ।’
माइला भाई (पदमप्रसाद) का छोरा गणेश लिम्बु आफ्नो बुबाको अथक प्रयासपछि बडा बासँग भेट हुन पाएकोमा खुसी छन्। बुबा, काका र फुपूको बडा बासँगको माया, स्नेह देखेर गदगद भएका उनी बडा (जयबहादुर) को नागरिकता बनाउन हर सम्भव प्रयत्न गर्ने बताउँछन्।
‘आखिर उहाँ नेपालमै जन्मिनुभएको हो, यतिका वर्षपछि भेट्दा ज्यादै खुसी छौं। उहाँको नागरिकता हामी बनाइदिन्छौ,’ उनले भने।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...