प्रशासनले निषेध आदेश जारी गरेपछि शनिबार धरानमा हुने भनिएको सभा, र्याली कार्यक्रमहरु हुन नपाए पछि धरान शान्त रह्यो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यराती १२ बजेदेखि शनिबार राती १२ बजेसम्मको लागि निषेध आदेश जारी गरेको थियो। यो आदेशले धरानमा कुनै पनि सभा, सम्मेलन, र्याली लगायत कार्यक्रमहरु हुन पाएन।
विभिन्न जिल्लाबाट र्याली निकाल्न आएका हिन्दु धर्मका गुरु, अनुयायीहरु धरानको सिमानामै रोकिए। धरानको चारै दिशाको नाकामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर र्यालीमा सहभागी हुन आएकाहरुलाई प्रवेश गर्न रोकिएको थियो।
विभिन्न जिल्लाबाट हिन्दुधर्मावलम्बीहरु वृहत् र्याली गर्न शनिबार आउने खबरले केही दिनदेखि धरान बेचैन थियो। बहु जाति, बहु भाषी, बहु संस्कृतिको सहर धरानमा बाहिरबाट मानिसहरु आएर प्रदर्शन गरे प्रतिवाद गर्ने हल्लाले अप्रिय घटना होला भन्ने भय पनि थियो।
शुक्रबार धरानमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली पनि निकाल्दै बाहिरबाट आएर सद्भाव बिथोलिने गरी कार्यक्रम नगर्न अपिलसमेत गरेका थिए।
धरान प्रवेश गर्न नपाएपछि हिन्दु धर्मवलम्बीहरुको र्याली इटहरी चोकबाट पानीपियासम्म आएको थियो। पानीपियामा शान्तिपूर्ण र्याली र सभा गरेर कार्यक्रम समापन भएको थियो।
प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेध आदेश जारी गरेको थियो। यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेध आदेश जारी गरेको थियो।
धरान १४ मा गोपाल मन्दिर नजिकै चर्च बनेपछि हिन्दु धर्मावलम्बी र ख्रिष्टियनबीच धार्मिक विवाद चर्किएको थियो। यो विवाद पुर्णरुपमा साम्य नहुँदै गोरु काटेर खाएको घटनाले धार्मिक, साम्प्रदायिक सद्भाव बिथोलिनसक्ने स्थिति बनेपछि प्रहरी प्रशासन, धरानका नागरिक अगुवा, राजनीतिक दल र सर्वसाधारणहरु पनि चिन्तित थिए।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...