२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माओवादी नेता र कार्यकर्ताको वरिपरि घुम्यो सुन तस्करीको सञ्जाल, ६० जना बढी अनुसन्धानको घेरामा

सुन तस्करीको सञ्जाल नेकपा माओवादी केन्दका नेता र कार्यकर्ताको वरिपरि घुमिरहेको छ। माओवादी केन्द्र सत्तारुढ दल भित्रको दोस्रो ठूलो पार्टी हो। यसका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेका छन्।

जताबाट अनुसन्धान सुरु गरेपनि तस्करीको सञ्जाल माओवादीका नेता र कार्यकर्तामै पुगिरहेको समाचार स्रोतहरू बताउँछन्। यसले गर्दा पनि अनुसन्धानमा अप्ठेरो अवस्था आएको उनीहरूको ठम्याई छ।

सुन प्रकरण अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले माओवादीका ६० जना भन्दा बढी नेता र कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरामा ल्याएको छ।

त्यसैमा सुन तस्करीका लागि प्रयोग गरिएका सामाजिक सञ्जाल वि–च्याट, ह्वास्एपले तस्करीका विषयमा भएका सम्पर्कबारे आधिकारिक जानकारी दिन मानिरहेका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र नौ किलो सुन ल्याउने तस्करको सञ्जाल माओवादीका नेता र कार्यकर्ता वरिपरि देखिएको हो। गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद भएको थियो। त्यस्तै गत पुसमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको नौ किलो सुन भन्सारबाटै हराएको थियो। उक्त नौ किलो सुन ई–सिगरेटभित्र लुकाएर ल्याइएको थियो। सुन तस्करीका यी दुवै प्रकरणमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मुछिएको आरोप लाग्दै आएको छ।  

सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले छानबिन गरिरहेको छ। सुन तस्करीलाई संगठित अपराध तथा अन्तरदेशीय अपराधअन्तर्गत राखेर सिआइबीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा तस्करहरूको सम्पर्क सम्बन्ध माओवादीका उच्च तहका नेताहरू, उनीहरूका छोरा, आफन्त र पार्टी कार्यकर्तासँग देखिएको छ। सिआइबी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट हराएको नौ किलो सुन र विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिएको सुन एउटै तस्कर समूहको भएको पाइएको छ। तस्करको त्यो समूहले सुन तस्करीमा माओवादीका नेता–कार्यकर्तालाई प्रयोग गरेको पनि पाइएको छ।

‘लामो समयदेखि नै यो सञ्जाल क्रियाशील भएको देखियो। यति नै समय भन्ने छैन। चुनावको समयमा झन् धेरै सम्पर्क देखिएको छ। सबैको ध्यान चुनावमा केन्द्रित भएका बेला नै तस्करीको सुन धेरै ल्याएको देखिन्छ,’ सिआइबी स्रोतले भन्यो, ‘चाहेर वा नचाहेर पक्राउ परेका र पक्राउ पर्न बाँकी चिनियाँ सुन तस्करसँग माओवादीका केही नेता–कार्यकर्ताको सम्पर्क देखिन्छ।’

तस्करको सम्पर्कमा रहेकासँग बयान लिने काम सिआइबीले गरिरहेको छ। सिआइबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग तीन घण्टा बयान लिएको छ। पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सिआइबीको हिरासतमा छन्। उनीसँग पनि अनुसन्धान अधिकृतले सोधपुछ गरेका छन्।

अनुसन्धान अधिकृतले सुन तस्करीमा जोडिएका तर हाल तिब्बतको केरुङ आसपास रहेका दाओजिन वाङसँगको सम्पर्क र सम्बन्धको विषयमा राहुलसँग सोधपुछ गरेका छन्। सिआइबी हिरासतमा रहेका चिनियाँले माओवादीका उच्च नेताहरूको पनि नाम लिएका छन्। सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ पनि जोडिएका छन्।

छिरिङले रोल्पाका माओवादी नेताको सहयोगमा काम गरेको समाचार आइरहेका छन्। उनको माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क भएनभएको विषयमा पनि सिआइबीले अनुसन्धान गरिरहेको छ।  

सिआइबीले ६० जनाभन्दा बढी माओवादीका नेता–कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरमा ल्याएको छ। सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दा छिरिङको मुख्य सहयोगीका रूपमा पक्राउ परेका किशोर बस्नेतको सम्पर्क माओवादी नेताहरूसँग देखिएको स्रोतले जनाएको छ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले सुन तस्करको सञ्जालमा देखिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको दाबी गरिन्। ‘प्रहरीले पार्टी चिन्दैन, शंकाको घेरामा देखिएका सबैसँग सोधपुछ र बयान लिन्छ। नियन्त्रणमा लिएकालाई हिरासतमा राख्नुपर्ने भए अदालतबाट अनुमति लिन्छ,’ उनले भनिन्। उनले अनुसन्धानकै क्रममा छिरिङसँग सम्पर्क देखिएकाले दिपेश पुनसँग सोधपुछ गरिएको पुष्टि गरिन्।

प्रकाशित: २० भाद्र २०८० ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App