रौतहटको फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल प्रसाद यादव निलम्बनमा परेपछि नगरपालिकाको कुनैपनि कार्यमा सहमति जुट्न सकेको छैन। प्रमुख यादव भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका थिए। उनकाे निलम्बनपछि नगरका सबै कामकाज अस्तव्यस्त बनेका छन्।
लगातार दुई कार्यकाल नगर प्रमुखमा निर्वाचित भएका यादव निलम्बनमा परेसँगै उपप्रमुख अम्बेया खातुनले नगरपालिकाको जिम्मेवारी सम्हालेकी थिइन्। उनले प्रमुखको जिम्मेवारी सम्हाल्न नसक्दा नगरका सबै काम अस्तव्यस्त भएको नगरका कर्मचारीहरुको आरोप छ।
असार १० गते हुनुपर्ने नगर सभाको बैठक अहिलेसम्म संचालन हुन सकेको छैन जस कारण नगरपालिका कार्यालय संचालनमा समेत समस्या देखिन थालेको छ। समयमै नगर सभाको बैठक नहुँदा दशैको बेलामा समेत नगरका शिक्षक तथा कर्मचारीले तलब सुविधा पाएका छैनन्।
चाडपर्वको समयमा समेत तलब भत्ता उपलब्ध नहुनाले अधिकांश शिक्षक कर्मचारी दसैँ खल्लो हुने देखिएको एक शिक्षक बताए। स्थायी र करार गरी करिब साढे तीन सय शिक्षक कर्मचारीले तलब नपाएका हुन्।
तलब सुविधाको माग गर्दै आन्दोलन थालेका शिक्षक कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेको पनि एक हप्ताभन्दा बढी भइसकेको छ।
तालाबन्दीपछि कर्मचारीहरु कार्यालय आउन छाडेका छन्। जसको सिधा असर यहाँका आम नागरिकमा परेको छ। कतिपय सेवाग्राही त अति आवश्यक कामका लागि कर्मचारी भएकै ठाउँमा पुग्ने गरेको एक सेवाग्राहीले जानकारी दिए। तालाबन्दी पछि कर्मचारी कार्यालयतर्फ जाँदैनन्। शिक्षकहरुले विद्यालय बन्द गरी घर फर्किसकेका छन्।
नगर उपप्रमुख खातुनले नगर परिषद् गराउन कुनै पहल नगरेको र कार्यपालिका सदस्यहरुको बैठकमा हुने निर्णय मान्न तयार नहुँदा नगरपालिका अस्तव्यस्त बन्न पुगेको यहाँका कार्यपालिका सदस्यहरुको आरोप छ।
‘२१ सदस्यीय कार्यपालिका बोर्डमध्ये नगर प्रमुख यादव निलम्बनमा परेपछि १९ जना एकातिर र उपप्रमुख खातुन एक्लै अर्कोतिर भएपछि कुनै सहमति बन्न सकेको छैन। उपप्रमुख खातुनको मनोमानीले गर्दा नगरपालिका पूर्ण रुपमा अस्तव्यस्त भएको छ।’ कार्यपालिका स्रोतले भन्यो।
वडा नम्बर-९ का वडाध्यक्ष अबु यादवले उपप्रमुख खातुनको तानाशाही शैलीले गर्दा नगरपालिकाको सबै कामकाज ठप्प भएको आरोप लगाएका छन्। उनले विकास निर्माणको काम पूरै ठप्प भएको र शिक्षक कर्मचारीहरुले तलब भत्ता नपाउँदा अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको जिकिर गरे।
नगरपालिका पूर्ण रुपमा अस्तव्यस्त रहेकै अवस्थामा गत असोज २६ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरेन्द्र प्रधानलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो। कोरोना कालमा कार्यालय प्रमुख रहँदा प्रधानले करोडौँ रुपैयाँ हिनामिना गरेको र कार्यालयमा नबसी चन्द्रनिगाहपुरबाटै कार्यालय संचालन गर्ने गरेकाे बताउँदै उनलाई कुनै पनि हालतमा हाजिर गर्न नदिने वडाध्यक्षहरूले अडान लिएकाे यादवकाे भनाइ छ।
यता कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख खातुनले आफूले प्रमुखको जिम्मेवारी सम्हालेपछि आर्थिक तथा प्रशासनिक काम नियमानुसार बढाउन आफूलाई ‘डर’ लागेको बताउँछिन्। निमित्त कार्यालय प्रमुखको भरमा आर्थिक तथा प्रशासनिक कार्य गर्न गराउन समस्या भएको उनको भनाइ थियो।
‘जबसम्म कार्यालय प्रमुखको रुपमा उपसचिव हाजिर हुँदैनन् तबसम्म आर्थिक तथा प्रशासनिक काम नियमानुसार बढाउन मलाई डर लागिरहेको छ।’ उनी भनिन्। उनले नगरपालिका कार्यालयमा लगाइएको तालाबन्दी खुलाउने प्रयास भइरहेको बताइन्।
नगर प्रमुख यादवको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनामाथि मुद्दा चलाएको भए पनि सबैले सफाइ पाएको र नगर प्रमुख मात्र दोषी करार भई अदालतबाट सजाय पाएको घटनाले आफू निकै सतर्क भएको उपप्रमुख खातुनको तर्क छ।
यसैबिच बुधबार साँझ फतुवा विजयपुरमा स्थानीय युवा, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिले संयुक्त रुपमा प्रदर्शन गरेका थिए। नगरमा विकास निर्माणको काम रोकिएको, शिक्षक तथा कर्मचारीले तलब नपाएको र नगरपालिका कार्यालयको कामकाज पनि ठप्प भएको भन्दै कार्यवाहक नगर प्रमुख खातुनविरुद्ध विरोध प्रदर्शन गरिएकाे हो।
नगरपालिकामा यती धेरै समस्याको थुप्रो लाग्दा समेत अन्य नेताहरुको ध्यान नगएको स्थानीय विजय यादवले बताए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...