जसले सरकारी अनुदान अस्वीकार गरे!
३० मंसिर २०८०
•
५ मिनेट पाठ
जसले सरकारी अनुदान अस्वीकार गरे!
कृषि पेसा गर्न अधिकांशले सरकारी अनुदानको आशा गर्छन्। कतिपयले त अनुदान पाउनकै लागि मात्र यो पेसा अँगालेको पनि पाइन्छ। तर चितवनका केही किसानले सरकारले दिएको अनुदान लिँदैनन्। त्यसैमध्येका एक हुन्-गणेश भुसाल। अर्घाखाँची स्थायी घर भएका भुसाल निरन्तर कर्म गरिरहने, सरकारी अनुदान र सहयोगको आशा नगर्ने नमुना किसानमा पर्छन्।  




भुसालले भरतपुर महानगरपालिका–२५ स्थित पर्साढापमा २० वर्षदेखि निरन्तर तरकारी तथा फलफूल खेती गरिरहेका छन्। २५ बिघामा खेती गरेका भुसालले कृषि ज्ञान केन्द्र चितवनले दिएको एक करोड रूपैयाँको आयोजनासमेत लिएनन्।

‘चार वर्षअघि कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट कृषि योजना बनाउन्होस्, एक करोड रूपैयाँसम्मको अनुदान स्वीकृत गरिदिन्छौं भन्ने प्रस्ताव आएको थियो,’ उनले भने, ‘कर्म गर्ने किसानलाई सरकारी अनुदानले केही हुँदैन। मैले स्वीकार गरिनँ।’

उनलाई ग्रिन हाउस, ब्याड नर्सरी, थोपा सिँचाइ, मेसिनरी औजारका लागि अनुदान लिन प्रस्ताव गरिएको थियो। अहिलेसम्म व्यक्तिगत रूपमा अनुदान नलिएको उनले बताए।

‘राज्यले मल र विद्युत्मा दिएको अनुदान त लिइयो’, उनले भने, ‘खेती गर्नका लागि टनेल बनाउन, मेसिनरी औजार किन्न व्यक्तिगत अनुदान लिएको छैन।’
आफ्ना लागि कृषि गर्न आफू नै सक्षम रहेको उनले बताए। एक सिजनमा तरकारी लगाउन ७० लाख रूपैयाँ लगानी गर्नुपर्छ। त्यसबाट उनले वार्षिक ३० लाख रूपैयाँ हाराहारीमा आम्दानी हुने बताए। आफूलाई चाहिने ट्याक्टर, खाल्टो खन्ने मेसिनलगायत कृषि औजार उनले जोडिसकेका छन्।

राज्यको अनुदान नीति समग्र किसानमैत्री नभएको उनको टिप्पणी छ। उनी भन्छन्, ‘राज्यले एउटै व्यक्तिलाई करोडौं अनुदान दिने होइन, नीति बनाएर साना–ठुला किसानलाई अनुदान दिनुपर्छ।’ उनका अनुसार विद्युत्, सिँचाइ, रासायनिक मल, मल्चिङलगायत क्षेत्रमा अनुदान दिए सबै किसान समेटिन्छन्।

सरकारले प्रदान गर्ने जनसेवा श्री पाँचौं पदकबाट सम्मानित भुसालले सरकारी अनुदान नलिने भनेर सार्वजनिक रूपमै घोषणा गरेका छन्। ‘थोरै अनुदान लिन लामो समय धाउनुपर्छ। हाम्रो आफ्नै काम हुन्छ’, उनले भने, ‘अनुदान लिन सरकारी कार्यालय धाउनुभन्दा खेतबारीमा ध्यान दिए धेरै कमाउन सकिन्छ।’
अनुदान लिएर काम गरेका किसान सफल नभएको समेत उनले बताए।

अभियान बहुमुखी कृषि फर्म दर्ता गरी भरतपुरको चनौलीमा ४ बिघा जमिन भाडामा लिएर उनले खेती सुरु गरेका थिए। तर त्यो जग्गा लामो समयका लागि नपाएपछि उनले शुक्रनगरस्थित एक विद्यालयको जग्गा भाडमा लिएर १० वर्ष खेती गरे। त्यसपछि त्यहाँको जग्गा नपाएपछि उनले पर्साढापमा जग्गा भाडामा लिएर खेतीलाई निरन्तरता दिएका हुन्। खेती गर्न चितवनमा जग्गा पाउन मुस्किल रहेको उनले बताए।

विगतमा वकिलदेखि पत्रकारसम्म भूमिकामा रहेका भुसाल कृषि कर्मबाट सन्तुष्ट छन्। ३५ जनालाई रोजगारी दिएका उनले चार सयभन्दा बढी किसानलाई तरकारी खेती गर्न पनि सहयोग गरेका छन्। अहिले उनको बारीमा क्याप्सिकम, माछे खुर्सानी, बोडी, गोलभेंडा, करेला चिचिन्ना, मेवालगायत छन्।

किसानलाई तीन तहका सरकारले अनुदान दिँदै आएका छन्। अनुदान लिनकै लागि कतिपय परिवारका तीन जनासम्मले अलगअलग फार्म दर्ता गरेको भेटिन्छ।
भुसाल जस्तै २० वर्षदेखि तरकारी खेती गर्दै आएका भरतपुर महानगरपालिका–२६ का ओमकान्त पाण्डेले पनि अहिलेसम्म अनुदान लिएका छैनन्। उनले आफ्नै बलबुताले यो पेसालाई निरन्तरता दिएका छन्। आम्दानी पनि राम्रै भएको उनी बताउँछन्।

भरतपुर महानगरपालिका–१६ स्थित मंगलपुरमा पाँच बिघामा उनले तरकारी खेती गरेका छन्। उनी तरकारी खेतीका लागि सरकारी अनुदानतर्फ आफ्नो रुचि नभएको बताउँछन्।

‘अनुदान लिन पनि मुस्किल छ। आफूलाई आवश्यक पर्ने अनुदान पनि पाइँदैन’, उनले भने, ‘अनुदान लिन धाउनुको साटो बारीमा काम गर्ने हो भने सरकारले दिने अनुदान रकमभन्दा बढी कमाउन सकिन्छ।’ चिनजानका आधारमा सरकारी अनुदान दिने गरेको आरोप पनि किसानले लगाउँछन्।

कागजपत्र मिलाउन सक्नेले सहज रूपमा अनुदान पाउने ६ वर्षदेखि तरकारी खेती गर्दै आएका केशव आचार्यले बताए। पश्चिम चितवनको पर्साढापमा १२ बिघामा तरकारी खेती गर्दै आएका आचार्यले पनि सरकारी अनुदान लिन आफूले पहल नगरेको बताए।
‘साँच्चैका किसानले अनुदान लिन आवश्यक कागजपत्र जुटाउन सक्दैनन्, कागजपत्र पु¥याउने झन्झट गर्नुभन्दा खेतबारीमै काम गरेर राम्रो कमाइ हुन्छ।’ उनले तरकारी खेती गर्नुअघि मौरी पालेका थिए। पाँच वर्ष मौरी पालन व्यवसाय गरेका आचार्य घाटा लागेपछि तरकारी पेसामा लागेका हुन्।

अहिले उनले चार बिघामा गोलभेंडा, एक बिघामा फर्सी, तीन बिघामा क्याप्सिकम, एक बिघामा माछे खुसार्नी, एक बिघामा मेवा, १५ कट्ठामा बोडी लगाएका छन्। सुरुमा उनले चार बिगामा तरकारी खेती लगाएका थिए। उनले अहिलेसम्म सरकारी अनुदान नलिएको बताए।

‘कृषि पेसामा लागेको ११ वर्षजति भयो, अहिलेसम्म अनुदानका लागि प्रक्रियामै गएको छैन,’ उनले भने, ‘सहज रूपले पाइँदैन। काम छाडेर धाइरहन सकिँदैन।’ उनले थपे, ‘अनुदान पाएका किसान सफल भएको पनि देखिँदैन।’

सरकारी अनुदानका केही कार्यक्रम सही रूपमा सदुपयोग भएको देखिँदैन। २०७५ सालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अनुदानको प्रभावकारितासम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनमा कृषि क्षेत्रमा दिइएको सरकारी अनुदान ‘बालुवामा पानी’ सरह भइरहेको उल्लेख छ।

कृषि उत्पादनसँग सम्बन्धित ठुला परियोजनाको व्यवस्थापनमा समस्या रहेको, कृषिको व्यवसायीकरणका लागि मूल्य शृंखलामा आधारित पूरक अनुदानमा टाठाबाठाको हालीमुहाली रहेको, दबाबबाट पहुँचवालाले बढी लाभ लिएको, कार्यक्रम तय गर्दा लक्षित किसानको फाइदालाई नहेरिएको विषय प्रतिवेदनमा औंल्याइएको छ।
त्यस्तै राष्ट्रिय योजना आयोगले २०७३ सालमा गरेको अध्ययनले पनि ठुला परियोजनाले सहयोग गरेका ७६ प्रतिशत उपआयोजनाको दिगोपनमा आशंका व्यक्त गर्दै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नभएको निष्कर्ष निकालेको थियो।

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, पशु विज्ञ केन्द्र, पालिका र वडा तहबाट कृषि अनुदान वितरण गरिन्छ। कृषि ज्ञान केन्द्र चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र भरतपुर महानगरपालिकाले मात्रै पछिल्लो तीन वर्षमा ४२ करोड ५२ लाख रूपैयाँबराबरको अनुदान वितरण गरेका छन्।
अर्को समाचार
अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी
१४ फागुन २०७९
•
३ मिनेट पाठ
अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी
अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा  तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।




विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची  बिक्रीबाट सो रकम आम्दानी भएको हो। यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए। यसअघि उनीहरूले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेका थिए।

कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची  बिक्रीबाट १५ करोड रुपैयाँ आम्दानी गरेका थिए। विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए। विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख  रुपैयाँ आम्दानी गरेका थिए।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ। मर्स्याङ्दी गाउँपालिका-५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची  उत्पादन गर्दै बिक्री भएको बताए। दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ।

उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको बताए। गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै चार लाख रुपैयाँ प्राप्त भएको उनको भनाइ छ। उनले भने,‘विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो दुई हजार रुपैयाँसम्मसमेत बिक्री गरेको थिएँ।’

सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै-थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चारपाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५-२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन्।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन्। अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ। तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन्। बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ। राखेर पनि पछि उनीहरूलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन।’

मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए। किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन। जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए। तर, त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन्। जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ। भारतको एकाधिकारका कारण कृषकको माग अनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन्।

जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ। उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर, दोर्दी  र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ। सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ  सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन्। रासस
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस