२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जयशंकर साहको मृत्युले झन् चर्कियाे बरहथवाको आन्दोलन

इलाका प्रहरी कार्यालयमाथि प्रदर्शनकारीको आक्रमण

सर्लाहीको बरहथवा आइतबार दिनभर तनावग्रस्त रह्यो। गत शुक्रबार दिउँसो प्रहरीको गोलीबाट मृत्यु भएका स्थानीय होटेल व्यवसायी ३० वर्षीय जयशंकर साहको मृत्युको घटनाको न्यायिक छानबिन हुनुपर्ने तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालले राजीनामा दिनुपर्ने थप विभिन्न मागसहित बरहथवा बजारमा आन्दोलनले उग्र रूप लिएको हो।

बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउनु पर्ने माग राख्दै केही दिनदेखि भइरहेको आन्दोलनमा प्रहरीको गोलीबाट स्थानीय युवकको मृत्यु भएपछि आन्दोलन झन् चर्किएको हो। आइतबार दिनभर आन्दोलनकारीले बरहथवामा उग्र प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय बरहथवामाथि पनि आक्रमण गरेका छन्। पेट्रोल बम, बोतल, इँटा तथा ढुङ्गा प्रहार गर्दै आन्दोलनकारीले इप्रकाको कम्पाउन्डभित्र रहेको प्रतीक्षालयमा आगो समेत लगाएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले करिब चार दर्जन राउन्ड अश्रु ग्याँस र सय राउन्डभन्दा बढी हवाई फायर पनि गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले नगर प्रमुख कल्पनाकुमारी कटुवालको घर र इलाका प्रहरी कार्यालय बरहथवामाथि आन्दोलनकारीले आक्रमण गरेपछि स्थितिलाई नियन्त्रणमा लिन फायर गर्नु परेको बताएका छन्।

यसै बिच जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा आइतबार पनि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवामा पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलसम्म कुनै किसिमको भला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी सोमबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेका छन्।

कर्फ्युका बिच पनि आन्दोलनकारीले प्रदर्शन गरेका छन्। बरहथवाको स्थिति दिनभर तनावग्रस्त रहेको छ। बरहथवामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण धिताल र सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी तुलबहादुर भण्डारी स्वयं खटे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन।

प्रदर्शनकारीहरुले नगरप्रमुख कल्पनाकुमारी कटुवालको राजीनामा, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गंगाबहादुर थापाको निलम्बन, मृतक जयशंकर साहको सालिक निर्माण, बरहथवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नामकरण मृतक साहकै नाममा हुनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल घोषणा गर्नुपर्ने र घटनाको न्यायिक छानबिन हुनुपर्ने माग अघि सारेका छन्।

आन्दोलनकारी पक्षसित आइतबार प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको संयोजकत्वमा सदरमुकाम मलंगवामा वार्ता भए पनि निष्कर्षविहीन भएको छ। दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहेपछि वार्ता निष्कर्षविहीन भएको हो। प्रजिअ धमलाले वार्ताको माध्यमबाट समस्या समाधानको लागि गहन विमर्श भइरहेको जानकारी गराएका छन्।

प्रहरीको लागि लागेर मृत्यु भएका होटेल व्यवसायी साहको शव घटनास्थलमै रहेको छ। घटनाको तिन दिन बितिसक्दा पनि सडकबाट मृतक साहको उठ्न सकेको छैन। घटनाको तिन दिन बितिसक्दा पनि सडकमै अलपत्र अवस्थामा शव रहँदा सर्लाही प्रशासनको कार्य क्षमतामाथि जिल्लामा प्रश्न उठ्न थालेको छ।

आन्दोलनमा संलग्न नरहेको र आफ्नो कुखुराको फर्मबाट फर्किरहेका व्यवसायीलाई ताकेर टाउकोमै गोली हान्ने प्रहरी र आदेश दिने डिएसपी थापालाई कारबाही नगरेर सर्लाही प्रशासनले आन्दोलनलाई झन् उग्र बनाउने काम गरिरहेको आरोप लाग्न थालेको छ।

सर्लाही प्रशासनले समयमा निर्णय नगर्दा बरहथवामा सार्वजनिक सम्पत्तिको तोडफोड तथा क्षति बढ्दै गएको छ। तीन दिनदेखि बजार तथा व्यवसाय बन्द रहेका छन्। यसै गरी बरहथवामा रहेका विद्यालयहरु पनि ठप्प छन्। सर्लाही प्रशासनको सम्वेदनहीनताले बरहथवामा सार्वजनिक सम्पत्तिको तोडफोड बढ्दै गएको टिप्पणी हुन थालेको छ। 

प्रकाशित: २२ पुस २०८० १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App