भे १ ख ३९१२ नम्बरको बस शुक्रबार साँझ करिब ५:३० बजे नेपालगन्ज बसर्पाकबाट काडमाडाैँका लागि हिँडेको थियो। दुर्घटनामा घाइते भएकाहरूको अनुसार यात्रु कम भएपछि चालकले बसपार्कबाट निस्केर बजार क्षेत्रमा केही बेर गाडी रोके।
बस नेपालगन्जबाट निस्कँदा साँझको ६ बजिसकेको थियो। नमस्ते यातायातको सो बसमा चालक थिए सल्यान त्रिवेणी गाउँपालिका ४ का २८ वर्षका लालबहादुर नेपाली।
३६ जना यात्रु बोकेर काठमाडौंका लागि हिँडेको बस राती साढे १० बजेको आसपासमा दाङको भालुवाङ स्थित राप्ती पुलबाट नदिमा खस्यो। दुर्घटनामा १२ जनाको मृत्यु भयो। २३ जना घाइते भए। उनीहरुको बुटवल, नेपालगन्ज, दाङमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ।
बस खसेको केही मिटर पर अर्थात् भालुवाङमा राप्ती पुलको मुखै नेर अस्थाई ट्राफिक प्रहरी पोष्ट छ। ट्राफिक प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ बस निकै हुत्तिएर आएको थियो।
बिटका प्रहरीले गाडी रोक्न इशारा गर्दा गर्दै नरोकी स्पिडमै गाडी हुत्तिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख एसपी कृष्ण पर्साईंले बताए।
‘पुलको नजिकको अस्ताई ट्राफिक प्रहरी पोष्टले गाडी रोक्न खोज्दा चालकले नरोकी बस हुइँक्याएछन्, हाम्रा जवानलाई नै धन्न हानेन छन्’ ट्राफिक प्रहरीका प्रदेश प्रमुख एसपी प्रसाईंले भने।
उनका अनुसार राती करिब साढे १० बजेको आसपासमा भालुवाङ स्थित ट्राफिक अस्ताई बिट नेर आउँदा गाडी स्पिडमा थियो। दुई वटा बस सँगसँगै जसो आएमा थिए। प्रहरीले रोक्न इशारा गरेपछि अघिपछि आएका मध्ये अर्को बसले रोक्यो तर दुर्घटनामा परेको बस प्रहरीलाई छल्दै स्पिडमै अगाडी बढ्यो। गाडी पुलको केही भाग कटेपछि दायाँतर्फको रेलिङ भत्काउँदै नदिमा खस्यो।
बसका चालक सामान्य घाइते छन्। प्रहरी नियन्त्रणमा रहेका चालकले गाडीको सापट बिग्रँदा चक्का नमोडिएपछि दुर्घटनामा परेको बयान दिएका छन्।
सापट बिग्रिएको या कहिले काहीँ कम्पनीबाटै सापट उल्टो तरीकाले राखेर आएको अवस्थाको गाडीमा सामान्य खालका समस्या देखिन सक्ने लामो रुटका अनुभवी चालकहरू बताउँछन्।
बसको इन्जिनसँग सम्बन्धित सापट बिग्रिएको अवस्थामा पनि बस धर-धराउने, हुत्तिने जस्ता लक्षण गाडीले पहिले नै देखाउँछ। त्यस्तो अवस्थामा चालकले सामान्य सावधानी अपनाए दुर्घटनाको जोखिम टार्न सकिने भैरहवा– काठमाडौं रुटको बसका एक जना अनुभवी चालक बताउँछन्।
उनका अनुसार सापट बिग्रिएको संकेत गाडीले दिँदा दिँदै पनि बेलैमा स्पिड कन्ट्रोल नगरे या ओभर स्पिड भएको अवस्थामा अचानक सापट बिग्रिए दुर्घटना हुनसक्ने सम्भावना भने रहने ती चालकले बताए।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।