बढ्दो चिसोले सुनसान बन्दै सगरमाथा क्षेत्र
०९ माघ २०८०
•
६ मिनेट पाठ
बढ्दो चिसोले सुनसान बन्दै सगरमाथा क्षेत्र
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ। उनले भने, ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन।’




सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए। यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिए। उनका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए। यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्याङ्क छ।

विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ। यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ। यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ। गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ। याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिए।

विदेशी तथा स्वदेशी पर्यटकको आर्कषण अधिक हुँदा भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए। यसका कारण पर्यटकीयस्थलका होटल पसलमा ताला लागेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यन्त्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ। उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो। यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो।

इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन्। यो समयमा आफ्नो कार्यालयमा सेवाग्र्राही नगन्य मात्रामा आउने गरेको उनको भनाइ छ। यहाँ प्रायःजसो चिसो भइरहन्छ। अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन्। मानिस चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले बताए। खुम्बुमा मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसो करिब फागुनसम्म जारी रहने भएकाले चिसो छल्नका लागि उनीहरू बाहिर जाने गरेका हुन्।

गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् भने त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मङ््सिरको पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए। यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन्। स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने माथिल्लो क्षेत्रका धेरैजसो होटल व्यवसायीले घरमा ताल्चा नै लगाएर अन्यत्र जाने गरेका छन्।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधँै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताइन्। भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्यामा पिरोलिएर बाँच्नुपरेको छ। झनै जाडो महिनामा त यस भेगमा बस्न निकै कठिन रहेको स्थानीयवासी बताउँछन्। यहाँ मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा मानिस बसोबास गर्ने गर्छन्। यतिखेर नाम्चे क्षेत्रमै तापक्रम घटेर माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मण्डलले बताए।

निकुञ्जका कर्मचारीलाई फुर्सद !

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ। पर्यकीय याममा एकैपटक धेरै पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गर्दा ‘इन्ट्री’ गराउन भ्याइनभ्याई हुने कर्मचारीलाई यतिखेर भने फुर्सद मिलेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए। उनका अनुसार मुख्य याममा दैनिक नौ सयजनासम्म स्वदेशी तथा विदेशी भ्रमणकर्ता निकुञ्ज प्रवेश गर्दा बिहान उज्यालो भएदेखि राति अबेरसम्म इन्ट्री गराउनमा व्यस्त हुने जाँचचौकीका कर्मचारीलाई अहिले फुर्सद मिलेको छ। अहिले दैनिक मुस्किलले पाँच–सात जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ।

याममा धेरै पर्यटक आउने भएकाले जाँचचौकीका कर्मचारीको खानेबस्ने ठेगान नै नहुने गर्छ भने अहिले कार्यालयको नियमित कामसँगै चिसोमा घाम तापेर समय बिताउने गरेको उनले बताए। सगरमाथा राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन्। जसमा दुईवटा रेञ्जपोष्ट रहेको कार्यालयले जनाएको छ।

वि.सं. २०३२ मा स्थापना भएको  निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ। निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा रहेका छन्। निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ। सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदासूचीमा समावेश गरिएको हो। सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ।

चिसोका कारण धेरैजसो खुम्बुबासीले सगरमाथा क्षेत्र छाडिसक्दा यहाँ कार्यरत कर्मचारी भने कार्यक्षेत्रमै रहेका छन्। स्थानीयवासी तथा पर्यटन व्यवसायी चिसो छल्न अन्यत्र जाने गरे पनि कर्मचारी भने त्यहीँ बस्न बाध्य छन्। नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरीलगायतका व्यक्ति छन्। उनीहरू पनि धेरै समय आगो तापेरै बिताउने गरेको इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख शाखा अधिकृत बर्देवाको भनाइ छ।

चिसोले पाइपमै पानी जम्दा तातो पानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारी बताउँछन्। चिसोले तेलसमेत जम्दा दैनिकी कठिन हुने गरेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए। बिहानको समयमा अधिक चिसो हुने भएकाले घाम नलागेसम्म ओछ्यानबाट ननिस्कने गरेको उनको भनाइ छ। रासस
अर्को समाचार
खुम्बुमा पर्यटकको सुरक्षाका लागि ‘ट्रेक कार्ड’
०३ साउन २०८०
•
६ मिनेट पाठ
खुम्बुमा पर्यटकको सुरक्षाका लागि ‘ट्रेक कार्ड’
पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो। खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ‘ट्रेक कार्ड’ लागु गरेको छ।




खुम्बु क्षेत्रमा आएका पर्यटकको सुरक्षा, व्यवस्थापन र पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले ‘ट्रेक कार्ड’ प्रयोगमा ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरीङ शेर्पाले बताए। ‘खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा र व्यवस्थापनको प्रत्याभूति गर्नु गाउँपालिकाको कर्तव्य हो’, अध्यक्ष शेर्पाले भने, ‘ट्रेक कार्डले पर्यटक सुरक्षित छन् भन्ने जानकारी लिन बिहान निस्किएको ठाउँ र बेलुका पुगेको ठाउँको ट्र्याक गर्छ।’

यो खुम्बु गाउँपालिका आफैंले तयार गरेको डिजिटल प्रणालीमा आधारित कार्ड हो। यसले खुम्बुक्षेत्रमा घुम्न पुगेका पर्यटकलाई ट्र्याक गर्छ। हाल खुम्बु क्षेत्रको विभिन्न ६ स्थानमा कार्ड प्रयोगका लागि चेक प्वाइन्टहरू खडा गरिएका छन्। पर्यटकले बिहान निस्कने बेलामा आफू नजिकैको चेक प्वाइन्ट र साँझ उनीहरू बस्ने ठाउँमा रहेको चेक प्वाइन्टमा स्क्यान गर्नुपर्छ। यसले उनीहरू कहाँ छन् भन्ने जानकारी गाउँपालिका र सम्बन्धित निकायहरूमा स्वतः पुग्छ। कार्डले उनीहरू बिहान कुन ठाउँबाट हिँडे र साँझ कुन ठाउँमा पुगे भन्ने सूचना उपलब्ध गराउँछ।

पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो। खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ‘ट्रेक कार्ड’ लागु गरेको छ।
गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो। खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो। कार्ड लिएकाले गाउँपालिकाको निर्देशन तथा आग्रह अनुरूप यो कार्ड प्रयोग गरेका थिए। उक्त परीक्षण सफल भएपछि गाउँपालिकाले यसलाई प्रयोगमा ल्याएको हो।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष, वार्डेन प्रमुख, गाउँपालिकाको निमित्त प्रमुख प्रशासक, गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षहरूको सहभागितामा औपचारिक उद्घाटन गरेर लुक्लाबाट यो कार्डको प्रयोग सुरु गरिएको छ।

कार्डको प्रयोगले पर्यटकको सुरक्षा प्रत्याभूत गर्न सहयोग गर्नुका साथै उनीहरूको बसाइमा पनि सहजीकरण हुने गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए। ‘सिजनको बेलामा खुम्बुमा कहिलेकाहीं दिनमै हजारौं पर्यटक भित्रिन्छन्’, उनले भने ‘लुक्लाबाट कति पर्यटक नाम्चे गए? कति पर्यटक फाक्दिन पुगे? कुन ठाउँको होटलमा कति पर्यटक राख्न सकिन्छ? पर्यटक धेरै भए कुन ठाउँमा रोक्न सकिन्छ भन्ने व्यवस्थापन गर्नसमेत सहयोग पुग्छ। पर्यटकलाई गुणस्तरीय सेवा दिन आवश्यक योजना बनाउन पनि यसले सहयोग गर्छ।’

पर्यटकको सुरक्षा र व्यवस्थापनबाहेक कार्डको प्रयोगले खुम्बु क्षेत्रको प्रचारप्रसार पनि हुने अध्यक्ष शेर्पाले बताए। उनले कार्ड जारी गर्ने बेलामा पर्यटकबाट लिइएको इमेल तथा सम्पर्क नम्बरमा खुम्बुक्षेत्रको बारेमा समय–समयमा जानकारी दिइरहने जनाए। उनले सुरुमा पर्यटकको सुरक्षाको पाटोलाई ध्यान दिन ट्रेक कार्डको परिकल्पना गरे पनि पछि व्यवस्थापन र प्रचारप्रसारको पक्षसमेत त्यसैमा समेटिएको पनि बताए।

गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो। खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो। कार्ड लिएकाले गाउँपालिकाको निर्देशन तथा आग्रह अनुरूप यो कार्ड प्रयोग गरेका थिए।
लुक्ला एयपोर्टमा झरेर सगरमाथा जाने मूल प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा यो कार्ड जारी गरिन्छ। पर्यटकले सूचना केन्द्रमा राष्ट्रिय निकुञ्ज र गाउँपालिका प्रवेशको लागि शुल्क तिर्ने क्रममा उक्त कार्ड पाउनेछन्।

कार्ड पाउनुअघि सूचना केन्द्रको कार्यालयमा पर्यटकको पासपोर्ट स्क्यान हुन्छ। पासपोर्ट स्क्यान भएसँगै उनीहरूको देशको नाम, व्यक्तिको नाम, स्थायी र अस्थायी सम्पर्क नम्बर लगायतका आधारभूत जानकारी फाराममा भर्नुपर्छ। पर्यटकले गोप्यता कायम गर्न चाहेका कतिपय सूचना स्क्यान नै नहुने प्रबन्ध सफ्टवेयरमा गरिएको छ। पर्यटकले विवरण भरेको ३ मिनेट भित्रै कार्ड जारी गर्ने गरिएको छ।

ट्रेक कार्डको लागि छुट्टै शुल्क लिने गरिएको छैन। गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रही ‘पर्यटन सेवा शुल्क’ बापत २ हजार रूपैयाँ तिर्दै आएका छन्। पर्यटकले सोही शुल्कमै ट्रेक कार्ड पाउँछन्।

खुम्बु क्षेत्रमा घुम्न आएका कतिपय पर्यटक हराउने र उनीहरूको आवासको प्रबन्ध गर्न समेत समस्या बेहोर्नु परिरहेकाले ती अवरोधहरू न्यूनीकरण गर्न गाउँपालिकाले ट्रेक कार्डको अवधारणा ल्याएको हो। अहिले गाउँपालिकाको कार्यालयमा ३ वटा र सगरमाथा राष्ट्रिय निकुञ्जमा ३ वटा गरी जम्मा ६ वटा मेसिनले कार्ड स्क्यान गरेर पर्यटकसम्बद्ध जानकारी दिइरहेको छ।

यस्तै खुम्बु गाउँपालिका वडा ४ का अध्यक्ष लक्ष्मण अधिकारीले ट्रेक कार्डको अवधारणा खुम्बुक्षेत्रमा आएका पर्यटकका सुरक्षा र त्यहाँको पर्यटन व्यवसायलाई व्यवस्थित गर्न ल्याइएको बताए। ‘घुम्ने क्रममा पर्यटक बेपत्ता हुने, सिजनको समयमा धेरै भिडभाड हुने र बस्ने ठाउँको अभाव हुनेलगायतका गुनासो पटक–पटक आइरहेका हुन्छन्’, उनले भने, ‘तिनै गुनासो सम्बोधन गर्न यो कार्ड ल्याएका हौं।’

कार्ड पाउनुअघि सूचना केन्द्रको कार्यालयमा पर्यटकको पासपोर्ट स्क्यान हुन्छ। पासपोर्ट स्क्यान भएसँगै उनीहरूको देशको नाम, व्यक्तिको नाम, स्थायी र अस्थायी सम्पर्क नम्बर लगायतका आधारभूत जानकारी फाराममा भर्नुपर्छ।
गाउँपालिकाले कार्डको आधिकारिक पहुँच खुम्बुक्षेत्रका पर्यटक प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज, गाउँपालिकाको राजस्व शाखालाई दिने गरिएको छ।

वडाध्यक्ष अधिकारीका अनुसार निकट भविष्यमै खुम्बुक्षेत्रमा सबै होटलहरूमा ट्रेक कार्ड अनिवार्य गर्ने तयारी भइरहेको बताए। ‘जति धेरै चेक प्वाइन्ट हुन्छन्, त्यति नै उनीहरू कहाँ पुगेछन् भन्ने थाहा हुन्छ। यस्तो सूचना लिनु भनेको उनीहरू सुरक्षा चिन्ता कम गर्नु हो।’

भूगोल र मौसमको अवस्था हेरी पर्यटकलाई सूचना प्रवाह गर्न यस्ता कार्डले महत्वपूर्ण सहयोग पुर्‍याउन सक्छ।

‘खुम्बुको कुनै ठाउँमा मानिस २४ घण्टा बाहिर बस्दा पनि चिसोले केही असर नगर्ने हुन सक्छ भने कुनै ठाउँमा २४ मिनेट मात्रै बाहिर बस्यो भने मानिसको मृत्यु हुन सक्छ,’ वडाअध्यक्ष अधिकारीले भने, यसले सम्भावित दुर्घटनाबाट बचाउन पनि सहयोग गर्छ।’

उनले कुनै पर्यटकले लुक्लादेखि नाम्चेसम्म २४ घण्टासम्म स्क्यान गरेन भने पनि भौगोलिक सहजता र सुविधा भएकाले पर्यटकलाई कुनै समस्या नआउला तर गोरकसेप, थुक्ला, गोक्यो र छुकुङ भन्ने ठाउँमा २४ घण्टासम्म एक चेक प्वाइन्टबाट अर्को चेक पोइन्टसम्म कार्ड स्क्यान गरेन भने पर्यटक खतरामा छन् भनेर बुझिने बताए। यस्तो समयमा पर्यटकको तत्काल खोजी गरी सम्भावित दुर्घटनाबाट बचाउन सकिन्छ।

ट्रेक कार्डले पर्यटकको रियल टाइमको अनुगमन गर्दैन्। व्यक्तिगत गोपनीयतालाई सम्मान गर्दै बिहान निस्किएको र बेलुका पुगेको ठाउँको मात्र जानकारी उपलब्ध गराउँछ। जहाँ स्क्यान हुन्छ त्यही ठाउँमा छन् भन्ने जानकारी मात्र दिन्छ। दिनभरि उनीहरूले गरेका गतिविधिको अनुगमन गर्दैन।

‘खुम्बुको कुनै ठाउँमा मानिस २४ घण्टा बाहिर बस्दा पनि चिसोले केही असर नगर्ने हुन सक्छ भने कुनै ठाउँमा २४ मिनेट मात्रै बाहिर बस्यो भने मानिसको मृत्यु हुन सक्छ,’ वडाअध्यक्ष अधिकारीले भने, यसले सम्भावित दुर्घटनाबाट बचाउन पनि सहयोग गर्छ।’
गाउँपालिकाले यो कार्ड विदेशी पर्यटकका लागि मात्र प्रयोग गरिरहेको भए पनि निकट भविष्यमा नेपाली पर्यटकका लागि पनि उपयोग गर्ने तयार गरिरहेको पनि वडाध्यक्ष अधिकारीले बताए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस