मोरङ । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। जापान सरकारको २ अर्ब २९ करोड रुपैयाँ (जापानी येन) अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आयोजना शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। आयोजनाबाट विराटनगरका करिब एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विराटनगर–५ मा आयोजित आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खानेपानी सुधार आयोजना विराटनगरको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन महत्त्वको परियोजना भएको बताए। उनले महानगरका १५ वटै वडाका बासिन्दालाई स्वच्छ खानेपानीको सुविधा पुर्याउन आयोजनाले महत्त्वपूर्ण योगदान गर्ने बताए।
आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटै वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग कोइरालाले आग्रह गरे।
नेपालका लागि जापानी राजदूत तारो मादाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उनले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी मानव जीवन तथा समाजका लागि अपरिहार्य रहेको बताए। खानेपानीले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै नागरिकको जीवनस्तर उकास्न र दिगो सहरी विकासमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उनले बताए।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना अघि बढाउन आग्रह गरे।
सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जाइकाको आर्थिक सहयोगमा जापानको एमएआरएस सिमिजु कर्पोरेसनले आयोजना निर्माण गरेको हो।
आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। ¥यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, तीनवटा पम्प भवन, एउटा ओभरहेड ट्याङ्की र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।
त्यसैगरी, आयोजनाअन्तर्गत १ हजार १९८ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ। आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले गर्नेछ।
२३ सेकेन्ड अघि
•
१ मिनेट पाठ