भ्रष्टाचार नियन्त्रणमा सामूहिक प्रयासको खाँचो
२८ माघ २०८०
•
१२ मिनेट पाठ
भ्रष्टाचार नियन्त्रणमा सामूहिक प्रयासको खाँचो
“सुधारौं सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवस मनाइरहेका छौं।




यस दिवसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने सङ्कल्पलाई अझ बलियो बनाएको छ। आयोगले आफ्नो स्थापनाकालदेखि नै प्राप्त गुनासो र उजुरीउपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मेवारी निर्वाह गर्दै राष्ट्रको आर्थिक र सामाजिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ।

यसका बावजुद देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त छ। भ्रष्टाचारविरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ। सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्छ।

संघीयता कार्यान्वयनपश्चात् हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस-रिसवत लेनदेन गर्ने, गैरकानुनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरू आयोगमा पर्ने गरेका छन्।  

ार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, बिना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्व सम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यताको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै खरिद कार्य गर्ने प्रवृत्ति रहेको  छ।

त्यसै गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबण्डा रकम राखी आर्थिक वर्षको बिचमा बाँडफाँड गर्ने, मिलेमतोमा आयोजना छनोट गर्ने, कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिने÷दिने, प्राकृतिक स्रोतसाधनको उपयोगमा मापदण्डको पालना नगरी दररेट तोक्ने, वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणमा निर्दिष्ट परिमाणभन्दा बढी अनियन्त्रित उत्खनन तथा दोहन गर्ने, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपन्छीलगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने, नियम, कानुन, कार्यविधि, मापदण्ड र नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाहरू प्रवेश गराई, सेवा अवरुद्ध गराई मिलेमतोमा अनियमितता गर्ने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्ति देखिएका छन्।

यसैगरी कर्मचारी नियुक्तिमा मिलेमतो गर्ने, बिना आधार र मापदण्ड बढुवा गर्ने, सरकारी सवारीसाधन र इन्धनको दुरुपयोग गर्ने, पूर्ण वा आंशिक स्वामित्व भएका निकाय वा सङ्गठित संस्थाको नियमित लेखा परीक्षण नगराउने, असुलउपर र नियमित गर्नुपर्नेमा आलटाल गर्ने जस्ता प्रवृत्तिहरू समेत आयोगमा पर्ने उजुरीहरूबाट देखिएको छ।

आयोगमा प्राप्त भूमि र जग्गासम्बन्धी उजुरीको छानबिन गर्दा निश्चित व्यक्ति र समूहलाई फाइदा हुने गरी कौडीको भाउमा सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गा ८९ वर्षसम्म व्यापारिक प्रयोजनका लागि लिजमा दिएको, हदबन्दी भन्दा बढी जग्गा जफत गर्नुपर्ने कानुनी व्यवस्था लामो समयसम्म कार्यान्वयनमा नआएको, सार्वजनिक, सरकारी, गुठी र वन क्षेत्रको जग्गा विभिन्न व्यक्ति, क्लब र स्वार्थ समूहले अतिक्रमण र कब्जा गरी निजी प्रयोजनका लागि उपयोग गरेकोमा जिम्मेवार निकायबाट अतिक्रमण रोक्ने कार्यमा अति उदासीनता देखाइएको छ।

यसले सार्वजनिक र सरकारी सम्पत्ति संरक्षण हुन नसकेको, विद्यालय र स्थानीय तहहरूले आफूखुसी गैरकानुनी तवरले सरकारी, सार्वजनिक जग्गा निजी प्रयोजनमा बिक्री गर्ने प्रवृत्ति बढेको र सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दाखिल खारेज भएकोमा सो जग्गाको दुष्कृति सच्याउने काम हुन नसकेकोले सम्बद्ध जिम्मेवार निकाय र पदाधिकारी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कानुनी दायित्व निर्वाह गर्ने कार्यमा थप जिम्मेवार बन्नुपर्ने देखिएको छ।

सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नाममा नीति, कानुन, संरचना, जनशक्तिलगायतका आधारभूत पूर्वाधारसमेत तयार नगरी प्रतिस्पर्धा सीमित गरी सूचना प्रविधि र उपकरण खरिद गर्दा ठुलो लगानीको दुरुपयोग भएको भनी आयोगमा उजुरी आइरहेका छन्। निर्मित पूर्वाधार तथा भौतिक संरचनाको समयोचित उपयोग, यस्ता पूर्वाधार निर्माणमा गुणस्तरको प्रत्याभूतिलगायतका विषयहरूको छानबिनको दायरालाई विस्तार गरी आफ्नो काम कारबाहीलाई अझ सक्रिय बनाउन आयोग गम्भीरतापूर्वक अघि बढिरहेको छ।

आयोगमा प्राप्त उजुरीको छानबिन गर्दा सम्बन्धित मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट नियुक्त हुने सार्वजनिक संस्थाका केही पदाधिकारी विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका, अन्तिम अदालतबाट कसुरदार ठहरिई फरार सूचीमा रहेका, कानुन र मापदण्डबमोजिम तोकिएको योग्यता र अनुभव नभएका, किर्ते गरी अनुभवको प्रमाण पेश गरेका, सार्वजनिक छवि कमजोर भएका व्यक्तिलाई छनेैट गरी नियुक्ति दिएको पाइएको छ। कतिपय सार्वजनिक निकायमा निश्चित व्यक्तिलाई नियुक्ति दिनकै लागि व्यक्ति लक्षित गरी प्रतिस्पर्धा सीमित हुने गरी नियुक्तिसम्बन्धी मापदण्ड र कार्यविधि संशोधन गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको छ।

सार्वजनिक संस्थाको कार्यसम्पादन सुधार गर्न स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट बजारमा उपलब्ध योग्य व्यक्ति वा समूहलाई व्यावसायिक क्षमता योग्यता र सुधार योजनाको आधारमा छनोट गरी सोही अनुरूपको कार्य वातावरण सिर्जना गरिदिनु जरुरी हुन्छ। नियुक्ति हुने व्यक्तिमा उच्च नैतिक चरित्र रहेको, स्वार्थको द्वन्द्व हुने अवस्था नरहेको र जबाफदेहिता र जिम्मेवारी पूरा गर्न सक्ने क्षमता रहेको विषयमा सरकार विश्वस्त हुनु पर्छ तर सो अनुरूपको छनोट हुन सकेको छैन।

यसरी नियुक्त भएका सार्वजनिक संस्थाका पदाधिकारीबाट भएका अधिकांश निर्णय, खरिद कार्य र काम कारबाहीहरूका विषयमा आयोगमा पर्ने उजुरी छानबिन गर्दा यस्ता उजुरीहरू सत्यतामा आधारित भएका तथा यस्ता पदाधिकारीका काम कारबाहीहरूबाट निश्चित स्वार्थ समूहलाई लाभ हुने र सार्वजनिक संस्थालाई गम्भीर हाननि–नोक्सानी हुने किसिमले कार्य गरेको देखिएको छ। सार्वजनिक निकायमा देखिएका यस्ता विकृति र विसङ्गति तत्काल अन्त्य गरी मुलुकमा सुशासन प्रवर्द्धन तथा सरकारप्रतिको नागरिकको भरोसा अभिवृद्धि गर्न आयोग सबैमा अनुरोध गर्दछ।

मुलुकको आर्थिक समृद्धि र स्थायित्वका लागि अझ बढी काम गर्नुपर्नेमा बिना आधार, कारण भन्सार र राजस्वमा छुट दिने, राजस्व चुहावट गर्ने, चोरी निकासी पैठारी गर्ने, न्यून विजकीकरण गरी राजस्व छली गर्ने जस्ता क्रियाकलापहरू नियन्त्रण गर्ने जिम्मेवारी लिएका निकाय र पदाधिकारीले आफ्नो कर्तव्य निर्वाह गर्न चुकेको अवस्था देखिन्छ।

कानुन विपरीतका यस्ता क्रियाकलापमा संलग्न अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोग थप सशक्त रूपमा अघि बढ्ने नै छ। तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्वतयारी बिना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना तोकिएको समय र गुणस्तरमा सम्पन्न नहुने, आयोजना अलपत्र पर्ने तथा लागत र समय बढ्ने गरेको अवस्थामा समेत जिम्मेवार पदाधिकारी मुकदर्शक भएर बस्ने गरेको हुँदा समयमा नै किन काम पूरा भएन भन्नेसमेतका आधारमा त्यस्ता विषयमाथि अनुसन्धान अघि बढाइएको छ।

आवश्यकताको पहिचान बिना, लाभ–लागत विश्लेषण नगरी, सञ्चालन योजना समेत नबनाई अनावश्यक रूपमा संरचना निर्माण गर्ने, सामग्री, सफ्टवेयर, कच्चा पदार्थ, मालसामान, सवारीसाधन, यन्त्र उपकरण लगायत खरिद गर्ने, यस्ता वस्तुहरू प्रयोगविहीन अवस्थामा राख्ने र पुनः नयाँ खरिद तिर लाग्ने कार्य गर्दा यसबाट राज्य कोषमाथि अनावश्यक आर्थिक व्ययभार थपिने र स्रोतको दुरुपयोग समेत हुने गर्दछ।

त्यसैले निर्माण र खरिद गर्नु पूर्व संरचना र उपकरणको सञ्चालन र उपयोगको सुनिश्चित हुने गरी सञ्चालन योजना तयार गरेर मात्र खरिद कार्य गर्न सम्बद्ध सरकारी निकायहरूले ध्यान दिन जरुरी छ।

आयोजनाको विस्तृत अध्ययन गरी÷गराई आर्थिक तथा वित्तीय, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका र कानुनी प्रक्रिया पूरा भएका आयोजना मात्र आयोजना बैङ्कमा प्रविष्टि गर्ने, आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट आयोजनामा मात्र बजेट विनियोजन गर्ने, मध्यमकालीन खर्च संरचना र बजेटको तालमेल मिलाउने तथा तोकिएका कानुन, कार्यविधि र मापदण्डको पालना गर्ने विषयमा तीनै तहका सरकारहरू अझ गम्भीर हुनुपर्ने देखिएको छ।

उजुरीमा ठेक्का व्यवस्थापनको विषय छानबिन गर्दा पुष्टयाइँ बिना ठेक्काको म्याद थप गर्ने, सम्झौता बमोजिम गर्नुपर्ने पत्राचार समयमा नगर्ने, निर्णयमा ढिलाई गर्ने, कामको स्थलगत प्रगति अभिलेख र प्रतिवेदन नगर्ने, निर्माण व्यवसायीलाई समय–समयमा दिनुपर्ने निर्देशन नदिने, परामर्शदाता वा निर्माण व्यवसायीको कारण आयोजनामा हुने ढिलाइको अभिलेख उपयुक्त तरिकाले नराख्ने जस्ता कमजोरीका कारण ठेकेदारको तर्फबाट क्षतिपूर्तिको लागि दाबी पेश गर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको देखिएको छ।

ठेक्का व्यवस्थापनलाई प्रभावकारी बनाई राज्यलाई क्षति हुने अवस्था आउन नदिन सम्बन्धित सार्वजनिक निकायको प्रमुख, आयोजना प्रमुख, ठेकेदार र परामर्शदातालाई कानून बमोजिम जिम्मेवार बनाउनुपर्ने हुन्छ।

बहुवर्षीय आयोजनामा न्यून बजेट विनियोजन गर्ने र न्यूनतम् मापदण्ड नै नपुगेका आयोजनामा जथाभाबी स्रोत सुनिश्चितता प्रदान गर्ने प्रवृत्तिले तीनै तहका सरकारहरूमा असीमित बजेटरी दायित्व सिर्जना भएको, अबण्डामा बजेट राखी बिना आधार कारण अनुत्पादक क्षेत्रमा खर्च गर्ने लगायतका विकृतिहरूका कारण समग्र वित्तीय सुशासन कमजोर भएको छ।

अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गर्ने तथा अनुदान वितरण गर्दा लाभग्राही पहिचान नगर्ने जस्ता कार्यहरू सार्वजनिक स्रोतको उपयोगमा अनुशासन, नियमितता र प्रतिफलसमेतको दृष्टिकोणबाट त्रुटिपूर्ण हुने हुँदा विधि र मापदण्डको पालनाका साथसाथै मितव्ययिता र उत्पादकत्वलाई समेत आधार मानी यस्ता कार्यलाई आयोगले गम्भीरतापूर्वक अनुसन्धानको दायरामा ल्याएको छ।  

पछिल्लो समय सूचना प्रविधिको उपयोगको विस्तार गरी सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने सरकारको प्रयासका बाबजुद यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका सेवा क्षेत्रमा अझै पनि व्यापक जनगुनासो रहेको र आयोगमा यी विषयसँग सम्बन्धित उजुरी बढ्दो क्रममा रहेका छन्। आयोगले यी विषयहरूमा निगरानी तथा छानबिन गरिरहेको छ।

तीनै तहका सरकारबाट कानुनबमोजिम मन्त्रालय, विभाग, सचिवालय र विभिन्न प्रशासनिक तहबाटै निर्णय हुनुपर्ने प्रशासनिक कार्यहरूलाई समेत नीतिगत विषय भनी मन्त्रिपरिषद्बाट निर्णय गराउने विषयमा आयोगले धेरै पटक सम्बन्धित सरोकार निकायलाई सुझाव दिइसकेको छ।

कानुनले जुन निकाय वा पदाधिकारीबाट निर्णय हुनुपर्ने व्यवस्था गरेको छ, सोही निकाय वा पदाधिकारीबाट नै उक्त निर्णयहरू हुने व्यवस्था मिलाउने सन्दर्भमा तीनै तहका सरकारले सुझबुझका साथ उपयुक्त नीति, विधि र पद्धतिको अवलम्बन गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रण र सदाचार संस्कृति प्रवद्र्धनका लागि आयोगले उपचारात्मक रणनीतिका अतिरिक्त निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिसमेत अवलम्बन गरेको छ। आयोगले तीनै तहका सरकार, नागरिक समाज, नागरिक निगरानी संस्था, विद्यालय र सञ्चार जगतसँगको सहकार्यमा भ्रष्टाचारविरुद्धको सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।  

आयोगले आफ्नो चौथो संस्थागत रणनीतिक योजना (२०७६÷७७–२०८०÷८१) को समीक्षाबाट पहिचान भएका सुधार गर्नुपर्ने विषय सम्बोधन गर्ने गरी पाँचौं संस्थागत रणनीतिक योजना तर्जुमा गरिरहेको छ। आयोगबाट मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनौट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन, बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिद कार्यलाई पारदर्शी,  प्रतिस्पर्धी र गुणस्तरीय बनाउन २२ बुँदे सुझावहरू दिइएको छ।

विद्यमान ऐन, कानुन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिकाहरूको पालना गर्नु सरकारका सम्बन्धित सबै निकाय र पदाधिकारीहरूको दायित्व हो। जिम्मेवार व्यक्तिहरूले आयोगको सुझाव देखाई आफ्नो जिम्मेवारी पन्छाउने, निर्णय नगर्ने,  तोकिएको काम नगर्ने र कानुनी उत्तरदायित्व पुरा नगर्ने अवस्था आउनु हुँदैन।

कर्मचारी र पदाधिकारीले कार्यसम्पादन गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने कानुनी प्रावधानहरू पूर्ण परिपालना हुन नसकेको तथ्यलाई मध्यनजर गरी कमी कमजोरी सच्याउन कानुनी व्यवस्थाहरू पुनःस्मरण गराउने उद्देश्यले दिइएका उक्त सुझावहरूबाट विकास निर्माण, सेवा प्रवाह र सुशासनमा बाधा पुग्ने नभई सुशासन कायम गरी विकास निर्माणलाई थप नतिजामुखी बनाउन सकिने कुरामा आयोग विश्वस्त छ।

आयोगले छानबिन र अनुसन्धानको नाममा बाधा उत्पन्न गराएको, सक्कल कागजात नियन्त्रणमा लिएको, काम रोक्न आदेश दिएको जस्ता तथ्यहीन तर्कहरू आयोगका पदाधिकारीहरू सहभागी हुने गरेका विभिन्न छलफल र अन्तरक्रियामा उठेको विषयमा पनि आयोगको ध्यानाकर्षण भएको छ। आयोगले कुनै पनि उजुरीको छानबिनका क्रममा सक्कल कागजात मगाउने, काम रोक्का राख्न आदेश दिने, आयोजनामा बाधा पु¥याउने कार्य नगरेको र आगामी दिनमा समेत यस्तो कार्य हुने छैन।  

नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र रहेको छ। यससम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना एवम् सम्पत्ति शुद्धीकरण तथा आतंकवादविरुद्धको वित्तीय लगानी निवारण सम्बन्धी रणनीति र कार्ययोजना कार्यान्वयनमा समेत रहेका छन्।

पारस्परिक कानुनी सहायता ऐन र सपुर्दगी ऐन जस्ता कानुन कार्यान्वयन भएपनि सम्वन्धित देशहरूसँग द्वीपक्षीय संझौता हुन नसक्दा मुलुकबाहिर हुने भ्रष्टाचारजन्य लेनदेनका विषयमा पारस्परिक कानुनी सहायतामार्फत आवश्यक तथ्य र सूचना संकलन गर्न समस्या देखिएकोले यथाशीघ्र  आवश्यक मुलुकहरूसँग द्वीपक्षीय संझौता गर्नुपर्ने देखिएको छ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधान र सङ्घीयतासमेतको सन्दर्भ समेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेकोमा उक्त विधेयकहरू यथाशीघ्र पारित हुन आवश्यक छ।  

ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै प्रकाशित भ्रष्टाचार अनुभूति सूचकाङ्कमा गतवर्षभन्दा एक अङ्क बढेर नेपालको अवस्थामा सामान्य सुधार भएको छ। ५० भन्दा कम अङ्क प्राप्त गर्ने मुलुक भ्रष्टाचारको उच्च जोखिमयुक्त मुलुकमा गणना हुनेमा नेपालको अङ्क ३५ मात्र हुनुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा नेपालले अझै निकै सङ्घर्ष गर्नुपर्ने देखिएको छ।

तीनै तहका सरकारमा कार्यकारी भूमिकामा रहने राजनैतिक पदाधिकारी, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा यसप्रतिको दायित्वबोध नहुन्जेल भ्रष्टाचार नियन्त्रणमा आशातीत सफलता हासिल गर्न सकिने छैन।  

आयोगमा प्राप्त हुने उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन अनुसन्धान गरी अभियोजनसम्म गर्न कार्यालय स्वचालन प्रणाली प्रयोग गरिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रत्येक सचेत नागरिकले पनि भ्रष्टाचारको विषयमा तथ्यपरक सूचना उपलब्ध गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग पु¥याउनु पर्छ।

सदाचार पद्दतिको विकास र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीतिलाई मूर्त रूप दिनका लागिसबैको सहकार्य, साझेदारी, समन्वय, सक्रियता र सहयोग रहने विश्वास छ।

(अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश) –रासस
अर्को समाचार
लोकतन्त्रको आवरणमा लुटतन्त्र
१९ माघ २०७८
•
६ मिनेट पाठ
लोकतन्त्रको आवरणमा लुटतन्त्र
ट्रान्सपरेन्सी इन्टरनेसनलले ताजा सूचकांक सार्वजनिक गरेको छ, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२१’। यसो त उसले सन् १९९५ देखि नै यस्तो सूचकांक सार्वजनिक गर्दै आएको छ। नेपाललाई भने सन् २००४ देखि मात्रै यो सूचकांकमा समावेश गर्न थालेको हो।




यो सूचकांकको उद्देश्य कुनै पनि देशलाई सुशासनका लागि उत्प्रेरित गर्नु हो। तर यो उद्देश्यको निकै थोरै अंश पनि पूरा भएजस्तो लाग्दैन। सूचकांकमा विश्वभरि नै भ्रष्टाचार घट्न नसकेको र विश्वका १८० मध्ये ८८ देशले एक दशकसम्म पनि भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हासिल गर्न नसकेको उल्लेख छ। सूचकांकमा विशेषगरी नागरिक अधिकार कमजोर भएका देशमा भ्रष्टाचार बढ्ने, मानव अधिकार हनन हुने, लोकतन्त्र कमजोर हुने, अधिनायकवाद बढ्ने र यसले भ्रष्टाचार बढाउन सघाउने उल्लेख छ।

विश्वव्यापी जिम्मेवार संस्थाको हैसियतले जिम्मेवार भूमिका निर्वाह गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार व्याप्त देशहरूलाई भ्रष्टाचार समृद्धिको बाधक हो, त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल भन्ने सन्देश दिन यस्तो सूचकांक निकालेको हो।

तर विश्वका झण्डै ८८ देशले अझै पनि भ्रष्टाचार घटाउन नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकेका छैनन्। यसैको परिणामस्वरूप एक दशकमा पनि ती देशहरूले उल्लेख्य संख्यामा भ्रष्टाचार घटाउन सकेका छैनन्। नेपाल पनि भ्रष्टाचार घटाउन नसक्ने त्यही ८८ देशभित्रै परेको छ। विगत एक दशकमा नेपालले पनि उल्लेख्य परिमाणमा भ्रष्टाचार घटाउन सकेको छैन।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२१’ मा नेपाल कुल १०० पूर्णांकमा ३३ अंकसहित ११७औँ स्थानमा छ। गत वर्ष पनि नेपाल सोही स्थानमा थियो। यसबाट नेपालले गएको एक वर्षमा भ्रष्टाचार नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको प्रष्ट हुन्छ।

भ्रष्टाचार नियन्त्रणका कामलाई प्रभावकारी बनाउनुको साटो भ्रष्टाचारलाई नै प्रश्रय दिनेखालका नीतिगत निर्णयहरू गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने राजनीतिक दल र दलका नेताहरूको गलत प्रवृत्तिले गर्दा भ्रष्टाचारीको मनोबल झन् उच्च बन्दै आएको छ। परिणामतः भ्रष्टाचार नियन्त्रणमा क्रियाशील अख्तियार दुरुषयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणको काममा प्रभावहीन बनिरहेको छ। भ्रष्टाचारीलाई पुरुषार्थी ठान्ने समाजले अख्तियारलाई निरीह देख्ने गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२१’ ले औल्याएअनुसार नेपालमा विगत एक दशकमा भ्रष्टाचार नियन्त्रणमा सुधार आउन नसकेको र गत एक वर्षमा पनि भ्रष्टाचार नियन्त्रणमा असफल भएको थाहा पाएर देशका शासक र प्रशासकहरूलाई लाज लाग्नुपर्ने हो। लाजले तिनको शिर झुक्नुपर्ने हो। तर झुकेको छैन। बरु उठेको छ तिनका शिर, गरिब जनतासामु आफूलाई अमीर ठानेर। तिनले गरिब जनतालाई होच्याउँछन्, गिज्याउँछन्।

वास्तवमा देशका सबै भन्दा ठूला भ्रष्टाचारी तिनै शासक र प्रशासक हुन्। शासक र प्रशासक स्वयं भ्रष्ट भएको देशमा कसरी भ्रष्टाचार नियन्त्रणमा प्रगति हुन्छ? शासक र प्रशासकले आफू मात्रै भ्रष्टाचार गर्दैनन्, भ्रष्टाचार गर्नेहरूलाई प्रश्रय दिन्छन् र सुरक्षा पनि प्रदान गर्छन्। त्यसैले भ्रष्टाचार नियन्त्रणको अभियान प्रभावहीन बनिरहेको छ।

सरकारी सेवा भनेको राष्ट्र सेवा हो। त्यसैले सरकारी कर्मचारीलाई राष्ट्रसेवक भनिन्छ। तर अहिले भने सरकारी सेवामा प्रवेश गर्नुको मुख्य उद्देश्य नै भ्रष्टाचार गर्नु रहेको छ। त्यसैले भ्रष्टाचारीको पर्याय बनेका छन् सरकारी कर्मचारी। बीस वर्षदेखि सानोतिनो व्यापार/व्यवसाय गर्दै आएको एउटा व्यवसायीलाई चार आना जग्गा जोड्न हम्मेहम्मे छ। तर त्यति नै अवधि जागिर खाएको एउटा सरकारी कर्मचारीले ८७ ठाउँमा जग्गा जोड्न सक्छ। २२ वटा घर बनाउन सक्छ र बैंकमा करोडौँ रुपियाँ जम्मा गर्न सक्छ। (सन्दर्भः उपसचिव हेमराज बिष्ट प्रकरण) इमानदारीको कमाइले यस्तो सम्भव हुँदै हुँदैन। त्यसैले जनताले सरकारी कर्मचारीलाई भ्रष्टाचारीका रूपमा चिन्छन्।

तैपनि भ्रष्टाचारीलाई बहिस्कार गर्ने ल्याकत छैन जनतामा। किनभने घूस नदिने र भ्रष्टाचारको विरोध गर्ने सेवाग्राहीलाई सरकारी कर्मचारीले दिने दुःख र हैरानीबाट जनता भलीभाँती परिचित छन्। भ्रष्टाचारीलाई दण्ड दिनुपर्ने न्यायालय स्वयं भ्रष्टहरूको चंगुलमा फसेकाले जनता भ्रष्टाचारविरुद्ध बोल्न नसक्ने गरी निरीह बनेका छन्।

जनताको सुख, शान्ति र समृद्धिका लागि ल्याइएको थियो लोकतन्त्र। तर त्यही लोकतन्त्रलाई शक्तिका आडमा लुटतन्त्र बनाइएको छ। लोकतन्त्रको आवरणमा जततातै लुटतन्त्र मच्चाइएको छ। एउटा सामान्य नागरिक भएर सोच्दा आफैँलाई प्रश्न सोध्न मन लाग्छ, यो देशमा लोकतन्त्र छ कि लुटतन्त्र? लोकतन्त्रको आवरणमा लुटतन्त्र मच्चाउन अभ्यस्त बनेकाहरूले लोकतन्त्रको सम्मोहनमार्फत् जनतालाई लठ्ठ्याइराखेका छन्।

जनता अझै लठ्ठिएकै अवस्थामा छन् लोकतन्त्रको नाउँमा। त्यसैले जनता भ्रष्टाचारीलाई भ्रष्टाचारी भनेर औँला सोझ्याउन सक्दैनन्। बरु तिनै भ्रष्टाचारीलाई इज्जत गर्छन्, सम्मान गर्छन्। सिंगो समाजले सम्मानित गर्छ भ्रष्टाचारीलाई। बरु इमानदारलाई लाछी भनेर खिसी गर्छ हाम्रै समाजले। भ्रष्टाचार गर्न सक्नु पुरुषार्थ बनेको छ हाम्रो समाजमा। पुरुषार्थीको जय/जयकार गर्नु हाम्रो संस्कारै हो। भ्रष्टाचारीलाई नै सम्मानित गर्ने देशमा भ्रष्टाचार घट्छ भन्ने अपेक्षा कसरी गर्न सकिन्छ? अनि ट्रान्सपरेन्सी इन्टरनेसनलले वर्षैपिच्छे भ्रष्टाचारी देश भनेर दशै औँलाले औल्याए पनि के फरक पर्छ र भ्रष्टाचारीलाई?

नेताहरूमा इमानको खडेरी परेको छ। सत्ता भ्रष्टहरूको शक्ति बनेको छ। यस्तो अवस्थामा राजनीतिक प्रणालीलाई दोष दिनुको के अर्थ? दोष प्रणालीको हुँदै होइन, प्रवृत्तिको हो। भ्रष्टाचारी प्रवृत्तिले प्रणाली बदनाम भएको हो। लोकतन्त्रलाई लुटतन्त्र त्यसै भनेका होइनन् जनताले। जनताको सेवाका लागि हुनुपर्ने सत्ता भ्रष्टाचारका लागि भएको छ। सत्तामा पुग्ने लालसा भ्रष्टाचारकै लागि हो।

हिजो चप्पल लगाएर राजधानी छिर्ने कथित नेताहरूको अहिलेको हाइफाइ जीवनशैलीले सत्ता भ्रष्टाचारका लागि हो भन्ने प्रमाणित गर्दैन र? सत्ता नै भ्रष्टाचारमा लिप्त हुने देश भ्रष्टाचार नियन्त्रणमा असफल हुनु के अनौठो भयो र! दश वर्षमा पनि देशमा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार नहुनु हात्ती छाप चप्पलको कमाल नै हो।

सिंगापुरका पिता मानिने प्रधानमन्त्री लि क्वान युले कसरी सिंगापुरलाई समृद्धशाली बनाए भन्ने कुराबाट अनभिज्ञ छैनन् हाम्रा नेता अथवा हाम्रो नेतृत्व तह। लिले आफ्नो सफलताका पछाडि राजनीतिक इमानदारी, कानुनी शासन, स्वतन्त्र न्यायपालिका र नीतिगत स्थायित्वलाई प्रमुख कारण मान्ने गरेको हामीले पढ्दै र सुन्दै आएका छौँ। के नेपाली नेताहरूमा छ त्यस्तो इमानदारी? नेपालमा छ त कानुनी शासन, स्वतन्त्र न्यायपालिका र नीतिगत स्थायित्व ? यी मूलभूत प्रश्नहरूको उत्तर सकारात्मक नआएसम्म देश समृद्ध बन्नै सक्दैन।

यदि भ्रष्टाचारलाई समृद्धिको बाधक मान्ने हो भने त्यसको अन्त्यका लागि सर्वप्रथम नेताहरूमा नैतिकता र इमान हुनुपर्छ। शून्य सहनशीलताको खोक्रो नारामात्रै होइन, भ्रष्टाचार नगर्ने र गर्न नदिने राजनीतिक प्रतिबद्धता हुनुपर्छ। अनिमात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ। भ्रष्टाचार नियन्त्रण भयो भने मात्रै पनि समृद्धिका लागि मार्गप्रशस्त हुनेछ।

लोकतन्त्रलाई लुटतन्त्रको आवरण बनाइएकाले नेपाल भ्रष्टाचार व्याप्त देशको सूचीमा सूचीकृत भएको हो। सत्तामा बस्नेले सत्तालाई जनताको सेवामा समर्पित गर्ने र लोकतन्त्रलाई लुटतन्त्रको आवरण बनाउन छाड्ने हो भने देश भ्रष्टाचारमुक्त हुनेछ र समृद्धिको मार्गमा अग्रसर हुनेछ।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस