जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ‘सन्देश एन्ड जनेस पाउरोटी उद्योग’ छ। यही उद्योगमा उत्पादित पाउरोटी र चाउमिन बजारसम्म पुर्याउन २९ वर्षीया रविना बुढालाई भ्याइनभ्याइ हुन्छ। पातारासी गाउँपालिका–३ हुरीमोहरी गाउँकी बुढा दैनिक २० देखि ३० हजार रूपैयाँसम्मको चाउमिन र पाउरोटी बेच्छिन्।
‘उद्योग खोल्नुपूर्व कसरी जीवन धान्ने होला भन्ने चिन्ता हुन्थ्यो,’ उनले भनिन्, ‘हिम्मत जुटाएर उद्योग खोलें। अहिले सफल भएकी छु।’
उनले उद्योग सुरु गरेको तीन वर्ष भयो। बुढा आफैं अटोरिक्सा चलाउँछिन्। अटोरिक्सा आफैं चलाउन सक्ने भएकाले पनि आफ्नो उद्योगमा उत्पादित सामान बजारसम्म लैजान उनलाई खासै समस्या छैन।
उद्योगमा पाउरोटी, क्रिमरोल, ब्रेड र चाउमिन बनाइन्छ। कामदारको ज्याला र कच्चा पदार्थ ल्याएबापतको रकम कटाएर वार्षिक १० लाख रूपैयाँ हाराहारीमा बचत हुने गरेको उनले बताइन्।
पति डिलबहादुर पनि रातदिन नभनेर रविनालाई उद्योग सञ्चालन गर्न सघाइरहेका छन्। आफ्नो लगाव र पतिको साथले सफल उद्यमी भएको रविना बताउँछिन्। ‘मेहनत गरे आफ्नै घरआँगनमा पनि मनग्गे कमाउन सकिन्छ,’ उनले भनिन्, ‘विदेश मात्रै नताकौं, स्वदेशमा पनि धेरै सम्भावना छ।’
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...