पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ सदरमुकाम दमौलीबाट खैरेनीटारसम्मको दूरी करिब २२ किलोमिटर हो। राजमार्ग सहज हुँदा यो दूरी आधा घण्टामा पुरा हुन्थ्यो। तर, बिहीबार दमौलीबाट बिहान साढे १० बजे बस चढेका नारायण खड्कालाई २२ किलोमिटर दूरी तय गरेर खैरेनीटार आउन कम्तीमा चार घण्टा लाग्यो। उनी खैरेनीटार आइपुग्दा दिउँसोको पौने ३ बजेको थियो।
छोटो दूरीको यो सडक पुरा गर्न खेप्नुपरेको सकस अरु केही नभई बिस्तारको क्रममा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदाको कारण हो। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–आँबुखैरेनी खण्ड बिस्तार चलिरहँदा सडकको अधिकांश भाग भत्काइएको छ। त्यही राजमार्ग भएर दिनहुँ हजारौं सवारी पोखराबाट काठमाडौं तथा पूर्व र पश्चिमका लागि ओहोरदोहोर गर्छन्।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सडक अहिले दुई खण्डमा बाँडेर बिस्तार भइरहेको छ। पूर्विखण्ड (आँबुखैरेनी–जामुने ४१ किलोमिटर) र पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पर्छ। पश्चिमको तुलनामा पूर्वी खण्डको काम धेरै नै भएको छ।
राजमार्ग बिस्तार भइरहँदा यतिबेलाको वर्षाले सडक अस्तव्यस्त छ। राजमार्ग फराकिलो बनाउनका लागि अहिले पोखरादेखि आँबुखैरेनीसम्मैको भाग भत्काइएको छ। त्यसमध्ये पूर्वी खण्डमा धेरै भाग कालोपत्रे पनि भइसकेको छ। तर पश्चिम खण्डमा भने कामको गति अझै सुस्त छ।
बिस्तारको क्रममा रहेको राजमार्गमा वर्षा थपिँदा अहिले सडक हिलाम्य बनेको छ। बाटो चिप्लो बनेको छ। वर्षाले गर्दा कतिपय ठाउँमा गाडी गुडाउनै सकस हुने गरेको छ। वर्षाको पानी जम्दा ट्र्याक पहिचान गर्न समेत चालकलाई सकस हुने गरेको छ। चारपांग्रे साना र दुइपांग्रे सवारीको यात्रा त झनै सकसपूर्ण बन्ने गरेको छ।
‘बढीमा एकघण्टामा खैरेनीटार पुग्न सकिने आँकलन गरेर म दमौलीबाट बस चढेको हुँ। तर, २२ किलोमिटर दूरी तय गरेर खैरेनीटार आउँदा मलाई चार घण्टा भन्दा बढी समय लाग्यो । बीचमै फर्किन पनि सकिन,’ खड्काले भने, ‘बाटोमा हिलोले गर्दा हिँडिनसक्नु छ । गाडी गुडाउनै सकस छ । ठाउँ ठाउँमा गाडी नै चिप्लिने डर छ। हिलोमा गाडी नै फस्ने पनि गरेका छन्।’
हिलोमा फसेको गाडी निकाल्न नसक्दा पनि उत्तिकै अप्ठेरो पर्ने गरेको उनले बताए। यतिसम्मकी गाडीको पुरै टायर नै हिलोमा गाडिने अवस्था रहेको उनले बताए। उनका अनुसार सबैभन्दा बढी सकस डाइभर्सनमा छ। साँघुरो डाइभर्सनमा गाडी उक्लिनै नसकेको उनले बताए।
‘डाइभर्सन साँघुरा छन्। त्यसैमाथि हिलो र चिप्लो उत्तिकै छ। ठाउँ ठाउँमा भेल जमेर बाटोको ट्र्याक नै छुट्याउन पनि सकस छ,’ उनले भने, ‘मुख्य राजमार्गको हालत खराब छ। मलाइ २२ किलोमिटर दूरी तय गर्न चार घण्टा लाग्यो। दमौलीदेखि पोखरा (५० किलोमिटर) दूरी तय गर्न कति समय लाग्छ भन्न सकिन्न।’
उनका अनुसार जामुने, अकला, कुम्लेखोला, खैरेनीटार, लगायतका ठाउँमा यात्रा निकै नै सकसपूर्ण छ। जाममा फसेका गाडीका कारण यात्रा नै अनिश्चित बनेको उनले बताए।
वर्षासँगै अहिले राजमार्गको यात्रा अवधि समेत बताउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाई छ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरि अधिकारीका अनुसार काठमाडौंबाट बिहान ७ बजे छुटेका पर्यटक बस दिउँसो ४ बजेभित्र पोखरा आईपुग्नु पर्ने भएपछि बुधबार बेलुकी ६ बजेमात्र आएको थियो।
‘कुन बेला कहाँ रोकिनुपर्छ भन्ने यकिन छैन। सडकयात्रा सकसपूर्ण छ,’ अधिकारीले भने, ‘यसैपनि राजमार्ग बिस्तारले सकस थियो । त्यसैमा हिलोका कारण झनै सकसपूर्ण यात्रा बनेको छ।’
अधिकारीका अनुसार अहिले गन्तव्यमा कतिबजे पुग्न सकिन्छ भनेर समेत भन्न सकिने अवस्था छैन । ‘पछिल्लो समय नियमितजसो दिउँसो ४ बजे बस पोखरा आइसकेका हुन्थे। तर, अहिले वर्षायामले गर्दा बाटो हिलाम्य भएकोले पनि हिँडडुल सहज छैन,’ अधिकारीले भने।
राजमार्ग अन्तर्गत पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी नारायण पौडेलका अनुसार वर्षायाम अघि नै सडकको नाली बनाउने योजना भएपनि अहिले नाली तयार नभइसकेकोले यो समस्या आएको हो। ‘आगामी वर्षायाम अघि नै नाली बनाएर वर्षाको पानी पन्छाउने योजना छ। अहिले खनेको माटोमा पानी परेपछि चिप्लो र हिलो भएको हो,’ उनले भने, ‘कतिपय ठाउँमा डाइभर्सनमा पनि समस्या आएको हुनसक्छ।’
एसियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ।
आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारकोबेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...