१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बाघ थुनेर भ्रमण वर्ष मनाउन लागेको भन्दै संरक्षणकर्मी विरोधमा

भरतपुर महानगरपालिका– ६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रलाई पर्यटकीय स्थल बनाएको भन्दै संरक्षणकर्मीले विरोध जनाएका छन्। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चितवन राष्ट्रिय निकुञ्जले खोरमा राखिएका बाघलाई पर्यटकले अवलोकन गर्ने व्यवस्था गरेपछि संरक्षणकर्मीले विरोध जनाएका हुन्।  

सामाजिक सञ्जालमार्फत उनीहरुले बाघलाई थुनेर पर्यटकले आनन्द लिन नसक्ने बताएका छन्। पशु संरक्षणकर्मी सुराजन श्रेष्ठले वन्यजन्तुलाई प्रदर्शनीमा राख्न उचित नहुने बताएका छन्।

उनले आफ्नो फेसबुक पेजमा निकुञ्जप्रति लक्षित गर्दै लेखेका छन्, ‘चितवनमा बाघलाई क्रूरतापुर्वक खोरमा थुनेर पर्यटक तान्ने काममा दुरुपयोग गर्ने परियोजनामा डब्लुडब्लुएफको ठूलो भूमिका छ। बाघको जनसंख्या बढाउने परियोजना ल्याउने तर प्राकृतिक व्यवस्थापनमा लापरबाही गर्ने र अहिले आएर बाघलाई खोरमा थुनेर व्यवस्थापन गरेको जस्तो गर्नेहरुलाई पाठ सिकाउन जरुरी छ। हामी चितवनमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय अगाडी विरोध प्रदर्शन गर्ने तयारीमा छौँ।’

निकुञ्जले बुधबारदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटे बाघ सर्वसाधारणका लागि अवलोकन गर्न व्यवस्था गरेको जनाएको छ। सो उद्धार केन्द्रको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकी थिइन्। सो अवसरमा दाहालले गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुला चिडियाखानाका रुपमा विकास गरिने बताएकी थिइन्।

निकुञ्जले बाँकेबाट २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र २०७७ असोज १२ गते भरतपुर–१३ को वेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ यहाँ ल्याइएको छ। बाँकेबाट ल्याउँदा सो बाघ ६ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए। तीन बाघलाई पर्यटन प्रर्वद्धनमा राखिएको हो।

अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन्। नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो। पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ बयस्क बाघ रहेका छन्।

प्रकाशित: १६ चैत्र २०८० १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App