२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘हिन्दु-मुस्लिम’ सँगै बसेर मनाए ईद

नेपालगन्जमा मुस्लिम र गैर मुस्लिम समुदायसँगै बसेर बिहीबार ईद मनाउँदै। तस्बिर अर्जुन ओली/नागरिक

नेपालगन्जका मजिद अलि शेखले हरेक वर्ष ईद मनाउनका लागि घरमा आफ्ना साथीभाइ र शुभेच्छुकलाई निम्तो दिन्छन्। उनको निम्तो मान्न हिन्दु समुदायका व्यक्तिहरू पनि उपस्थित हुन्छन्। दसै, तिहार जस्ता चार्ड पर्वमा उनी पनि हिन्दु समुदायका घरमा पुगेर टिका लगाउँछन् र आर्शिवाद थाप्छन्।

‘ईदमा हामी पानी समेत नखाएर एक महिनासम्म व्रत बस्यौं, ईदलाई हामी मुस्लिम मात्र नभएर हिन्दु समुदायका दाजुभाइ समेत मिलेर धूमधामसँग मनाइरहेका छौं,’ उनले नागरिक न्युजसँग भने ‘ईद मनाउन मेरो घरमा साथीभाइ जम्मा हुँदा खुसी लाग्छ।’ सबै धार्मिक समुदाय मिलेर ईद मनाउँदा झनै रमाइलो लाग्ने शेख बताउँछन्।

नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले हरेक वर्ष ईद मनाउँछन्। हिन्दु समुदायको भएपनि आफूलाई मुस्लिम समुदायको चाडप्रति सम्मान र निकै गर्व महसुस हुने उनी बताउँछन्।

‘नेपालगन्ज सद्भावको सहर हो, ईदमा मलाई थुप्रै मुस्लिम समुदायका साथीहरुले बोलाउनु हुन्छ,’ उनले भने ‘विगतको वर्षझैँ यस वर्ष पनि मजिद अलि शेख जीले बोलाउनु भयो, अरु थुप्रै साथीहरुले पनि निम्तो गर्नु भएको छ, ईदमा उहाँहरु मिठो मसिनो खानेकुरा खुवाउनु हुन्छ, नेपालगन्जमा हिन्दु–मुस्लिमबीच भाइचारा र आत्मीयता झल्केको महसुस हुन्छ।’

ईदमा जसरी मुस्लिम समुदायको घरमा पुगेर ईद मनाउँछन्, दसै, तिहार जस्ता चार्डमा काफ्ले पनि मुस्लिम समुदायका साथीहरुलाई घरमा बोलाउँछन्।

नेपालगन्जमा पछिल्लो समयमा हिन्दु र मुस्लिम बीच एकले अर्काको धर्म मनाउने परम्परा स्थापित भइसकेको छ। हिन्दु, मुस्लिम, शिख, ईसाई, बौद्ध लगायत धर्ममा आस्था राख्ने समुदायबीच धार्मिक सहिष्णुता बढ्दै गएको पाइएको छ। विशेषगरी हिन्दु र मुस्लिम समुदायमा अझ बढी धार्मिक सहिष्णुता झल्किन्छ। समय समयमा केही उच्छृङ्खल तत्त्वबाट धार्मिक द्वन्द्व फैलाउने प्रयास भएपनि उनीहरु असफल हुने गरेको यहाँका अगुवा बताउँछन्।

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर ईदको शुभकामना आदान प्रदान गर्न बिहीबार बिहानै देखी ईदगाह तथा मुस्लिम समुदायका घर, टोलमा व्यस्त भए। ‘ईदको मुबारक (शुभकामना) दिन म धेरै व्यस्त छु, यो पर्व धार्मिक सहिष्णुताको नमुना पनि हो, म यो क्षेत्रको विधायक र मन्त्री पनि भएको हुनाले सबैलाई भेटेर शुभकामना दिएको छु,’ मन्त्री अहिरले भने।

मुस्लिम समुदायले मनाउने ईद र हिन्दु समुदायका दसै, तिहार जस्ता चार्डले धार्मिक सहिष्णुता झल्काउने लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्ले बताउँछिन्। हरेक वर्ष आफूले मुस्लिम समुदायका घरमा पुगेर ईद मनाउने गरेको र दसै, तिहारमा आफूले पनि घरमा बोलाएर मुस्लिम समुदायका दाजुभाइ, दिदी बहिनीलाई मिठो मसिनो खुवाउने गरेको उनले स्मरण गरिन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२० का वडा अध्यक्ष कौशलकुमार धोबी यहाँको धार्मिक सद्भावलाई कसैले पनि बिगार्न नसक्ने ठोकुवा गर्छन्। ‘केही कु–तत्त्वले हाम्रो सद्भावलाई बिगार्न खोज्छन्, तर हामी बीचको सद्भाव बिग्रिँदैन,’ उनले भने।

नेकपा (एकीकृत समाजवादी) की नेतृ करिस्मा योगीलाई पनि हरेक वर्ष ईद पर्वमा मुस्लिम समुदायका व्यक्तिबाट निम्तो आउँछ। उनी निम्तो मान्न मुस्लिम समुदायको घरमा हरेक वर्ष पुग्छिन्। ‘हिन्दु धर्मावलम्बीको दसै, तिहार जस्तै मुस्लिम धर्मावलम्बीको महान् चार्ड ईद हो, हामीलाई जसरी उहाँहरुले आफ्नो पर्वमा बोलाउनु हुन्छ, एकदमै सम्मान पूर्वक उहाँहरुको कार्यक्रममा सहभागी हुन्छौं,’ उनले भनिन्।

जसपाका युवा नेता एवम् भूमि आयोग बाँकेका नि-वर्तमान अध्यक्ष सर्बणकुमार यादव नेपालगन्जमा एक धर्मले अर्को धर्मलाई सम्मान र सहिष्णुता राख्ने परम्परा बसिसकेको तर्क गर्छन्। ‘हामी एउटै ठाउँमा बसेका छौं, धर्ममात्र फरक हो, हाम्रो चाडपर्वमा हामीले उहाँहरु (मुस्लिम) लाई निमन्त्रणा गर्छौ, उहाँको चार्डमा हामीलाई निम्तो दिनुहुन्छ, मिलेर चाडपर्व मनाउँदा अझ बढी रमाइलो हुन्छ,’ उनले भने।

नेपाल समाजवादी पार्टीका महाधिवेशन आयोजक समिति सदस्य हिक्मत बि.क नेपालगन्ज सहरको विशेषता नै विविधतामा एकता रहेको बताउँछन्। उनले भने, ‘मुस्लिम समुदायको सबैभन्दा ठुलो चार्ड हो ईद, यस्ता चाडपर्वमा शुभकामना साटासाट गर्ने, भेटघाट गर्ने र रमाइलो गर्ने परम्परा स्थापित भइसकेको छ।’

ईदको अवसरमा नेपालगन्जस्थित विपी चोकमा रहेको ईदगाहमा पुगेर बिहीबार ठुलो संख्याका मुस्लिम समुदायले नमाज पढे। त्यस क्रममा मुस्लिम र गैर मुस्लिम समुदायबीच एक अर्कामा अंकमाल गरेर शुभकामना साटासाट गरिएको थियो।

प्रकाशित: २९ चैत्र २०८० १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App