काठमाडौं महानगरपालिकाले सडक खनेर अलपत्र छाड्नेलाई कारबाही गर्ने भएको छ। पछिल्लो समय संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका अधिकांश सडक विकासका नाममा खन्ने तर नबनाउने प्रवृत्ति बाक्लिँदै गएको प्रति कडा बन्दै महानगरले यस्तो योजना बनाएको हो।
राजधानीका सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन्। भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्टाखुल्टी बाक्लो रूपमा देखिन थालेको छ। जसले सडक दुर्घटनाको जोखिमलाई पनि उत्तिकै बढाएको छ।
निर्माणको ठेक्का पाएका निजी क्षेत्रका व्यवसायीले भत्काउने काम तुरुन्तै गरेपनि त्यसपछिको निर्माण भने समयमै गरेको पाइँदैन। सडक खनेर अलपत्र छाड्ने गैर जिम्मेवार प्रवृत्तिले राजधानीलाई धुवाँ र धुलोले कुहिरीकण्डल र यात्रालाई थप धराप बनाएको छ। खनिएका खाल्टा नपुरी त्यतिकै छाडिदिँदा यात्रा कष्टकर बनेको छ।
यसरी सडक खनेर अलपत्र छाड्दा सहरी सुन्दरता र विकास व्यवस्थापनमा समेत समस्या देखिएपछि महानगरले यस्तो काम गर्नलाई कारबाही गर्ने योजना बनाएको महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य बताउँछन्।
‘मुख्य सडकमा गहिरो खाल्टो हुनु र लामो समयसम्म मर्मत सम्भार नहुँदा सर्वसाधारणहरू यात्रा जोखिमपूर्ण हुने गरेको छ। दुर्घटनाको जोखिम बढाएको छ। सडकको खाडल पुरेर सडकलाई धरापमुक्त बनाउन हामीले कारबाहीको योजना अघि सारेका हौँ’ शाक्यले भने।
उनका अनुसार अब उपरान्त सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य सुरु गर्नु अगावै निर्माण कार्य गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्छ।
साथै यसअघि थालिएका वा निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा वैशाख ४ गतेभित्र घेराबार गरेर तथा प्रदूषण घटाउने उपाय अवलम्बन गरेर निर्माण स्थल व्यवस्थापन गर्न समय दिइएको छ। ‘वैशाख ५ गतेदेखि तोकिए बमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ’, उनले भने।
उनका अनुसार संरचना बनाउँदा निर्माण मापदण्ड र वातावरणीय मापदण्ड पालना नगरिएका कारण सहरी आवागमन, सुरक्षा र प्रदूषणमा परेको नकारात्मक प्रभाव घटाउन पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।
यसका लागि सहरका करिब ४० ठाउँमा गएर निर्माणाधीन कार्यको र निर्माण पछिको अवस्था तथा निर्माण पक्षको आचरण अध्ययन गरिएको उनले सुनाए। यसरी हेरिएका सबैजसो ठाउँमा निर्माण तथा वातावरणीय मापदण्डको उलङ्घन भेटिएकाे उनले बताए।
उनी भन्छन् ‘जुनसुकै पनि निर्माणको काम गर्दा बार घेराले छोपेर गर्नुपर्छ। काम सकिएर सडक पूर्ववत् अवस्थामा सञ्चालन भएपछि मात्र बार घेरा हटाउन मिल्छ। तर अहिले सडकमा काम गर्दा बार घेरा पनि नलगाउने, सडकलाई पहिलेको जस्तो अवस्था नबनाई टालेर छोड्ने गरिएको छ। यसले सहरमा धुवाँ-धुलो बढाएको छ। सवारी साधन र पैदल यात्रुको सहज आवागमनमा अवरोध सिर्जना गरेको छ।’
यस प्रकारको गलत परिपाटीले सहरी व्यवस्थापनमा परेको असर घटाउन निर्माण कार्य गर्नु पूर्व नै अनुमति लिनु पर्ने व्यवस्था गर्न लागिएको उनले सुनाए।
यसबाट निर्माण कार्य गर्दा पैदल यात्रु तथा स्थानीयवासीको आवागमनमा बाधा नपर्ने गरी, प्रदूषण नियन्त्रण हुने गरी, निर्माण क्षेत्रलाई घेरेर सुरक्षित उपाय अवलम्बनको आचरण बढाउन मद्दत पुग्ने अपेक्षा महानगरले गरेको छ।
अनुमति लिनु पर्ने व्यवस्थाको पालना नगर्नेहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माण सम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही प्रक्रिया बढाउने महानगरपालिकाको तयारी छ।
म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो।
सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् हो।
अहिले उनको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु सात लाख आम्दानी दिन थालेका छन्। खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ।
'सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,' उनले भनिन्, 'छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।'
सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै गएका छन्। गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गरेकी छन्।
'यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,' उनले भनिन्, 'घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।'
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपका थिए। त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए।
'धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,' उनले विगत सम्झँदै भने, 'अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।'
२० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन्।
केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए।
वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ। कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन्।
सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्। सुर्केमेलामा म्याग्दीमा सबैभन्दा
पहिले सुन्तला टिप्ने गरिन्छ। छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्।
सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन्। सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन्।
बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ।
'सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,' उनले भने, 'उत्पादन भएको सुन्तला बजारमा पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।'
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ।
तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेस गरेको बताए।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्।
किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौती बनेको छ। रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...