१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘जनयुद्ध’ का पूर्वलडाकु रुसी सेनामा बेपत्ता

माओवादी सरकारसँग गुहार माग्दै परिवार

तीन दशकअघि रुकुम (हाल रुकुम पूर्व) को एक घर्तीमगर परिवार तत्कालीन विद्रोही नेकपा माओवादीसँग जोडियो। राज्यको अवहेलनाले उसै पनि रोल्पा र रुकुममा पञ्चायतकालदेखि नै विद्रोहको चेत उब्जिसकेको थियो।

बहुदलीय प्रजातन्त्र स्थापनापछि पनि राज्यले नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकारको अनुभूत गर्ने मौका दिन सकेन त्यहाँका जनतालाई। यही बुझेको विद्रोही माओवादीले ती दुवै जिल्लालाई आफ्नो सशस्त्र विद्रोहको ‘इपिसेन्टर’ बनायो।

स्थानीयसँग मीठा आश्वासनका फेहरिस्त बाँडिए। राज्य नै महसुस नगरेका रस्तीबस्तीमा ‘सर्वहाराको राज्यसत्ता’ को स्वर्णिम सपना फैलाइयो। त्यसैको मोहजालमा साबिकको रन्मामैकोट गाविसका जगत घर्तीमगरको परिवार पनि पर्‍यो।

जगत आफैं माओवादीका सक्रिय कार्यकर्ता बने। उनका भाइ विजय घर्तीमगर विद्रोही जनमुक्ति सेनामा भर्ती भए। विजय भिडन्तमा अंगभंग हुनेगरी घाइते भए। पछि उमेर बढ्दै गएपछि जगतका दुई छोरा पनि जनमुक्ति सेनामै भर्ती भए।

जगतका दुई छोरामध्ये एक हुन् माइतमान घर्ती (३८ वर्ष)। उनी जनमुक्ति सेना हुँदै समायोजनमा नेपाली सेनामा भर्ती भएका थिए। गत वर्ष उनले अवकाश लिइसकेका छन्। ‘सेनाको जागिरले केही भएन भनेर राजीनामा दिनुभयो। त्यसपछि युरोप जान्छु भनेर लाग्नुभएको थियो। क्रोएसियाको भिसा लगाउनुभएको थियो,’ उनकी पत्नी (३७ वर्ष) सिरानी घर्तीमगर भन्छिन्, ‘भिसा आएन। त्यसपछि एकाएक भिजिट भिसामा जान्छु भन्नुभयो, रुस भन्नुभएको थिएन।’

वैदेशिक रोजगारीकै लागि होला भनेर आफूले केही नभनेको उनी बताउँछिन्। ‘२०८० असोज २४/२५ गते रुसको भिजिट भिसाका लागि प्रयास गर्नुभएको रहेछ। कात्तिक ३ गते फोन गरेर १२ लाख लाग्ने भन्नुभयो। १ लाख आफैसँग रहेछ। ११ लाख ऋण खोज्न भन्नुभयो,’ सिरानी भन्छिन्।

सिरानीले घरपरिवार र आफन्तबाट ५ लाख ७३ हजार जुटाइन्। ५ लाख व्यक्तिगत रूपमा ब्याजमा ऋण लिइन्। जुन रकमपछि दाङमा रहेको एक कट्ठा जग्गा धरौटी राखेर बैंकबाट निकालेर तिरेकी छन्। दुई दिनमै उक्त रकम जम्मा गरेर पठाएपछि कात्तिक ६ गते माइतमान भिजिट भिसामा नेपालबाट दुबई उडे।

‘दुबई पुगेपछि रुस जाने भन्नुभयो। मलाई केही थाहा थिएन। रुस गएर आर्मीमा भर्ना हुनुपर्छ, बढी कमाइ हुन्छ भन्नुभयो,’ सिरानी भन्छिन्, ‘रुस पुगेपछि कात्तिक ८ गते ब्यारेकमा लगेर ड्रेस दिएको भन्नुभयो। अब तीन महिना तालिम हुन्छ भन्नुभएको थियो।’ तर एक महिनामै आफूलाई युक्रेन लगिरहेको जानकारी माइतमानले सिरानीलाई दिएका थिए। मंसिर १२ गतेको दिन थियो त्यो।

‘अब १५/२० दिन सम्पर्क हुन्न भन्नुभएको थियो,’ सिरानी सम्झिन्छिन्, ‘हेर्दाहेर्दै १५/२० दिन बित्यो। महिना दिन बित्यो। दुई महिना पनि बित्यो। समय बितिरह्यो,’ उनले भनिन्, ‘तीन महिनासम्म टेलिफोनमा पर्खंदा पनि उहाँको कल आएन।

त्यसपछि जिल्ला प्रशासन कार्यालय दाङ गएर निवेदन दिएँ। फाइल मन्त्रालय गएपछि जानकारी आउँछ भन्नुभयो,’ सिरानी सम्झिन्छिन्, ‘त्यसपछि पनि आइतमानको फोन आएन। न मन्त्रालयले फाइलको जवाफ दियो न जिल्ला प्रशासनले आइतमानको खबर सुनायो।’

त्यसपछि भने सिरानीको होसहवास हरायो। उनी एक छोरी र दुई छोरासहित दाङको तुलसीपुरमा बस्दै आएकी छन्। त्यहाँ आइतमानले सेनाको जागिर गरेर जोडेको एक कट्ठा जमिनमा अस्थायी टहरा बनाएका छन्। त्यही टहरामा ७१ सालदेखि उनको परिवार बस्दै आएको छ।

‘मैले दाङमै भएका नेता–कार्यकर्तासँग हारगुहार गरें। कसैले केही सहयोग गरेनन्। मलाई दुबईबाट रुस जाँदा आफ्नो प्लेन टिकट पठाउनुभएको थियो। अरूलाई त्यो देखाएँ,’ उनले भनिन्, ‘त्यसमा चारजनाको सँगै रहेछ। उनीहरूबारे सोधीखोजी गर्न थाले। तीमध्ये दुईजना त मारिइसकेका रहेछन्।’

मारिनेमा धादिङका पूर्णबहादुर गुरुङ र विजयबहादुर थोकर छन्। ‘त्यसपछि झनै आत्तिएँ। काठमाडौं आएर कन्सुलर विभागमा खोजीका लागि निवेदन दिएकी छु। रसियन दूतावासमा जाँदा दुईपटक फर्काइदियो,’ नागरिकसँगको भेटमा उनले भनिन्, ‘अस्ति गृहमन्त्री (रवि लामिछाने) सँग भेट्दा आफ्ना दुःख राख्नै पाइएन। दुई घण्टा कुराएर १० मिनेट समय दिनुभयो। सबै थाहा छ भनेर बोल्न दिनुभएन।’

त्यसपछि केही समय आफ्नै पार्टीबाट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् भन्ने झिनो आशा बोकेकी थिइन्। उनी भन्छिन्, ‘हामीले त्यत्रो संघर्ष गरेर जिउज्यान दिएर अहिले सरकारमा पुर्‍याएका व्यक्ति भनेर गर्व गथ्र्यौं। उहाँसँगै आफ्ना दुःख राखौंला भनेर सोचेकी थिएँ। त्यो पनि पूरा भएन।’

परराष्ट्रमन्त्री श्रेष्ठसँग भने अभियन्ता कृतु भण्डारीले भेट्ने मौका जुराइदिए पनि प्रधानमन्त्री दाहालसँग भेटका लागि भने कुनै उपाय नलागेको सिरानीको दुःखेसो छ।  

‘हाम्रा लागि त जुन तन्त्र आए पनि केही नहुने रहेछ। आफैंले लडेर ल्याएको तन्त्रमा त राज्यले हाम्रा कुरा सुन्न चाहन्न,’ उनी भन्छिन्, ‘हामीले के भनेका छौं र ? तपाईंका लागि लडेका मेरा पति रुसमा बेपत्ता छन्। अवस्था पत्ता लाइदिनुस्, नेपाल ल्याइदिनुस् भन्न खोजेको मात्र त हो।’

तर राज्यले सिरानीजस्ता तमाम व्यक्तिको कुरा सुन्न पनि चाहिरहेको छैन। ‘पहिले राजाको सत्ता पराई थियो, अहिले आफैंले लडेको सत्ता पराई भयो,’ सिरानीको दुःखेसो छ।

सिरानीको दुःख पतिको अवस्थासँग मात्र सीमित छैन। उनको थाप्लामा पतिलाई रुस पठाउँदा लागेको झन्डै १३ लाख ऋण छ। अझ बेपत्ता पतिको खोजीमा हारगुहार गर्न काठमाडौं पुग्दाको खर्च दिनानुदिन बढेको बढ्यै छ। उनी भन्छिन्, ‘यो ऋणको मात्र के कुरा गरूँ। छोराछोरीको लालनपालन, पढाइ सब अलपत्र छ। यहाँ राज्यले पीडासम्म सुन्ने जाँगर राख्दैन।’

माइतमानजस्तै रुसी सेनामा गएर तीन सयभन्दा बढी नेपाली युवा परिवारको सम्पर्कभन्दा बाहिर छन्। कन्सुलर विभागमा मात्रै २७३ भन्दा बढी हराइरहेका व्यक्तिका आफन्तले खोजी तथा उद्धारका लागि निवेदन दिएका छन्।

सरकारले रुसी सेनामा १९ जना मारिएको आधिकारिक पुष्टि गरेको छ। तर झन्डै ४० जनाभन्दा बढीका परिवारले मृत्युको विश्वास हुने आधार पाएपछि यता दाहसंस्कार र काजकिरिया गरिसकेका छन्।

‘अवस्था निकै विकराल छ। होला, नेपालीहरू अवैध रूपमा रुसी सेनामा पुगेका होलान्। तर आफ्ना नागरिकको जिउज्यानको सुरक्षा राज्यको दायित्व हुन्छ,’ अभियन्ता कृतु भण्डारी भन्छिन्, ‘यहाँ त सरकार कानमा तेल हालेर सुतेजस्तो छ। सरकारले आफ्ना नागरिक र परिवारप्रति दर्साउनुपर्ने सामान्य संवेदनासम्म दर्साउन चाहिरहेको देखिन्न।’

प्रकाशित: ५ वैशाख २०८१ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App