२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु (अपडेट)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईका अनुसार मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ १७ वर्षीय शिव श्रेष्ठ र सोही ठाउँ बस्ने ७० वर्षीय मानबहादुर थामी रहेका छन्। मृत्यु भएका अन्दाजी १८ वर्षीय एक युवकको भने पहिचान खुल्न सकेको छैन।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर आउँदै गरेको जन्ती बोकेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान करिब साढे सात बजेतिर त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना भएको थियो। बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।  

डिएसपी भट्टराईले बसमा बेहुलासहित ५५ जन्ती सवार रहेको बताए। बेहुलासहित बाँकी सबै ५२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ को अवस्था जटिल छ। उनीहरुलाई खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल ल्याएर उपचार सुरु गरिएको छ। उनीहरुको अवस्था हेरेर चिकित्सकले अन्यत्र रेफर गर्न सक्ने प्रहरीले जनाएको छ।

सामान्य ४५ जना घाइतेको त्रिपुराकै विभिन्न स्वास्थ्य संस्थामा उपचार जारी रहेको डिएसपी भट्टराईले जानकारी दिए। सामान्य घाइते उपचारपछि घर फर्कँने क्रमसमेत सुरु भएको उनले बताए। जन्ती बस दोलखाको भीमेश्वर नगरपालिका–१ बाट आएकाले अधिकांश घाइते त्यहीँका छन्। केही घाइते आसपासका गाउँका रहेका छन्।

जन्तीहरु स्वस्थानी तामाङ, प्रकाश तामाङ, ज्ञानबहादुर तामाङ, दलबहादुर तामाङ, सिँहबहादुर लामा, इश्वर थामी, लक्ष्मण थामी लगायत घाइते भएका हुन्। घाइते अधिकांशको टाउको, ढाड र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। बसका चालक पनि घाइते छन्।

घटनास्थल बाह्रविसे बजारबाट २५ किलोमिटर दक्षिणतर्फ पछ । रोल्वालिङ यातायातको जन्ती बोकेको उक्तबस कच्ची र साँघुरो सडकबाट सय मिटर तल खसेको थियो। पिस्कर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय बाह्रविसेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेका थिए।

प्रकाशित: ७ वैशाख २०८१ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App