२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई समुदायबिच शान्ति तथा सद्भावका लागि सहमति

सर्लाहीमा दुई समुदायबिच मैत्रीभाव राख्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीका अगुवाबिच सामाजिक सद्भाव कायम राख्न तथा शान्ति सुव्यवस्थामा कुनै किसिमको खलल पुग्न नदिन पाँच बुँदे सहमति भएको हो।

शान्ति सुरक्षा कायम गर्न सबै पक्षले आफ्नो दायित्व इमानदारीका साथ निर्वाह गर्न, सुरक्षा निकायलाई सहयोग गर्न, सामाजिक सद्भाव बिगार्ने खालका कुनै पनि घटना घटाउने जोसुकैलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने कार्यमा सहयोग गर्न, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने गरी कुनै पनि सरकारी, सार्वजनिक वा व्यक्तिगत सवारीसाधन, घर वा सम्पत्ति हानिनोक्सानी पुर्‍याए क्षति पुर्‍याउने व्यक्ति वा आयोजकबाट असुल गर्ने सहमति कायम भएको छ।

सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा जिल्लाका सुरक्षा प्रमुखहरू बसेर दुवै पक्षबिच छलफल गराई सहमति भएको हो। सर्लाहीको मुसैलीमा दुई समुदायबिच झडपको स्थिति सिर्जना भएपछि व्यापक मात्रामा प्रहरी परिचालन गरी विवादलाई समाधानका लागि जिल्ला प्रशासन कार्यालय अग्रसर भएको हो।

समाजमा घट्ने कुनै किसिमका असामाजिक, अमर्यादित तथा अवाञ्छित क्रियाकलापको निगरानी गरी सोको सूचना प्रशासनलाई दिएर शान्तिसुरक्षा कायम गर्न दुवै पक्षका ३/३ जना रहने गरी समिति गठनको सहमति भएको छ।

समितिमा हिन्दू पक्षबाट नरेन्द्र राय, राजनारायण राय यादव र खेनारी राय तथा मुस्लिम पक्षबाट मोहम्मद अकबर हुसैन, माहम्मद मोमताज र मोहम्मद लतिफ रहेका छन्। समितिले दुई समुदायबिच फाटो ल्याउने कुनै काम गर्ने व्यक्तिबारे सूचना दिएर कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने निर्णय गरेको छ।

गत वर्ष विश्वकर्मा पूजा तथा दुर्गा पूजाको समयमा सर्लाहीमा दुई समुदायबिच झडप भएको थियो। झडपपछि प्रशासनको सक्रियतामा सद्भाव र्‍याली पनि निकालिएको थियो। सर्लाहीमा दुई समुदायबिच बारम्बार झडप हुने र दुई पक्षबिच सहमति हुने गरेको छ।

प्रकाशित: ८ वैशाख २०८१ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App