२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

टिफर आवागमनमा रोक लगाउँदै स्थानीय। तस्बिर : नागरिक

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

गत ४ गतेदेखि विभिन्न माग राख्दै गबुवाबासी टिफर सञ्चालनमा रोक लगाएका थिए। टिफरका कारण स्थानीय ककरु खोलाको उचाइ बढ्दै गएर तटबाँधभन्दा अग्लो हुन पुगेकाले सिंगो गबुवा गाउँ जोखिममा परेको, धुलो धुवाँले प्रदूषण बढेकोलगायत समस्या देखाउँदै स्थानीयले सो बाटो भएर टिफर सञ्चालनमा रोक लगाएका थिए। स्थानीयको अवरोधपछि उद्योगका लागि चुनढुङ्गा ओसार्ने टिफरहरू पूर्णतः बन्द भएका थिए।

टिफर अवरुद्ध भएपछि उद्योगलाई चाहिने चुनढुंगा ढुवानी रोकिएसँगै दुई पक्षबीच छलफल सुरु भएको थियो। मारुती सिमेन्टका लागि सिन्धुलीको ककरुखोला र उदयपुरकै कटारी नगरपालिका ८ पट्नाभञ्ज्याङदेखि आवश्यक चुनढुङ्गा ढुवानी हुँदै आएको छ। ढुवानीकर्ता कम्पनी ओम शिवम मल्टिपर्पाेज र कसमस सिमेन्टका प्रतिनिधिसमेतसँग भएको छलफलबाट सहमति गरी टिफर सुचारु भएको हो।

छलफलका लागि बिहीबार स्थानीय अमृतबहादुर मगरको संयोजकत्वमा गठित समितिले उद्योग प्रतिनिधि र ढुवानीकर्ता कम्पनीसँग गबुवामा बहुपक्षीय छलफल भएको थियो।

 छलफलको क्रममा मारुती र कसमस सिमेन्ट उद्योगले ८० घण्टासम्म जेसिवी चलाएर ककरु खोलाको तटबन्धन्ध निर्माण गरिदिने सहमति भएको छ।

त्यस्तै तटबन्ध बाँध्दा आवश्यक पर्ने तारजालीबारे आगामी बैठकमा यकिन गरी निर्णय गर्ने तथा दुवै उद्योगको तर्फबाट हरेक दिन एकएक ट्याङ्कर पानी छर्किएर धुलो मार्ने प्रतिबद्धता जनाएपछि टिफर सुचारु गर्न स्थानीय राजी भएका हुन्।

गबुवाका स्थानीयले आफुहरू पीडित भएको भन्दै अनिश्चितकालीन टिफर सञ्चालनमा रोक लगाएका थिए। टिफर अवरुद्ध भएपछि नगरपालिकाले उद्योग र स्थानीयलाई सँगै राखेर छलफल गराइरहेको थियो।

स्थानीय राजनीतिक दल, प्रहरी प्रशासन र सरोकारवाला व्यक्तिसँग चलाइएको छलफलमा उद्योग र स्थानीयबीच सहमति जुटेपछि टिफर सुचारु भएको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

प्रदुषण नियन्त्रणको प्रयास गर्ने, होचिदै गएको ककुर खोलाको बाँध मर्मत गरिदिनेलगायत सहयोग गर्न उद्योग राजी भएपछि हाललाई टिफर सुचारु गर्न स्थानीय राजी भएका हुन्।

बाँध मर्मतका लागि आवश्यक तारजालीको परिमाण यकिन गर्न बाँकी रहेकाले मेयर श्रेष्ठकै उपस्थितिमा समाधान निकाल्ने गरी अर्को बैठक राख्ने सहमति पनि दुई पक्षबीच भएको छ।

स्थानीय कोपिला सामुदायिक वन समूहको जङ्गल क्षेत्र भएर आउजाउ गर्ने टिफरका कारण गबुवाबासीलाई प्रदूषणको मार खेप्नुपरेको तथा पूरै गाउँ बकुर खोला बाढीको जोखिममा पर्दै गएकाले स्थानीय आन्दोलित बन्न पुगेका हुन्।

निकट भविष्यमै समस्याको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने हुनाले नगर प्रमुख श्रेष्ठसहितको सहभागितामा अर्को चरणमा निर्णायक छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको वन समूहका अध्यक्ष दीपक राईले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०८१ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App