२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिक नायक देवी भन्छिन्: हिंसा पीडित चार सय जनालाई अझै सुरक्षा थ्रेट छ

नागरिक नायक देवी खड्काले बलात्कृत महिलाको आवाज उठाउनका लागि अभियान चलाएको बताएकी छिन्।

नागरिक रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग नागरिक नायक २०८१ संवादको क्रममा उनले बलात्कृत महिलाको आवाज राज्यले सुने पनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन गर्न बाँकी रहेको बताइन्।

उनले २०४६ चैत २६ गते देशमा प्रजातन्त्र पुनर्स्थापना भएपनि त्यसले सोचेजस्तो नारी मुक्तिको समय नआएन भन्ने लागेपछि उनले विद्रोह नै नारी मुक्तिको एक मात्र उपाय रहेको भन्दै बलात्कृत महिलाहरूको न्यायका लागि अभियान सुरु गर्नु परेको बताइन्।

आफैँ पीडामा परेर पनि यो अभियानमा कसरी लाग्नुभयो भन्ने प्रश्नमा उनले भावुक हुँदै भनिन्, ‘बलात्कृत हुँदा मान्छेको आत्मसम्मान यति चूर हुन्छ कि मर्न मात्र मन लाग्थ्यो। कसरी बन्दुक बोक्न सकिन्छ, बोक्ने अनि जति जनालाई सकिन्छ, मार्ने र मर्नेबाहेक उनलाई कुनै सोच आउँदैनथ्यो। मेरो मानसिक अवस्थालाई ख्याल गर्दै गौरी प्रधान लगायतका मानव अधिकारकर्मीहरूले उपचारमा सघाए। म त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

उनले थपिन्, ‘अब कहाँ जाने ? के गर्ने ? तर मलाई घर जान मन थिएन। शारीरिक र मानसिक अवस्था राम्रो नभएकाले मेरो काठमाडौँमा उपचार गराइयो। पाँच महिनापछि मेरो मानसिक अवस्था स्थिर भयो। तरपनि ३ वर्ष लाग्यो मलाई आफैँमाथि आफैँलाई जित्न।’

उनी भन्छिन्, ‘मेरो मनमा एउटै कुरा चलिरहन्थ्यो, आखिर म किन बलात्कृत भएँ ? यो समाजका लागि बलात्कृत भएकी हुँ भने समाज समुन्नत बनाउन र सपना पूरा गर्नु मेरो कर्तव्य हो।’

तपाईं बलात्कृत छोरी चेलीको हौसला बढाउने अभियानमा लाग्नु कति सहज असहज भइरहेको छ रु भन्ने अर्को प्रश्नमा उनले भनिन्, समाजमा चलिरहेको परम्परालाई तोड्ने कुरा थियो। योगमायालाई छाडा र चरित्र हीन भन्थे यही समाजले। हामीले समाजमा यसरी काम गर्दै गर्दा हामीलाई पनि त्यस्तै भन्छन् त्यही भएर हामी त्यही सोचका साथ यो अभियानमा लागेको हुँ। म भन्थे हाम्रा टिमका साथीहरूलाई हामीलाई बुझ्ने समय र समाज पनि आउँछ। हामीलाई विभिन्न मिडिया विशेष गरी नागरिक लगायतले विशेष साथ र सहयोग दिएको छ।’

उनले भनिन्, ‘मलाई मानसिक रूपले बलियो बनाउनका लागि एक जना दिदीले निकै सहयोग गर्नुभयो। मैले ६ महिनासम्म नै मानसिक स्वास्थ्यका लागि औषधि नै सेवन पनि गरे। मैले नसकेर भागेको पनि थिए। तर, पछिल्लो समय बलात्कारबाट जन्मेको बच्चा मेरो गल्ती होइन भनेर बुझ्दै आफैँलाई आफैँले जिते।’

उनले संसदीय उपसमिति बनेपछि मलाई साथ दिने सुवासचन्द्र नेम्वाङ, रमेश लेखक र जनार्दन शर्मा लगायतकाले मेरो कुरा सुनेर साथ दिनेलाई धन्यवाद समेत दिइन्।

खड्काले द्वन्द्वपीडित महिला मात्रै होइन हरेक पीडित महिला हामीसँग जोडिन आउँदा थप सशक्त भएर आवाज उठाउन हौसला मिलिरहेको बताइन्।

आफ्नै अधिकारका लागि पनि लड्दा आवाज उठाउँदा पनि हामीलाई यही समाजले अराजक, गतिछाडा, चरित्र हीन जस्ता अनेक अनेक शब्दले बोलाउने, हेला गर्ने परिपाटी अब बिस्तारै परिवर्तन हुँदै जाने उनको धारणा छ।

४ सय जना महिला कसरी तपाइसँग जोडिए, कसरी उनीहरुलाई न्याय दिलाउनुभयो वा दिलाइरहनुभएको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म कसैसँग गएर जोडिएको होइन। उनीहरू मसँग जोडिन आएका हुन्। जुन मेरोलागि गर्वको करा हो। किनकि म कसैको आवाज बनिदिन सक्छु। कसैले भोगेको पीडामा थोरै भएपनि मलहम लगाइदिन सक्छु।’

‘राज्यले हामीलाई हेप्यो र एनजिओले हामीलाई सो पिसको रुपमा बेच्यो। त्यस कारण भावनामा डुबेर मलाई बोल्न लगाउने कैयन हातहरु थिए। मलाई मेरो मनले नै यो अभियानमा लागि रहन र लाग्न प्रेरणा दिने काम गरिरहेको छ’ उनले थपिन्।

उनले भनिन्, ‘म कसैको श्रीमती थिए, म कसैको आमा थिए, मेरो ठूलो परिवार थियो, समाज थियो म किन समाजभन्दा फरक भएर जान सक्छु भनेर एक मनले भन्थ्यो तर, अर्को मन र मेरा साथीले बोल्नका लागि सधैँ अभिप्रेरित गर्थे। यो अभियानमा लाग्नु पर्छ, मैले बोल्नुपर्छ भनेर मेरा साथीहरूले घोच्याइरहे पछि ६ महिनाको समय लाग्यो।’

बलात्कारको घटनापछि मान्छेको जीवन उथलपुथल भएको छ, घरबार बिग्रिएको छ, उनीहरु मानसिक रुपमा विक्षिप्त भएका छन्, उनीहरूको स्वास्थ्यमा कमजोरी भएको छ, त्यो बेलाको घाउ यति बेला पाकेर पिपैपिप बगेको छ, तर म पीडित भएँ भन्न सकिने वातावरण बनेको छैन। त्यस्ता पीडितहरूको मनोबल बढाउने काम गर्न पाए हुन्थ्यो भन्ने मलाई लागेकै कारण आज म यहाँसम्म आइपुगेको उनले बताइन्।

यहाँ सही नियतका साथ आवाज उठाए पनि फाइदा अरूले लिने चलन बढेर गएको उनले भन्दै उनले भनिन्, ‘माओवादी आन्दोलनमा पनि वास्तविक पीडितले कहिल्यै ठाउँ पाएनन्। त्यो देखेकी देवीले आफूले यसबारे आवाज उठाउँदा अरूले नै फाइदा उठाउने हुन् कि भन्ने लाग्यो। त्यो नभए पनि उनले आफू फाइदा लिई, अरुलाई चाहिँ केही भएन भन्ने आरोप लाग्ला भनेर म सचेत थिए।’

उनले थपिन्, ‘उनीहरु पनि द्वन्द्वपीडित हुन्, उनीहरु पनि प्रभावित व्यक्ति हुन् भन्ने बुझाउन ढिला हुन थालिसकेको थियो। कसैले यो आवाज उठाइदिए हुन्थ्यो भनेर उनले केही ठाउँमा भनसुन नगरेकी पनि होइनन्। तर कसैले पनि आवाज नउठाइदिएपछि मलाई झोँक चल्यो।

बलात्कारको घटनाको यत्तिका वर्षपछि पनि मलाई त्यो घटनाले अझै पनि सताइरहन्थ्यो। झसङ्ग पारिदिन्थ्यो। सारा शान्ति प्रक्रियामा भने यी कुराको कतै सम्बोधन नहुँदा मैले आवाज उठाउन थालिन्। यो आवाज उठाएको आधा दशक बितिसकेको छ।’

आधा दशकमा मैले द्वन्द्वमा बलात्कारपीडित महिलाहरूलाई भेला गर्ने, तिनीहरूको मानसिक तथा शारीरिक उपचार गर्ने, पिप बगिरहेका, घाउ अझै सन्चो नभएकाहरूको भेलामा आफू एक्लो नरहेको सन्देश दिन सफल भएको महसुस भइरहेको उनले बताइन्।

उनले भनिन्, ‘३१७ जनाको स्वास्थ्य जाँच गराउँदा केहीको अवस्था निकै जटिल देखियो। बलात्कृत बालबालिकालाई विद्यालयमा पढाउन पनि समस्या हुँदा त्यस्ता बालबालिकाका लागि अभिभावकत्व लिने नहुँदा हामी कहाँ जाने भन्ने ठेगान छैन।’

१० वर्ष सत्ताको राजनीति गर्नुभयो अब २ वर्ष पीडितका लागि राजनीतिक गरिदिनुस् भनेर प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताइन्।

उनले भनिन्, ‘२०७८ सालको चैत १५ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ जनाको समूहले हामीमाथि भएका सबै घटना सुनाएर ध्यानाकर्षण गराएका थियौँ। बजेट छुट्याइयो तर, कार्यान्वयन भएन।’

उनले थपिन्, ‘अहिले नीति निर्माणको स्थानमा रहेकाहरूले कानुन पारित गर्छन् गर्दैनन् भन्ने मलाई थाहा भएन तर, हाम्रा माग सम्बोधन गर्ने प्रयास भएका छन्। आशा छ आगामी दिनमा पीडित महिलाहरूले न्याय पाउने छन्। राज्यले अभिभावकत्व लिइदियो भने हामीमाथि पीडित महिलामाथि न्याय भएको हुनेछ।’

उनले भनिन्, ‘सुरक्षाको थ्रेट छ। यो त खतरा छ, यसले त देशको बदनामी हुन्छ भनेर अभियान चलाउनेहरू पनि छन्। ४ सय जना जीवित प्रमाण हुन्। यी ४ सय जनालाई थ्रेट छ। सामाजिक जीवनमा खतरा छ, आर्थिक जीवनमा खतरा छ, व्यावसायिक जीवनमा खतरा छ। मानिसक तनावमा छन्, औषधि सेवन गर्दै छन्। हामीलाई अझै थ्रेट छ। सजिलो छैन हामीलाई अभियान चलाउन।’

प्रकाशित: ११ वैशाख २०८१ २०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App