२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘जलवायु परिवर्तन र विषम मौसमी घटनामा एसिया सबैभन्दा अगाडि’

जलवायु परिवर्तन र मौसमी प्रकोपका हिसाबले सन् २०२३ मा एसिया सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको पाइएको छ। संयुक्त राष्ट्रसंघीय विश्व मौसम सगठनको मंगलबार सार्वजनिक गरिएको ‘स्टेट अफ क्लाइमेट इन एसिया– २०२३’ नामक प्रतिवेदनले यस्तो देखाएको हो।

यो क्षेत्रमा बाढी तथा आँधीबेहरीले सबैभन्दा बढी जनधनको नोक्सानी गरेको र तातो हावाको सघन प्रभाव परेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यो क्षेत्रमा हिमनदी पग्लने गति तीव्र भएका कारण भविष्यमा यो क्षेत्रको जल सुरक्षा पनि प्रभावित हुने प्रतिवेदनको ठहर छ।

विश्वको सरदर तापमान वृद्धिको तुलनामा एसियामा तापमान वृद्धि अधिक रहेको र सन् १९६१ देखि १९९० को अवधिको तुलनामा तापमान बढ्ने क्रम दुई गुणाले बढेको प्रतिवेनमा उल्लेख छ।

‘प्रतिवेदनको नतिजा चिन्ताजनक छ। यो क्षेत्रका कतिपय देशका लागि सन् २०२३ सबैभन्दा तातो वर्ष बनेको छ। खडेरी, तातो हावा, बाढी तथा आँधीबेहरीका घटना यो क्षेत्रमा बढेका छन्,’ विश्व मौसम संगठनका महासचिव सेलेस्टे साउलोले विज्ञप्तिमा भनेका छन्। सन्

२०२३ मा एसियामा ७९ वटा जल तथा मौसमजन्य प्रकोप (हाइड्रोमेटेरोजिकल हजार्ड)का घटना घटेका थिए र तीमध्ये ८० प्रतिशत बाढी र आँधीबेहरीसँग सम्बन्धित थिए।

यी घटनाका कारण दुई हजारको मृत्यु तथा ९० लाख सर्वसाधारण प्रत्यक्ष हिसाबले प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। तातो हावाका कारण हुने स्वास्थ्य जोखिम अत्यधिक हुने भए पनि यसको मृत्यु दर नियमित रूपमा रिपोर्ट हुने गरेको छैन।  

‘सन् २०२३ मा जोखिममा रहेका राष्ट्र असमान हिसाबले प्रभावित बनेका छन्। केही वर्षअघि बंगालादेश र म्यानमारमा आएको तथा मोचा नाम दिइएको सामुन्द्रिक आँधी खतरनाक थियो तर पूर्वसूचना र राम्रो तयारीले धेरैको ज्यान जोगिएको थियो,’ प्रतिवेदन प्रकाशनमा सहकार्य गरेको इस्क्यापका कार्यकारी सचिव अर्मिदा सालसिय अलिस्जावानाले भनेकी छिन्।

पृथ्वीको सतहको तापक्रममा वृद्धि, समुद्रको तहमा वृद्धि, पग्लिँदै गरेको हिमनदीका कारण यो क्षेत्रमा अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीमा गम्भीर प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ।

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वीचीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष पाकिस्तान र अफ्गानिस्तानको हिन्दकुश पर्वत शृंखलामासामान्यभन्दा कम वर्षा भएको थियो।

पछिल्ला दशकमा यीमध्ये अधिकांशमा हिमनदीको आकार घट्दै गएको र घटने क्रम पनि तीव्र रहेको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदन तयारीको क्रममा अध्ययन गरिएका २२ मध्ये २० हिमनदीको पिण्ड (मास) लगातार घटेको पाइएको छ।

यसैगरी, सन् २०२३ का वर्षायाममा आएको बाढी तथा आँधीबेहरीले भारत, नेपाल, पाकिस्तानमा ६ सय जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, गत नोभेम्बरमा भारी वर्षाका कारण साउदी अरेबिया र संयुक्त अरश इमिरेट्मा भीषण बाढी आएको थियो भने बाढीका कारण यमनसमेत प्रभावित बनेको थियो।

प्रकाशित: १२ वैशाख २०८१ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App