२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उदयपुरमा आगलागीबाट ३ दिनमा ८ घर जले

पछिल्लो समय उदयपुरमा आगलागकिा कारण एकपछि अर्को घर जलेर धनमाल नष्ट हुँदै आएको छ। गएको ३ दिनमा स्थानीय वन जङ्गलमा लागेको डढेलो र अन्य कारणले ८ घर र दर्जन बढी गोठ जलेर धनमाल नष्ट भएको छ।

बुधबार बिहान मात्र जिल्लाको उदयपुरगढी गाउँपालिका-७ को कमेरेस्थित चित्रबहादुर मगरको घर गोठ जलेर लाखौँको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा विद्युत् सर्ट भएर लागेको आगोले मगरको काठ र टिनको छानोबाट बनेको दुईतले घर जल्दा घरभित्र रहेको धनमाल, लत्ताकपडा, अन्नपात र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको हाे।

बिहान ११ः३० बजे एक्कासि उब्जेको आगोले मगरको घर जलेर १२ लाख ५० हजार बढीको क्षति भएको वडाध्यक्ष भुवन मगरलाई उद्धृत गर्दै प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

आगलागीको खबर पाए लगत्तै खटेको स्थानीय प्रहरी चौकी नेपालटारको टोलीले स्थानीयको सहयोगमा दुईघण्टा लगाएर आगो नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।

दुई दिनअघि मात्र उदयपुरगढीकै ६ नं. वडा रातमाटेमा निरबहादुर कटुवालको घर जल्दा ८ लाख ६६ हजार बराबरको क्षति भएको थियो।

उता अघिल्लो दिन पहाडी गाउँपालिका लिमचुङबुङ गाउँपालिका-५ को जाँतेको जङ्गलमा लागेको डढेलोका कारण जोखिममा परेका दुई दर्जन बढी घर तथा जनता मावि रसुवा जाँते आगलागीबाट बालबाल बचेका थिए।

एसपी थापाका अनुसार इलाका प्रहरी कार्यालय लिमचुङबुङका सहायक प्रहरी निरीक्षक रामरतन थारु कमाण्डमा खटेको टोलीले स्थानीय उपभोक्ता र अभिभावकको प्रयासमा दिनभरिको प्रयासबाट आगो नियन्त्रणमा आएको थियो। 

१० गते लिमचुङबुङ ५ कै चौलानेमा २ घर, २ मतान र ४ गोठ जलेर साढे ७ लाख बराबरको क्षति भएको थियो। स्थानीय हुरुङमा सामुदायिक वन उपभोक्ता समूहमा लागेको आगो अनियन्त्रित भई गाउँ पस्दा अशोक राईको घर, मतान र गोठ, बयानसिंह राईको घर, मतान र गोठ तथा कुमार राईको गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगरी जिल्लाको अर्को पहाडी गाउँपालिका ताप्ली-२ नारीमालामा पनि आगलागी हुँदा २२ लाख ४९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय उत्तमबहादुर मगरको घरबाट उब्जेको आगो गाउँमा फैलिदा उनकोसहित अमिर मगर र यामबहाुदर मगरसमेतको घर गोठ जलेर नष्ट भएको प्रहरी भनाई छ। आगोले उत्तमको ११ लाख २९ हजार, अमीरको १० लाख र १ लाख २० हजार बराबरको क्षति भएको एसपी मगरले बताएका छन्। 

आगो इलाका प्रहरी कार्यालय रामपुर झिल्केबाट खटेको टोलीले स्थानीयको सहयोगमा राति अबेर नियन्त्रणमा लिएको जनाइएको छ। गएको सय घण्टामा ८ घर, ८ मतान र १२ गोठ जलेर क्षति पुगेको छ।

आगोले घर गोठसँगै चौपायातर्फ ३ वटा खसीसमेत जलेर मरेका छन्। सुख्खायाम र चर्को हावाहुरीका कारण जिल्लाका सबै स्थानीय तहका जङ्गलहरुमा डढेलो लाग्दा गाउँ बस्ती जोखिममा पर्ने गरेकाे छ।

एसपी थापाले डढेलो नियन्त्रण तथा आगलागीबाट बच्न दुईवटै डिभिजन वन कार्यालय गाईघाट र कटारी तथा सामुदायिक वन उपभोक्ता समूहसँगसमन्वय गरेर अग्नि नियन्त्रण तथा डढेलो मार्ने काम गरिरहेको बताएका छन्। तर, एकातर्फ नियन्त्रण गरे पनि अर्को ठाउँमा डढेलो र आगलागीका घटना निरन्तर भइरहेको पनि उनले बताए।

प्रकाशित: १२ वैशाख २०८१ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App