२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्यार्थीले बनाए चारपांग्रे विद्युतीय कार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्। कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन्।

दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए।

‘कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीका बारेमा जानकारी दिए। त्यसपछि गाडी निर्माण गर्न  सकिन्छ भन्ने लाग्यो। अनि दुवैजना मिलेर गाडी बनाएका हौँ’, अर्का विद्यार्थी अधिकारीले भने, ‘हामीले कबाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ।’

केही किनेर र केही स्थानीय रुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो। गाडीको क्षमता चालकसहित तीनजना अट्ने रहेको छ। दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एकपटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घन्टासम्म गुडाउन सकिन्छ। जति बढी भोल्टको ब्याट्री जडान ग¥यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ।

सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उनीहरु बताउँछन्। बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ।

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताए। ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उनको भनाइ छ।

गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ। अध्यक्ष उप्रेतीले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन्। गाडी प्रदर्शन कार्यक्रममा पुगेका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाएका थिए।

गाडी बनाउनुअघि उनीहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिए। –रासस

प्रकाशित: १४ वैशाख २०८१ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App