२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्युत सर्ट र डढेलोका कारण बढ्दै जाेखिम

उदयपुरमा डढेलो र विद्युत सर्ट भएर दिनहुँजसो आगलागीका घटनाले घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ। यसैबीच शुक्रबार दिउँसोसम्म पनि जिल्लाका विभिन्न स्थानीय तहका आधा दर्जन ठाउँमा आगलागी भइरहेकाले थप जोखिम उत्तिकै रहेको स्थानीयले बताएका छन्।

गएको साता दिनभित्र दर्जन बढी घर, मतान र गोठ जलेर करोडौँको धनमालमा क्षति पुगेको छ। अघिल्लो साँझ पनि जिल्लाको रौतामाई गाउँपालिका ७ पुँवारेस्थित दोर्जेलिङमा विद्युत् सर्ट हुँदा दुई घर जलेर नष्ट भएका छन्। वडाध्यक्ष मनोज रानामगरका अनुसार स्थानीय विष्णु कटुवाल र खड्ग कटुवालको घर आगलागीले पूर्णरुपमा ध्वस्त पारेको छ।

आगोले कटुवालद्वयको घरसँगै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात नष्ट भएको छ। त्यसैगरी दुवैको घरसँग जोडिएका ग्वाली, भान्सा घर र बाख्रा खोर, कुखुरा खोर पनि जलेर खरानी भएका छन्। घरमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक निष्कर्ष रहेको वडाध्यक्ष मगरले बताएका छन्।

आगो निभाउन स्थानीय, जनप्रतिनिधि र अस्थायी प्रहरी पोस्ट् संगमचोकबाट खटिएको टोली मिलेर राति अबेर नियन्त्रणमा लिन सफल भएको उनले बताए। आगलागीबाट दुवैको गरी झनडै ५० लाख बराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट प्रहरीले निकालेको जनाइएको छ। अग्निपीडित दुवै परिवारलाई तत्कालीन राहत वडा कार्यालयले उपलब्ध गराएको छ।

वडाध्यक्ष मगरका अनुसार बास बस्न १–१ थान त्रिपाल र भोक टार्न एक बोरा चामल, दाल, तरकारीलगायत खाद्यान्न तथा केही थान भाँडाकुँडा, थाल, बटुका राहतस्वरुप उपलब्ध गराएको छ। गाउँपालिका र प्रशासन तथा रेडक्रसलाई छिटो राहत उपलब्ध गराउन प्रहरी सर्जमिन मुचुल्कासहित वडाले सिफारिस पनि गरिसकेको मगरले बताए।

यता बुधबार मात्र जिल्लाको उदयपुरगढी गाउँपालिका ७ कमेरेस्थित चित्रबहादुर मगरको घर पनि विद्युत् सर्ट भएरै आगलागीमा परी भस्म भएको हो। एक्कासि उब्जेको आगोले मगरको काठ र टिनले छाएको दुईतले घर र घरभित्रका सम्पूर्ण अन्नपात, लुगाफाटा, भाँडावर्तन र कागजात जलेर नष्ट भएको छ। मगरको १२ लाख ५० हजार हाराहारी क्षति भएको वडाध्यक्ष भुवन मगरले बताए।

वडाध्यक्ष मगरका अनुसार आगलागीको खबर पाएलगत्तै स्थानीय प्रहरीलाई खबर गरेको र प्रहरी चौकी नेपालटारबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दुई घन्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो। दुई दिनअघि मात्र उदयपुरगढीकै ६ नं. वडा रातमाटेस्थित निरबहादुर कटुवालको घर जलेर खरानी भएको थियो। कटुवालको इँटा र काठले बनेको टिनको छाना भएको दुईतले घर र गोठ जल्दा आठ लाख ६६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार यसअघि जिल्लाको ताप्ली गाउँपालिका २ को नारीमाला र लिमचुङबुङ गाउँपालिका ५ जाँते चौलानेमा २ घर, २ मतान र ४ गोठ जलेर नष्ट भइसकेको छ।

नारीमालामा उत्तमबहादुर मगरको घरबाट उब्जेको आगो गाउँबस्तीसम्म फैलिँदा उनको सहित अमिर मगर र यामबहादुर मगरको घर, मतान र गोठ जलेर २२ लाख ४९ हजार रुपैयाँ बराबर क्षति भएको थापाले बताए। उत्तमको ११ लाख २९ हजार, अमीरको १० लाख र १ लाख २० हजार रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

उता तीन दिनअघि मात्र लिमचुङबुङ ५ चौलानेमा भएको आगलागीमा परी अशोक राईको घर, मतान र गोठ, बयानसिंह राईको घर, मतान र गोठ तथा कुमार राईको गोठ जलेर नष्ट भएको थियो।

स्थानीय हुरुङमा सामुदायिक वन उपभोक्ता समूहमा लागेको आगो अनियन्त्रित भई गाउँ पसेर आगलागी भएर सो परिमाणको क्षति भएको एसपी थापाले बताए। आगोले तीन परिवारको गरी साढे ७ लाख रुपैउयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

एसपी थापाका अनुसार पछिल्लो पाँच दिनको अवधिमा ८ घर, ८ मतान र १२ गोठ जलेर ५० लाख हाराहारी धनमाल क्षति पुगेको छ। आगोले घर, मतान र गोठसँगै चौपायातर्फ पनि तीनवटा खसी जलेर मरेका छन्। सुख्खायाम र चर्को हावाहुरीका कारण जिल्लाका सबै स्थानीय तहका जंगलमा डढेलो लागेर गाउँबस्ती जोखिममा परेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय गाईघाटका अनुसार डढेलो नियन्त्रणभन्दा बाहिर पुगिसकेकाले क्षतिको जोखिम अझै बढी छ। सहायक वन अधिकृत रामभगत यादवका अनुसार स्थानीय सामुदायिक वन समूहहरुमा लागेको डढेलो नै गाउँबस्ती पसेर आगलागीको मुख्य कारण हुँदै आएको छ।

डढेलो नियन्त्रण गर्न सामुदायिक वन समूह, वन कर्मचारी र प्रहरी सशस्त्र प्रहरीसँग सहकार्य भइरहेको भए पनि चर्को हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। दक्ष जनशक्ति अभाव तथा बजेट नभएका कारण पनि आगो नियन्त्रण गर्न डिभिजन वन कार्यालय अक्षम भइरहेको बताइएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App