२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पहिले भरिया, अहिले नेतृत्वकर्ता

झन्डै एक सय वर्षअघि सुरू हिमाल आरोहणको इतिहासमा भरियाबाट सुरु भएको उनीहरूको वृत्तिविकास अहिले आरोहण गर्ने समूहको नेतृत्व गर्ने मात्र नभएर साहसिक पर्यटन उद्योग नै नेतृत्व गर्ने भइसकेको छ।

उच्च हिमाली क्षेत्रमा ट्रेक गर्दा होस् वा हिमाल आरोहण गर्दा, हिमाली भरिया-कामदार सबैभन्दा मेहनत र चुनौतीपूर्ण पेसा हो। हिमाली भरिया-कामदारहरू विश्वमै ‘अनसङ हिरोज्’ (बहादुर र बलिदानपूर्ण काम गर्ने तर सोहीअनुसारको मान्यता नपाउने) का रूपमा चिनिन्छन्।

आरोहणमा जाने हिमाली भरिया-कामदार कुनै यातायातबिनै आफैले अक्सिजन, टेन्ट, आरोहणमा अत्यावश्यक सम्पूर्ण सामग्री बोकेर सहयोग गर्छन्। साहसिक पर्यटनअन्तर्गत पर्ने हिमाल आरोहण हिमाली भरिया-कामदारबिना रत्तिभर पनि परिकल्पना गर्न सकिँदैन।

उनीहरूले आरोहणका उपकरण र अत्यावश्यक सामानहरू मात्र बोक्ने नभई सम्पूर्ण आरोहणकै सुरक्षा निर्देशन पनि गर्ने एसियन ट्रेकिङका दावा स्टिभन शेर्पाले बताए। ‘उनीहरू सामान बोक्ने भरिया मात्र होइनन्, आरोहणको सुरक्षा हेर्ने, बाटो देखाउने, आरोहण समूहकै खाने, बस्ने, सुत्ने सबै व्यवस्था मिलाउने कामदार-सहयोगी हुन्।’

शेर्पाले भने, ‘९९ प्रतिशत सफल आरोहण उनीहरूको योगदानको प्रतिफल हो।’ त्यसैले सफल आरोहण हिमाली सहयोगीबिना सम्भव नहुने उनले बताए।

नेपाली हिमाली भरिया-कामदारको वीरतापूर्ण इतिहास सगरमाथा हिमालको सफल आरोहणभन्दा पनि अगाडिदेखि नै रहिआएको छ। महालंगुर खण्डमा नेपाल–तिब्बत सिमानामा रहेको पुमोरी हिमालय क्षेत्रको आरोहण गर्ने क्रममै चर्चित आरोही जर्ज म्यालोरीले नेपालबाट हिमाली भरिया-कामदारहरू लगेर उक्त हिमाल आरोहणको प्रयास गरेका थिए। सन् १९२१ तिर म्यालोरीले नेपाली भरिया-कामदारलाई दार्जिलिङ हुँदै तिब्बत क्षेत्रबाट पुमोरी हिमालको आरोहणको प्रयास गरेका थिए।

नेपाल पर्वतारोहण संघको तथ्याङ्कअनुसार अहिलेसम्म ११ हजार नौ सय ६४ जना राष्ट्रिय हिमाल पथप्रदर्शक रहेका छन्। हिमाल आरोहण गर्दा हिमाल पथप्रदर्शकको नाम उल्लेख नगरी परमिट जारी हुँदैन।

उनीहरू सबैले सरकारले खुला गरेका साना-ठुला सबै हिमाल आरोहणको नेतृत्व गर्छन्। यस्तै राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको तथ्याङ्कअनुसार हाल ८१ जनाले संघबाट अन्तर्राष्ट्रिय हिमाल पथप्रदर्शकको लाइसेन्स लिएका छन्।

विश्वमा हिमालमा कीर्तिमान राखेका आरोहीको जति चर्चा र महत्व छ, त्यतिकै कम चर्चा उनीहरूको योगदान र बलिदानको हुन्छ। मानिसहरू कीर्तिमानमा जति लालायित हुन्छन्, कीर्तिमानलाई सफल बनाउनेबारे कमै सोध्ने-खोज्ने गर्ने चर्चित कीर्तिमानी आरोही मिङ्मा डेबिड शेर्पाले बताए। ‘हिमाली भरिया-कामदारहरू उनीहरूको योगदान र महŒवबारे हामी कमै सुन्न-बुझ्न चाहन्छौं।’ उनले भने, ‘तर, हिमालसँग जोडिएका जति पनि सफलता र इतिहास छन्, उनीहरूबिना सम्भव नै छैन।’

कामिरिता शेर्पा

हिमाल चढ्न सहयोग गर्ने हिमाली भरिया-आरोही हुन शारीरिक र मानसिक रूपमा तयार मात्र नभई संघर्षशीलता र मेहनती, आँटिलो, धैर्यवान्, जोखिम मोल्न र नेतृत्व गर्न सक्ने क्षमताको हुनुपर्ने शेर्पा बताउँछन्।  

‘हिमाली भरिया-कामदारलाई विश्लेषण गर्ने हो भने यसलाई दुई पक्षबाट हेर्न आवश्यक छ। एउटा त आवश्यकता हो भने अर्को उपलब्धि।’ शेर्पाले भने, ‘आवश्यकता यस अर्थमा कि सुरुवातमा उच्च हिमाली भेगमा रोजगारको अवसर यो नै एउटा थियो। आवश्यकताहरू पूर्ति गर्न र आफ्नो जानकारीको क्षेत्र नै हिमाल र हिमाली क्षेत्र भएकाले यसमा लागे।’ उनले थपे, ‘उपलब्धिको सवालमा भने पछिल्लो समयमा हिमालसँग जोडिएको इज्जत, प्रतिष्ठा र आर्थिक सबलता अर्को पक्ष हो।’

नेपालका हिमाली भरिया-कामदारका बहादुरीको विश्वमै चर्चा हुन्छ। उनीहरूको बहादुरी, साहस, निस्वार्थता, लगनशीलता, धैर्य, आँट, योगदान र बलिदानले विश्वमा हिमालसँगका हजारौं कीर्तिमानहरू कायम छन्। उनीहरूको आँट, मेहनत, साहस, दक्षता र क्षमताबिना आरोहीहरूका कीर्तिमान त के, हिमाल र उच्च हिमाली क्षेत्रको चर्चा आज जसरी छ, त्यो सम्भव छैन।  

यस्तै हिमाली भरिया-कामदारका रूपमा काम सुरु गरेका सगरमाथा आरोही तथा हिमाल आरोहण एजेन्सी सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पाले सुरुवाती समयमा उपकरणहरूको सीमितता, ज्ञान, सिप तथा तालिमको अभाव, स्रोतसाधन कमीका बाबजुत पनि हिमाली भरिया-आरोहीको कडा मेहनतको परिणाम नै आजको पर्यटन क्षेत्रमा पर्वतीय पर्यटन विश्वमाझ चम्किएको बताए।

‘आजभन्दा ३० वर्षअघि म आफै हिमाली भरिया-कामदार हुँदै गर्दा त्यो एउटा युग थियो,’ शेर्पाले भने, ‘आज म सगरमाथा आरोहीसँगै हिमाल आरोहण गराउने एजेन्सीको मालिक छु। यो सबै त्यसैको देन हो।’ पहिले अहिलेजस्तो उपकरण, सेवासुविधा केही पनि थिएन। केही भइहाल्यो भने मर्नुबाहेकको विकल्प नभएको उनले बताए।

पछिल्लो समय मुलुकमा मात्र नभएर विश्वमा नै दक्ष र क्षमतावान् हिमाली पथप्रदर्शकमा नेपालीहरू मानिन्छन्। अहिलेको यो उपलब्धी र सफलता सुरुवातका हिमाली भरिया-कामदारको योगदान भएको शेर्पाले बताए।

यस्तै विश्व पर्वतारोहण महासंघका सचिवालय सदस्य तथा साहसिक पर्यटनमा पिएचडी गरिरहेका कुलबहादुर गुरुङले हिमाल आरोहण भरिया-सहायक कामदारबिना परिकल्पना गर्न नसकिने उल्लेख गर्दै अहिले भएका धेरैजसो हिमाली पथप्रदर्शकको सुरुवात कहीं न कहीं सहायक कामदारबाट भएको र त्यही दक्षताले अहिले नेपालसहित विभिन्न मुलुकका हिमालमा नेतृत्व गरिरहेको बताए।

उनले अहिले भरिया वा कामदारहरूको अवस्था ३०-४० वर्षअगाडिका जस्तो अभाव र अनुभवविहीन नभएको बताउँदै भने, ‘३० वर्षअगाडि फरक अवस्था थियो, शेर्पा भरियाहरू पर्याप्त उपकरण, स्रोत–साधनबिना भरियाका रूपमा काम गर्थे।’ उनले थपे, ‘आजका जस्तो सुविधासम्पन्न थिएन। नयाँ प्रविधि, उपकरण, स्रोत र साधनको पहुँचबिना उनीहरूले हिमालमा काम गरेका थिए र त्यसकै परिणाम आज हिमालसँग चर्चा र सन्तुष्टि मात्र नभएर राम्रो भविष्य पनि छ।’

भरिया-कामदारबिना कुनै पनि आरोहण परिकल्पना गर्न पनि सकिँदैन। कुनै यातायात व्यवस्थाबिना आरोहीसँग उनीहरूलाई आवश्यक पर्ने स्थानमासम्पूर्ण उपकरण आरोहण सुरू हुन एक-दुई महिनाअघिदेखि सम्बन्धित स्थानहरूमा पुर्‍याउँछन् भने आरोही समूहसँगै पनि सामान बोकेर आरोहणमा सहयोग गर्छन्।  

यस्तै महिला सहयोगीको अवस्था भने पुरुषका तुलनामा निकै कम भएको पासाङ ल्हामु फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले बताइन्। ‘सहायक गाइड हुँदै नेतृत्वकर्तासम्म पुगेका महिलाहरू नभएका भने होइनन् तर पुरुषका तुलनामा महिलाको संख्या कमै छ,’ उनले भनिन्, ‘तर पछिल्लो समय हिमाल आरोहणमै काम गर्ने महिलाहरू क्रमशः बढिरहेका छन्।’

तेन्जिङ नोर्गे शेर्पा हुन् वा सबैभन्दा धेरै हिमाल चढेर विश्व कीर्तिमान राखेका कामीरिता शेर्पा, अर्का विश्व कीर्तिमानी आरोही तथा नेतृत्वकर्ता मिङ्मा डेभिड शेर्पा हुन् वा गत वर्ष सिसापाङमा हिमालमा नेतृत्व गर्ने क्रममा हिमपहिरोमा परी हराइरहेका तेन्जेन शेर्पा, पछिल्लो समय हिमाल आरोहणमा नेतृत्व गर्ने सुरुवातका भरिया-कामदारको मेहनतको प्रतिफल हो।

भरियादेखि नेपाल पर्वतारोहण संघकाे सल्लाहकारसम्म

मिङ्मा शेर्पा

सन् १९९५ देखि पर्वतीय पर्यटनमा लागेका उनले सुरुवातमा भरिया-कामदारदेखि नै आफ्नो करियर सुरु गरेका थिए। उनले तीन वर्ष (१९९७) सम्म भरिया भएर काम गरेका सन् २००९ मा आफ्ना भाइहरूसँग मिलेर सेभेन समिट कम्पनी खोले।

उनको सेभेन समिटले हाल नेपाल, चीन, पाकिस्तानका आठ हजार मिटरमाथि अवस्थित हिमालहरूको आरोहण अपरेट गर्छ। उनले सन् २००४ मा सगरमाथा आरोहण गरिसकेका छन्। यस्तै हाल उनी नेपाल पर्वतारोहण संघका सल्लाहकारका रूपमा रहेका छन्।

उनको सेभेन समिट कम्पनी हिमाल आरोहण गराउने एक प्रमुख कम्पनी हो। यस कम्पनीले एक हजारभन्दा बढी समूहलाई आठ हजार मिटरमाथिका हिमाल आरोहणमा अपरेट गरिसकेको छ भने ५० भन्दा बढी देशका आरोहीलाई आरोहण गराइसकेको छ। उनका अनुसार हाल सेभेन समिटमा पाँच सयभन्दा बढी कामदार आबद्ध छन्।

यति मात्र नभएर सेभेन समिट नेपालको सबैभन्दा धेरै रोयल्टी तिर्ने एक प्रमुख कम्पनीका रूपमा रहेको छ, जसले हिमालयमा सबैभन्दा धेरै आरोहण अभियान आयोजना गरेको छ।

प्रकाशित: १७ वैशाख २०८१ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App