४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालमै पक्राउ पर्दै भारत लुकेका अपराधी

भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्। त्यही क्रममा उनीहरू पक्राउ पनि पर्न थालेका छन्।

संदिग्ध व्यक्ति लाल मोहम्मदको हत्यामा संलग्नताको आरोप लागेकामध्य प्रमुख भारतीय नागरिक पक्राउ परेका छन्। ती व्यक्ति बब्लु पासवान हुन्। मोहम्मदको हत्या भएको डेढ वर्षपछि उनी पक्राउ परेका हुन्।

भारतको उत्तर प्रदेश, विहारलगायत राज्यमा निर्वाचनका कारण आपराधिक गतिविधिमा संलग्न रहेकाहरू असुरक्षित बनेका छन्। आश्रयका लागि नेपाल छिरेका बेला उनीहरू पक्राउ पर्न थालेका हुन्।

बब्लु पक्राउ गर्नुअघि रौतहट प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका ‘कुख्यात अपराधी’ सेख नुरुल्लाहलाई नियन्त्रणमा लिएको थियो। उनी चर्चित पुजारी हत्याकाण्ड तथा वृद्ध हत्याकाण्डका मुख्य आरोपित हुन्। उनी भारतको देवाही गोनाही नगरपालिका–१ का पूर्ववडाध्यक्ष पनि हुन्। एक साताअघि मात्रै उनलाई नियन्त्रणमा लिएको थियो।

भारत र नेपालको आपराधिक गतिविधिमा संलग्न बब्लुलाई भने आइतबार राति गोली हानेर नियन्त्रणमा लिइएको हो। उनी नेपाल छिरेको थाहा पाएपछि पर्सा प्रहरीले निगरानी बढाएको थियो। उनको पहिचान गर्न कठिन भएपछि तराई मधेसमा लामो समय घुमुवाका रूपमा रहेका र हाल उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पर्सा पुगेका थिए।

एक साताका लागि काठमाडौंबाट गएका ती सईले निक्र्योल गरेपछि पर्सा प्रहरी पासवानलाई नियन्त्रणमा लिन सफल भएको थियो। ‘लामो समयदेखि नेपाल–भारत आउजाउ गर्दै आएको थाहा पाएपछि उनीमाथि निगरानी बढाएका थियौं। त्यही क्रममा आइतबार राति प्रहरीसँग जम्काभेट हुँदा उनी भाग्न खोजेका थिए। नियन्त्रणमा लिन गोली नै प्रहार गर्नुपरेको हो,’ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले भने।

काठमाडौंमा गुन्डागर्दी नियन्त्रणमा सक्रिय रहेका एसपी ढुंगेल पर्सा गएदेखि नै बब्लुको सक्रियताका साथ खोजी भइरहेको थियो। बब्लु पक्राउ परेपछि अनुसन्धानका क्रममा उनी २०७३ जेठ १३ गते बारा महागढीमाई नगरपालिका–१ पसाहा पुलनजिक वीरगन्ज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको, २०७९ असोज ३ गते काठमाडौं गोठाटारस्थित लाल मोहम्मदको हत्यामा संलग्न रहेको, भारतमा रही पर्सालगायत तराईका जिल्लाहरूमा अपहरण गर्न लगाएको, साना हतियार तथा लागुऔषधको कारोबार गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको, उद्योगी–व्यवसायीहरूलाई फोन गरी रकम माग्ने तथा ज्यान मार्ने धम्की दिने गरेको खुलासा भएको प्रहरीको दाबी छ।

यसअघि नेपाल प्रहरीको तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंहले भारतीय समकक्षीलाई फोन गरेर उनलाई नेपाल पठाइदिन आग्रह गरेका थिए। तर भारतीय प्रहरीबाट सहयोग भएन।

लाल मोहम्मदको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले पनि चासो देखाएको थियो। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएकै कारण बब्लुलाई पक्राउ गर्ने योजना रोकिएको थियो। तर नेपाल आएको सन्दर्भमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

मोहम्मद हत्याका मुख्य योजनाकार भारतका बब्लु रहेको भनी खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको बताइन्छ।

विहार रक्सौलका बब्लु मोहम्मद हत्याका मुख्य योजनाकार रहेको उतिबेला नै प्रहरी अनुसन्धानमा खुलेको थियो। ‘मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सिंहले त्यतिबेला अवरोध नगर्न आग्रह गरेका थिए,’ स्रोतले भन्यो।

वीरगन्ज महानगरपालिका–१६ भुटनदेवीमा आइतबार राति प्रहरी जाँचका क्रममा भारतको विहार पूर्वी चम्पारण रक्सौलका ४५ वर्षीय बब्लु भाग्न खोजेका थिए। तर प्रहरीको हातबाट उनी उम्कन सकेनन्। उनका साथबाट हतियार र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

उनका साथबाट मेड इन युएसए लेखिएको पेस्तोल एक थान, त्यसका गोली दुई राउन्ड, अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४९ ग्राम र गाँजा ८८० ग्राम बरामद गरिएको छ।

पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको बिआर ०५ एएल ६१३९ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा भाग्न खोजेकाले नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली फायर गर्दा पासवान घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएकोमा उपचारपछि डिस्चार्ज गरेर प्रहरी नियन्त्रणमा राखिएको छ।

मोहम्मद हत्या प्रकरणमा अनुसन्धान गर्न तत्कालीन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा एउटा समिति गठन भएको थियो। सो समितिले २०७९ मंसिर २ मा सरकारी वकिल कार्यालयमा अभियोगपत्र बुझाउँदै बब्लु पासवानको योजना र संलग्नता खुलाएको थियो।

भारतीय नक्कली नोटसँगै युरेनियम कारोबारमा संलग्न रहेको आशंका र पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको हुन सक्ने भन्दै भारतीय आपराधिक ग्याङले मोहम्मदको हत्या गरेको हुन सक्ने अनुमानसहित नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित: १८ वैशाख २०८१ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App