४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

डढेलो निभाउँदा निभ्यो पहरीद्वयको जीवन

डढेलो निभाउने क्रममा ज्यान गुमाएका ललितपुर गोदावरीका रमेश पहरी (बायाँ) र शंकर पहरी।

ललितपुरस्थित गोदावरी नगरपालिका–४ का शंकर पहरी र रमेश पहरीको वनको आगो निभाउने क्रममा मृत्यु भएको छ। बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका शंकरको मंगलबार र रमेशको बुधबार मृत्यु गएको हो।

सामाजिक कार्यप्रति रुचि भएका ३४ वर्षीय शंकरका तीन छोरी छन्। लगनशील शंकरमाथि नै पारिवारिक जिम्मेवारी थियो। शंकर परिवारको आर्थिक भार थेग्न विभिन्न काम पनि गर्थे। उनी डोकोडालो बनाउनेदेखि घर बनाउने ज्यामी काममा समेत पोख्त रहेको गोदावरी नगरपालिका–४ का वडाध्यक्ष सानुभाइ नगरकोटीले बताए।

‘शंकर सकारात्मक भावनाले भरिपूर्ण व्यक्ति थिए। उनी समाजसेवामा सधैं क्रियाशील हुन्थे,’ वडाध्यक्ष नगरकोटीले भने, ‘समाजमा कोहीसँग झैझगडा नगर्ने उनीमा सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना थियो। साह्रै राम्रा मानिस थिए उनी। सामाजिक कार्यमा उनको ठुलो योगदान छ।  सामाजिक कार्य गर्दागर्दै उनको मृत्यु भयो।’

डढेलो निभाउने क्रममा शंकर चारैतिरबाट आगोले घेरिएका थिए। भाग्ने ठाउँ नपाएपछि उनी जलेर घाइते भएको नगरकोटीले बताए।

‘मसहित १४ जना आगोको बीचमा परेर घाइते भएका हौं,’ नगरकोटीले भने, ‘आगोभन्दा बढी धुवाँले सास फेर्न सक्ने अवस्था थिएन। पछि नेपाली सेनालगायतले उद्धार गरेपछि बाँच्न सफल भयौं।’ शंकरलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा राखिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। शंकरका नौ, सात र तीन कक्षामा अध्ययनरत तीन छोरी छन्।

त्यस्तै गोदावरी–४ घर भएका ४७ वर्षीय रमेश पहरीको पनि स्थानीय वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गएको हो। चारैतिरबाट आगो आएपछि भाग्ने क्रममा लडेर आगोको मुस्लोमा परी घाइते भएका रमेशको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष नगरकोटीले बताए।

दुई सन्तानका बाबु रमेश वैदेशिक रोजगारीका सिलसिलामा करिब चार वर्ष मलेसिया बसाइपछि स्वदेश फर्किएका थिए। ‘विदेशमा मेहनत गर्ने संस्कार सिकें, अब आफ्नै देशमा केही गर्नुपर्छ’ भनेर सधैंका लागि स्वदेश फर्किएको रमेशले बताउने गरेको नगरकोटीले स्मरण गरे।

‘विदेशबाट आफ्नै देशमा केही पेसामा संलग्न हुन्छु भनेर फर्किएका थिए,’ नगरकोटीले भने, ‘केही गर्ने उद्देश्यले स्वदेश फर्किएका उनले सामाजिक सहयोग गर्ने क्रममा ज्यान गुमाउनुप¥यो। उनी पनि शंकरजस्तै मेहनती र मिजासिला थिए।’

नगरकोटीका अनुसार डढेलोले वन सखाप भएपछि बस्तीमा छिर्ने डरले आगो निभाउन जाँदा दुःखद घटना भएको हो।

गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनका अनुसार सुख्खा मौसम र लामो खडेरीसँगै वनजंगलमा डढेलो लाने क्रम बढेपछि वन्यजन्तुलाई वासस्थान र आहाराको अभाव भएको छ।

मृग, बाँदर, कालिज, दुम्सी, स्याल, चितुवालगायतका वन्यजन्तु जंगल छाडेर आहारा र बासको खोजीमा मानव बस्तीनजिक देखिन थालेका छन्। ‘धेरैजसो सामुदायिक र राष्ट्रिय वन डढेलोका कारण उजाड भएका छन्,’ उनले भने, ‘जंगलमा लागेको आगोको धुवाँका कारण स्थानीयमा ठुलो असर परेको छ। त्यही डढेलो बस्ती र आनन्दवन अस्पतालमा आउला भनेर स्थानीयवासी सबै निभाउने कार्यमा संलग्न भएका थियौं। पछि आगो नियन्त्रणमा आयो। आगोले वन सबै सखाप पारेको छ। अब आगो बल्ने ठाउँ छैन। तर दुईजनाको ज्यान गयो।’ आगो निभाउने क्रममा जलेर १६ जना घाइते भएको जानकारी उनले दिए।

यसैबीच गोदावरी नगरपालिकाले शंकर र रमेशको परिवारलाई राहतस्वरूप पाँच–पाँच लाख रूपैयाँ दिने निर्णय गरेको छ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवनसहित ११ ठाउँमा डढेलो लागिरहेको छ। डढेलो अहिले नियन्त्रणमा आएको महर्जनले बताए। गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिका–५, महादेव खोलास्थित सत्य सामुदायिक वन, वडा नं. ४ स्थित बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं. ९ स्थित छेडा सामुदायिक वन, वडा नं. ३ स्थित जयभद्र सामुदायिक वन, वडा नं. १० स्थित चारघरे सामुदायिक वनमा भीषण आगलागी भएको छ।

वडा नं. ९ मा रहेको ढुंगेनीपातले सामुदायिक वन, वडा नं. २ स्थित ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ मा रहेको कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३, लुभुपातले सामुदायिक वनमा पनि आगो लागेको छ। आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको वडाध्यक्ष महर्जनले बताए।

लेले जगंलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेको जानकारी पनि महर्जनले दिए।

प्रकाशित: २० वैशाख २०८१ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App