जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन्। श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए।

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए।

त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं कामनपा २९ बाट  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए। नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको बताए।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५÷१६ वर्ष अगाडी हराएको र विगत ३ वर्षदेखि पठाओ(मो.सा.) चलाई जिविका चलाउने सामान्य व्यक्ति रहेको र निजले  हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको  खुल्न आएको बताए।  
अर्को समाचार
प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति
१६ वैशाख २०८१
•
६ मिनेट पाठ
प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति
भुटानी शरणार्थी प्रकरणउपर अनुसन्धान गरेबापत दुई एसएसपी दानबहादुर कार्की र मनोज केसी आठ महिना लाग्दानलाग्दै गत भदौमा तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिए।

उनीहरूका ठाउँमा एसएसपीद्वय भूपेन्द्र खत्री र सोमेन्द्र सिंह राठौरलाई पठाइयो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश भ्रमणमा रहेको बेला पारेर उनीहरूलाई पनि नौ महिना लाग्दै गर्दा हालका गृहमन्त्री रवि लामिछानेले सरुवा गरिदिएका हुन्।

पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूको गतिविधिलाई कहीँकतैबाट अपजस दिने ठाउँ छैन। तर उनीहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।

यही मेसोमा परिसरको कमान्ड सम्हाल्न एसएसपीद्वय वसन्त रजौरे र सानुराम भट्टराई आइपुगेका छन्। ‘पालो पुर्‍याउनेजसरी गृहमन्त्रीहरूले प्रहरीलाई आफ्नो कब्जामा लिएका छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।  

२०७९ पुस १५ गते पहिलो पटक गृहमन्त्री हुँदा लामिछाने प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका थिए। त्यतिबेला उनले मन्त्रालय र आफ्ना तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताएका थिए। उनले प्रहरीको सरुवा, बढुवा कानुनअनुसार हुने भन्दै त्यसका लागि कुनै मन्त्री वा नेताको दैलो नधाउन प्रहरी अधिकारीहरूलाई सचेतसमेत गराएका थिए।

हालै दोस्रो पटक गृह मन्त्रालय सम्हालेका उनै लामिछानेले २०८० फागुन २७ गते प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेर पहिलाकै अभिव्यीक्त दोहो¥याउँदै प्रहरी संगठनमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका थिए। तर उनले त्यसो भनेको दुई महिना पनि नबित्दै प्रहरी संगठनमाथि चरम हस्तक्षेप गरेका छन्।

प्रहरी महानिरीक्षकको सहमतिलाई समेत बेवास्ता गरेर चैत २३ गते मधेस प्रदेशका जिल्ला प्रमुखहरू सरुवा गरेका लामिछानेले शुक्रबार ६ एसएसपी र एक डिआइजीको सरुवा गरिदिएका हुन्। प्रहरी महानिरीक्षक कुँवर विदेशमा रहेका बेला मन्त्रिस्तरीय निर्णय गरेर ती प्रहरी अधिकारीलाई सरुवा गरिएको हो।

मन्त्री लामिछानेले डिआइजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरेका छन्। एसएसपी रजौरेलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिदिए। एसएसपीको सरुवा मन्त्रीस्तरीय भए पनि प्रहरी महानिरीक्षकको सहमति लिने गरिन्छ।

‘प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी) को सरुवा आइजिपीले गर्ने भए पनि गृहमन्त्रीको सहमति लिने गरिन्छ। यहाँ त आइजिपी केही पनि होइनन् भन्नेजस्तो भाष्य बनाइयो। संगठन प्रमुखलाई निकम्मा बनाएर संगठनको चेन अफ कमान्डमा कमजोर बनाउन थालियो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

परिसरका प्रमुख एसएसपी खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरको नौ महिनामै सरुवा भयो। राम्रो काम गरेका अधिकृतहरूलाई सामान्यतया कार्यक्षेत्रबाट एक वर्ष नपुगी सरुवा गरिँदैन। एसएसपीद्वय कार्की र केसीको पदचापमै रहेका खत्री र राठौरले जिम्मेवारीमा रहँदासम्म शान्ति, सुरक्षा र अपराध अनुसन्धानमा अब्बल काम गरिरहेका थिए।

एसएसपी राठौरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करीलाई साथ दिने गृह मातहतकै अध्यागमन अधिकृतलाई कारबाहीको दायरामा ल्याएका थिए भने खत्रीले नेपालबाट रसिया पठाउने समूहको अनुसन्धान र काठमाडौंमा भएका राजनीतिक आन्दोलनलाई हिंसात्मक हुनबाट जोगाएका थिए। सरुवा भइसकेको जानकारी पाएकै बखतमा पनि उनीहरू कार्यक्षेत्रमा निभाउनुपर्ने भूमिकामा कहीँ चुकेका थिएनन्।

कार्की र केसीझैं खत्री र राठौर पनि तुलनात्मक रूपमा राम्रा अधिकृत मानिन्छन्। उनीहरूको कार्यसम्पादन राम्रो हुँदाहुँदै नौ महिनामा सरुवा गरेर प्रहरीभित्र आतंक मच्चाइएको छ। आउने एसएसपीद्वय रजौरे र भट्टराई नै कार्यक्षेत्रमा अब्बल मानिएका अधिकृत हुन्।

तर आठ महिने सरुवा र कामको चुनौती पनि थपिदिएर परिसर र अपराध अनुसन्धान कार्यालयको जिम्मेवारीमा उनीहरू पठाइएका छन्। यही क्रममा कोसी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ। कोसी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी राजन अधिकारीलाई सरुवा गरिएको छ।

यतिबेला महानिरीक्षक कुँवर इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स पुगेका छन्। आइजिपी देशमा नभएको समयमा डिआइजी र एसएसपीको सरुवा गरिएको छ। एसएसपी र डिआइजी सरुवा मन्त्रीस्तरीय निर्णयका आधारमा हुन्छ।

परिसर प्रमुख एसएसपी खत्रीले लामिछानेको दोहोरो राहदानी सम्बन्धमा परेको उजुरीमाथि अनुसन्धान गरिरहेका थिए। एसएसपीको सरुवा भएको सम्बन्धमा प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले पुष्टि गरेका छन्। ‘मन्त्रालयले उनीहरूको सरुवा गरेको हो,’ ढकालले भने।

गृहमन्त्री लामिछानेले मन्त्रालय सम्हालेको केही समयमै चैत २३ गते सातवटा जिल्ला इन्चार्ज हेरफेर गर्दै प्रहरी प्रधान कार्यालय नक्साललाई आफू चुप लागेर नबस्ने संकेत दिएका थिए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला जिल्ला इन्चार्ज बनाइएका प्रहरी उपरीक्षक (एसपी) हरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने गृहमन्त्री बनेलगत्तै सरुवामा परे।

प्रहरीको कार्यविधि र नियमावलीलाई समेत चुनौती दिँदै गृहमन्त्री लामिछानेले सरुवा उनीहरूको गरिदिए। प्रहरी नियमावलीमा समेत इन्चार्जमा खटिएको प्रहरी कर्मचारी विशेष कारणबिना एक वर्ष अवधि नपुग्दै सरुवा नगरिने उल्लेख छ।

प्रहरी नियमावलीको दफा ५० मा सरुवा अवधिबारे उल्लेख छ। दफा ५० को (१) मा भनिएको छ, ‘कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतया पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा गरिनेछैन।’ उक्त विषयलाई गृहमन्त्री लामिछानेले उल्लंघन गरेका छन्।

अवधि नपुगी सरुवा गर्नुपर्ने अवस्था भए सरुवाको कारण सम्बन्धित प्रहरी अधिकृतलाई गराउनुपर्ने कानुनी व्यवस्था छ। दफा ५० को (२) मा भनिएको छ, ‘अवधि नपुग्दै कुनै प्रहरी कर्मचारीलाई सरुवा गर्नुपरेमा सोको कारण उल्लेख गर्नुपर्नेछ।’

प्रहरी प्रधान कार्यालयले केही जिल्लाका एसपीलाई ५० दिन पनि काम गर्न नदिई बिनाकारण सरुवा गरेका थिए। जिल्लाका प्रहरी प्रमुख (एसपी) हरू कुनै पनि युनिटको भ्रमणसमेत गर्न नभ्याएकै अवस्थामा सरुवा गरिएका थिए।

यसअघि चैत २३ मा पनि सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी प्रमुखको अवधि नै नपुगी सरुवा गरिएको थियो। नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालालाई पठाउँदा एसपी सञ्जय सिंह थापालाई सुन तस्करी प्रकरणमा तानिएको थियो।

मित्रबन्धु शर्मा धनुषा पुगेको पाँच महिनामै फिर्ता गरिएका थिए। बाँके प्रहरी प्रमुखमा तुलबहादुर कार्कीलाई पठाइएको थियो। सुवास बोहरा रहेको स्थानमा उनलाई विभिन्न बहानामा सरुवा गरिएको छ। सर्लाहीमा पुगेका दयानिधि ज्ञवाली पनि ५० दिनमै फिर्ता हुने अर्का प्रहरी अधिकारी हुन्।

यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई पठाइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलीप घिमिरेलाई पठाइएको छ। सर्लाहीको प्रहरी प्रमुखमा एसपी रवीन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल पठाइएको छ। पोखरेल केही महिनाअघि मात्रै सरुवा भएर काठमाडौं आएका थिए।

धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ। फागुन ३ गते सरुवा भएका एसपीले कार्यक्षेत्रमा के कमजोरी गरे भन्ने विषयमा कुनै कारण नै खुलाइएको छैन। साथै सिन्धुलीका विनोद शर्मालाई पनि बिनाकारण दुई महिनामै सरुवा गरिएको छ।

सुन काण्डको अनुसन्धानमा त्रुटि गरेको भन्दै सिआइबीका चार अधिकृतलाई गृहमन्त्रीले तत्काल सरुवा गरेर आएको केही दिनमै आतंक मच्चाएका थिए। गलत तथ्य र प्रमाण राखेर तयार पारेको प्रतिवेदनका आधारमा उनीहरूलाई सरुवा गरिएको थियो।

त्यसपछि त्यही सुन काण्डको थप अनुसन्धान के भइरहेको छ भन्ने कुनै अत्तोपत्तो छैन। गृहमन्त्री लामिछाने मुछिएको सहकारीको अनुसन्धान गरेको भन्दै सिआइबीकै अर्का डिएसपी पनि सरुवामा परेको छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस