५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ठोरी छोटी भन्सार पुनः सञ्चालनमा

पर्सा जिल्लाको ठोरी छोटी भन्सार पुनः सञ्चालनमा आएको छ। त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ) को प्रवेश बिन्दु ठोरी नाकामा रहेको ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा ल्याइएको हो।

बागमती प्रदेश सांसद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन्।

 भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब दुई वर्षअगाडि निर्माण गरी तयारी अवस्थामा थियो।

यसअघि गत वर्ष माघ २७ गते भन्सार सञ्चालन गर्ने जनाइएको थियो। तर प्रक्रिया पूरा नभएपछि रोकिएको भन्सार विभागका महानिर्देशक डुन्डीप्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार यहाँबाट भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइनेछ। भन्सारलाई थप स्तरोन्ति गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्योल निस्किने उनको भनाइ छ।

 भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रूपमा नेपाल आउन सक्ने उनले बताए।

भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो। भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो।

भरतपुरबाट ठोरी ७० किमि दुरीमा छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रूपमा सञ्चालनमा ल्याउन ठोरी गाउँपालिकाको मुख्य भूमिका रहने बताइन्। लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रस्ट पारिन्।

नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्ज र भैरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताइन्। भन्सार कार्यालय स्थपना भएपछि देशको राजस्व संकलनमा समेत टेवा पुग्ने बताइएको छ। यहाँबाट विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यवसायीले गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८१ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App