६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

फोहोरले जंगल र खानेपानीका मुहान दुर्गन्धित

जिल्लाको खाँडाचक्र नगरपालिका- १ मान्म बजारको फोहोरले खानेपानीको मुहानै प्रदूषित भएको छ। फोहोरका कारण चुलीमालिका सामुदायिक वन क्षेत्रमा रहेको आख्लेनी खानेपानी मुहान प्रदूषित भएको हो।

बजारबाट निस्कने फोहोर ट्याक्टरमार्फत जथाभावी खुला रूपमा जंगलमा फालेपछि चुलीमालिका सामुदायिक वन क्षेत्रभित्र पर्ने ओख्लेनी जंगल पूरै दुर्गन्धित भएको छ। ओख्लेनी जंगलमा रहेको पानीको मुहान फोहोर भएपछि कर्पुखोला खानेपानी आयोजना नै प्रभावित भएको हो।

नगरपालिकाले ओख्लेनी जंगलमा फालेको फोहोरका कारण स्थानीय ३५ घरधुरीले उपभोग गर्दै आएको कर्पुखोला खानेपानी आयोजनाको पानीमा दूषित वस्तुहरू बग्ने, सामान्य वर्षा हुँदा पनि पानी धमिलो हुने, पानीमा फोहोरको बुझो लागेर पानी बन्द हुने र गन्ध आउने गरेको स्थानीय हिक्मतजङ मल्लले बताए।

उनले भने, ‘नगरपालिकाले फोहोर व्यवस्थापन नगरेकै कारण सियालाका स्थानीयहरूले दूषित पानी खान बाध्य भएका छन्। हामीले पटकपटक नगरपालिकालाई उक्त फोहोरको व्यवस्थापनका लागि आग्रह गरेका छौं। तर अहिले पनि ओख्लेनीको जंगलमा नगरपालिकाले फालेको फोहोर जस्ताको त्यस्तै छ।’

सदरमुकामको फोहोर ल्याएर पूरै जंगल नै दुर्गन्धित बनाएपछि आफूहरूलाई आवतजावत गर्नै समस्या परेको स्थानीयको भनाइ छ। गाडीमा बजारको फोहोर ल्याएर खुला रूपमा बाटोको डिलबाट खसालिएको छ। यो बाटोबाट हिँडडुल गर्नसमेत समस्या भएको छ।

खाँडाचक्र नगरपालिका– १ का वडाध्यक्ष धर्मराज ताम्राकारले बजारको फोहोरको उचित व्यवस्थापन गर्ने ठाउँको अभावमा खुला रूपमा जंगलमा फोहोर फाल्नुपरेको बताए।

उनले भने, ‘बजारको फोहोर फाल्नका लागि पहिलाको स्थानीय सरकारले डम्पिङ साइड निर्माण गरेको तर अहिले प्रयोगमा ल्याउनका लागि उपयुक्त नभएकाले डम्पिङ साइड निर्माण भए तापनि प्रयोग गर्न नसकिएको बताए।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले फोहोर व्यवस्थापनका लागि समस्या भएको बताए। उनले भने, ‘मान्म बजारमा सार्वजनिक जग्गाको पनि अभाव छ। सियालाका नागरिकले जंगलमा फालेको फोहोरका कारण खानेपानीको मुहान नै प्रदूषित भएको भनेर गुनासो गरेका छन्।

हामीले डम्पिङ साइड निर्माणका लागि यो वर्ष प्रदेश सरकारसँग बजेट माग पनि गरेका छौं।’ उनले यो वर्ष फोहोर व्यवस्थापन कार्ययोजनाको पहिलो प्राथमिकतामा राखेको बताए।

प्रकाशित: २४ वैशाख २०८१ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App