६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित

बुटवलकी राजकुमारी लगौंटिया दुवै आँखा देख्दिनन्। तैपनि उनले बत्ती कातेर केही पैसा जम्मा गरेकी थिइन्। त्यो पैसा सहकारीमा राखे ब्याज धेरै दिने भन्दै सुप्रिम सहकारीका कर्मचारीले दिनदिनै फकाउन थालेपछि उनले दुई लाख ७५ हजार रूपैयाँ सुप्रिममा बचत गरिन्। तर, पैसा जम्मा गरेको पाँच÷सात वर्ष बितिसक्दा पनि उनले न ब्याज पाइन र चाहिएको बेला बचत झिक्न।

‘म आँखा देख्दिनँ, उमेरले बृद्ध भइसकेँ, बत्ती कातेर केही पैसा जम्मा गरेकी थिए त्यही पनि सहकारीका मान्छेले खाइदिए,’ राजकुमारीले भनिन्। बत्ती कातेर जम्मा गरेको पैसा सहकारीले खाइदिएपछि आँखाको उपचार गर्ने र छोरी ज्वाइँलाई एकजोर नयाँ लुगा किनिदिने योजना अधुरै रहेको उनले बताइन्। राजकुमारीले आफूलाइ ठग्नेलाई कडा कारबाही गर्न र फसेको पैसा झिकिदिन आग्रह गरिन्।

बुटवलकी सीता दर्जी सरसफाइ कर्मचारी हुन। उनले सार्वजनिक शौचालय सफा गरेर कमाएको पैसाबाट गाँस कटाएर सुप्रिम सहकारीमा करिब तीन लाख रूपैयाँ जम्मा गरेकी थिइन्। तर, त्यो रकम अहिले सम्म फिर्ता पाएकी छैनन्।

सुरुसुरुमा सुप्रिमका कर्मचारीहरू सितालाई पछ्याउँदै सार्वजनिक शौचालयसम्मै पुग्थे। विभिन्न स्किमसँगै अन्यत्रभन्दा धेरै ब्याज पाइने प्रलोभन देखाउँथे। दिनदिनै कर्मचारी आएर हैरान पारेपछि उनले मासिक बचत सुरु गरिन्। सुरुसुरुमा सुप्रिमले राम्रै ब्याज दियो। स्किमअनुसारका सुविधा पनि पाइन। तर, विस्तारै आफ्नै बचत रकम झिक्न गह्रो हुन थाल्यो। बचत झिक्न जाँदा कर्मचारीले भोलि भोलि भन्दै टार्न थाले।

दुःख पर्दा काम लाग्ला भनेर जम्मा गरेको बचत फिर्ता नपाउँदा अहिले उनलाई दिनको भोक न रातको निन्द्रा भएको छ। ‘मेरो त साह्रै मन रोएको छ, दुनियाँको दिसा पिसाब सोहोरेर कमाएको पैसा खाइदिए, तिनलाई कहिल्यै राम्रो हुनेछैन,’ दर्जीले भनिन्।

अन्यभन्दा बढी ब्याज पाउने भन्ने आशमा तिलोत्तमा ड्राइभर टोलकी विमला शर्माले सुप्रिम सहकारीमा दैनिक बचत सुरु गरेकी थिइन्। सुप्रिमका कर्मचारीले दिनदिनै घरमा आएर हैरान पारेपछि अन्य सहकारी छोडेर सुप्रिममा बचत गर्न थालेको उनले बताइन। सुप्रिममा अहिले उनको ४० लाख रूपैयाँ फसेको छ।

दुध डेरी सञ्चालन गर्दै आएकी विमलाले सहकारीले पैसा खाइदिएपछि ऋण काढेर घर व्यवहार चलाउनु परेको बताइन्। विमलाले आफ्ना भाइ र दिदीको समेत २५-२५ लाख रूपैयाँ सुप्रिममा जम्मा गरिदिएकी थिइन्। त्यो पैसा पनि डुबेपछि माइत जाने बाटोसमेत हराएको उनले दुखेसो पोखिन्। ‘सुप्रिमले हामीलाई वर्वाद बनायो, जिन्दगीभरको कमाइ लुटे, हामीलाई न्याय चाहियो,’ विमलाले भनिन्।

तिलोत्तमा नगरपालिका– २ जानकीनगरकी दुर्गा रिमालको ६० लाख रूपैयाँ सुप्रिम सहकारीमा फसेको छ। करिब दुई वर्षअघि सहकारी समस्यामा परेको हल्ला चलेपछि उनी कयौंपटक सहकारी धाइन।

अहिले पनि उनी र उनीजस्ता थुप्रै बचतकर्ताहरू न्यायका लागि सडकमै भौतारिइरहेका छन्। तर, न्याय नपाउँदा निराश छन्। सुप्रिमपीडितहरूले जिबी राई (गितेन्द्रबाबु) र हालका गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखेका छन्।

भैरहवामा व्यवसाय गर्दै आएकी दुर्गा चन्दले सुप्रिमले आफ्नो

३० लाख रूपैयाँ खाइदिएको बताइन्। ‘हामीले खाइनखाई जम्मा गरेको पैसामा सुप्रिमका अध्यक्ष उपाध्यक्ष, सचिव, कर्मचारी सबै मिलेर मोज गरे, अहिले तिनैलाई सरकारले संरक्षण गरिरहेको छ,’ चन्दले आक्रोश व्यक्त गरिन्। सहकारीका नाममा सर्वसाधारणको करोडौं रकम ठग्नेलाई पक्रेर कारबाही गर्न उनले सरकारसँग आग्रह गरिन्।

बुटवल ट्राफिकचोकका कृष्ण खरेलले सुप्रिममा बचत गरेको दुई करोड ८० लाख रूपैयाँ फिर्ता पाउन सकेका छैनन्। २०७९ सालमै सुप्रिम सहकारीले आफ्नो बचत रकम फिर्ता नदिएर ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उनले निवेदन दिएका थिए।

बैंकको भन्दा धेरै ब्याज पाउने आशामा उनले पसलको आम्दानीबाट दैनिक बचत गरे। जग्गा बेच्दाको आम्दानी र बैंकमा भएको पैसासमेत झिकेर सहकारीमा राखिदिए। तर, जब उनलाई पैसाको अवश्यकता प¥यो तब सहकारीका पदाधिकारी कर्मचारीले आलटाल गर्न थाले।

पैसा झिक्नका लागि सहकारीको कार्यालयमा महिनौं धर्ना बसे तर पनि रकम फिर्ता पाएनन्। पछिल्लो एक वर्षमा उनी सडकदेखि सदनसम्म पुगे। प्रहरी, सहकारी कार्यालयदेखि सहकारी विभागलाइ धेरैपटक हारगुहार गरे। तर, न पैसा पाए न न्याय पाउनेमा ढुक्क भए। हजाराैं सर्वसाधारणको झन्डै एक अर्ब रूपैयाँ गठी गर्ने सुप्रिम सहकारी काण्डमा सरकार संवेदनशील नदेखिएको खरेलले बताए।

सुप्रिमको ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई नै गृहमन्त्री बनाइएको भन्दै सहकारीपीडितहरूले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्। केन्द्रीय कार्यालय बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारीमा ठूला व्यवसायी, सरकारी कर्मचारी, शिक्षक मात्रै हैन बैंकका म्यानेजरसमेतले ठूलो रकम बचत गरेका छन्।

सडकमा मकै पोलेर, फलफूल बेचेर गुजारा गर्ने, निर्माण मजदुर, किसान तथा वृद्धवृद्धाले समेत आफ्नो गाँस काटेर पैसा बचत गरेका छन्। सुप्रिममा जम्मा गरेको रकम झिक्न नपाउँदा छोराछोरीलाई किताब कापी किनदिन नसकेको पीडितहरूको गुनासो छ।

सुप्रिम सहकारीमा पैसा बचत गरेका झन्डै आठ हजार बचतकर्ताहरू विगत डेढ बर्षदेखि राम्रोसँग निदाउन सकेका छैनन्। सहकारीले खाइदिएको पैसासँगै आफ्ना सपनाहरू पनि लथालिंग भएको गुनासो पीडितको छ।

मणिग्राममा जुत्ता पसल सञ्चालन गर्दै आएका विजय नेपालले अन्तभन्दा धेरै व्याज पाइने आशामा सुप्रिममा दैनिक बचत सुरु गरेका थिए। ‘ऋणमा खोलेको पसलको किस्ता तिर्न मुस्किल भइरहेका बेला गाँस काटेर बचत गरेका थियौं, तर सहकारीले डुबाइदियो,’ नेपालले भने।

सहकारीले बिल्लीबाठ पारेपछि पीडितहरू कहिले ब्यानर÷प्लेकार्ड बोकेर सडकमा त कहिले ज्ञापनपत्र बुझाउन प्रशासन धाउन बाध्य छन्। सरकारसँग हारगुहार गर्दा पनि नसुनेको भन्दै उनीहरू निराश छन्।

सत्ता र शक्तिको आडमा सर्वसाधारणलाई उठिबास लगाउनेले उन्मुक्ति पाइरहेको गुनासो पीडितहरूले गरेका छन्। नागरिकलाई न्याय दिनुको साटो अपराधीलाई उन्मुक्ति दिन सरकार नै लागिपरेको आरोप उनीहरूको छ।

२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिर्वतन गरी गितेन्द्रबाबु (जीबी) राईले २०७२ सालको फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए। त्यतिबेला मैत्रेय सहकारीको अध्यक्ष ओमप्रकाश गुरुङ थिए।

राईले गुरुङलाई सहमत गराएर सहकारीको नाम परिर्वतन गरी आफू अध्यक्ष बने। सुरुमा राई अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए। २०७६ मा साधारणसभा गरी गुरुङलाई अध्यक्ष बनाइयो, राई संरक्षक बसे। पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सचिव बने। सुप्रिमको मुख्य कार्यालय बुटवलको व्यवस्थापक सागर केसी थिए।

सुप्रिमको केन्द्रीय कार्यालय बुटवल राजमार्ग चौराहमा थियो। भैरहवा र नवलपरासीमा पनि शाखा थिए। सहकारीमा विशेषगरी महिला कर्मचारी राखेर सर्वसाधारणको घरघरै पठाएर दैनिक बचतका लागि ग्राहक बटुल्ने गरिन्थ्यो। धेरै सदस्य बनाउने कर्मचारीलाई विशेष सुविधाको प्रलोभन देखाइन्थ्यो।

टार्गेट मिट नगर्नेलाई जागिरबाट निकाल्ने धम्की दिइन्थ्यो। टार्गेट मिट गर्नैपर्ने दबाबमा कर्मचारीले ठूलादेखि साना पसल सञ्चालक, वृद्धवृद्धा, श्रीमान् विदेश हुने महिला खोजेर धेरै व्याज र विभिन्न लोभ देखाएर बचत गर्न बाध्य नै बनाउने गरिएको सुप्रिमकै एकजना बजार प्रतिनिधिले बताइन्।

 त्यसरी बनाएका बचतकर्ताबाट उठाएको ठूलो रकम संस्थापक अध्यक्ष राई, अध्यक्ष गुरुङ, सचिव पुन, व्यवस्थापक केसीलगायतको तजबिजीमा सहकारी ऐन र नीतिविपरीत अपचलन गर्न थालियो। जसका कारण सहकारी संकटग्रस्त बन्दै गयो। बचत रकम अपचलन बढेपछि बचतकर्ताले सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीविरुद्ध २०७९ सालमै प्रहरीमा उजुरी दिन सुरु गरे।

हालसम्म सुप्रिमका एक हजार आठ सय ३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष गुरुरुङसहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। ती उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ। जिबीका विभिन्न पाँचवटा कम्पनीलाई मात्रै ऐन नियमविपरीत ७८ करोड ५० लाख ७६ हजार रूपैयाँ ऋण दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो ठगी प्रकरणमा हालका गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्। लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड ६ लाख रूपैयाँ सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

गोर्खा मिडिया नेटवर्कले २०७७ फागुनमा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो भने २०७८ मा लामिछाने प्रबन्ध निर्देशक भएका थिए। प्रहरी प्रतिवेदनले लामिछाने अहिले पनि सुप्रिमको ऋणी रहेको बताउँछ।

लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा दुई करोड रूपैयाँ लिएको उल्लेख छ। सुप्रिमको ठगी प्रकरणमा जोडिए पनि लामिछानेलाई प्रहरीले प्रतिवादी बनाउन भने सकेको छैन।

प्रहरी अनुसन्धान प्रतिवेदन अनुरूप सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत २८ जनाविरुद्ध मुद्दा दायर भएको छ। तीमध्ये सातजनाको थुनछेक बहस सकिएको छ। जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

सचिव पुनसहितका ६ जना धरौटीमा छुटेका छन्। अन्य १९ जना अहिले पनि फरार छन्। अदालतले सहकारीका पूर्वअध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई (जिबी) सहितका अन्य १९ जनालाई पक्राउपुर्जी जारी गरिसकेको छ।

सुप्रिम ठगी प्रकरणमा नाम जोडिएका लामिछाने गृहमन्त्री छन्। उनले सहकारीपीडितको गुनासो छल्न सहकारी सञ्चालकको सम्पत्ति बेचेर भए पनि सर्वसाधारणको पैसा फिर्ता गरीने प्रतिक्रिया दिने गरेका छन्। तर उनको त्यो ओठे जवाफप्रति सर्वसाधारणले विश्वास गर्न सकेका छैनन्।

सुप्रिमपीडित विजय नेपालले गोर्खा मिडियाको नाममा राई र लामिछानेले सर्वसाधारणको बचत रकम ठगी गरेको भन्दै मुख्य नाइके नै उनीहरु रहेको बताए ।

प्रकाशित: २५ वैशाख २०८१ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App