६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सन्तानको मुख हेर्न आतुर आमाहरू

सन्दर्भ: मातातीर्थ औंसी

एआई निर्मित नेपाली आमाको तस्बिर।

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्न दिन। यसपटक मातातीर्थ औसी बुधबार आमाको मुख हेरेर मनाइँदैछ। यस दिन थरीथरीका मिठाई र कपडा उपहार दिएर आमाको मुख हेर्ने चलन छ।

टाढा रहेका सन्तान पनि आमालाई उपहार लिएर भेट्न पुग्छन्। आमाको मुख हेर्ने दिन विवाहित छोरी मिठाइ बोकेर माइती गएको दृश्यले त धेरैको मन लोभ्याउँछ। एकातिर सन्तान आमाको अनुहार हेरेर यो दिन मनाउँछन् भने अर्कोतिर कतिपय आमा बिदेसिएका सन्तानको मुख कहिले हेर्न आतुर हुन्छन्।‘मेरा त छोराछोरी दुवै विदेशमा छन्,’ गोकर्णेश्वर–५ कि मीना थापाले भनिन्, ‘औंसी आउँदै गर्दा उनीहरूको अनुहार याद आउँछ।’ घरमा भएका बेलाा छोराछोरीले मिठाई ल्याएर खुवाएको क्षण सम्झँदै उनले भनिन्, ‘औंसीको दिन सन्तानले हाम्रो अनुहार हैन, हामीले पनि उनीहरूको अनुहार नियालिरहेका हुन्छौं। तर तीन वर्षदेखि यो क्रम टुटेको छ।’

थापाकै जस्तो भोगाइ छ, जोरपाटी माकलबारीकी सानीकान्छी गिरीको पनि। ६५ वर्षीया गिरीको एक छोरी वैदेशिक रोजगारीको सिलसिलामा खाडी छन्। ‘छोरा त घरमा छ तर छोरीको याद आइरहन्छ,’ औंसीको अघिल्लो दिन बागमती नदी किनारमा भेटिएकी गिरीले भनिन्, ‘छोरी नहुँदा औंसी नै खल्लो लाग्छ।’

सन्तान घरम हुँदा जे खाए पनि मिठो लाग्ने तर उनीहरूको अभावमा सबै खल्लो हुने उनले सुनाइन्। ‘मिठाई किन्न भनेर विदेशबाट पैसा पनि आउँछ,’ उनी भन्छिन्, ‘तर सबै कुरा पैसाले किन्न सकिँदो रहेनछ।’

उच्च शिक्षा र वैदेशिक रोजगारीको सिलसिलामा सन्तान बिदेसिने क्रम बढेसँगै उनीहरूकी आमासँग प्रत्यक्ष मुखामुख हुन सकेको छैन। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७/८० मा सात लाखभन्दा बढी बिदेसिएका छन्। यस पटक आमाको मुख हेर्ने दिन नजिकिँदै गरेका बेला चैत २४ देखि वैशाख २४ सम्म ६६ हजार २ सय ९९ जना बाहिरिएको तथ्यांक छ।

सन्तान विदेश हुने आमाहरूले औंसीको दिन भिडियो कल गरेर अनुहार हेर्ने गरेको सुनाउँछन्। तर यसबाट मात्र सन्तानको न्यास्रो नमेटिने उनीहरूको भोगाइ छ। ‘औंसीमा छोराले भिडियो कल त गर्छ,’ साँखुकी रमिता श्रेष्ठले भनिन्, ‘तर आफ्नै अगाडि भए जस्तो नहुने।’

दसैंतिहारमा जस्तै औंसीमा पनि सन्तानको निकै याद आउने उनले सुनाइन्। उनका एक मात्र छोरा वैदेशिक रोजगारीको सिलसिलामा कोरिया गएका छन्। ‘अन्य दिनभन्दा पनि पर्वमा रमाउन नसक्दा बढी दुःख हुँदो रहेछ,’ उनी भन्छिन्, ‘हामी त छोराको मुख हेर्न दिनको प्रतीक्षामा छौं।’

औंसीमा आमालाई स्मरण र श्रद्धा प्रकट गरेमा दुवैबीचको सबन्धमा कुनै दरार नआउने मान्यता छ। मातातीर्थ औंसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा कडीका रूपमा लिइन्छ।

संसारभर छरिएका सन्तानलाई जोड्न सक्ने कडीको अहिले मुलुकमा कमी भएको छ। देशमा केही गर्न सक्ने सम्भावन नदेखेपछि युवा बिदेसिएको कतिपयको बुझाइ छ। उनीहरूलाई स्वदेशमै बस्न सक्ने वातावरण मिलाउन सके साँचो अर्थमा परिवार एक हुनेछ। ‘मुलुकमा केही गर्न सक्ने सम्भावनाका ढोका खोलियो भने बिदेसिएका सन्तान स्वदेश भित्रिनेछन्,’ डा. नम्रता पाण्डे भन्छिन्, ‘यस्तो अवस्थामा चाहिँ साँचोरूपमा सन्तानले आमाको मुख हेर्न पाउनेछन्।’

मातातीर्थमा मेला

मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा मेला लाग्छ। आमा नहुनेले यसदिन आमाप्रति श्रद्धा प्रकट त्यहाँ पुगेर मातातीर्थ कुण्डमा स्नान गर्छन्। आमा नहुनेले मातातीर्थ गई कुण्डमा नुहाउने र मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन छ। आमाप्रतिको श्रद्धास्वरूप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति स्थापना गरिएको छ।

प्रकाशित: २६ वैशाख २०८१ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App