७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

श्रमिकका रूपमा ‘सद्भाव दूत’

नेपाल नेतृत्व

वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाले नेपालको चिनारी विश्वभरि फैलाएका छन्। यी युवा बिदेसिँदा नेपाल पनि सँगै लिएर जाने गरेका छन्। उनीहरू आफ्नो सामाजिक परिवेश, सांस्कृतिक पृष्ठभूमि, परिवारिक बनोट, मेहनत, ज्ञान, सिप, परिश्रम र पहिचान बोकर विभिन्न देश जान्छन्। बिदेसिएका युवाले विदेशमा आफू नेपाली भएको चिनाउने गरेका छन्।

ती युवाले व्यक्तिगत रूपमा पत्रपत्रिका, टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रियस्तरमा देशको व्यापक चर्चा गरिरहेका छन्। आजका नेपाली विश्वव्यापीकरणसँग जोडिएका छन्। आफू विदेशमा हुँदा पनि नेपाललाई चिनाइरहेका हुन्छन्। नेपाल भन्ने देश कहाँ पर्छ भनेर सोधिने प्रत्येक प्रश्नमा तिनको जवाफ हुन्छ-सगरमाथाको देश, बुद्ध जन्मेको देश इत्यादि।

वैदेशिक रोजगारीका क्रममा दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुवेदीले आफ्नो देश नेपाल ‘सगरमाथा’ र ‘गोर्खाली’बारे गर्वसाथ चिनाउँदै आएको बताए।

विदेशीलाई आफू ‘नेपाली हुँ’ भनेर चिनाउँदा खुसी लाग्ने गरेको उनले बताए। यसो भन्दा विदेशीले पनि खुसीसाथ ‘अहो नेपाल’ भन्दै जवाफ दिँदा थप गौरवान्वित हुने गरेको उनले बताए।

नेपाल चिनाउने सुवेदी एक्ला पात्र होइनन्। रोजगारीका निम्ति दैनिक विदेश जाने करिब २५ सय नेपालीले नेपाललाई गर्वसाथ आफ्नो घरका रूपमा चिनाउँछन्। विदेश गइसकेपछि नेपालको कुनै दुर्गम गाउँ गौण बन्छ। बरु देशको नाम सबैभन्दा अगाडि हुन्छ। रोल्पाको होलेरी होस् वा ओखलढुंगाको रुम्जाटार, नेपालगन्ज होस् वा धनगढी, गौण हुन्छन्, विदेशमा चिनाउन नेपालको नामै पर्याप्त हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडेपछि नेपालकै प्रचार गर्छन्। तिनको मनमस्तिष्कमा नेपालकै छाप हुन्छ। ‘कतिलाई नेपाल भन्ने देश नै थाहा हुँदैनथ्यो,’ सुवेदीले भने, ‘भारत र चीनबिच रहेको देश नेपाल हो भन्नुपथ्र्यो। कसैले चिनिहाल्थे भने कतिपयलाई त गुगल नक्सामा नेपाल यहाँ छ भनेर देखाएको पनि थिएँ।

’कतिपय अवस्थामा बुद्धजन्मस्थलबारे पनि कैयन् भ्रमपूर्ण जानकारी छ विदेशीलाई। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले बुद्ध जन्मभूमि नेपाल भएको सगौरव सुनाउँछन् र विदेशीमा रहेको भ्रम चिर्न कोसिस गर्छन्। ‘धेरै देशका मान्छेलाई गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम रहेछ,’ सुवेदीले भने, ‘तिनका पाठ्यपुस्तकमै यस्तो गलत जानकारी राखिएको रहेछ।’

नेपाल आएर लुम्बिनीको भ्रमण गरेकाहरूले भने बुद्ध जन्मथलोबारे यथार्थ जानकारी लिएको पाइन्छ। धेरैजसोले भने यसमा पनि भ्रम बोकेका हुन्छन्। यसकारण पनि बुद्ध जन्मथलोबारे जानकारी दिन सरकारले व्यापक प्रचार गर्नुपर्ने सुझाव वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको छ।

नेपाल वायु सेवा र अन्तर्राष्ट्रिय विमानहरूलाई नेपालमा अवतरण र उडान गर्दा बुद्ध जन्मस्थल नेपाल भनेर उद्घोषण गर्न अनिवार्य गर्नुपर्ने सुझाव पनि ती युवाको छ। त्यतिमात्र नभएर प्रत्येक सरकारी कार्यालय र विदेशमा रहेका नेपाली नियोगमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश प्रस्टसँग राख्न तिनको सुझाव छ।

 विदेशी पाहुनालाई दिइने उपहारमा पनि बुद्धकै मूर्ति हुनुपर्छ भन्छन् उनीहरू।  ‘विदेशमा प्रत्येक देशका मान्छेहरूसँग भेट हुदाँ बुद्ध नेपालमै जन्मेको कुरा गर्छु,’ सुवेदीले भने, ‘नेपाललाई चिनाउने प्रयास गर्छु। अनि समय भयो, सुन्ने मान्छेको चासो बढ्दै गयो भने नेपालबारे थप अरू कुरा पनि गर्छु। हरियाली, नदीनाला र जैविक विविधताका कुरा गर्छु।’

वैदेशिक रोजगारीमा गएका नेपाली युवाले ६ ऋतु लगायत केचनाकवलदेखि सगरमाथाको कुरा गर्ने गरेको रोमानियामा काम गर्दै गरेका ललितपुर, चापागाँउस्थित सुमित श्रेष्ठले बताए।

उनी वैदेशिक रोजगारीका क्रममा रेस्टुरेन्टको कामका लागि रोमानिया गएको वर्षदिन हुँदैछ। त्यहाँ काम गर्दैगर्दा कतिपय साथीलाई नेपाल भन्ने देश थाहा भएका कारण आफ्नो देश चिनाउँदै आएको श्रेष्ठले बताए। ‘राष्ट्रिय निकुञ्जको कुरा गर्छु, यहाँका विश्व सम्पदा, तिलिचो ताल र प्राकृतिक स्रोतको कुरा गर्छु। धेरै छन् नेपालबारे विदेशीसँग कुरा गर्ने हामीसँग खजना,’ श्रेष्ठले भने।

एउटा नेपाली विदेश जानु भनेको आफू मात्र गइरहेको हुँदैन, साथमा हुन्छ यहाँको संस्कृति, भावना, परिवार र समग्र नेपाल। नेपालबाट कुनै सिप नभएका युवा मात्र विदेश गएका छैनन्, यहाँबाट सिप, ज्ञान र मानवताको भावना बोकेर गएका छन्।

 तिनले नेपाली चाडबाड, संस्कृति, संस्कार पनि सँगै लिएर गएका हुन्छन्। विदेशमा गएर दसैंको टीका लगाउँदा होस् वा भाइटीका गर्दा, कुनै न कुनै रूपमा नेपाली संस्कृतिबारे विदेशीलाई जानकारी गराइरहेका हुन्छन्।

वैदेशिक रोजगारीमा दूरदराजका नेपाली युवाहरू एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया वा अफ्रिकाजस्ता विभिन्न मुलुकमा पुगेका छन्। कतिपय नेपाली युरोपेली मुलुकमै बसोबास पनि गर्न थालेका छन्। तिनीहरू जहाँ बस्छन्, त्यहाँ पनि एउटा ‘सानो नेपाल’ खडा गर्न तत्पर हुन्छन्।

राज्य र समाजको छाप बोकेका ती युवा विदेशी श्रम बजारमा योग्यता र दक्षताका आधारमा विभिन्न देशको कुनाकाप्चामा पुगेका छन्। अहिले त शैक्षिक योग्यताका हिसाबले विश्वविद्यालय जाने प्रक्रिया पनि धमाधम सुरु भइरहेको छ। यसका कारण पनि नेपालीको पहिचान विश्वसामु फैलिइरहेको छ।

त्यति मात्रै नभएर उच्च शिक्षाका नाममा श्रम गर्न गइरहेका आप्रवासी युवाको लगनशीलता देखेर विदेशीले नेपाली कामदारलाई दोहोर्‍याएर बोलाउने गरेका घटनाहरू पनि हामीसँग थुप्रै रहेका छन्।

केही मुलुकमा नेपालीहरूको माग ठुलो छ। कामप्रतिको लगाव, सोझोपना र इमान्दारीका कारण थुप्रै नेपाली युवालाई विदेशमा मन पराइरहेका हुन्छन्। स्वदेशी युवा विदेश पुग्दा त्यहाँको नीतिनियम, धर्म र परम्परालाई पनि मानसम्मान गर्ने गरेका छन्। विदेश पुगेका युवाले अरू देशका धर्मप्रति कट्टर विरोध पनि गर्दैनन्। सबैको धर्मलाई समान दृष्टिले हेर्ने गरेका छन्। जसले विदेशमा ‘नेपाल’ र ‘नेपाली’ लोकप्रिय भइरहेका छन्।

विदेशमा कामको खोजीमा पुगेका थुप्रै युवाले आफूसँगै नेपाली भान्छा पनि लिएर गएका छन्। उनीहरू त्यहाँ काम गर्दागर्दै आफ्नै व्यापारव्यवसायमा पनि रमाइरहेका हुन्छन्। पहिचानसहितको ‘नेपाली भान्छा’मा पाक्ने मम, थकाली खानाजस्ता धेरै परिकार बनाइने नेपाली रेस्टुरेन्ट विदेशमा खोलेका छन्।

नेपालको ठुलो जनशक्ति रोजगारीका लागि विदेशमा निर्भर छ, त्यहाँ सबै नेपाली काममा मात्रै निर्भर भएका छैनन्। कतिपय युवा नेपालको सान पढाउँदै रेस्टुरेन्ट, व्यवसाय र व्यापारमा संलग्न भएका नेपाली युवा धेरै छन्। भविष्य सोचेर गएका युवाले विदेशमा नेपालीको आधार बसाल्दै उनीहरू रातदिन नभनेर कामप्रतिको चासो, काम गर्नुपर्छ भन्ने साहस र आँटले नै नेपाल विदेशको काखमा रमिरहेको देख्न सकिन्छ।

श्रम तथा आप्रवासन विज्ञ गणेश गुरुङका अनुसार मलेसिया र खाडी मुलुकमा कठोर मेहनती भएकै कारण नेपाललाई चिन्ने गरेका हुन्। ‘नेपाली युवा विदेशमा काम गर्दा साह्रै मेहनतका साथ आफ्नो कार्य पूरा गर्छन्,’ उनले भने, ‘विदेशमा जुनसुकै काम होस्, उनीहरू त्यसमा तत्परताका साथ लागि परेर परिश्रम गर्छन्। खाडी मुलुकमा नेपाली श्रमिकलाई बढी प्राथमिकता पनि दिन्छन्। भारत, पाकिस्तान र अफ्रिकामा नागरिकहरू हिंस्रक र आपराधिक कार्यमा धेरै संलग्न भएकै कारण विदेशीले उनीहरूलाई बढी रुचाउँदैनन्।’

ती देशमा नेपाली युवा जाँदा उनीहरू विदेशको नीतिनियमसँग डराउँछन्। ऋणसँगै परिवारको भार बोकेर विदेश लागेका युवा आफ्नो कर्तव्यलाई स्मरण गर्दै कामबाहेक अरूप्रति चासो नगरेको गुरुङले बताए। जसका कारण विभिन्न मुलुकले स्वदेशी युवालाई मन पराउने गरेको उनको बुझाइ छ।

विदेशमा नेपाली युवालाई मन पराउनु भनेकै नेपाल मन पराउनु हो भन्दै उनले भने, ‘नेपाली युवालाई सोझा, इमानदार र कडा परिश्रम गर्ने भएकै कारणले अन्तर्राष्ट्रिय स्तरमै नेपालको पहिचान झल्किएको छ।

विदेशमा कमाउन गएका युवा केही वर्षपछि त्यहाँ नै व्यापार, व्यवसाय र संगठनमा संलग्न भएका छन्। जसका कारण सहजै विदेशको दूरदराजमा नेपाललाई चितपरिचित गराइरहेका श्रम विज्ञ गुरुङले बताए।

प्रायः बेलायत, अमेरिका, स्विडेन, डेनमार्क, स्विजरल्यान्डलगायत युरोपियन देश र अफ्रिकी देशका मानिसले नेपाललाई नेपालीले गर्दा चिनिरहेको गुरुङले बताए।  

प्रकाशित: २७ वैशाख २०८१ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App