७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मदन भण्डारी आयोजनाअन्तर्गत पूर्वी खण्डको विवाद समाधान

सडक विवाद समाधानका लागि प्रदेश सांसदसहित राजनीतिक दलका प्रतिनिधि छलफलमा। तस्बिर: नागरिक

मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी सुर्खेतको भेडाबारी–धुलियाबिट सडकखण्डमा पर्ने गुर्भाकोट–१३ मा वर्षौदेखिको विवाद समाधान भएको छ।

 विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सडक निर्माणको माग गर्दै अदालतमा मुद्दा परेपछि गुमीको चार सय मिटर सडक निर्माणकार्य रोकिएको थियो। मदन भण्डारी आयोजनाअन्तर्गत धुलियाबिट–भेडाबारी खण्डको ३५ किलोमिटरमध्ये चार सय मिटर सडक निर्माण हुन सकेको थिएन।

प्रदेश सांसद बलिमाया बुढाको अध्यक्षतामा विभिन्न राजनीतिक दल, स्थानीय तहका जनप्रनिधि र स्थानीयको उपस्थितिमा भएको भेलाले हाल सञ्चालन भइरहेको सडकलाई नै कायम गर्ने गरेर सहमति गरेका हुन्। सांसद बुढाले स्थानीयकोसमेत सहमतिमा मदन भण्डारी राजमार्गको गुमी खण्डमा वर्षौंदेखिको विवाद समाधान भएको बताइन्।

‘स्थानीयलाई पनि सहमतिमा लिएर अहिले गाडी गुडिरहेकै सडकलाई कायम गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘स्थानीय, राजनीतिक दल र जनप्रतिनिधिबिच सहमति भएपछि सडक निर्माणका लागि बाटो खुलेको छ।’

डिपिआर अनुसार सडक निर्माण गर्दा १५ वटा घरटहरा हटाउनुपर्ने थियो। मुआब्जालगायत विवादका कारण लामो समयदेखि सडक निर्माण रोकिएको थियो। अहिलेको सहमतिअनुसार २०४३/४४ सालदेखि सञ्चालनमै रहेको सडकलाई कायम गरिनेछ।

‘सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयबीचको छलफलले विवादको समाधान गरेको छ,’ आयोजना प्रमुख शम्भु आचार्यले भने, ‘अब चार सय मिटर सडकलाई तत्कालै निर्माण सम्पन्न गर्छौं।’

अगाडि र पछाडि दुवैतर्फ सडक कालोपत्रे गरिए पनि चार सय किलोमिटर खण्ड भने नियमित गाडी चलाउन सकिने अवस्थामा थिएन। स्थानीय पटकपटक सडक अवरोध गर्थे। कहिले हिलोको नाउँमा, कहिले धुलोका नाउँमा।

सहमतिअनुसार सडकनजिकैको बस्तीका लागि छुट्टै कालोपत्रे आयोजना कार्यालयले गरिदिनेछ। ‘मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्डको सम्पूर्ण विवाद समाधान भएको छ,’ आयोजनाप्रमुख आचार्यले भने, ‘अब जति सकिन्छ चाँडो सडक निर्माण र कालोपत्रेको काम सम्पन्न गर्छौं।’

विवाद समाधानका लागि प्रदेश सांसद बलिमाया बुढा, नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनसहित स्थानीयको छलफल भएको थियो।

धुलियाबिट-भेडाबारी खण्डको ३५ किलोमिटर सडकमध्ये हालसम्म १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। १४ किलोमिटर चालु आवभित्रै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य कार्यालयको छ।

चिंगाडदेखि धुलियाबिटसम्मको सडक चालु आवभित्र ग्राभेल सम्पन्न गर्ने गरेर काम भइरहेको उनको भनाइ छ। पूर्वी खण्ड निर्माणको जिम्मा विन्दासी कन्स्ट्रक्सनले लिएको छ। पूर्वी खण्डमा पर्ने १२ वटा सडक पुलमध्ये ९ वटा सडक पुल निर्माण सम्पन्न भएका छन्। असार मसान्तसम्म थप दुईवटा पुल पनि निर्माण सम्पन्न हुने उनले जानकारी दिए।

मदन भण्डारी सडक सुर्खेत हुँदै सुदूरपश्चिमको डोटी जोडिनेछ। सुर्खेत पश्चिमखण्डमा सडकलाई तीन भागमा बाँडिएको छ। बड्डीचौर–खम्बगाडे सडक कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ। यसको लम्बाइ १३ किलोमिटर हो। खम्बगाडे–बाबियाचौर–विद्यापुर खण्ड सडक डिभिजन र विद्यापुर–गुटु–बिजौरा–बल्दे मदन भण्डारी राजमार्ग योजना कार्यालयले निर्माण गरिरहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App