घुसाकी २५ वर्षीया सरला धामी अपि बेसक्याम्पमा अस्थायी टहरा बनाएर यार्सागुम्बा संकलन गरिरहेकी छन्। सरला हप्ता दिनअघि देवरसँग हिमाली बुटी खोज्दै बेसक्याम्प चढेकी हुन्।
हरेक वर्ष यार्साको सिजनमा अपि चढ्नु सरलाको नियमित कर्म हो। यद्यपि परारअघि केही वर्ष बच्चा हुर्काउन समय दिनुपर्दा आउन भ्याएकी थिइनन्। बच्चा तीन वर्ष लागेपछि भने पोहोरयता फेरी आउन थालेकी छन्। उनी अपि बेसक्याम्प चढ्दा चार वर्षको बच्चा अहिले मावली हजुरआमासँग छ।
सरलाको टोली असार मसान्तसम्म अपि बेसक्याम्पमा बसेर यार्सा खोज्नेछ। ‘पोहोर दुई लाख रुपैयाँभन्दा बढी कमाइ भएको थियो। यसपालि दुई लाख ५० हजारसम्म कमाउनुपर्नेछ,’ यार्सा टिप्दै गरेको अवस्थामा भेटिएकी उनी भन्छिन्,‘यार्साबाट कमाएको पैसाबाटै बाँच्नुपर्छ। बालबच्चा पढाउनुपर्छ। औषधि उपचार सबै यसैबाट हो। अहिले महँगी पनि बढेको छ।’ यद्यपि अहिलेसम्म भने उनको हातमा खास्सै यार्सा परेको छैन। हिउँ परेको समयमा यार्सा संकलन गर्न सकिदैन्, पानी पर्दा सहज हुने उनी सुनाउछिन्।
सरलजस्तै घुसाकै २८ वर्षीया भृकुटी धामी पनि अपि बेसक्याम्पमा अस्थायी कटेरो बनाएर यार्सा टिप्न बसेकी छन्। भृकुटी बैशाख २ गते बेसक्याम्प आएर अस्थायी टहरो बनाएर गाउँ फर्किएकी थिइन्। त्यसपछि अढाई महिनालाई पुग्ने खानेकुरा, लत्ताकपडा र बन्दोबस्तीको सामग्री बोकेर श्रीमानसहित केही दिन अघि बेसक्याम्प पुगेकी हुन्। छोराछोरी भने यार्सा टिपुञ्जेलसम्म सास ससुराको जिम्मा छाडेकी छन्।
तस्बिर: एनिका राई‘बाजेबज्यैले यार्सा नै टिपेर जीविका चलाउनुभएको हो अरे! बुबाआमा, सासुससुरा सबैले यही काम गर्नुभयो। बुबाआमासँगै मैले पनि सानैदेखि किरा टिप्न सिकेकी हुँ,’ भृकुटी भन्छिन्,‘हाम्रो त यो वर्षौवर्षसम्मको नियमित जीवनचक्र नै हो।’
भृकुटी दिनमा २ देखी २० वटासम्म यार्सा टिप्छिन्। उनी भन्छिन्, ‘हिउँ परे दिनमा दुई÷तीन टिप्न नि गाह्रो हुन्छ। पानी पर्दा त दिनमा १५/२० पनि टिप्न सकिन्छ।’ यो सिजनका झण्डै तीन महिना यार्सा टिपेर वर्षभरी गुजार्नु भृकुटीको परिवारको जीवनचक्र नै हो। ‘तीन महिनाको कठोर कामले १२ महिना धान्नेगरी कमाउनुपर्छ। नत्र त वर्षभरी भोकभोकै हुने अवस्था आउनसक्छ,’ उनले भनिन्।
भृकुटी दम्पतीले पोहर साढे चार लाख कमाएको थियो। यसपालि पानी नपर्दा उनीहरू चिन्तित छन्। ‘कुनैकुनै दिन त दिनभरको मेहनत पनि काम लागिरहेको छैन । पानी नपरे गाह्रो हुन्छ,’ भृकुटीले भनिन्।
तैपनि भृकुटी दम्पतीले हरेस नै भने खाएका छैनन्। हरेक दिन बिहानै खाजामा रोटी खाएर खाजाको रूपमै रोटी बोकेर उनीहरूसहितको टोली बेसक्याम्पबाट लेक चढ्छ। जहाँ दिनभर यार्सा खोजेर साँझ मात्रै बेसक्याम्प झर्छन्।
सरला र भृकुटीको जस्तै दैनिकी आरखोटकी ३५ वर्षीया रमती धामी पनि छ। धौलीओडारमा यार्सा टिपिरहेको अवस्थामा भेटिएकी रमतीको हरेक वर्षको यो सिजन यार्सा टिप्नमै बितेको छ।
‘बच्चैदेखि नै यार्सा टिपिरहेकी छु। यार्साको कमाइले घरको खर्च, परिवारको औषधि उपचार, बालबच्चाको विद्यालय खर्च सबै यसैबाट धान्ने कोसिस गर्छु,’ रमती भन्छिन्। यस वर्ष ६० हजारदेखि एक लाखसम्म कमाउने उनको अपेक्षा छ।
तस्बिर: एनिका राईरमतीसँगै यार्सा टिप्न १६ र १३ वर्षका दुई छोरा र श्रीमान् पनि आएका छन्। ‘गाउँमा मकै गोडेर, गहुँ, जौँ सबै थन्काएर परिवारै आएका छौँ,’ रमती भन्छिन्, ‘यो तीन महिना चार जनाले टिपेको यार्साको कमाइले वर्ष धान्नुपर्छ नि त।’
आरखोटकै सविना धामी पनि धौलीओडारमै टहरा बनाएर बसेकी छन्। छोराछोरी सास ससुराको जिम्मा लगाएर लेक चढेकी उनी बेलाबेलामा काम परे गाउँ झर्छिन्। ‘गहुँ टिप्न, मकै खन्न, आलु खन्ने बेलामा घर झर्छु,’ उनी भन्छिन्,‘बालीहरूको पनि थन्कोमन्को गर्नुप¥यो नि!’ उनी पनि सानैदेखि यार्सा टिप्न थालेकी हुन्। ‘बिहेपछि बच्चा सानो हुँदाबाहेक सधैँ यार्सा टिप्न आउने गरेकी छु । छुटेको अन्य कुनै वर्ष छैन,’ उनले भनिन्।
दार्चुलाको अपि गाउँपालिका यी आमाहरूका कथा प्रतिनिधि कथा मात्रै हुन्। उनीहरूजस्तै देशको पश्चिम–उत्तर सीमानको दार्चुला जिल्लाका हज्जारौं बासिन्दा अहिले अपि हिमालको छहारीमा जम्मा भएका छन्। यही सिजनमा टिपेको यार्साले वर्ष बिताउनुपर्ने सबैको वर्ष वर्षको सिलसिला हो। धन्न अपिले आफ्नो काखमा संगालेको बहुमूल्य बुटी यार्सा छ र त उनीहरूको जीवन र जीवनपद्धति चलिरहेको छ।
तस्बिर: एनिका राईयार्सागुम्बा एक बहुमूल्य जडीबुटी हो। यसमा प्रचुर औषधीजन्य गुण हुन्छ। यसको प्रयोग शक्तिबद्र्धक, छाती तथा फोक्सोको संक्रमण, रक्त अल्पता, मृगौला, कलेजोसम्बन्धी रोगको निदानमा हुन्छ। दार्चुलावासीले अपिको काखबाट टिप्ने गरेको यार्सा गाउँमै पुगेर व्यापारीले किन्छन्। तर संकलकले उचित मूल्य नपाएको गुनासो भने उत्तिकै सुनिन्छ।
यार्सागुम्बा दार्चुलाजस्तै अन्य हिमाली जिल्लाहरू डोल्पा, जुम्ला, बझाङ, र मनाङमा व्यापक पाइन्छ। जहाँबाट टिपिएको नेपाली यार्साको मुख्य बजार चीन हो। यस्तै सिंगापुर, जापान, बेलायत, मलेसिया, अमेरिका लगायतका मुलुकमा पनि निर्यात हुन्छ।
यार्सागुम्बा उत्पादनको दृष्टिकोणबाट पनि चीनपछि नेपाल दोस्रो स्थानमा आउँछ। प्राकृतिक रूपमा पाइने यार्सागुम्बाका विश्वभर पाँच सय प्रजाति पाइन्छन्। जसमध्ये नेपालमा करिब ११ प्रजातिको पहिचान भएको छ।
गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका अनुसार कार्यालयले गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकोमा व्यापारीले छोडपुर्जी बनाएर छ सय ७४ किलोग्राम यार्सा काठमाडौँ निकासी गरेको बताए ।
यसबापत संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजारका दरले राजस्व लिने गरेको र उक्त अवधिमा दुई करोड ८९ लाख चार हजार राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए।
कार्यालयका वार्डेन विनयकुमार झाले पछिल्लो समय उत्पादन घटेका कारण तोकिएको लक्ष्यअनुसार यार्सागुम्बा सङ्कलन गर्न नसकिएको बताए। उनले सङ्कलकहरूले विगत केही वर्षयता हिमाली क्षेत्रमा यार्सागुम्बा कम पाइन थालेको बताउने गरेको जानकारी दिए । ‘बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नाका कारण पत्ता लगाउन जरुरी भइसकेको छ । अब यार्सा पाइने क्षेत्रहरूको अध्ययन–अनुसन्धान गर्ने योजनामा छौँ’, उनले भने ।
दार्चुलामा विशेषगरी अपी हिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । यहाँका लोलु, अपी फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङ लगायत पाटनमा यार्सागुम्बा पाइने गर्छ ।
व्यापारी हरिश भट्टले पनि पछिल्ला वर्षमा यार्सा पाउने क्रम घट्दै गएको बताए । पछिल्लो समय यार्साको मूल्यसमेत घटेको उनको भनाइ छ । ‘यहाँ सङ्कलकहरुसँग किन्नुपर्दा महँगोमा किन्नुपरेको छ । हामीले प्रतिकिलोग्राम १७ देखि १८ लाख खरिद गरेर काठमाडौँमा १४ देखि १५ लाख प्रतिकिलोग्राममा बेच्नुपर्ने माध्यता छ । यसले व्यापार गर्न निकै गाह्रो भइसक्यो,’ उनले भने । व्यापारीहरुले ‘ग्रेड’का आधारमा यार्सा खरिदबिक्री गर्ने गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...