त्रिशूली नदीमा बेपत्ता भएका आफन्त भेटिने आसमा भरतपुर अस्पतालको शव गृहमा आउनेहरूको भिडभाड हुन्थ्यो। एक साता अघिसम्म त्यहाँ काम गर्ने प्रहरीलाई समेत भ्याई नभ्याई थियो। तर, हिजोआज भने अस्पतालको शव गृह सुनसान जस्तै छ। शव गृहमा दश वटा शव भएपनि कोही आफन्त भेटिँदैनन्।
त्रिशूली तथा नारायणी नदीमा शव फेला पर्न छाडेपछि सिमलताल दुर्घटना भएर बेपत्ता भएका आफन्तहरू आउन छाडेको प्रहरीले बताएको छ।
‘यहाँ नारायणी नदीमा फेला परेर ल्याएका शव पाँच र अन्य स्थानमा फेला परेका गरी हाल दश वटा शव छन्,’ शव गृहमा कार्यरत प्रहरीले भने ‘एक साताभन्दा बढी भयो यहाँ शव पहिचानका लागि समेत कोही आउनुभएको छैन।’ पछिल्लो पटक साउन ६ गते एक जना यात्रुको शव सनाखत भएको थियो।
चितवनको सिमलतालमा बस दुर्घटना भएको १७ दिन बितेको छ। गत असार २८ मा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो।
दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। ती मध्ये १९ जना यात्रुको मात्र शव फेला परेको छ। नारायणीमा फेला परेका पाँच वटा शवको अझै पहिचान हुन सकेको छैन। सनाखत नभएका शवमा पाँच जना पुरुष रहेका छन्।
चितवनको भरतपुर महानगरपालिका २६ स्थित सिसुवारमा भेटिएको शवको समेत पहिचान हुन सकेको छैन। त्यस्तै साउन ३ गते सिसुवारमा भेटिएका दुई शव, साउन १ गते मध्यविन्दु २ भुताहमा भेटिएको एक शव र साउन चार गते विनय त्रिवेणी ६ मा भेटिएका एक जना पुरुषको शवको पहिचान नभएको नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
प्रशासनका अनुसार नारायणी नदीमा अन्तिम पटक साउन ४ गते एक जना पुरुषको शव फेला परेको थियो। अब फेला पर्ने शवको पहिचान गर्नसमेत कठिन हुने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। घटना भएको एक साताभित्र भेटिएका शवको समेत पहिचान गर्न कठिन भएको छ। अब भेटिने शवको अनुहार हेरेर पहिचान गर्न सकिँदैन। पुरानो मेडिकल कलेजमा कार्यरत चिकित्सक डा.सुदिप केसी गर्मी मौसममा मृत्यु भएको चार पाँच दिनपछि शव पहिचान गर्न कठिन हुने उनले बताए। ‘गर्मीमा लास छिटो सड्छ। अब त्रिशूलीमा बेपत्ता भएका यात्रुहरूको शव भेटिएपनि मानव कंगाल मात्र फेला पर्ने हो’–उनले भने।
नियम अनुसार पहिचान नभएका शवहरू ३५ दिनसम्म राख्नुपर्ने हुन्छ। त्यसपछि आफन्त कोही नआएको खण्डमा प्रहरी मार्फत स्थानीय तहलाई जिम्मा लगाउने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बताए।
भरतपुर अस्पतालमा १२ वटा शव राख्न मिल्ने फ्रिज छन्। त्यसमध्ये ११ वटाले मात्र काम गर्छ। लामो समयसम्म फ्रिजले पनि काम नगर्ने उनले बताए। ‘फ्रिजले काम गर्ने भनेको छ सात दिन मात्रै हो। त्यसपछि शव सुक्दै जान्छ’,– उनले भने। त्रिशूली नदीमा बस बेपत्ता भएको तीन दिनपछि नारायणीमा शव फेला पर्न थालेका थिए। बगेर भारतसम्म पुगेका १३ वटा शव चितवन ल्याइएको थियो।
१२ जना भारतीय टोली र अन्य आवश्यकता अनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा टोली खोजी कार्यमा जुटे पनि बस भेटिन सकेको छैन। बेपत्ता ४३ जना यात्रुको कुनै पत्ता लागेको छैन। प्रजिअ यादवले दुर्घटनामा परेकाहरूका आफन्तहरू घर फर्के पनि सम्पर्कमै रहेको बताए।
त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै
त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजी गर्न आएको भारतीय टोली आइतबार स्वदेश फर्किँदै छ। एक हप्ताको लागि आएको भारतको विपत् व्यवस्थापन गर्न बनेको एनडिआरएफको टोली आइतबार नै फर्कने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
गएको आइतबारदेखि भारतीय टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो। आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धि नभएको र एक हप्ताको समय लिएर आएको समय पनि सकिएकाले टोली फर्किन लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
‘सुरक्षा समितिको बैठकमा भारतीय टोलीको हालसम्मको प्रगति र प्रयोग भएका विधि, प्रविधि र अबको सम्भावना सहितको समीक्षा, साथै हाम्रो विपद् व्यवस्थापन र खोज तथा उद्धार कार्यमा गरेको योगदानमा धन्यबाद दिन्छौँ’, प्रजिअ यादवले भने ‘संभवत उहाँलाई आज नै बिदाइ गरिन्छ।’
भारतबाट १२ जनाको टोली अघिल्लो शनिवार चितवन आएको थियो। सो टोलीले आइतबारदेखि काम सुरु गरेको थियो। उनीहरुले सोनार क्यामेर सहित त्रिशूली र नारायणी नदीमा चुम्बकको प्रयोग गरेर खोज तथा उद्धार कार्यमा जुटेका थिए।
खोजीको क्रममा एनडिआरएफले ल्याएको १९ किलाको चुम्बक त्रिशूली नदीमा समेत हराएको छ। भारतीय टोलीले १९ किलो र १४ किलोको चुम्बक मगाएको थियो। नयाँ रणनीति अनुसार, नेपाली सुरक्षाकर्मीले खोजी कार्यलाई भने निरन्तर जारी राख्ने प्रजिअ यादवले जानकारी दिए।
एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्।
गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेको थियो। उक्त बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित र २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।
दुवै बस अहिलेसम्म भेटिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेका र अन्य १६ जना अझै बेपत्ता रहेका छन्।
सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए। तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना अझै बेपत्ता छन्।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए। तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। तीमध्ये भारतीय चार जना थिए। तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन्।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो। उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो। तर गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन्।
त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन। त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो।
घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गरेका थिए। सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको थियो।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेका प्रति चिन्ता व्यक्त गर्नुभएको थियो। गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताएका थिए।
सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको थियो। प्रतिवेदनमा दुर्घटना स्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग–डिजाइन बिना नै ग्रामीण सडक खनिएको उल्लेख छ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो। सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो। सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाइ नगर्न प्रतिवेदनले सुझाव दिएको छ। बेपत्ता भएका ३९ जनाको खोजी यथासक्य गर्न भनिएको थियो। रासस
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...