रगत चाहियो – ‘दीपक खै ?’
३१ साउन २०८१
•
५ मिनेट पाठ
रगत चाहियो – ‘दीपक खै ?’
बिरामीलाई रगत चाहिएमा सबैले झट्ट सम्झने नाम हो दीपक अर्थात् दीपक उपाध्याय नेपाल। प्रादेशिक होस् या निजी अस्पतालमा जुनसुकै अस्पतालमा रगत चाहिएका बिरामीका लागि सहजै रगत दान गर्ने तथा खोजी दिने व्यक्ति हुन् दीपक। त्यही भएर पनि उनलाई रगत चाहिने बिरामीका आफन्त झट्ट सम्झन्छन् र उनको मोबाइल नम्बरमा फोन लगाइहाल्छन्।




दीपक आफू जतिसुकै व्यस्त रहे पनि मोबाइलमा सेभ नभएका नम्बर पनि तुरुन्तै रिसिभ गरिहाल्छन् र रगतको जोहो गर्न तम्तयार हुन्छन् । त्यसैले पनि रगत चाहिए जोसुकैले फ्याट्टै लिने नाम हो दीपक ।

आफ्ना दाजु विनोद उपाध्यायको प्रेरणाबाटै दीपक रक्तदानमा होमिए । १८ वर्षको उमेरमा उनका दाजु विनोदको आग्रहमा पहिलो पटक रक्तदान दान गरेका दीपकले अहिलेसम्म १०६ पटक रक्तदान गरिसकेका छन् । ‘त्यो बेला दाजु जेसीजमा हुनुहुन्थ्यो । जेसीजले रक्तदानका कार्यक्रम गरिरहने र दाजु पनि रक्तदान गर्नुहुन्थ्यो,’ दीपकले भने,‘दाजुकै प्रेरणाले रक्तदानमा सक्रिय बन्ने अवसर पाएको हुँ ।’ 

पहिलो पटक रक्तदान गरेको दिन सम्झँदै उनले भने,‘दाजुले रक्तदान गर भन्नुभयो, पहिलो पटक रक्तदान गर्दा के हुन्छ ? कस्तो हुन्छ भन्ने कौतुहलता लाग्नु स्वाभाविकै हो । तर पनि नआत्तिएर रगत दान गरेँ ।’ पहिलो पटक रक्तदान गरेसँगै नियमित रगत दान गर्दै आएको उनी बताउँछन् । दीपकका दाइ विनोदले पनि अहिलेसम्म ८५ पटक रक्तदान गरिसकेका छन् । उनीहरू दुवै मिलेर कयौँको ज्यान जोगाएका छन् । 

रक्तदान गर्दै जाँदा अहिले त बिरामीलाई रगत चाहिएको भन्दै दैनिक ८÷१० ओटा फोन आउने गरेको उनी बताउँछन् । ‘आज मात्रै १२ वर्षीय एक बालकलाई ‘ए नेगेटिभ’ रगतको जोहो गरेँ,’ उनले भने,‘रातिसम्म रगतका लागि फोन आइरहन्छ ।’ कहिले काहीँ मध्यरात रगत चाहियो भन्दै फोन आउने गरेको बताउँदै उनले भने,‘मध्यरात मस्त निद्रामा रहेका बेला फोन आउँछ, रगत चाहियो, पत्ता लगाइदिनु परो भन्छन्, त्यही बेला रक्तदाताहरूको समूहमा मोबाइलमा ब्लड ग्रुप सर्च गर्दै फोन गर्छु ।’ तत्कालीन सेती अञ्चल अस्पतालमा एक जना सुत्केरी महिलालाई रगत अभाव देखिएको भन्दै अस्पतालकै गाइनो वार्डको स्टाफले फोन गरेपछि रातिको ३ बजे गएर रक्तदान गरेको उनी सम्झन्छन् । ‘आफूले रक्तदान गर्दा जीवन दान गरेजस्तो लाग्ने गरेको छ,’ उनले भने,‘त्यही भएर पनि रगत दिने समय पुगेपछि खबर पाउने बित्तिकै रगत दान गरिहाल्छु ।’ आफूले रगत दिएर वा रगतको जोहो गरिदिएर बचेका बिरामी तथा आफन्तहरू भेट्न आउँदा खुसी लाग्ने गरेको उनी बताउँछन् । ‘रक्तदान गरेकै कारण धेरै जना साथी बनेका छन्,’ उनले भने,‘जहाँ जाँदा पनि हजुरले रक्तदान गरेको या जोहो गरिदिएको हो भन्दै बिरामी तथा आफन्तहरू खुसी व्यक्ति गर्छन् । त्यसैमा आनन्द आउँछ ।’ सरकारले पर्याप्त ब्लड बैंक स्थापना नगर्दा अहिले बिरामीहरूलाई समस्या पर्दा रक्तदाता खोज्नु पर्ने बाध्यता रहेको छ । त्यस कारण पनि दीपकलाई सम्झनेहरू अझै धेरै बढिरहेका छन् ।

सबैभन्दा बढी सुत्केरी महिला, दुर्घटनामा परेकाहरू र सिकलसेल एनिमियाका बिरामीका लागि रगत चाहियो भन्दै फोन आउने गरेको उनी बताउँछन् । ‘यिनै बिरामीका लागि मैले सबैभन्दा बढी रगत दान गर्नुका साथै जोहो पनि गरिदिएको छु,’ उनले भने,‘तत्कालीन अवस्थामा कोही सम्पर्कमा नआउँदा आफै रक्तसञ्चार केन्द्रमा पुगेर फाइल पल्टाएर त्यहीबाट फोन गरेर भए पनि कोही न कोहीलाई सम्पर्कमा ल्याउने गरेको छु ।’ उनलाई धनगढीमा मात्रै नभई नेपालगन्ज, काठमाडौँ र चितवनबाट पनि रगतको लागि फोन आउँछ ।

 सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौं, चितवन, नेपालगन्ज पुगेका बिरामी तथा आफन्तले रगतका लागि दीपकलाई सम्झन्छन् । दीपकले सोही ठाउँका रक्तदाता खोजेर सम्पर्कमा ल्याइदिन्छन् । ‘हामी देशभरका रक्तदाता सञ्जालमार्फत जोडिएका छौ,’ उनले भने,‘जुनसुकै ठाउँमा पनि बिरामीलाई रगत चाहिएमा नेटवर्कद्वारा रक्तदाता खोजेर रगतको जोहो गरिहाल्छौँ ।’ विज्ञानले धेरै कुरा बनाउन सक्दा पनि रगत बनाउन नसकेको बताउँदै उनले भने,‘रगतको विकल्प रगत मात्रै हो, रगत जोगाउनु र अरूलाई दिनु नै सबैभन्दा राम्रो कुरा हो ।’ सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै ब्लड बैंक छ । त्यो बाहेक पहाडी जिल्लामा संकलन केन्द्र नै छैन । 

सुदूरपश्चिममा सबैभन्दा बढी पटकसम्म रक्तदान गर्ने उनी पहिलो व्यक्ति हुन् । डेढ वर्षअघि उनलाई नेपाल रेडक्रस सोसाइटी धनगढीले उनलाई १०० पटक रक्तदान गरेको भन्दै सम्मानपत्र सहित सम्मान गरेको थियो । त्यसपछि पनि उनले ६ पटक रक्तदान गरिसकेका छन् ।  

रक्तदानका लागि दीपक एक अभियन्ता भएको सुदूरपश्चिम प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्त बताउँछन् । ‘दीपकले रक्तदानका लागि सामाजिकीकरण गर्नमा ठुलो योगदान पुगाउनु भएको छ,’ उनले भने,‘उहाँलाई हामी रक्तदातासँगै अभियन्ताका रुपमा चिन्दछौँ ।’ दीपकले विद्यालय तथा कलेजमा पनि रक्तदान गर्नका लागि विद्यार्थीहरूलाई उत्प्रेरणा तथा रक्तदानको महत्वका बारेमा जानकारी दिइरहन्छन् । अहिले धनगढीमा दैनिक ४० देखि ६० पिन्ट रगत आवश्यक पर्छ । 

धनगढीमै प्रादेशिक अस्पतालसँगै निजी अस्पतालहरू खुल्नु र ठुलठुला शल्यक्रियाहरू यहीँ हुनुले पनि रगतको माग पहिलेको तुलनामा बढेको उनी बताउँछन् । ‘पहिलेको तुलनामा अहिले रगतको माग बढेको छ, तर त्यही अनुपातमा रक्तदाता बढेका छैनन् ।’ बिरामीका आफन्तले रगत आफूले रगत नदिएरै रगत प्राप्त गर्न खोज्ने गरेको पनि उनी बताउँछन् । आफूहरूले बिरामीका आफन्तलाई पनि रक्तदान गरिदिन अनुरोध गर्ने गरेको उनले बताए ।  

दीपकले बिरामीका आफन्तले आफै रगत खोज्न सहज हुने गरी एउटा प्रविधिको विकास गर्न लागि रहेका छन् । मोबाइल एप्सको माध्यमबाट आफूलाई आवश्यक परेको रगत र उक्त रगतको लागि कसलाई सम्पर्क गर्ने भन्ने विषयमा सहजै जानकारी पाउने गरी मोबाइल एप्सको विकास गर्न लागिरहेको उनले बताए । 

रक्तदान सचेतना अभियान

धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले स्वयंसेवी रक्तदाता दीपकले औपचारिक अभियान थालेका छन् । उपाध्यायले विभिन्न जिल्लाबाट उपचारका लागि धनगढी आउँदा रगत चाहिने बिरामीहरूलाई सहज रुपमा रगत उपलब्ध होस् भन्ने ध्येयले धनगढीमा अभियान सुरु गरेको बताए । सामाजिक विकास मन्त्री मेघराज खड्का र मन्त्रालयका प्रवक्ता हेमराज खड्काले संयुक्त रूपले अभियानको थालनी गरेर उद्घाटन गरेका छन् ।

उनीहरुले सामाजिक विकास मन्त्रालय र सेती प्रादेशिक अस्पतालमा रक्तदान सम्बन्धी जानकारी मूलक बोर्ड राखेर अभियान सुरु भएको घोषणा गरेका हुन् ।  सुदूरपश्चिम प्रदेश सरकारले सुरु गर्न लागेको ‘निःशुल्क रगत’ अभियानलाई यो कार्यक्रमले सहज बनाउने सामाजिक विकास मन्त्री खडकाले बताए । उनले रगत निःशुल्क मात्रै गरेर नहुने बताउँदै यसका लागि धेरैभन्दा धेरै रक्तदाताहरू जोडिन आवश्यक रहेको बताए । मन्त्रालयका प्रवक्ता खड्काले अभियान अन्तरगत धनगढीका विभिन्न अस्पताल, मन्त्रालय, कार्यालय तथा विभिन्न सार्वजनिक स्थानमा सचेतनामूलक सन्देशसहितको बोर्ड बताए । 

कैलालीबाट सुरु भएको रक्तदान सम्बन्धी जानकारी मूलक अभियान सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रत्येक पालिकासम्म पुग्ने रक्तदाता दीपक बताउँछन् । ‘अभियानले गाउँ गाउँमा रक्तदान गर्न प्रेरणा मिल्नेछ,’ उनले भने,‘जसले गर्दा रगत अभाव टर्नेछ ।’ 

अर्को समाचार
चितवनमा रगत पाउनै मुस्किल
२८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
चितवनमा रगत पाउनै मुस्किल
भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले जेठ १५ मनाङमा पुगेर रक्त संकलन कार्यक्रम आयोजना गर्‍यो। स्थानीय श्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए।




गत चैत र वैशाखमा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो। अहिले रगत अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन।

केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए। केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पुगेर रगत संकलन गर्दैे आएको छ।

विगतका तुलनामा रगत संकलन घट्दो रहेको छ भने माग बढ्दो छ। उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत संकलन गरिएको थियो। केन्द्रमै गएर प्रदान गरिएको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो। केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत संकलन गर्ने गरेको थियो। रक्त संकलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ। शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगत मागलाई धान्दै आएको बताउँछन्। दैनिक सयदेखि एक सय ५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ।

संकलन भएका रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुईजना बिरामीको आवश्यकता पूर्ति हुँदै आएको छ। सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामै दीर्घरोग देखिनुजस्ता कारण रगत संकलनमा कमी आएको बताउँछन्।

यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम संकलन हुने गरेको जनाइएको छ। भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउँछन्। रगत संकलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उनी बताउँछन्।

आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उनले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताए।

दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत संकलन गर्नुपर्ने उनी बताउँछन्। विद्यालय, कलेजलगायतका संघसंस्थाको क्यालेन्डरमा वर्षको तीनदेखि चारपटक रक्तदान कार्यक्रम राख्नुपर्ने उनको सुझाव छ। –रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस