आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ।
मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा नकर्मीले एक महिना अगाडि बनाएर शुद्ध तोरीको तेलमा डुबाएर राखेको करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएका हुन्।
उनले कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिरसम्म यात्रा गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उडडन मन्त्री बद्रिप्रसाद पाण्डेले जिब्रो छड्ने जात्राको अवलोकन गर्दै हौसला प्रदान गरेका थिए।
उनले यहाँको कला, संस्कृति, जात्रा, पर्व र परम्पराले इतिहास बोकेकाले यस्तो पर्वको संरक्षण गर्नुपर्ने बताए।
पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषका प्रवक्ता रेवतीरमण अधिकारी, भक्तपुर क्षेत्र नं-२ का सांसद दूर्लभ थापा, मध्यपुरथिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
लोप हुन लागेको यो जात्रालाई विरेन्द्र भक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएर पुनर्जिवित गरेका थिए भने उनैले दोस्रोपटक २०७९ साल पूर्णिमाको दिन जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए।
श्रेष्ठले जिब्रो छेडाएर निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपति नाथको दर्शन गर्ने गरी थिमिबाट यात्रा गरेका हुन्।
पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कने र सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउँमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ।
त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिएपछि जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूजा) का लागि बालकुमारीमा पुजा गर्ने प्रचलन रहेको छ।
जात्रामा पशुपति विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाउने श्रेष्ठको जिब्रोमा मन्त्री पाण्डेले परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल हालिदिएका थिए।
यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भुतप्रेतहरूले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास रहदै आएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...