ताप्लेजुङमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनमा पाँचथरका विशाल राईले सर्वोत्कृष्टता हासिल गरेका छन्। राईले म्याराथनको उपाधिसँगै १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। यसअघि, उनले तिम्बुङ पोखरी ट्रेल रनमा पनि जीत हासिल गरेका थिए।
रेडपाण्डा म्याराथनमा ४८ किलोमिटर दुरी पार गर्दै राईले ४ घण्टा १६ मिनेटमा दौड समाप्त गरे। दौडको अन्तिम १०० मिटरमा उनले बझाङका करण रावललाई पछि पार्दै अग्रता लिएका थिए। रावलले ४ घण्टा १७ मिनेटमा दौड पुरा गर्दै समग्रमा दोस्रो स्थानमा रहे भने पुरुषतर्फ पहिलो बने। उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे।
तेस्रो स्थान ताप्लेजुङका रमेश लिम्बूले हासिल गरे। उनले ४ घण्टा २६ मिनेटमा दौड पूरा गर्दै ३० हजार रुपैयाँ जिते। यस्तै, सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो स्थानमा रहेर २० हजार रुपैयाँ पुरस्कार हात पारे।
फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी तय कूल ४८ किलोमिटर दुरीमा म्याराथन भएको थियो।
महिलातर्फ ताप्लेजुङकी कुमारी गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ६ घण्टा १२ मिनेटमा दौड पूरा गरिन्। उनले पहिलो स्थानसहित ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन्। गुरुङले यसअघि ताप्लेजुङ पर्यटन महोत्सवमा महिला हाफ म्याराथनतर्फ दोस्रो स्थान हासिल गरेकी थिइन्।
महिलातर्फ दोस्रो स्थानमा नेपाल प्रहरीकी ओखलढुङ्गाकी लाक्पाङिमा शेर्पाले ६ घण्टा २९ मिनेटमा दौड पूरा गरिन् र ३० हजार रुपैयाँ जितिन्। ताप्लेजुङकी दासाङ्की शेर्पाले ६ घण्टा ३७ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहिन् र नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।
रेडपाण्डा करिडोर क्षेत्रका प्रतिस्पर्धीहरूमा राजन मेन्याङ्वो पहिलो बने। उनले ४ घण्टा ५७ मिनेटमा दौड पूरा गर्दै १५ हजार रुपैयाँ जिते। दोस्रो स्थानमा सञ्चबहादुर शेर्पाले ५ घण्टा ६ मिनेटमा दौड पूरा गरे भने तेस्रो भएका दीपक राईले ५ घण्टा १९ मिनेट २० सेकेण्डमा दौड पूरा गरे।
रेडपाण्डा नेटवर्क, जिल्ला समन्वय समिति, फुङलिङ नगरपालिका, पाथीभरा क्षेत्र विकास समिति लगायतका निकायहरूको सहकार्यमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा ट्रेल म्याराथन आयोजना गरेको हो। विश्व रेडपाण्डा संरक्षण दिवसको अवसरमा आयोजना गरिएको यो म्याराथनमा एक दक्षिण कोरियाली नागरिकसहित ५१ जना सहभागी थिए।
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।
आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए।
राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए।
भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।
उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...