संवैधानिक परिषद् विधेयक पारित नहुँदा जटिलता आउन सक्ने
०६ असोज २०८१
•
५ मिनेट पाठ
संवैधानिक परिषद् विधेयक पारित नहुँदा जटिलता आउन सक्ने
संवैधानिक परिषद्को बैठक अध्यादेशले निष्क्रिय गरेको दफालाई नजगाइकनै बस्ने गरेको छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ का केही दफा अध्यादेशले निष्क्रिय बनाइरहेको छ। तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा ल्याएको अध्यादेशले संवैधानिक परिषद्सम्बन्धी ऐनका केही दफा निष्क्रिय बनाइराखेको हो।




२०७९ को मंसिरको आम निर्वाचनपछि नयाँ संसद् आएसँगै निष्क्रिय भएका दफालाई जगाउने गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा आए पनि त्यसलाई पारित नगरिकनै संवैधानिक परिषद्ले चारजनाको नाम सिफारिस गरिसकेको छ।

संवैधानिक परिषद्ले पहिलो पटक २०८० वैशाख २५ गते सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि संवैधानिक परिषद्ले २०८० साउन १८ गते प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

संवैधानिक परिषद्ले २०८१ असार २ गते कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। उनी अन्य कारणबाट अयोग्य भएको भन्दै संसदीय सुनुवाइ समितिमा उनको नाम अस्वीकृत भइसकेको छ। यसैगरी, असोज १ गते परिषद्ले सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। उनको संसदीय सुनुवाइ सुरु भएको छ। ‘सत्तारुढ दलका नेताले सर्वसम्मत हुने निर्णयमा हामीले निर्णय गरेका छौं, बहुमत र अल्पमतको विषयमा अहिले निर्णय गरेका छैनौं,’ सत्तारुढ दलका एक नेताले भने।

त्यस्तै अध्यादेशले निष्क्रिय बनाएका दफालाई जगाउने गरी संसद्मा आएको विधेयक पारित नभएसम्म संवैधानिक परिषद्सम्बन्धी ऐनको दफा ज्युँदो नहुने कानुनविद् रामनारायण बिडारी बताउँछन्। ‘जगाउने विधेयक पारित भएपछि मात्र ऐन पूर्वअवस्थामा आउँछ,’ कानुनविद् बिडारी भन्छन्। कानुनविद् ओमप्रकाश अर्यालले संवैधानिक परिषद्ले संविधानबमोजिम सर्वसम्मत निर्णय गरिएकामा त्यसलाई अन्यथा नमानिए पनि परिषद्को बैठकमा एकजना अनुपस्थित भएमा अहिले संवैधानिक परिषद्ले निर्णय गर्न नसक्ने उनले बताए। यसका लागि संसद्मा आएको विधेयक पारित गर्नुपर्ने उनले बताए।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले २०७७ मंसिरमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुनसक्ने’ गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ संशोधन गर्ने अध्यादेश ल्याएको थियो। ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर त्यसैबमोजिम पहिलो पटक २०७७ मंसिर ३० मा सिफारिस गरी माघ २१ गते र दोस्रोपटक २०७८ वैशाखमा सिफारिस गरी असार १० र २० गते ५२ जना संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गरिएको थियो। नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ।

२०७९ साल फागुन १२ गते संसद्मा दर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ संशोधन गर्न बनेको विधेयक २०८० वैशाखदेखि संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन रहेको थियो। राज्य व्यवस्था समितिले गत २०८१ जेठ १७ गते यो विधेयक पारित गरेर प्रतिनिधिसभामा विधेयक प्रतिवेदन पेस गरेको थियो।

गत असार १४ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्ने कार्यसूची तय गरिए पनि पछि कार्यसूचीबाट हटाइएको थियो। त्यसपछि संसद् अधिवेशन अन्त्य भएको दिन भदौ ३१ गतेसम्म यो विधेयक कार्यसूचीमा परेन।

अध्यादेशमा राखिएको व्यवस्थालाई र ऐनको साविकको व्यवस्थालाई परिमार्जन गरेर निर्णय प्रक्रियामा प्रधानमन्त्री र परिषद्का कम्तीमा ५० प्रतिशत सदस्यको सहमतिले निर्णय गरिनेछ भन्ने व्यवस्था समितिबाट पारित विधेयकमा राखिएको छ। यो विषयमा समितिमा सबै दलको सहमति छ।

विधेयकमा व्यवस्था भए बमोजिम ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री र तीनजना सदस्य उपस्थित भएर निर्णय गरेमा त्यसलाई बहुमतबाट गरिएको निर्णय मानिनेछ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमखु प्रतिपक्षी दलको नेता रहने संवैधानिक व्यवस्था छ।

यस ऐनमा अध्यादेश निष्क्रिय बनाएका दफाहरूमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ को उपदफा ३, ५, ६ र ७ रहेका छन्। अध्यादेशको दफा २ को उपदफा (१) ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ को उपदफा (३) मा भइरहेका अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्य उपस्थित भएमा बैठकको गणपूरक संख्या पुगेको मानिने ऐनको व्यवस्थालाई परिवर्तन गर्दै अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थिति भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको छ।

अध्यादेशको दफा २ को उपदफा (२) ले मूल ऐनको दफा ६ को उपदफा (५) मा प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने व्यवस्थालाई बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ भन्ने व्यवस्थामा थप गर्दै सर्वसम्मति कायम हुन नसकेमा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुनेछ भन्ने व्यवस्थाले यस उपदफालाई विस्थापन गरेको छ। मूल ऐनको उक्त व्यवस्थामा प्रधानमन्त्रीको (अध्यक्ष) को मत निर्णयका पक्षमा अनिवार्य गरिएको थिएन।

अध्यादेशको दफा २ को उपदफा (३) ले मूल ऐनको दफा ६ को उपदफा (६) र (७) लाई झिकेको अवस्था छ। मूल ऐनको दफा ६ को उपदफा (६) र (७) ले सर्वसम्मत कायम हुन नसकेमा निर्णय हुन नसक्ने, त्यस्तो अवस्था आइपरे अर्काे बैठक बोलाउनु पर्ने र उक्त बैठकको सहमतिले सो विषयमा निर्णय गरिने र त्यस्तो बैठकमा पनि सहमतिबाट निर्णय हुन नसकेमा मात्र संवैधानिक परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गर्ने व्यवस्था थियो।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ समग्र रूपमा र त्यसको प्रस्तावना, दफा १, दफा २ र दफा ३ का सम्पूर्ण प्रावधान निष्क्रिय भएको कानुनविद् बताउँछन्। कानुनविद् ओमप्रकाश अर्यालले पनि यही विषय उल्लेख गर्दै अध्यादेश असंवैधानिक भन्दै २०७७ पुस १ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए।
अर्को समाचार
‘पीडक जोगाउने मनसायले विधेयक आएको छ!’
०२ भदौ २०८१
•
९ मिनेट पाठ
‘पीडक जोगाउने मनसायले विधेयक आएको छ!’
सुमन अधिकारी, संस्थापक अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी
शान्तिसम्झौता भएको १८औं वर्षमा बल्ल बुधबार प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ। बिहीबारै विधेयक राष्ट्रियसभामा टेबल भएको छ। यसले एकातर्फ न्यायको प्रतीक्षामा रहेका हजारौं द्वन्द्वपीडितमा आशा जगाएको छ भने अर्कोतर्फ निष्पक्ष र स्वतन्त्र रूपमा न्याय सम्पादनमा संशय पनि जगाएको छ।




राष्ट्रियसभाबाट पारित भएपछि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग क्रियाशील हुनेछन्। आयोगहरूले २०५२ साल फागुनदेखि २०६३ मंसिर ५ गतेसम्मको अवधिमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिन र दोषीलाई कारबाही सिफारिस गर्नेछन्। तर यी सिफारिस निष्पक्ष हुनेमा पीडितले नै आशंका गरेका छन्।

पीडकहरू अझै पनि शक्तिमा रहेकाले पीडितले स्वतन्त्र रूपमा बोल्न सक्लान् त भन्नेमा प्रश्न उठेको छ। यसै विषयमा केन्द्रित रहेर नागरिकर्मी तेजेन्द्र काफ्लेले द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश:

प्रतिनिधिसभाबाट बुधबार पारित भएको बिहीबारै राष्ट्रियसभामा टेबल भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति यहाँको धारणा के छ ?

बाहिरबाट हेर्दा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लामो समयदेखि थाती थियो। यो पारित हुन जरुरी थियो। पारित त उहाँहरूले गर्नुभयो तर कस्तो ढंगले पारित गरियो भन्ने कुरा महत्त्वपूर्ण छ। यसले समाधान दिन्छ कि दिँदैन? यसले अन्तर्राष्ट्रिय कानुनको प्रावधान र पीडितको भावना आत्मसात् गर्‍यो कि गरेन भन्ने कुरा महत्त्वपूर्ण छ।  

अर्को कुरा अंगभंग पार्ने, अपांग बनाउने, यातना दिने कार्य जुन भएको छ, यो पनि गम्भीर अपराध हो। तर यी अपराध पनि सामान्यमा माफीमिनाहा हुनेमा राखिएको छ। यो मिल्दैन। यी विषय गम्भीरमा राख भनेर हामीले धेरै पटक खबरदारी गर्‍यौैं। तर यी कुराको सुनुवाइ भने भएन।  

अझ अर्को कुरा द्वन्द्वकालका घटनाका पीडकलाई अभियोजनका लागि सिफारिस गर्ने भन्ने छ। यसलाई महान्यायाधिवक्ताले विद्यमान कानुनको २५ प्रतिशत मागदाबी गर्ने भन्ने छ।

यो भनेको २० वर्षको सजाय छ भने पाँच वर्ष मात्र हुने भयो। यसैमा टेकेर योभन्दा घटी अदालतले निर्णय गर्नुपर्ने भन्ने छ। ७५ प्रतिशत आममाफीको कुरा आएपछि यसबाट अदालतको अधिकारसमेत कटौती गर्ने काम ऐनले गर्न खोजेको देखिन्छ।

अहिले ७५ प्रतिशत घटाउने र २५ प्रतिशत मात्रै मागदाबी गर्ने भन्ने कुरा जुन छ, यो अपराधको गम्भीरता, पीडकको सहकार्य भोलिका दिनमा कस्तो हुन्छ भन्ने कुराले घटाउने भन्ने हुन सक्छ। कसरी हुन्छ पीडकलाई दण्डसजायबाट जोगाउने भन्ने मनसायले यो विधेयक आएको देखिन्छ। उहाँहरूको बहस पनि यसैमा केन्द्रित छ। विधि र विधानले यसो गर्न मिल्दैन। मुद्दाका लागि गइसकेको कुरा पनि छ। मुद्दा पर्ने र फेरि पनि प्रक्रिया अड्किने भन्ने काम भने नहोस्।

यहाँ द्वन्द्वपीडित साझा चौतारीको संस्थापक अध्यक्ष र विधेयक तयार गर्दादेखि विधेयकमाथिका हरेक छलफल र बहसमा संलग्न हुनुहुन्छ। चाहेअनुसार विधेयक आएको छ कि छैन ?

खासगरी २०७८ सालको अन्तिमदेखि नै यो प्रक्रिया सुरु भएको हो। अघिल्लो संसद्मा नयाँ कानुनमन्त्री आएपछि परामर्श गर्ने भन्ने कुरा भएको थियो। हामीले सरकार इमानदार छ, जवाफदेही छ, साँच्चीकै इच्छुक छ भने सहकार्य गर्छौं भन्ने कुरा राखेका थियौं। म आफैं पनि कार्यदलमा रहेकाले प्रश्नहरूको मोडालिटी बनाएका थियौं। देशैभरको परामर्शलाई समन्वय पनि गरेका थियौं।

राष्ट्रिय परामर्श गर्दा हामी अर्को वर्षको असारसम्म सँगै पनि थियौं तर जब सरकार भित्र छिर्‍यो। परामर्श गर्दासम्म सरकारले आफ्नो फेस सेभिङका लागि पीडितलाई प्रयोग गर्‍यो, भित्र पसेपछि भने आफ्नो ढंगले दलीय स्वार्थअनुसार ड्राफ्ट गर्‍यो। त्यो टेबल पनि भयो।

त्यो बेला हत्या लगायत विषयलाई गम्भीरमा नराखेर सामान्यमा राखिएको कुरा आयो, जसमा हामीले सुरुबाटै गम्भीर आपत्ति जनाएका थियौं। त्यसपछि संसद्को कार्यकाल सकियो। नयाँ निर्वाचन भयो अनि नयाँ संसद् र सरकार आएपछि यिनै विषयलाई राखेर नयाँ विधेयक ल्याइयो। त्यसपछि भने हामीले निरन्तर खबरदारी गर्दै आयौं। लिखित सुझाव पनि दियौं।

पछिल्लो समय जुन तीन दलको कार्यदल बनाइएको थियो, त्यसले भने हामीसँग परामर्श गरेन। एक पटक महेश बर्तौलाले बोलाउनुभएको थियो। उहाँले ७५ र २५ प्रतिशतको जुन सहमतिको कुरा थियो, त्यसबारे चुस्स जानकारी जस्तो गराउनु भएको थियो।

हामीले ७५ प्रतिशतको जस्टिफिकेसन के हो भनेर सोधेका थियौं, महेश बर्तौलाले संक्रमणकालीन न्याय भएकाले सहमतिमा राखेको भन्ने जवाफ दिनुभयो। पीडितसँग भरसक परामर्श नगर्ने, गरिहाले पनि आफूअनुकूल र स्वार्थले प्रयोग गर्ने र ऐन ल्याउने भन्ने आशय उहाँको थियो।

राज्य र विद्रोही पक्षभन्दा बाहिर द्वन्द्वपीडित सर्वसाधारणको ठुलो समूह छ। यहाँका बुवा मुक्तिनाथ अधिकारीसहित वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेका हजारौं पीडित र परिवारलाई यो विधयकले न्याय दिन सक्छ कि सक्दैन?

सबैभन्दा महत्त्वपूर्ण र गम्भीर विषय नै यही हो। हिजोका द्वन्द्वरत पक्ष नै अहिले सत्तामा छन्। उनीहरूको ध्येय भनेको पनि मेलमिलापमा जाने हो भन्ने छ। मेलमिलाप भनेको के हो? अहिले पनि पीडक बलिया छन्, पीडित कमजोर। उजुरी हालेकै कारण पीडकले थर्काएर पीडितलाई घरबाट लखेटेका कुरा पनि छन्। यो साँच्चीकै अनुसन्धान भयो भने ती पीडित घरमा बस्न सक्छन् त ? सुरक्षित होलान् त भन्ने कुरा पनि छ।

यहाँ विभिन्न खाले पीडित छन्। सरकार र विभिन्न राजनीतिक दलले यहाँ भूमिका खेल्ने काम पनि गरेका छन्। साँच्चीकै पीडित छौं, हाम्रो सत्यको अधिकार, न्यायको अधिकार, परिपूरणको जुन अधिकार छ त्यसलाई छायामा पारेर देखावटी ढंगले बनावटी कुरा अगाडि ल्याउने काम जुन भएको छ, त्यसमा हाम्रो गम्भीर असहति र आपत्ति छ।

पारित विधेयकले द्वन्द्वकालका छुँदै नछोएका विषय पनि छन् ?

मोटामोटी कुरा भने आएको देखिन्छ। तापनि वर्गीकरणमा भने समस्या छ नै। परिपूरणको कुरा, आयोगको कुरा, छुटेकालाई उजुरी दिने कुरा, द्वन्द्वकालपछि विस्फोटमा परेकाहरूको सम्बोधन गर्ने कुरा, सम्पत्ति हस्तान्तरण, बेपत्ता परिवार लगायत राम्रा कुरा त्यहाँ आएको देखिन्छ। तर नेपालमा प्रतिबद्धता सयौं पटक वर्षैपिच्छे वर्षौंदेखि आइरहेका छन्।

ऐनमा भएका व्यवस्था पनि कति कार्यान्वयन हुने भन्ने कुरा पनि छन्। कमजोर कार्यान्वयनको कुरा पनि छ। हिजोका दिनमा ८ वर्षसम्म आयोग जसरी बस्यो, त्यो समयमा एउटा पनि छानविन त भएन। सत्यतथ्य त बाहिर ल्याउन सकेन। एकजना पनि पीडितले न्याय पाएको अनुभूति गर्न नपाएको अवस्थाले गर्दा जुन राम्रा पक्ष केलाएका छौं भोलिका दिनमा साँच्चीकै समाधान हुन्छन् त ? पीडितले न्याय पाउँछन् त भन्ने आशंका टड्कारो छ।

विधेयक कार्यान्वयन र आयोगको निष्पक्षतामा यहाँले प्रश्न उठाउनुभएको हो?

हजुर, यो जुन सिफारिस समिति बनेको छ, समितिको छनोट प्रक्रिया विश्वसनीय, पारदर्शी र सार्वजनिक विधिबाट हुनुपर्छ भन्ने हाम्रो माग छ। त्यो कुरा उहाँहरूले सुन्नु पनि भएको छैन र विधेयकमा पनि ती कुरा उल्लेख भएका छैनन्। छनोट गर्दा पनि यो समस्याको समाधान दिन साँच्चीकै रोडम्याप भएको र पत्याइएको व्यक्ति हुनुपर्छ। राजनीतिक बार्गेनिङ त पक्कै हुन्छ।

राजनीतिले त्यसो नगर्ला भनेर अपेक्षा गर्नु त मुर्खता होला तर पनि समाधान गर्ने व्यक्ति हो र दलहरूले नै पठाएछन् भने पनि त्यहाँ गएपछि भने दल र व्यक्तिको इसारामा काम गर्नेभन्दा पनि पीडितको पीडाको सम्बोधन कसरी गर्ने ? समस्याको समाधान कसरी गर्ने ? उहाँको ध्यान त्यसमा हुनुपर्छ। त्यो पदमा बस्दासम्म केन्द्रमा राखेर पीडित समुदाय, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय, विभिन्न तप्का र समूह तथा राज्यका निकायसँग सिद्धान्तमा टेकेर सोहीअनुसार सहकार्य गर्नुपर्छ। यसमा सरकारले पहिला बजेट पनि दिएन, ऐन पनि दिएन र बजेट पनि दिएन। दिएका कर्मचारीलाई सही ढंगले काम पनि लगाउन सकेन। भनेपछि आयोगले पनि चाहेन र सरकारले पनि चाहेन।

आयोग पनि जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्‍यो। सरकारले पनि सरसहयोग पूर्ण रूपमा गर्नुपर्‍यो। सरकार र आयोग इमानदार छ र पीडितलाई केन्द्रमा राखेर काम गर्छ भने हामी पनि पूर्ण सहयोग गर्न तयार छौं। असफल भयो भने त आयोगलाई के हुन्छ र, पीडा हुने त हामीलाई हो। हिजो पनि खबरदारी गरेकै हो। अब पनि हामी त्यही ढंगले अगाडि बढ्छौं।

विधेयकमा सहमति जुटाउने नाममा १० वर्षसम्म यसलाई होल्ड गरियो। अहिले आएर एकाएक पास गरिएको छ। यसमा राजनीतिक स्वार्थ जोडिएको छ?

स्वार्थ जोडिएकै कारणले गर्दा यो अहिलेसम्म ढिला भएको हो। कहिले कुन पार्टीले त कहिले कुन पार्टीले नमान्ने भएकाले यस्तो भएको हो। आन्तरिक रूपमा यसलाई अगाडि बढाउन भने कोही नचाहने। अर्कालाई दोष दिने आफू भने नचाहने भएको थियो अहिलेसम्म। अहिले आएर भने पीडकलाई भने निकै नै गाह्रो भइसकेको अवस्था छ।

जस्तो मेरै बुवालाई हत्या गरेको भनेर मैले मुद्दा हालेको थिएँ, उसले दुई वर्षअघि नै आत्महत्या गरिसक्यो। यस्ता मानसिक तनावमा रहेका पीडक कति होलान्। उनीहरू पनि तड्पिने काम भइरहेको छ। शान्ति सेनामा जान नपाउने भन्ने कुरा पनि धेरै आइरहेका छन्।

अन्तर्राष्ट्रिय फोरममा पनि यी कुरा उठिनै रहेका छन्। युएनको महासभामा प्रधानमन्त्री जानुभन्दा अगाडि नै आयोग बनाएर जाने भन्ने कुरा पनि सुनिएको थियो। विधेयकको प्रतिवेदन संसद्मा टेबल हुनेबित्तिकै पारित गरियो। यसले अर्कालाई देखाउन मात्र गरिएको हो कि भन्ने पनि देखिएको छ। छिटो गर्न त हामीले पनि भनेकै हो तर छिटो गर्ने नाममा हतार गरेर आवश्यक बहस नै नगरीकन पास गर्नु चै आश्चर्यजनक छ।

बुधबार संसद्मा सबै दलका नेताले बोल्नुभयो। कति अध्ययन गरेर बोल्नुभयो? त्यो उहाँले नै जान्ने कुरा भयो। तर तीन दलले जे ल्याए त्यसैलाई समर्थन गर्नुभयो। त्यसमा राम्रा पक्ष के छन्? नराम्रा पक्ष के छन् भन्ने कुरा हेर्नुभयो कि भएन? पीडितको आवाज सुन्नु भयो कि भएन? त्यो कुरा उहाँहरूको दायित्वविपरीत हो कि होइन ? तीन दलको कुरामा रबरछाप लगाएर ढ्यापढ्याप पार्नुभयो।

कार्यान्वयन सुरु हुनुअघि अब तपाईंहरूको माग र कदम के हुन्छ?

अब भने राष्ट्रियसभाले छिट्टै पारित गर्ला। हाम्रो अनुरोध के छ भने राष्ट्रियसभाले नमिलेका कुरा मिलाओस्। त्यो कुराको पहल हामी गरिरहेका छौं। सांसदहरूलाई यो कुरा पुर्‍याउने क्रममा छौं। केहीलाई पुयाइ पनि सकेका छौं। विवादमा रहेका र भोलिका दिनमा समस्या ल्याउने प्रावधान अझै पनि विधेयकमा छन्, त्यसलाई राष्ट्रियसभाले तत्काल टुंगोमा पुर्‍याओस्। ऐन पनि चाँडै जारी गर्ने तयारी छ। अब पनि यहाँभन्दा अगाडि देशको रोडम्याप के हो भन्ने कुरा केही छैन। राज्यको एउटा टाइमलाइन हुनुपर्ने हैन र ?

यसअघि दुई वर्षको म्याद थियो आयोगको, आठ वर्षमा पनि सकिएको छैन। अहिले त आयोग बनेको पनि १० वर्ष भइसक्यो। समाधान त भएको छैन। कति समयसम्मा कति काम गर्ने हो त्यो काम सरकारले गरोस् भन्ने कुरा हामीले पटकपटक उठाएका छौं तर सुनुवाइ भएको छैन।

न्याय माग्दैनन् भन्ने राज्यको मानसिकता अहिलेसम्म छ। अब अगाडि बढ्ने भनेको आयोगको प्रक्रिया नै हो। अब सिफारिस गर्न समिति छ। समितिले स्पष्ट मापदण्ड बनाउनुपर्‍यो। स्पष्ट र पारदर्शी प्रक्रिया अवलम्बन गर्नुपर्‍यो। विगतमा गरेको भनेको देखावटी प्रक्रिया थियो। राजनीतिक दलहरूको नियन्त्रणमा थियो। देखाउने चै अगाडि सिफारिस समिति। छनोट हुनेचै भागबन्डाका आधारमा। अहिले भने क्षमता भएको, विश्वास गर्न सक्ने व्यक्ति आओस्।

हामी अब साँच्चीकै समाधान चाहन्छौं। स्वायत्त, स्वतन्त्र र सक्षम आयोग अब हामीलाई चाहियो। एकाइको कुरा पनि छ। एकाइअनुसार विज्ञ त्यहाँ चाहियो। कहाँबाट थाहै नभएका को कर्मचारी ल्याएर यसलाई भद्रगोल बनाउने काम नहोस्। विषयविज्ञले नै ती कुरा हेन्डल गरून्। शान्ति कोषको कुरा छ, परिपूरण एकाइको कुरा छ, परिपूरणको नीतिनिर्माण गर्ने कुरा छ।

यी हरेक प्रक्रियामा पीडित समुदायको सहकार्य, विश्वासको कुरा छ। राज्यले बसेर पीडित समुदाय, नागरिक समाजसँग बसेर सहकार्यको वातावरण बनाउनुपर्छ। अनि बल्ल यो प्रक्रिया अगाडि बढ्छ। हिजोको ढंगले चै आयोग मै ठुलो भन्ने, मै जान्ने भन्ने, सरकारले पनि सहयोग नगर्ने, त्यो पारा हो भने चै हामी झन् पीडित हुन्छौं। यस विषयमा सरकार जिम्मेवार बनोस्।

अब बन्ने आयोगले पनि समस्या समाधानका लागि साँच्चीकै प्रयास गरोस्। पीडितको जीवनरक्षा गर्ने राज्यको जिम्मेवारी हो। उनीहरूको जीविकोपार्जनका लागि सरकारले आयोगसँगै प्रक्रिया अगाडि बढाओस्।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस