सप्तकोशी नदीले कोशी ब्यारेजभन्दा दक्षिण पूर्वतर्फ केही वर्षअघि धार परिवर्तन गरेसँगै त्यहाँ नेपाल-भारतको सीमा स्तम्भ गायब हुन पुग्यो। सुनसरी कोशी गाउँपालिका वडा नं. ८ मा पर्ने सो स्थानका स्थानीयले खोलाले धार परिवर्तन नगरुन्जेलसम्म अहिले सीमा स्तम्भ रहेको स्थानभन्दा तीन समय मिटर दक्षिण खोला बगिरहेको स्थानसम्म नेपाल-भारतको सीमा मान्दै आएका थिए। यद्यपि, भारतले नेपाली भूमि मिचेर सीमा स्तम्भ नं. २०७/९ स्थापना गरेको स्थानीयको दाबी छ।
सीमा स्तम्भ नदीले बगाएर ‘गायब’ भएपछि नेपालतर्फको भूमि मिचिएको स्थानीयको दाबी छ। ‘कोशीको बीचमा रहेको सीमा गायब भएपछि नयाँ स्थापना गर्दा पहिलाको स्थानभन्दा केही उत्तरतर्फ सारिएको हो,’ ३० वर्षदेखि कोशी ब्यारेजदेखि पूर्वतर्फको बस्तीमा बसोबास गर्दै आएका कोशी गाउँपालिका वडा नं. ८ का गणेश तामाङले भने, ‘यसमा सरकारले गम्भीर भएर पुन: अध्ययन गरिनुपर्छ।’ उनका अनुसार कोशी नदीले धार परिवर्तन गरेर बगाएपछि सन् २०१४ पछि सो सीमा स्तम्भ स्थापना गरिएको हो।
नेपाल-भारतको सीमा विशेष गरी सुनसरीको कोशी गाउँपालिकामा बढी नै मात्रमा बाङ्गोटिङ्गो छ। भारतको भीम नगर आउँजाउँ गर्ने नाका कोशी गाउँपालिका वडा नं. ८ त पूर्व-पश्चिम राजमार्ग भन्दा झन्डै ३० मिटरमात्र दुरीमा २०६/६ नं. को पिल्लर रहेको छ। ‘हुन त नेपाल-भारतको सीमा एकदमै घुमाउरो छ,’ कोशी गाउँपालिका वडा नं. ८ का ९५ वर्षीय जेठा लामाले भने, ‘मेरो बुबाको पालादेखि म यही बस्दै आएको हुँ, भारत नेपालतर्फको सीमामा कुनै समस्या त देखिँदैन, तर सुनसरीको पश्चिमतर्फको सबैभन्दा अन्तिम पिल्लर (२०७/९)चाहिँ हामीलाई शंका छ।’
स्थानीयमा संशय पैदा भइरहँदा सुनसरीमा २३ वटा सीमा स्तम्भ रेकर्डमा भएता पनि फिल्डमा नभएको सशस्त्र प्रहरीको सीमा सुरक्षाबल सुनसरीले जनाएको छ। फिल्डमा नभएका सीमा स्तम्भमध्ये १९ वटा सहायक र चार वटा मुख्य स्तम्भ फिल्डमा भेटिएका छैनन्। सशस्त्र प्रहरीको रेकर्ड अनुसार २०७४/०७५ मा सुनसरीमा ११ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको थियो भने चार वटा पुर्ननिर्माण गरिएको थियो। यस्तै, २०७५/०७६ मा तीन वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको थियो।
पछिल्लो समय सशस्त्र प्रहरीले नै सुनसरीमा १३३ वटा सीमा स्तम्भ रंगरोगन गरेको थियो। सुनसरीभर मुख्य, सहायक, सानो र रिफ्रेन्स गरी कुल २९० वटा सीमा स्तम्भ रहेका छन्।
२०४५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट सीमा सम्बन्धी ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’लागू भएको थियो। सीमा सम्बन्धी यो सिद्धान्तले सुगौली सन्धि हुँदाका बखतको नक्सालाई आधार मानेर सीमा क्षेत्रमा जहाँ नदी बगेको थियो, त्यसैलाई दुई देशबीचको सीमा मानेर सन् २०१४ पछि समस्या समाधान गरिएको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए। ‘२०० वर्षअघि खोला बगेको नक्सा र अहिले पक्कै पनि मिल्दैन, गाउँले स्थानीयले प्राविधिक कुरामा कमै मात्र ज्ञान हुँदा पनि समस्या हुने गरेको हो,’ उनले नागरिकसँग भने।
नेपाल-भारतबीचको सीमाको विषयमा बेला बेलामा विवाद चर्किने गरेको छ। यसको दीर्घकालीन समस्या समाधान गर्न नेपाल सरकारले गम्भीर भएर लाग्नुपर्ने कोशी गाउँपालिका वडा नं. ८ कै शोमालाल मण्डलले बताए। बेला-बेलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाल प्रवेश गरेर दुःख दिने गरेको घटनाले भावुक हुँदै उनले यस्ता समस्या पनि सधैँका लागि समाधान हुनु पर्ने बताए।
घटनाक्रम अनुसार २०७२ साल मंसिर ९ गते कोशी गाउँपालिका वडा नं. ८ मै (साबिक हरिपुर) मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गाउँलेमाथि अन्धाधुन्द गोली प्रहार गर्दा चार जना घाइते भएका थिए। नेपाली गाउँमा प्रवेश गरी गोली हान्ने एसएसबीका जवानलाई कारबाही नभएकोमा गाउँलेको अहिले पनि घटना सम्झँदा आङ सिरिङ्ग हुन्छ।
२७ वैशाख २०८१
•
३ मिनेट पाठ