राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गरेका छन्।
यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताए।
उनले भने, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु–सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस्।”
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको सुनाए।
उनले भने, “नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको अद्वितीय छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु।”
बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौं’ भन्ने भावना नराख्न आग्रह गर्दै उनले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको उल्लेख गरे।
उनले भने, “बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहर हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु।”
त्रिवेणीमा अवस्थित बडिमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडिमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकामा उनले खुसी प्रकट गरे।
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको सुनाए।
“यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...