‘नागरिकको विवरण सुरक्षित राख्ने प्रबन्ध गर’
२० माघ २०८१
•
४ मिनेट पाठ
‘नागरिकको विवरण सुरक्षित राख्ने प्रबन्ध गर’
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रमा व्यक्तिका विवरण सुरक्षित राख्न कानुनी प्रबन्धको व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सार्वजनिक सेवासुविधा प्रदान गर्न, प्रणालीगत सुधार गरी सुशासन कायम गर्न भनी नागरिकका व्यक्तिगत एवं जैविक विवरणको दुरूपयोग हुन नदिने गरी काम गर्न सरकारका नाममा आदेश जारी भएको हो।




प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले राष्ट्रिय परिचयपत्रका विरुद्धमा परेको मुद्दाको फैसलामा आफ्ना नागरिकका विवरण सुरक्षित गर्न, आवश्यक कानुन बनाउन भनेको हो। ‘विद्युतीय अभिलेखसहितको सूचना संरक्षणको प्रत्याभूतिका लागि थप विश्वासलायक कानुनी, नीतिगत, संरचनागत तथा व्यवस्थापकीय प्रबन्ध सरकारले गर्नुपर्ने हुन्छ,’ सर्वोच्चले भनेको छ।

सर्वोच्चले गत माघ ६ गते गरेको फैसलाको पूर्ण पाठ शुक्रबार सार्वजनिक गरेको हो। अधिवक्ता रामबहादुर राउतले संविधानले नचिनेको राष्ट्रियपत्र बदरको माग गर्दै दर्ता गरेको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको थियो। उक्त रिट निवेदनको खारेजीपछि सरकारलाई पनि काम अघि बढाउन सहयोग पुगेको छ।

राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने काम गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ। ‘नागरिकका बासस्थाननजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण संकलन गरी वितरणको कार्य यथाशीघ्र सम्पन्न गर्नू,’ सर्वोच्चले भनेको छ, ‘राष्ट्रिय परिचयपत्र नभएकै कारण सार्वजनिक सेवा प्रवाहमा बेहोर्नुपरेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू।’

‘सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा एकाइ खडा गरी कार्य गर्न’ सर्वोच्चले भनेको छ। राष्ट्रिय परिचयपत्र विवरण वैज्ञानिक तरिकाले अभिलेखकीकरण गरी सूचना अनधिकृत प्रयोग वा दुरूपयोग हुन नदिन पनि सर्वोच्चले सचेत गराएको छ।

‘राष्ट्रिय परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने, व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकाससमेत गर्नू–गराउनू।’ 

परिचयपत्र लागु गरिएको तथा राज्यबाट राष्ट्रिय परिचयपत्रका लागि नीतिगत निर्णय, संरचना, तयारी, आर्थिक लगानीसमेत भएर कामको चरणमा छ। ‘सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा सहजताका लागि एक महŒवपूर्ण आधारका रूपमा राष्ट्रिय परिचयपत्र रहने भएकाले राष्ट्रियतासँग जोडिएको नागरिकताको प्रमाणपत्रलाई विस्थापित गर्छ भन्न मिल्ने देखिँदैन,’ सर्वोच्चले भनेको छ।

सरकारले नै नागरिकलाई राष्ट्रिय परिचयपत्र सहज रूपमा दिने व्यवस्था गर्नुपर्छ। नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र नभएकै कारण सरकारी वा सार्वजनिक निकायबाट प्रवाह गरिने सेवासुविधाबाट नागरिकलाई वञ्चित गर्न नहुने सर्वोच्चको व्याख्या छ।

बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त, असहाय, ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्र नभए पनि सामाजिक सुरक्षालगायत सेवा लिन बाधा नपर्ने बताइएको छ। राष्ट्रिय पञ्जीकरण विभागले आफ्नो सम्बन्धित कार्यालयबाट राष्ट्रिय परिचयपत्रमा विवरण संकलन गरिरहेको छ। २०७५ सालबाट नागरिकका विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र वितरणको काम थालिएको थियो।

हालसम्म एक करोड ६१ लाख नागरिकले राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका छन्।

देशभर ६ सय ५३ वटा एकाइबाट परिचयपत्र विवरण संकलन भइरहेको बताइएको छ। परिचयपत्र नम्बर वितरण भएको संख्या हेर्दा कुल जनसंख्याको अनुपातमा पर्याप्त नभएको सर्वोच्चको टिप्पणी छ। नागरिकताको प्रमाणपत्रबेगर राष्ट्रिय परिचयपत्र बनाउन सकिँदैन। राष्ट्रिय परिचयपत्रको विद्युतीय चिप्समा नागरिकता नम्बरसमेतको अभिलेख रहने भनिएको छ।

गृह मन्त्रालयको २०८१ असार १० को सूचनामा संवैधानिक मार्गदर्शन तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को कार्यान्वयन प्रयोजनार्थ जारी गरेको थियो। त्यसै सूचनाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। ऐनको व्यवस्था कायम रहँदासम्म त्यो सूचना बदर हुन नसक्ने गृह मन्त्रालयले लिखित जवाफमा समेत जनाएको थियो।

सरकारले दिने सबैजसो सेवामा नागरिकलाई परिचयपत्रको नम्बर अनिवार्य बनाइसकेको छ। बैंक खाता खोल्नदेखि सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरण (पेन्सन), राहदानीलगायत विषयमा राष्ट्रिय परिचय पत्रको नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वनयमा आइसकेको छ।

अझै पनि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नसकेका नेपाली नागरिकको संख्या धेरै छ। ‘नेपाली नागरिकताको प्रमाणपत्र भएर पनि राष्ट्रिय परिचयपत्र प्राप्त नभएका कारण सामाजिक सुरक्षा भत्ता लगायत सेवासुविधा प्राप्त गर्न कठिनाइ भएको भन्ने रिट निवेदनमा उल्लिखित बेहोरालाई अन्यथा भन्न सकिने अवस्थासमेत छैन,’ सर्वोच्चले फैसलामा भनेको छ।
अर्को समाचार
अन्ततः राष्ट्रिय परिचयपत्र अनिवार्य
०७ माघ २०८१
•
४ मिनेट पाठ
अन्ततः राष्ट्रिय परिचयपत्र अनिवार्य
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रविरुद्ध परेको रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट आइतबार खारेज गरिदिएको हो। सर्वोच्चको रिट खारेजी निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ।




वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठ, अधिवक्ताहरू रामबहादुर राउत र विमल पोखरेलले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए। रिट निवेदकहरूले नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा आम नागरिकलाई झन्झट हुने भन्दै अनिवार्य नगर्न माग गरेका थिए। निर्देशनात्मक आदेशको लिखत भने तयार भइनसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

रिट निवेदन खारेजीसँगै यसअघि सर्वोच्चले दिएको अन्तरिम आदेश पनि खारेज भएको छ। गृह मन्त्रालयले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दर्ता गराएको थियो। यसअघि सर्वोच्चले सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवासुविधा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो।

गृह मन्त्रालयले २०८१ असार १० मा राजपत्रमा सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचयपत्र नम्बर पेस गरी सरकारी सुविधा लिन आग्रह गरेको थियो। ‘सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट दिइने सार्वजनिक सेवासुविधा प्राप्त गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर पेस गरी त्यस्तो सुविधा प्राप्त गर्न’ भन्ने सूचनामा लेखिएको छ। त्यो सूचना कार्यान्वयन गर्न सर्वोच्चको अन्तरिम आदेशले रोकेको थियो। तर रिट निवेदन खारेज भएपछि सरकारको निर्णयबमोजिम राष्ट्रिय परिचयपत्र अनिवार्य बनेको हो।

सरकारले गत जेठ २४ गते पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो। तोकिएका जिल्लामा साउन १ देखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य भइसकेको छ। दोस्रो चरणमा माघ १ गतेदेखि ३८ वटा जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भनिएको थियो। बाँकी जिल्लामा २०८२ साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएको छ।

सामाजिक सुरक्षा ऐनमा अध्यादेशले उपदफा थप्यो

‘सामाजिक सुरक्षा ऐनको दफा ३ को उपदफा २ पछि अर्को उपदफा ३ थपिएको छ। सुशासन प्रवर्धन तथा सामाजिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा उपदफा थपिएको हो। ‘...३ यस दफाबमोजिम सामाजिक सुरक्षाभत्ता वितरण गर्ने प्रयोजनका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकिदिएको मितिदेखि लागु हुनेगरी राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था थपिएको उपदफामा गरिएको छ। अध्यादेश गत पुस २९ मा राजपत्रमा प्रकाशित गरिएको छ।

त्यसैगरी बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन– २०८० संशोधन तथा परिमार्जन गरी यही माघदेखि लागु हुनेगरी बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको हो।

हरेक व्यक्तिको विवरण एकीकृत गर्ने भन्दै सरकारले राष्ट्रिय परिचयपत्रलाई सरकारी सेवामा अनिवार्य गरेको छ। यसपटक बैंकमा खाता खोल्न पनि अनिवार्य गरिएको हो। राष्ट्र बैंकले नयाँ खाता खोल्न मात्र नभएर पुरानो खाता भएकालाई पनि राष्ट्रिय परिचयपत्रको नम्बर अद्यावधिक गर्न निर्देशन दिएको छ। ‘बैंक तथा वित्तीय संस्थाले माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि लिएर मात्र खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ, ‘ग्राहक पहिचान गर्दा वा ग्राहकको विवरण अद्यावधिक गर्दा राष्ट्रिय जोखिम मूल्यांकन र पारस्परिक मूल्यांकन प्रतिवेदन– २०२३ ले औंल्याएका जोखिमयुक्त सम्बद्ध कसुर भ्रष्टाचार, कर छली, मानव बेचबिखन एवं अन्य जोखिमयुक्त सम्बद्ध कसुरहरू र क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु वा वस्तु व्यवसायी, घरजग्गा खरिद वा बिक्री व्यवसायी, सहकारीहरूको खाता र आबद्ध व्यक्तिहरूको पहिचान एवं निजहरूको कारोबारलाई समेत प्राथमिकतामा राखी अनुगमन गर्नुपर्ने।’
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस