मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित पोर्ताहा क्षेत्रमा अनुगमन गरेका छन्। नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छापामारी भएको यो पहिलो पटक हो ।
राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको तथा अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन भइरहेको खबर प्राप्त भएपछि मुख्यमन्त्री सिंहले जिल्लाका सुरक्षा अधिकारीहरूसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा छापामारी गरेका हुन् ।
धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा भएको छापामारीक्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ टयाक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
मुख्यमन्त्री सिंहसहितको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, टयाक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्तिहरू अँध्यारोको लाभ उठाइ ठाउँठाउँमा बनाइएका बाटा हुँदै फरार भएका थिए । यद्यपि खोलाको उत्खनन् स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्याकटर, बकेट र चालक नियन्त्रणमा परेका हुन् ।
मुख्यमन्त्री सिंहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपत् निम्तिँदै आएकाले त्यसविरुद्ध आफूले अनुगमन गरेको बताए । उनले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट अनाधिकृत ढङ्गले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरेको प्रस्ट्याए ।
राष्ट्रिय वनक्षेत्र र सामुदायिक वनक्षेत्रस्थित खोला तथा टेन्डर नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् हुने गरेको जानकारी मुख्यमन्त्री सिंहलाई प्राप्त भएको थियो । डिभिजन वन कार्यालय धनुषासँग सशस्त्र जनशक्ति अभाव, प्रहरी सुरक्षाकर्मीहरूको सहयोगमा कमी आदि कारणले ठूलो स्तरमा नियन्त्रणात्मक अभियान सञ्चालन नहुँदा स्काभेटर, बकेट आदि उपकरण प्रयोग गरी सयौंको संख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको बताइएको छ ।
मुख्यमन्त्रीको अनुगमन टोलीमा सम्मिलित धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनाधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताए । उनले यस विषयमा आफूसमेत सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने उल्लेख गरे ।
यसअघि डिभिजन वन कार्यालय धनुषाले गणेशमान नगरपालिका वडा नम्बर ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग लगायतका स्थानीय क्रसर उद्योगीद्वारा पचासौँ ट्याक्टर परिचालन गरी रातबिरातको समयमा खोलाबाट जथाभाबी नदीजन्य पदार्थ दोहन गरिरहेको जनगुनासोपछि कानुनअनुसार मात्र नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन गराउन जिल्ला समन्वय समिति धनुषालाई आग्रह गरेको थियो ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...