नेपाली विद्यार्थीमाथि केआईआईटीको अमानवीय व्यवहार, केटासाथीलाई दोष दिँदै पन्छिने प्रयास
०५ फागुन २०८१
•
४ मिनेट पाठ
नेपाली विद्यार्थीमाथि केआईआईटीको अमानवीय व्यवहार, केटासाथीलाई दोष दिँदै पन्छिने प्रयास
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै थिइन् प्रकृति लम्साल। लम्सालको नेपालमा घर भैरहवा हो।  




आइतबार साँझ केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा लम्साल मृत अवस्थामा भेटिइन्। उनको मृत्युको कारणबारे भारतीय प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। कारण अझै पत्ता लागेको छैन तर, पुरुष साथीको दुव्र्यवहार सहन नसकेर लम्साल मर्न बाध्य भएको त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरु बताउँछन्।  

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङ पढ्दै गरेका अद्विक श्रीवास्तवसँग लम्साल प्रेम सम्बन्धमा रहेको तर सो सम्बन्ध लामो समयसम्म भने नचलेको नजिकका उनका साथीहरुले बताएका छन्।  

श्रीवास्तवले आफूलाई दुव्र्यवहार गरेको भन्दै गतवर्ष पनि विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई रिपोर्ट गरेकी थिइन् । सो समयमा विश्वविद्यालयले श्रीवास्तवलाई केहि हप्ताका लागि ससपेन्ड गरेको थियो।  

त्यसपछि पुनः गत महिना पनि लम्सालले सोहि व्यक्तिबाट आफूलाई दुव्र्यवहार गरेको भन्दै  विश्वविद्यालयलाई रिर्पोट गरिन्। तर विश्वविद्यालयले कुनै प्रक्रिया अगाडि बढाए। विश्वविद्यालयले कारबाही प्रक्रिया अगाडि नबढाएपछि लम्साल मर्न बाध्य भएको उनका साथीहरुको भनाइ छ।  

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए। विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै सहकर्मीहरुले नाराबाजी गर्दै विरोध गरेका हुन्।

विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई जबरजस्ती होस्टलबाट निकालेर विभिन्न ठाउँमा छाडिदिएको छ। एक नेपाली विद्यार्थीका अनुसार होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालेर नजिकैको रेल स्टेसन, बस स्टेसन र विमानस्थल लगेर छाडिएको छ।  

उनले भने, ’नेपाली विद्यार्थीहरूलाई यहाँको विभिन्न ठाउँमा लागेर छाडिएको छ। यहाँ नजिकैको रेल स्टेसन, बस स्टेसन र विमानस्थलमा लगेर छाडिएको छ। एकै ठाउँमा हुँदा प्रदर्शन गर्छन् भनेर विद्यार्थीलाई जबरजस्ती लगेर छाडिएको छ।’

होस्टलमा जबरजस्ती छिरेर आफूहरुलाई कुट्दै निकालिएको नेपाली विद्यार्थीहरुले बताएका छन्। त्योसँगै ओडिसाका शिक्षिकाले होस्टेलभित्र नेपाली छात्रालाई धम्क्याउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा यो बेला भाइरल बनेको छ।  

शिक्षिकाहरुले तिमीहरु कोही यहाँ सुरक्षित छैनौं, जहाँ सुरक्षित छौ, त्यही जाऊ भन्ने अभिव्यक्ति दिएका छन्। उनीहरुले यो ३० वर्ष पुरानो विश्वविद्यालय रहेको अहिलेसम्म चार लाखले पढेको बताउँदै विश्वविद्यालयले अहिले पनि ४० हजार विद्यार्थीलाई सित्तैमा खुवाउँदै आएको र विश्वविद्यालयको उक्त खर्च नेपालको बजेटभन्दा पनि बढी भएको जस्ता अभिव्यक्तिहरु दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।  

विश्वविद्यालयका रजिस्ट्रारले भने आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण प्रकृतिले उक्त कदम चालेको बताएकी छिन्। सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञान रञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । उनी होस्टेलमा बस्दै आएकी थिइन् र आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उनले उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छन् । “विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त केटालाई प्रहरीले पक्राउ गरेको छ,” उनले भनिन्।

विश्वविद्यालयले सोमबार विज्ञप्ति निकाल्दै घटना अप्रत्यासित भएको बताउँदै प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ। उसले कलेज छाडेका र छोड्ने योजनामा रहेका सबै नेपाली विद्यार्थीलाई फर्कन र कक्षामा सहभागी हुन आग्रह पनि गरेको छ।  

प्रकृतिको घट्नामा सत्यतथ्य छानबिन हुनुपर्ने बहस नेपालमा पनि उठिरहेको छ। सोमबार प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लम्साल र अन्य नेपाली विद्यार्थीहरूमाथि भएको दमनबारे संसदमा कुरा राख्न खोज्दा सभामुखले समय नदिएको भन्दै आपत्ति प्रकट गरेकी थिइन्।  

पटक–पटक समय माग्दा पनि सभामुख देवराज घिमिरेले अनुमति नदिएपछि सांसद श्रेष्ठ संसद बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

केआईआईटी विश्वविद्यालयमा ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले बताएका छन्।  
अर्को समाचार
‘स्याड बर्थडे’ प्रकृति, मिसिङ एभ्रिबडी !
०४ असार २०८२
•
६ मिनेट पाठ
‘स्याड बर्थडे’ प्रकृति, मिसिङ एभ्रिबडी !
आमाबाबुको अन्तर्मनमा हुने सन्तानप्रतिको वात्सल्यको तुलना उचित नहोला। हरेक आमाबाबुले आफ्ना सबै सन्तानप्रति उस्तै स्नेह र ममता  न्यौछाबर गर्छन्/गरेकै हुन्छन्। 




यद्यपि हरेक दम्पतीमा पहिलो सन्तान जन्मँदाको खुसीको विशिष्टता भने पक्कै अधिक हुन्छ। २१ वर्षअघि २०६१ असार ४ गते अर्थात् आजकै दिन रुपन्देहीका सुनिल लम्साल र सरिता शर्मा लम्सालको जोडीका लागि त्यस्तै ‘विशिष्ट खुसी’ ल्याएर जन्मेकी थिइन्, प्रकृति लम्साल। 

‘पहिलो सन्तान छोरी जन्मँदा घरमा लक्ष्मीको आगमन भयो भनेर धेरै खुसी थियौँ,’ आमा सरिताले भावुक हुँदै भनिन्, ‘उ हुर्कँदै जाँदा छोरी मात्र रहिन मेरो त साथी पनि भई। मेरो बेस्ट फ्रेन्ड नै उ थिई।’ 

सुनिल–सरिता दम्पतीका लागि प्रकृतिको जन्मले दिएको खुसी २० वर्ष टिक्यो। २१ औँ वर्ष चलिरहँदा पीडामा परिणत भएको छ। उनको २१ औँ जन्मदिनमा परिवार शोकमा छ। साथीहरूले प्रकृतिसँगका पुराना स्मृतिहरू कोट्याएर सम्झिरहेका छन्। शुभचिन्तकले समवेदना प्रकट गरिरहेका छन्। 

प्रकृति उनै नेपाली छोरी हुन्, जसको दुखद मृत्युले नेपाल र भारतको आत्मा हल्लिएको छ। हरेक नेपालीको स्मृतिमा उनको मृत्युको दुखद खबर बसेको छ। 

गत फागुन ४ गते भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)को होस्टेलमा प्रकृति मृत भेटिएकी थिइन्। त्यसयताको पीडाले बुबा सुनिल धन्न सम्हालिएका छन्। आमा सरितालाई अझैँ सम्हालिन गाह्रो भइरहेको छ। बुधवार छोरीको जन्मदिन चलिरहँदा उनी पटक–पटक भक्कानी रहिन्। 

ती ‘ह्याप्पी बर्थडे’, यो ‘स्याड बर्थडे’ 

आमा सरिताका अनुसार प्रकृति निकै भावुक र संवेदनशील थिइन्। उनलाई आफ्नो जन्मदिनको विशेष ख्याल रहन्थ्यो। प्रकृतिभन्दा अघि बढेर भाइ प्रयास अझ जन्मदिन बिर्सन दिँदैनथे। 

‘उस(प्रयास)ले दिदीसहित परिवारका सबैको जन्मदिन क्यालेन्डरमै संकेत गरेर राख्छ। अहिले पनि राखेकै छ,’ बुबा सुनिलले नागरिकसँग भने, ‘त्यसपछि जन्मदिनमा उनीहरूले जे भन्छन् त्यही मान्नुपर्ने। उनीहरूले नै जन्मदिन मनाउने गरेका थियौँ।’ छोराछोरीको जन्मदिन आमाबाबुका लागि पनि खुसीको दिन हुने नै भयो।  

‘घरमा केक काटेर खुसी साट्नेदेखि उनीहरू नै भनेको ठाउँ घुम्ने, कुनै रेस्टुरेन्टमा रोजाइको खानेकुरा खाने गर्थ्यौँ। त्यो भन्दा बाहेक कुनै अनावश्यक कुरा छोरी(प्रकृति)ले कहिल्यै कर गर्दिनथी,’ सुनिल सम्झन्छन्। 

अघिल्ला वर्षका जन्मदिनमा भाइ प्रयासलाई केक खुवाउँदै प्रकृति। जन्मदिनमा प्रकृतिको खुसी झल्कने अर्को तस्बिर।
आम नेपाली बालबालिका÷किशोर किशोरी जस्तै साथीहरूसँग पनि जन्मदिनमा प्रकृति खुसी नै मनाउँथिन्।  ‘हामी बेस्ट फ्रेन्ड हौँ। एक अर्काको जन्मदिनमा अधिक खुसी हुन्थ्यौँ। स्कुलमा छँदा रमाइलो हुन्थ्यो,’ सामाखुसी इङ्लिस स्कुलमा सँगै पढेकी रीति श्रेष्ठ भन्छिन्,‘पछि स्कुलबाट छुट्टिँदा पनि जन्मदिन आउँदा सकेसम्म खुसी बाँड्थ्यौँ।’ 

यस पटकको जन्मदिनमा भने प्रकृति स्वयं भौतिक रूपमा छैनन्। तर, उनीसँगका स्मृतिहरूका साथ परिवार र साथीहरूले सम्झिरहेका छन्। उनका आमाबुबाले मानव सेवा आश्रम पुगेर जन्मदिन मनाएका छन्। 

‘छोरी नरहे पनि उसको जन्मदिन मनायौँ,’ बुबा सुनिलले भने, ‘मानव सेवा आश्रम पुगेर त्यहाँ रहेका आमाबुबालाई दूध, फलफूल, बिस्कुट खुवाइदियौँ। छोरीको आत्म शान्तिका लागि प्रार्थना गर्‍यौँ।’ 

अहिले लम्साल परिवार वसुन्धराको धापासीमा बस्दै आएको छ। त्यही घरमा प्रकृतिको तस्बिरमा माल्यार्पण गरिएको छ। उनकी स्कुले साथी रीति पनि पुगेकी छन्। ‘साथीको जन्मदिनमा अंकलआन्टीसँग भेटौँ भनेर साथीहरूले योजना बनाएका थियौँ। अरू साथी आउन मिलेन, म आएकी छु,’ रीतिले नागरिकसँग भनिन्। रीति पुग्दा आफूलाई छोरी पुगेझैँ लागिरहेको प्रकृतिका बुबा सुनिलले सुनाए। 

प्रकृतिका अन्य साथीहरूले पनि उनको जन्मदिनमा फेसबुक, इन्स्टाग्राममार्फत सम्झेका छन्। जसले परिवारजनमा भावुकता थपेको छ। 

आमाबाबुको स्मृतिमा प्रकृति 

प्रकृतिको जन्मपछि सुनिल–सरिता दम्पतीलाई अर्को ‘सन्तान सुख’ प्राप्त गर्न ११ वर्ष कुर्नुपरेको थियो। त्यसपछि मात्रै उनका भाइ प्रयासको जन्म भएको थियो। यसर्थ लामो समय एक्लो सन्तान हुनुको वात्सल्य प्रकृतिले समेट्ने मौका पाइन। 

‘पहिलो सन्तानलाई उचित पालनपोषण र शिक्षादीक्षा प्रत्याभूत गरेपछि मात्र अर्को सन्तानबारे सोच्ने हाम्रो कुरा थियो,’ बुबा सुनिल भन्छन्,‘त्यसैका लागि म आठ वर्ष विदेश(युएई) बसे।’

यसरी लामो समय एक्लो सन्तान हुनुका कारण प्रकृतिसँग बाबुआमाको लगाव गहिरो रहन गयो। ‘त्यो बेला उ(प्रकृति) एक्लो सन्तान थिई, उसको बुबा विदेश हुनुहुन्थ्यो। त्यसैले पनि मेरो लगाव उसप्रति बढी गहिरो भएको हुनसक्छ,’ आमा सरिता भन्छिन्।

प्रकृतिले जीवनमा आफूसँग कुरा लुकाउँछे भन्ने कहिल्यै नलागेको आमा सरिताको बुझाइ छ। उनी सम्झिन्छन्, ‘उ सोझी र संवेदनशील थिई। कसैले केही भने मन दुखाउँथी। उसका साथी नि कम थिए। त्यसैले मसँग उसले कुनै कुरा लुकाउँदिनथी ।’  

प्रकृति भुवनेश्वरीको किट कलेजमा बि–टेक(कम्प्युटर इन्जिनियरिङको स्नातक तह)को तेस्रो वर्षमा अध्ययनरत थिइन्। त्यहाँको पढाई सकिन लागेकामा प्रकृति खुसी पनि थिइन्। 

बुबा सुनिलका अनुसार प्रकृतिको सपना राम्रो जागिर खोजेर क्यानडा जाने थियो। जुन सपनाबारे उनले आमा सरितालाई सबै सुनाएकी पनि थिइन्। 

‘उसको सपना धेरै थियो। घटनाको २०/२२ दिन अगाडि उसले आफ्नो सपना सुनाएकी थिए। वैशाखमा नेपाल आउँछु, यहीँ इन्टर्नसिप गरेर बाहिरको प्लान गर्छु  भन्थी,’ आमा सरिताले सुनाइन, ‘त्यसपछि मलाई बुबा र भाइलाई उता बोलाउने। अनि नेपाल फर्केर बुबालाई गाडी उपहार दिने भनेकी थिई।’ 

आफूले प्रकृतिलाई धेरै माया गरेर घरको काम समेत कहिल्यै नगराएको उनी बताउँछिन्। ‘उसलाई खाना पनि पकाउन आउँदैनथ्यो। पछि विदेश जाँदा आफै पकाउनुपर्छ भनेर यस पटक घर आएर पकाउन सिकाइदिनू भनेकी थिई,’ आमा सरिताले भनिन्। 

प्रकृतिको जन्मदिनमा उनका साथीहरूले फेसबुकमा व्यक्त गरेका केही स्मृतिहरू
घटना भएको दिन (फागुन ४ गते) साँझ ५ बजे उनी मृत भेटिएको खबर आएको बुबा सुनिल बताउँछन्। तर त्यो दिन २ बजेर ५७ मिनेटमा मात्रै आमा सरितासँग प्रकृतिले कुरा गरेकी थिइन। 

‘अहिले बाहिर फेस्ट(कार्यक्रम) चलिरहेको त्यहाँ जान्छु भनेर खुसी खुसी सुनिएकी थिई,’ आमा सरिताले भनिन्,‘हामीलाई आफ्नो दुःखबारे केही पनि बताएकी थिइन। उसले यो कुरा भने हामीसँग पनि लुकाएकी रहेछ।’ 

आत्महत्या दुरुत्साहनका आरोपी अद्विक श्रीवास्तवले गरिरहेको दुर्व्यवहारबारे प्रकृतिले आफूलाई जानकारी नदिएकामा आमाबाबु सुनिल–सरिताको मृतक छोरीसँग गुनासो छ। ‘उसले भनेको भए हामी सम्हाल्थ्यौँ। होस्टेल र कलेजमै पनि त्यत्रो गुनासो गरेकी रहेछ। तर हामीलाई जानकारी भएन,’ बुबा सुनिल भन्छन्,‘त्यत्ति जानकारी दिएको भए ज्यानै जाने थिएन होला। यसमा कलेजको पनि दोष उत्तिकै छ।’  

‘जन्मदिनको उपहारमा न्याय दिन सकिनँ’

प्रकृतिको मृत्युमा उनलाई न्याय उपहार दिने बुबा सुनिलको चाहना थियो। तर अहिले उनी निराश छन्। अभियुक्त श्रीवास्तव एक लाखको सामान्य धरौटीमा रिहा भइसकेका छन्। त्यसले परिवारजनमा झन् पीडा थपिएको छ। 

प्रकृतिको जन्मदिनमा परिवारजन
‘आज उसको जन्मदिन हो, आज मेरो छोरी त मसँग छैन। आज उसले न्याय पाइदिएको भए त्यही न्याय कम्तीमा उसको जन्मदिनको उपहार जस्तो मानेर चित्त बुझाउँथ्यौँ,’ बुबा सुनिलले भने, ‘हामीले दिएको, राज्यले दिएको उपहार त्यहीँ न्याय पायौँ है भन्न पाइदिएको भए हाम्रो आत्माले त शान्ति पाउँथ्यो।’ 
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस