लाभग्राही नटुंगिँदा राहत अनिश्चित
१८ फागुन २०८१
•
९ मिनेट पाठ
लाभग्राही नटुंगिँदा  राहत अनिश्चित
फाइल तस्वीर।
ठिक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीपहिरोमा परी ७० भन्दा बढीले ज्यान गुमाए भने सयौं परिवार घरबारविहीन अवस्थामा पुगे। ज्यान गुमाउनेको परिवारलाई सरकारले तत्काल राहत–रकम प्रदान गर्‍यो। पाँच महिनासम्म पनि स्थानीय तहले लाभग्राहीको सूची नटुंग्याउँदा भने जिल्लाका हजारौं प्रभावित महिनौंदेखि राहतको पर्खाइमा छन्।




असोज दोस्रो साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता छन्। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याएको पाँच महिना बितिसक्दासमेत स्थानीय तहले क्षतिको यकिन विवरण तयार नगर्दा सरकारले दिन लागेको अल्पकालीन राहत–रकम प्रदान गर्न नसकिएको हो। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले गत कात्तिक अन्तिम साता नै बाढीपहिरोले जनधनको क्षति पुर्‍याएकोबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो।

समितिले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिँदै क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा तत्कालीन राहत तथा पुनर्वासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको जनाएको थियो। प्राधिकरणको ‘वेबसाइट’मा ‘क्षतिको पूर्ण विवरण इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए।

उनका अनुसार स्थानीय तहले उक्त विवरण पठाइसकेपछि मात्रै तल्कालीन राहत तथा पुनर्वासको कार्यक्रम सुरु हुनेछ। बाढीपहिरो पिडीतलाई जाडोयाम तथा हिउँदमा थप कष्ट हुने भएकाले तत्काल क्षतिको विवरण पठाउन पटकपटक भनिएको श्रेष्ठले बताए।

समितिको पटकपटकको बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा २० हजारका दरले नगद जिल्ला विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिसकिएको छ। समितिद्वारा अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्डअनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो। ‘स्थानीय तहलाई क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटकपटक अनुरोधसहित पत्राचार गरेका छौं,’ श्रेष्ठले भने।

उनका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा वर्गीकरण गरी पठाएको स्थानीय तहस्तरको अनुदान भने कार्यालयले कात्तिक १४ गते नै पठाइसकेको थियो। प्राधिकरणको पत्रसहित नेपाल सरकारबाट संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये ११ तहमा नौ करोड २५ लाख अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

यस्तै, संघीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि नै प्राप्त दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालयले जनाएको छ। प्राधिकरणले पछिल्लोपटक माघ १३ गते विपद् प्रभावित स्थानीय तहलाई पत्राचार गरी अस्थायी आवास निर्माणका लागि तत्कालै लाभग्राहीको विवरण उपलब्ध गराउन भनेको छ। शाखा अधिकृत बद्रीप्रसाद अर्यालका अनुसार निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भई वा आंशिक रूपमा क्षतिग्रस्त भए तापनि बसोबास गर्न नमिल्ने लाभग्राहीको अस्थायी आवास निर्माण गर्नका लागि प्राधिकरणबाट भएका ताकेता अझै कार्यान्वयन हुन सकेको छैन।

क्षतिग्रस्त निजी आवासका लाभग्राहीको अस्थायी आवास निर्माणको गति अत्यन्तै सुस्त भएको, जाडोको मौसम चलिरहेको र निकट भविष्यमा हावाहुरी र गर्मीयाम सुरु हुने हुँदा निज अस्थायी आवासका लाभग्राहीले थप कठिनाइ भोग्नुपर्ने अवस्था आउन नदिन शीघ्र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ को दफा ३ बमोजिम लाभग्राही कायम गर्ने व्यवस्था मिलाउन’ अनुरोधसहित पत्रमा उल्लेख गरिएको छ।

नमोबुद्ध नगरपालिकाका ८४५ बाढीपहिरोपीडितलाई भने गत मंसिर पहिलो साता संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)द्वारा प्राप्त सहयोग रकमबाट राहत विरतण गरिएको छ। प्रभावित परिवारलाई युनिसेफले नगरलाई एकमुष्ट रूपमा उपलब्ध गराएको एक करोड ५० लाख ४० हजार ५ सयबाट नगरले वडागत रूपमा पीडित परिवारलाई प्रदान गरेको हो।

नगरप्रमुख कुन्साङ लामाले युनिसेफबाट प्राप्त आर्थिक सहयोगबाट सबै वडाका विपद् प्रभावितलाई राहत–रकम प्रदान गरिएको बताए। नगरका ४५३ प्रतिपरिवारले १५ हजार तथा ३९२ परिवारले २० हजारका दरले राहत–रकम पाउने पाएका हुन्। युनिसेफबाट यस राहत रकम प्राप्त गर्ने परिवारले संघीय सरकारबाट घोषित अल्पकालीन राहत (पाँच जनासम्मको परिवारलाई १५ हजार तथा पाँचभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार) भने पाउने छैनन्।

बाढीपहिरोले नगरका ५३० घर पूर्ण तथा ३१५ घर आंशिक रूपमा क्षति भएको जनाइएको छ। नगरका अनुसार बाढीपहिरोबाट तीन हजार ३८५ जना प्रभावित भएको जनाइएको छ। युनिसेफले यसअघि काभे्रपलाञ्चोककै बेथानचोक गाउँपालिकाको दुईवटा वडाका २६९ परिवारलाई उक्त राहत–रकम प्रदान गरेको थियो। यस्तै युनिसेफले केही दिनभित्र मण्डनदेउपुर नगरका करिब ९०० परिवारलाई सो राहत–रकम प्रदान गर्ने जनाएको छ।

विशेषगरी ठूलो क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्वास एवं आवास निर्माणका लागि यकिन तथ्यांक संकलन कार्यमा लागेको जनाएका छन्। यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्रमा पर्दछन्। कृषि–पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको हो।

घटनाको पाँच महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण संकलन हुन सकेको छैन। जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। १३ स्थानीय तहमा कुन स्थानीय तहमा कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, तीन हजारदेखि तीन हजार ५ सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही संख्यामा सार्वजनिक भवन पूर्णरूपमा क्षति भएको जनाइएको छ।

यस्तै, बाढीपहिरोबाट प्रभावित रोशी गाउँपालिकाको एक हजार २३० पीडित परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले राहत रकम प्रदान गरेको छ। बाढीपहिरोमा परी यस गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने ४८२ घर पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो।

डब्लुएफपीले पीडितपरिवार संख्याका आधारमा राहतस्वरूप नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। उनका अनुसार डब्लुएफपीले नेपाल सरकारको बाढीपहिरो पीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार १५ हजार तथा २० हजार नगद राहत प्रदान गरेको जनाइएको छ।

त्यसो त, बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट नै खुम्च्याए। यसका लागि केहीले विशेष अधिवेशनसमेतको आयोजना गरी चालु आर्थिक वर्ष २०८१/८२ को योजना तथा बजेट संशोधन गरेका हुन्।

पनौती नगरपालिकाको गत पुस दोस्रो साताको १६औं नगरसभा चालु आवका लागि विनियोजित बजेटमध्ये ४६ करोड बजेट कटौती गर्ने निर्णय गर्‍यो। चालु आवका लागि विनियोजित एक अर्ब ६० करोडको बजेटमा संशोधन गरी एक अर्ब १४ करोडका खुम्च्याइएको हो। ४६ करोड बजेट योजनासहित कटौती गरिएको तथा केही विपत्तिका लागि नयाँ योजना थपिएको नगरप्रमुख रामशरण भण्डारीले बताए।

उनका अनुसार सभाले संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक स्रोत तथा जनसहभागिताका योजनामा विनियोजन गरिएको बजेट कटौती गरिएको हो। विपद् प्रतिकार्यका ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रम समावेश गरी एक अर्ब १४ करोडको संशोधित बजेट पास भएको हो। बाढीपहिरोले पनौतीमा एक विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको थियो। उक्त घटनामा एकजना बेपत्ताको अवस्थामा रहेका छन् भने ५८६ घर पूर्ण क्षति तथा ९४४ घरमा आंशिक क्षति पुगेको नगरले जनाएको छ।

यस्तै, सडक, सिँचाइ, खानेपानी, पुललगायतका पूर्वाधार एवं संरचनामा क्षति पुगेका छन्। यसैगरी पुस पहिलो साता नै धुलिखेल नगरले पनि सोह्रौं अधिवेशनमा विशेषसभाको आयोजना गरी बाढीपहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालु आवको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरेको थियो।

नगर प्रमुख अशोक ब्यान्जुका अनुसार उक्त नगरसभाले नगरको कर्मचारी व्यवस्थापनसम्बन्धी (विशेष) विधेयक, नगरको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१, आर्थिक ऐन तथा राजस्वका दररेट संशोधन गर्ने निर्णय गरिएको हो। यस्तै सभाले पूर्वाधार, खानेपानी, भवन, आवास तथा सहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपूरक तथा साझेदारी संघ र प्रदेशका योजनामा विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको जनाइएको छ।

त्यसअघि विशेष अधिवेशनको आयोजना गरी जिल्लास्थित रोसी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्वासका लागि चालु आवको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन्।

बेथानचोक गाउँपालिकाले गत मंसिर १४ गते नै विशेष गाउँ अधिवेशनको आह्वान गरी चालु आवमा विनियोजित ६४ करोड १२ लाख बजेटमा नौ करोड ३१ लख ८७ हजार कटौती गरी विपद् व्यवस्थापन कोषका लागि छुट्याएको थियो। गाउँपालिकाले चालु आवका लागि १५औँ अधिवेशनद्वारा पारित महत्त्वपूर्ण योजनाबाहेकका योजना कटौती गरी विपद् व्यवस्थापन योजनाको प्रक्रियामा लागिएको अध्यक्ष भगवान् अधिकारीले बताए। बाढीपहिरोले यस पालिकामा १२ को मृत्यु भएको थियो।

यस्तै रोशी गाउँपालिकाले बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि १५औँ अधिवेशनले चालु आवको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न गत कात्तिक ३० गते नै विशेष सभामार्फत निर्णय गरेको थियो। गाउँपालिकाले विपदसँग सम्बन्धित बनाएर २६६ योजना संशोधन गरेको छभने विपद् कोष दुई करोड ८० लाखको बनाएको जनाएको छ।

कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पुर्‍याएको क्षतिको तथ्यांक संकलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए। गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो। चालु आवका लागि विनियोजित ६९ करोड २० लाख ९८ हजारमा तीन करोड ४३ लाख घटाएर ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरिएको छ। यस पालिकामा बाढीपहिरोले १२ जनाको ज्यान गएको थियो भने ४८२ घर पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो।

-राजकुमार पराजुली,रासस
अर्को समाचार
बाढीको बबन्डर: ११ राजमार्गमा क्षति
२६ असार २०८२
•
३ मिनेट पाठ
बाढीको बबन्डर: ११ राजमार्गमा क्षति
देशभरि मनसुन सक्रिय हुँदा बाढीपहिरोले राजमार्गहरूमा क्षति पुगेको छ। रसुवा लगायतका जिल्लामा बाढीपहिरोले क्षति गरेको हो। केही राजमार्गका ठाउँठाउँमा आवतजावत नै बन्द छ। बाढीपहिरोबाट बु्धबार साँझसम्म ११ वटा राजमार्गमा क्षति भएको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।




रसुवागढीमा मंगलबार बाढीले नेपाल–चीन जोड्ने मितेर पुल भत्काएको छ। बाढीले गल्छी–रसुवागढी राजमार्गमा पनि क्षति पुगेको छ। नवलपरासीको बर्दघाट नगरपालिकास्थित–४ दाउन्ने जंगलको खुर्सानी खोलामा सडक भासिए पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध छ। त्यहाँ एकतर्फी गाडी चल्न थालेका छन्।

पाल्पा रिब्दिकोटमा बुधबार बिहान पहिरो जाँदा पाल्पा–गुल्मी सडक खण्डमा क्षति पुगेको छ। गोरुसिंगे–सन्धिखर्क सडक पनि पहिरोका कारण अवरुद्ध छ। अवरुद्ध सडक खुलाउन पहल भइरहेको सडक विभागका इन्जिनियरहरू बताउँछन्।

महाकाली नदीमा पानीको बहाव उच्च भएकाले कञ्चनपुर भिमदत्त नगरपालिकाको गड्डाचौकीस्थित नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ।

बाढीले क्षति पु¥याएका कारण कोसी राजमार्ग पनि अवरुद्ध छ। गत जेठमा बरुणखोलाको ह्युम पाइप बाढीले बगाएपछि कोसी राजमार्गको खाँदबारी–थुमसुर खण्डमा सञ्चालन भएको छैन्। वर्षा यामभरि उक्त खण्ड सञ्चालनमा आउन नसक्ने विभागका इन्जिरियरको भनाइ छ। सरकारले साउन १८ गतेसम्म बिपी राजमार्गको सिन्धुली–खुर्कोट–काठमाडौं खण्डमा रातिमा गाडी चलाउन रोक लगाएको छ।

वर्षाले भेरी कोरिडोरमा पनि क्षति पुर्‍याएको छ। क्षतिका कारण कोरिडोर बन्द छ। जाजरकोटको रिजिगार खोलामा पानीको बहाव बढेकाले जाजरकोट–डोल्पा (भेरी करिडोर) खण्ड पनि अवरुद्ध छ।

पानीको वहाब घटेपछि उक्त खण्ड सञ्चालनमा आउने छ। ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथमा असार १९ गतेदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

फर्पिङ - कुलेखानी सडक खण्डको फर्पिङ - हात्तिगौंडा खण्डमा निर्माणको काम भइरहेकाले गाडी चलाउन रोक लगाएर लगाई वैकल्पिक माग प्रयोग गर्न अनुरोध गरिएको छ। बाढीपहिरोले मध्यपहाडी राजमार्गमा पनि क्षति पुर्‍याएको छ। जाजरकोट छेडागाडको दखेरीमा पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ।

रसुवामा उद्धार जारी

बाढी प्रभावित रसुवामा खोज तथा उद्धार कार्य जारी छ। रसुवागढीमा मंगलबार बिहानको बाढीले जनधनको क्षति गरेको छ। बाढीमा फसेकाको खोज तथा उद्धारमा बुधबार पनि सुरक्षा निकाय र सरोकारवाला निकाय खटिरहेका छन्।

लिङलिङ इलाकामा खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एक सुरक्षाकर्मी घाइते भएपछि नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको छ। नुवाकोटस्थित शेर गणबाट खटिएको सेनाको टोलीले त्रिशूली नदी इलाकामा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा नदीले कटान गरेको ठाउँमा बाटो मर्मत गरिरहेको छ।

मृतकका परिवारलाई दुई लाख रुपैयाँ

रसुवागढी बाढीमा मृत्यु भएकाका परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ। मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको राष्ट्रिय परिषद् बैठकले यस्तो निर्णय गरेको भट्टले जानकारी दिए। नेपाल–चीन सिमानामा भोटेकोसीमा आएको बाढीमा परेका १९ जना सम्पर्कविहीन छन्, नौजनाको शव भेटिएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस