किन बढ्दै छ वायु प्रदूषण?
२१ चैत्र २०८१
•
१२ मिनेट पाठ
किन बढ्दै छ वायु प्रदूषण?
वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो।




प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने? र असर कम गर्ने विषयमा छलफल गरेका थिए।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू–बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए।

विपद् व्यवस्थापन तथा जलवायुविद् डा धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा वर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए। 'यो समयमा तापक्रम बढ्दै गएको छ, कृषिवस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन। पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो,' उनले भने, 'तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ।'

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताइन्। 'बिहीबारदेखि हल्का हावा चल्ने सम्भवना छ। तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन,' उनले भनिन्, 'पानी भने अर्को साता पर्ने सम्भवना पनि देखिन्छ। तर माहाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्छ। किनकि त्यो बेलासम्ममा परिवर्तन हुनसक्छ।' मानन्धरले वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै  भिजिबिलिटी (पारदर्शिता) कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको बताए।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्र्वाधार निर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ।

'काठमाडौँ कचौरा आकारमा पनि छ। पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन। जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ,' उनले भने।

जेठसम्म वायु प्रदूषण उच्च

विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुँवा, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ।  

विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ।  

डढेलोको कारण प्रदूषण

डढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए।

'बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ। मुलुकभर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ,' उनले भने, 'हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवाहरू नुहँदा आगो नियन्त्रण गर्ने जनशक्तिको अभावले अझै चुनौती छ। डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन।'

मुटुरोगीलाई बढी असर

पछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउँछन्, मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा।

'मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदयघात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ,' उनल भने, 'प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ। माक्सको प्रयोग गर्नुपर्छ।'

आँखा समस्या

तिलगङ्गा आँखा प्रतिष्ठानका आँखारोग विशेषज्ञ डा मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग)जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थीलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गरिन्।

'अहिलेको प्रदूषणले आँखा चिलाउने वा सुक्खा हुनेहुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ। प्रदूषणले आँखा चिलाउने, सुन्निने र अत्यधिक पानी बग्ने एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ। यहाँ आउने बिरामी पनि आँखा पोल्यो भन्नुहुन्छ,' उनले भनिन्, 'प्रदूषण बढी भएका ठाउँमा चश्मा वा सनग्लास लगाउने, आँखालाई बारम्बार सफा पानीले धुने, प्रदूषण प्रभावित क्षेत्रमा कम समय बिताउने, सकेसम्म घर बाहिर ननिस्कने, आँखा सुक्खा भएमा औषधि प्रयोग गर्ने, पोषणयुक्त खाना खाने र यदि समस्या बढ्दै गएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।'

छालामा पनि समस्या

छालारोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिए।

'प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ। जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन्। डन्डिफोर पनि आउन सक्छ। छालाको चमक हराउन सक्छ,' उनले भने, 'प्रदूषणले छालाको रोग प्रतिरोधी क्षमता कम गर्न सक्छ, जसले गर्दा विभिन्न प्रकारका सङ्क्रमण हुनसक्छ। छाला सुक्खा हुने र चिलाउने समस्या आउनुका साथै छालाको क्यान्सरसमेत हुनसक्छ।'

यसैगरी पुडासैनीले वायु प्रदूषणका कारण घाम तथा हावामा धेरै समय बस्ने वा काम गर्ने व्यक्तिको छालामा बढी असर गर्ने र प्रदूषणका कारण कम उमेरमा नै छाला चाउरिएर बुढ्यौलीपनजस्तो देखिने बताए।

'छालालाई प्रदूषणबाट जोगाउन नियमित रूपमा सफा पानीले अनुहार सफा गर्ने, सकेसम्म घर बाहिर ननिस्कने, निस्कनै पर्दा सनक्रिम लगाउने, घर बाहिर निस्कँदा मास्क लगाउने र प्रदूषणबाट छाला जोगाउन उचित स्याहार आवश्यक छ,' उनले भने, 'यदि छालासम्बन्धी समस्या लामो समयसम्म रहन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।'

गर्भवती प्रभावित

काठमाडौँ नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताउँछन्।

'गर्भवतीले धुमपान गर्न हुँदैन, जसरी धुमपानले बच्चाको वृत्तिविकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ,' उनले भने, 'प्रदूषण न्यूनीकरणका लागि राज्यले नीति नै बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। यस्तो बेलामा सकेसम्म गर्भवतीहरू घर बाहिर ननिस्कने, निस्कनै पर्दा माक्सको प्रयोग गर्नुपर्छ।'

जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाव

वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताए।

'अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ। तीन सय कट्नेबित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ,' उनले भने, 'अहिले प्रदूषणको अवस्था घटबढ हुँदा घोषणा गर्नु पर्दैन। तर प्रदूषण बढ्दो छ। कसरी सतर्कता अपनाउने? व्यापक जनचेतनासहित प्रदूषण बढिरहेमा आपत्कालीन अवस्था पनि घोषणा गर्नुपर्छ।'

स्वच्छ वातावरणको हक खोइ?

वातावरण कानुनका विज्ञसमेत रहेका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्वता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानवअधिकार नै हनन भएको भन्दै टिप्पणी गरे।

'यतिबेला एकदमै प्रदूषण बढिरहेको छ। संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिए पनि नागरिकले मौलिक हकको प्रत्याभूति गर्न पाइरहेका छैनन्,' उनले भने, 'अनि संविधानमा व्यवस्था भएको मौलिक हक राज्य सञ्चालकका लागि मात्र हो त? नागरिकले खै प्रत्याभूति गर्न पाएका? अब न्यायिक निष्पक्षतामा अनुसन्धान हुनुपर्छ।'

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ। नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ। नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ। धारा ३० को उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन भनी उल्लेख छ।

संविधानको भाग ४ मा उल्लेखित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ।

नीतिगत व्यवस्था कस्तो छ?

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ। यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ। प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्सांकन गरिने रणनीतिमा उल्लेख छ।

'औद्योगिक तथा अन्य क्षेत्रबाट निस्कने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने छ। उद्योग र अन्य व्यवसायहरूबाट निष्काशन हुने प्रदूषणयुक्त धुवा, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने छ,' नीतिमा उल्लेख छ, 'घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्न सौर्य चुलो, विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणको प्रवर्द्धन गरिने छ। ऊर्जा किफायती भवन निर्माणमा जोड दिइने छ।'

काठमाडौँ उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन्। सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ। 

वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँबु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ। सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ।

दीर्घकालीन रणनीति आवश्यक  

वातावरणविद् भूषण तुलाधारले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुकभर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

'अहिले प्रदूषण बढिरहेको बेला तत्काल के गर्ने भनेर सरकार तयार हुनुपर्छ। डढेलो नियन्त्रण गर्ने, खुला ठाउँमा आगो लगाउन नदिने, जनचेतान अभिवृद्धि, धुँवा निकाल्ने सवारीसाधनलाई कडाइका साथ कारबाही गर्नेलगायत काम गर्नुपर्छ,' उनले भने, 'दीर्घकालीन रूपमा चाहिँ विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने, सुधारिएको चुलोलाई प्रथामिकता दिने गर्नुपर्छ। वायु गुणस्तर कार्ययोजना मुलुकभर तत्काल बनाउनुपर्छ।'

राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ। 'घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ,' तुलाधारले भने, 'नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ।'

प्रदूषण नगर्न निर्देशन

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताए। 'जसले प्रदूषण गर्नुभएको छ, प्रदूषण नगर्नका लागि हामीले निर्देशन दिएर सुझाव दिएका छौँ। प्रदूषकलाई कारबाही भने गर्न सकिरहेका छैनौँ,' उनले भने, 'वातावरणीय प्रदूषण न्यूनीकरणका लागि निर्देशन नमान्नेलाई कारबाही पनि गर्छौँ।'  

महानिर्देशक सुवेदीका अनुसार प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशन गरेर सुझाव दिइएको छ। विभागले डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न, घरायसी ठोस तथा प्लाष्टिकजन्य फोहर र कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुँवाधुलोको यथोचित नियन्त्रण गर्न सुझाव दिएको छ।
अर्को समाचार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
१४ मंसिर २०८१
•
७ मिनेट पाठ
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ। वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन्।




‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ। यो समाचार तयार गर्दासम्मको अवधिमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।

भारतको नयाँ डिल्लीमा अत्यधिक प्रदूषण बढेपछि विद्यालय बन्द गरिएका छन्। आज मध्यान्हसम्म चार सय ४८ एक्युआइ रहेको एयर क्वालिटी इन्टेक्सको तथ्याङ्कमा उल्लेख छ। आज पनि नयाँदिल्ली विश्वको पहिलो प्रदुषित सहरका रूपमा सूचीकृत भएको छ। भारतमा बढेको प्रदूषित हावा नेपालमा पनि भित्रिने गरेको भन्दै आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ।  

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो सङ्केतले चिनिन्छ। '५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहनुपर्ने अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मानिन्छ । यसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ', उनले भने,'एक सय ५१ देखि दुई सय एकदेखिको एक्युआइलाई सबैलाई असर गर्ने र अस्वस्थ भन्ने बुझिन्छ। दुई सय एकदेखि तीन सय सयसम्मलाई धेरै अस्वस्थ मानिन्छ।'

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ। यो विपद् रोक्न फोहर नबाल्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीले विशेष सावधानी अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ।

वातावरणविद् भूषण तुलाधारका अनुसार जाँडोको समयमा सामान्य अवस्थामा तातो हावा माथि जाने र चिसो हावा तल रहने भएकाले धुवाँलाई  फैलिन मद्दत गर्ने बताउँदै सोही कारणले जाडोमा वायु प्रदूषण पनि बढ्ने उल्लेख गरे। 'जाडोयाममा विषेशगरी रातको समयमा पृथ्वीको सतह छिटो चिसो हुन्छ, जमिन नजिकको हावा पनि चिसिन्छ, चिसो हावा माथिल्लो तातो हावाभन्दा भारी हुने भएकाले तलै रहन्छ, यसले गर्दा प्रदूषित हावा माथि उठेर जान सक्दैन र वायु प्रदूषण बढाउँछ', उनले भने,'यसैगरी जाडोको समयमा बाक्लो तुवाँलो लाग्छ। तुवाँलो र प्रदूषणका कणहरूले सूर्यको प्रकाशलाई रोक्छ, जसले गर्दा तल्लो वायुमण्डल अझै चिसो रहन्छ र प्रदूषण हट्न गाह्रो हुन्छ।'

तुलाधारले काठमाडौँ जस्तो भौगोलिक रूपमा थाल आकारको उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाँडोको समयमा प्रदूषण बढ्ने बताए। जाडोयाममा घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउँरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढ्ने, ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत दाउारा जलाउने चलनले वायुमण्डलमा धुलो र प्रदूषक उत्सर्जन बढाउने उनको भनाइ छ।

'राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउँरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ, घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझ बढी प्रभाव पार्छ', तुलाधारले भने,'नेपालमा वार्षिक ४८ हजार पाँच सयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ, त्यसमा आधाभन्दा बढी घरभित्रको धुवाँले प्रदूषण बढाउँछ।'

उनले सहरमा सवारीसाधनको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने बताए।

'जाडोको समयमा ग्रामीण क्षेत्रमा हिउँदको समयमा खेती कटानीपछि बचेको पराल र अन्य जैविक फोहर जलाइन्छ। आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरू बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरू अन्य हानिकारक ग्यासहरू बढाउँछ', वातावरणविद् तुलाधारले भने, 'इँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग र सिमेन्ट उद्योगले जाडोयाममा उत्पादन कायम राख्छन्। धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ।'

यसैगरी जाडोयाममा हावाको बहावको गति सामान्यतया सुस्त हुँदा प्रदूषण गराउने तत्व लामो समयसम्म एउटा ठाउँमा रहँदा प्रदूषणको घनत्व पनि बढ्ने वातावरणविद् तुलाधारले बताए। 'अब वन डडेलोको समय सुरु हुँदैछ, वन डडेलो लाग्न सुरु भएपछि अझै वायु प्रदूषण बढ्छ', उनले भने।  

प्रदूषण न्यूनीकरणमा सहकार्य गर्दैछौँः वनमन्त्री शाही  

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण बढ्दा मानवीय स्वास्थ्यमा गम्भीर असर पारेकामा गम्भीर आपत्ति जनाउँदै न्यूनीकरणका लागि वातावरण सुधारका नीति कार्यान्वयन गर्न अन्तरसरकारी निकायबीच समन्वय गरिने बताएका छन्।  

'वायु प्रदूषण बढिरहेको छ। न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय काम भइरहेको छ', उनले भने,'वायु प्रदूषण न्यूनीकरणका तत्कालीन र दीर्घकालीन समाधान के हुन सक्छन् भनेर छलफल अगाडि बढाएका छौँ।'

समाधानका उपाय  

वातावरणविद् तुलाधारले प्रदूषण न्यूनीकरणका लागि जैविक इन्धनको उपयोग घटाउनु, परम्परागत दाउँरा र कोइलाको सट्टा नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोग बढाउनु, सार्वजनिक यातायात प्रोत्साहन गर्नु, सवारीसाधनको प्रयोगलाई न्यून गर्न सरकारीस्तरमा नीतिगत कार्य गर्न आवश्यक रहेको बताए।

'वातावरणीय नीति र कानुनको कार्यान्वयन, प्रदूषक उत्सर्जन गर्ने सवारीसाधन र उद्योगहरूलाई कडाइका साथ निगरानी, जाडोयाममा वायुमण्डलीय प्रदूषण घटाउन दीर्घकालीन योजना र तत्कालीन उपायहरूको संयोजन आवश्यक छ।' फोहाेर जलाउन रोक लगाउने, सचेतना अभिवृद्धि गर्नु, प्रदूषण बढी भएमा विद्यालय बन्द गराउनुलगायत अन्य उपायहरू रहेका उनले बताए।  

स्वास्थ्यमा गम्भीर असर  

जनस्वास्थ्यविद् डा समीर अधिकारीले बढ्दो वायु प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयाघातलगायत स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताउँछन्।

'प्रदूषणका कारण तत्कालीन असरमा आँखा चिलाउने, छाला चिलाउने, दम बढ्नेलगायत समस्याहरू उत्पन्न हुन्छ। र दीर्घकालीन असरमा क्यान्सरजस्ता प्राणघातक रोगसमेत लाग्न सक्छ', उनले भने,'प्रदूषण बढेका बेलामा सकेसम्म घर बाहिर निस्कन हुँदैन। बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ।'

मौलिक हक हनन्  

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले वर्तमान संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकका रूपमा राखे पनि नागरिकले स्वच्छ वातावरणमा बाच्न पाउने हकबाट बञ्चित हुनुपरेको बताए।

'संविधानको धारा ४६ मा न्यायिक उपचारको हकको व्यवस्था गरिएको छ', उनले भने,'संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हकमा राखेर वातावरणीय पक्षलाई प्राथमिकता दिएको छ। वातावरणीय न्याय कार्यान्वयनको पक्ष भने कमजोर छ। राज्यले प्रदूषितरहित वातावरणमा बाँच्न पाउने हक कार्यान्वयनका लागि स्पष्ट नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ।'

पछिल्लो समय विश्वका अधिकांश मुलुकहरुले वातावरणीय हकलाई मौलिक हकका रुपमा राख्न थालेका छन्। वातावरण ऐन २०७६, वन ऐन २०७६ तथा राष्ट्रिय निकुञ्ज ऐन, २०२९ को व्यवस्था गरिएको छ।  

सरकारको रणनीति  

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ। प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापनकेन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ।

'औद्योगिक तथा अन्य क्षेत्रबाट निष्काशन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिनेछ। उद्योग र अन्य व्यवसायबाट निष्काशन हुने प्रदूषणयुक्त धुवाँ, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ', नीतिमा उल्लेख छ,'घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुल्हो, विद्युतीय चुल्हो, बायोग्यास, सुधारिएको चुल्हो, चिम्नीजस्ता उपकरणहरूको प्रवद्र्धन गरिनेछ। ऊर्जा किफायती भवन निर्माणमा जोड दिइनेछ।'

प्रदूषण नियन्त्रणका लागि उत्सर्जनस्थल नक्साकनका लागि विक्षेपण जस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर विसर्जन क्षेत्र , हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रका माध्यमबाट सुरक्षित तरिकाले विसर्जन गरिने  तथा औद्योगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ।  प्रगति ढकाल/रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस