आँप मिठो कहाँको? लहानको
३१ जेष्ठ २०८२
•
८ मिनेट पाठ
आँप मिठो कहाँको? लहानको
काठमाडौंमा लहानको आँप जति नामी छ, त्यतिकै बदनाम पनि। लहानको गुलियो मालदह आँप भनेर अर्कै आँपबाट ठगिनेका लागि बदनाम छ भने लहानकै मालदहको स्वाद पाएकाहरू माझ भने यो आँप नामी छ।




लहानको आँप भनेर भारतको वा अर्कै ठाउँका आँप बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर मात्र लहानको आँप बदनाम भएको होइन। समयअगावै बोटबाट आँप टिपेर विषादी हालेर पकाउने अनि बिक्री गर्ने क्रमले पनि लहानको आँपले बदनामी कमाएको छ। लहानमा जेठ पहिलो साताबाट आँप टिप्न सुरु हुन्छ। भारतको आँप त वैशाखबाटै भित्रिन्छ। अनि लहानबाट भारतीय आँप काठमाडौं पुर्‍याइन्छ र लहानको मालदह आँप भनेर बेचिन्छ। यसकारण लहानको आँपको बदनाम हुँदै आएको छ।

लहानको आँपलाई बदनामी गर्नेबाट जोगाउन लहान नगरपालिकाले गत वर्षदेखि आँपको ब्रान्डिङ गरी काठमाडौं पठाउन थालेको छ। सप्तरी र सिरहाको गाउँगाउँमा किसानले उत्पादन गरेको आँप बिक्रीको प्रमुख थलो लहान बजार हो। यहाँ आउने आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गरी यसपालि पनि काठमाडौं पठाउन थालेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए। ‘आँपको हरेक प्याकेटमा ‘लहानको आँप’ भनेर ब्रान्डिङ गरी काठमाडौंमा लहानको आँपलाई लोकप्रिय बनाउने प्रयासलाई यस वर्ष पनि निरन्तरता दिइएका छौं,’ मेयर चौधरीले भने।

आँप बिक्रीका लागि काठमाडौंमा ‘लहानको आँप’ स्टल स्थापना गरिएको छ। स्टलमा पाँच र दस किलोको आँप प्याकिङ गरी बिक्रीका लागि राखिएको छ। बम्बई र मालदह आँपलाई अलग अलग बिक्रीमा राखिएको छ।

विभिन्न विषादी प्रयोग गरी पकाउने आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले लहान नगरपालिकाले मानव स्वास्थ्यलाई दृष्टिगत गरी अर्गानिक आँप छानेर ब्रान्डिङ गरी त्यस्तो आँप बिक्री–वितरण गरिरहेको मेयर चौधरीले बताए।

बाहिरको र विषादी हालेर पकाइएको आँपका कारण लहानको आँपको विश्वसनीयता जोगाउन विषादीरहित आँपलाई ब्रान्डिङ गर्न सुरु गरेको मेयर चौधरीले बताए। ‘लहानको आँप भन्नेबित्तिकै काठमाडौं, पोखराजस्ता सहरका ग्राहक हुरुक्कै हुने भए पनि समयअगावै औषधि प्रयोग गरेर व्यापारीले गरिरहेको कमजोरी हटाउन नगरपालिकाले पहल थालेको छ,’ उनले भने।

आँप बगैंचामै दिनरात

सप्तरी शम्भुनाका दुर्गा साह आँपको रुखमा मजर (फूल) लागेखि नै आँप बगैंचामा मचान बनाएर (बाँसको अग्लो खटिया) सुत्न थालन्छन्। आँपका बोटमा फूल ढपक्कै फुलेदेखि फल पाकेर नटिपेसम्म उनको रात मचानमा बित्छ। करिब डेढ बिघामा आँप खेती गरेका साहको चैत महिनादेखि बगैंचामै बास हुन्छ। फूल फुल्नुअघिदेखि प्रत्येक बोटमा पानी लगाउने, मल, औषधि हाल्ने काममा दिनहुँ खटिनुपर्ने उनी बताउँछन्। ‘फूल खेल्ने बेला कीरा मार्ने औषधि हाल्नेदेखि फल टिकाइराख्न दिनरात हेरचाह गर्न बगैंचामै बास बस्नुपर्छ,’ उनले भने।

गर्मीमा सर्पको जोखिम हुन्छ। जोखिम मोलेर चार महिना बगैंचामा सुतेर बल्ल लहान बजारमा आँप पुर्‍याउने उनले बताए। गत वर्ष दुई लाख रूपैयाँ लगानी लगाएर फलाएको आँप बेच्दा करिब दुई लाख नाफा भएको उनले सुनाए। ‘घरपरिवारका सबै सदस्यको मेहनतले फलेको आँप बेचेर करिब चार लाख रूपैयाँ हात पर्‍यो,’ उनले भने, ‘यसमा दुई लाख रूपैयाँ फाइदा भयो।’

त्यस्तै चार बिघामा आँप खेती गरेका सिरहा गोविन्दपुरका किसान लालबहादुर कोइरीको अनुहार यसपालि पोहोर जस्तो उज्यालो छैन। यसपालि धेरै आँप नफलेकाले उनको अनुहारमा चमक आउन नसकेको हो। तर लामो समयदेखि आँप खेती गरिरहेका उनलाई यसपालि आँप नफल्ने वर्ष हो भन्ने हेक्का भने थियो। ‘जति फलेको छ सन्तुष्ट छु,’ उनले भने, ‘बिक्री मूल्य राम्रो पाएपछि काफी हुन्छ।’

यसपालि लहानमा आँपको मूल्य कम छ। आँपको उत्पादन कम भए पनि मूल्य भने पोहोरको जत्तिकै छ। मालदह खुद्रा ५० रूपैयाँ किलोभन्दा बढी छैन। बम्ई आँपको मूल्य प्रतिकिलो ७० रूपैयाँ सम्म छ।

खासगरि सप्तरी र सिरहामा उत्पादित आँप स्वादिलो हुने भएकाले नारायणघाट, काठमाडौं, पोखरालगायत भारतको बिहार राज्यमा यसको बढी माग हुन्छ।

अढाई बिघामा आँप खेती गरेका मल्हनवाका मिश्री यादव पनि यसपालिको मूल्यबाट सन्तुष्ट छैनन्। आँप कम फल्दा मूल्य बढी हुनुपर्नेमा ठ्याक्कै उल्टो भएको उनले बताए। उत्पादन पनि कम, मूल्य पनि कम हुँदा किसान चिन्तित भएको उनले बताए।

सिरहा र सप्तरीलाई आँप खेतीको भण्डार मानिन्छ। सिरहा र सप्तरीका किसानले आम्रपाली, मालदह, बम्बई, दसहरी, कलकतिया जातका आँपको खेती गर्दै आएका छन्। आँप तीन वर्षमा दुई वर्ष बढी फल्ने र एक वर्ष कम फल्ने मधेस प्रदेशका कृषि निर्देशक राजीव यादवले बताए। ‘यो कम आँप फल्ने वर्ष हो,’ उनले भने, ‘यसपालि ठ्याक्कै पोहोरको तुलनामा कति कम आँप उत्पादन भयो भन्न तथ्यांक चाहिन्छ। अहिलेसम्म जिल्लाबाट तथ्यांक आइपुगेको छैन्।’

मालदह भर्खर टिप्न थालिएको उनले बताए। कलकतिया, आम्रपाली, दसहरी, जर्दालगायतका आँप किसानले असारसम्म टिप्छन्। यसपालिको तथ्यांक असारको अन्तसम्म आउने उनले बताए। ‘तर यसपालि पोहोरको तुलनामा कम आँप उत्पादन भएकै हो,’ उनले भने, ‘प्रतिशतमा कति कम भन्न तथ्यांक नै चाहिन्छ। तर सामान्य सिद्धान्तअनुसार तीन वर्षमा एक वर्ष बढीमा ३० प्रतिशतसम्म उत्पादन कम भएको पाइएको छ।’

आँपमा मधेस अब्बल

नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ। मुलुकभर करिब ४२ हजार १ सय ९६ हेक्टर जग्गामा आँप खेती हुँदै आएको छ। मुलुकभरि वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टन हाराहारीमा आँप उत्पादन हुन्छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेस प्रदेशमा मात्र ३ लाख ४१ हजार ४ सय ४५ टन आँप फल्छ। मधेस प्रदेशमा वर्षैपिच्छे आँप खेती विस्तार हुँदै गएको मन्त्रालयको तथ्यांक छ। आव २०७८/७९ मा २७ हजार ६ सय ५३ हेक्टर क्षेत्रमा आँप खेती भएको थियो। जसमा ३ लाख ८६ हजार ६ सय ५९ मेट्रिक टन आँप उत्पादन भएको थियो। २०७९/८० मा २९ हजार ९९ हेक्टरमा आँप खेती गरिएको थियो। जसमा ३ लाख ९५ हजार ७ सय ९४ मेट्रिक टन आँप उत्पादन भएको थियो। २०८०/८१ मा ३३ हजार १ सय ७१ हेक्टरमा आँप खेती गरिएको थियो। जसमा ३ लाख ४६ हजार ६ सय ८१ मेट्रिक टन आँप फलेको थियो।

मधेसका आठवटै जिल्लामा आँपको व्यावसायिक खेती भए पनि सबैभन्दा बढी उत्पादन सप्तरी र सिरहामा हुन्छ। गत वर्ष सप्तरीमा ७ हजार ५ सय हेक्टर क्षेत्रमा आँप लगाइएको थियो।

उक्त क्षेत्रफलमा ८६ हजार २ सय ५० टन आँप फलेको थियो। गत वर्ष सिरहामा ९ हजार ५ हेक्टर क्षेत्रमा आँप लगाइएको थियो। गत वर्ष सिरहामा १ लाख ३ हजार ५ सय ५८ टन आँप उत्पादन भएको थियो।

त्यस्तै गत मधेस प्रदेशकै धनुषामा ३ हजार २ सय हेक्टर क्षेत्रमा आँप लगाइएकोमा ३६ हजार टन उत्पादन भएको थियो। महोत्तरीमा ४ हजार हेक्टरमा आँप लगाइएकोमा ४५ हजार टन उत्पादन भएको थियो। सर्लाहीमा २ हजार ५ सय हेक्टरमा आँप लगाइएकोमा ४५ हजार टन उत्पादन भएको थियो। सर्लाहीमा २८ हजार ७ सय ५० टन आँप फलेको थियो। रौतहटमा १ हजार ३ सय २५ हेक्टरमा आँप लगाइएकोमा १५ हजार २ सय ३७ टन उत्पादन भएको थियो।

यसैगरी बारामा १ हजार ५ सय हेक्टरमा आँप लगाइएकोमा १६ हजार ८ सय ७५ टन फलेको थियो। यसैगरी गत वर्ष पर्सामा ८ सय ५० हेक्टरमा आँप लगाइएकोमा ९ हजार ७ सय ७५ टन उत्पादन भएको मधेस प्रदेशको कृषि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मधेसमा बम्बई, दसहरी, मालदह, जर्दा, आम्रपाली, कलकत्तिया, मिश्रीकनलगायत जातका आँप उत्पादन हुन्छ। हावापानीका दृष्टिले मधेस आँप उत्पादनका लागि अनुकूल क्षेत्र हो। तर आँपका उपभोक्ता बढिरहँदा स्वदेशी उत्पादन भने त्यही हिसाबमा बढ्न सकिरहेको छैन।

शीतभण्डार नहुँदा समस्या

२०८१ चैत २६ गते मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताएका थिए। मधेसको आँपको रसलाई जुसको रूपमा ब्रान्डिङ गरेर मनग्य आम्दानी लिन सकिने पनि उनले बताएका थिए। यसका लागि आँपको संकलन र भण्डारण आवश्यक छ। तर आँपको भण्डारण गर्न आवश्यक पर्ने शीतभण्डार मधेस प्रदेशमा छैन। न शीतभण्डार छ न आँप किसानलाई प्रोत्साहन गर्ने सरकारी सहयोग नै छ।

सबैभन्दा बढी आँप उत्पादन हुने सिरहा र सप्तरीमा शीतभण्डार छैन। ‘शीतभण्डार भए किसानले आँप भण्डारण गरी मूल्य आएका बेला बेच्न पाउँथे,’ लहानको आँप बजारमा भेटिएका आँप किसान सागर चौधरीले भने, ‘सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्रमा शीतभण्डार नहुनु विडम्बना हो।’

शीतभण्डार बनाउन मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७५ कात्तिक २० मा प्रस्ताव आह्वान गरेको थियो। प्राप्त प्रस्तावमध्ये मन्त्रालयले आठ संस्थालाई छनोट गरेको थियो। शीतभण्डार निर्माणका लागि सप्तरी जिल्ला सहकारी संघ, शुभनारायण कृषि व्यावसायिक फार्म, जनहित कृषक समूह, लक्ष्मीनिया धनुषा, लवकुश बचत तथा ऋण सहकारी संस्था, बरहथवा सर्लाही, राप्ती हर्बल प्रोसेसिङ प्रालि रौतहट, अमन मत्सय फार्म सिम्रौनगढ बारा, शिवम एग्रो इन्डस्ट्री सुगौली पर्सा र ग्लोबल लेदर ट्रेनिङ इन्डस्ट्री वीरगन्ज छनोटमा परेका थिए। प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लामा एकएकवटा शीतभण्डार बनाउने योजनाअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा शीतभण्डार निर्माणका लागि १६ करोड र अर्को आवमा ४० करोड र त्यसपछि २० करोड रूपैयाँ विनियोजन गरेको थियो।

तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भन्छन्, ‘मधेसको मेरुदण्ड कृषि उत्पादनलाई संरक्षण, प्रबद्र्धन र बजार व्यवस्थापनका लागि आठवटै जिल्लामा शीतभण्डार निर्माणको योजना ल्याएका थियौं तर योजना कार्यान्वयन प्रक्रियामा गएसँगै उजुरी र निवेदन हाल्ने क्रम सुरु भयो, त्यसले समस्या भयो।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परे शीतभण्डार योजना ओझेलमा परेको उनले बताए। पछि आफू अर्थ मन्त्री भएका बेला पनि शीतभण्डारका लागि बजेट विनियोजन गरेको स्मरण गर्दै उनले भने, ‘किसानका लागि बरदान साबित हुने यो योजना केही व्यक्तिका कारण अलपत्र पर्‍यो।’

अलपत्र शीतभण्डार योजनालाई कानुनी बन्दोबस्त मिलाएर पूरा गरिनुपर्ने उनको भनाइ छ। मधेस प्रदेश कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रीस्तरीय निर्णयका आधारमा तय गरिएको शीतभण्डार योजना प्रदेशभरि नै अलपत्र परेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस