पश्चिम तराईमा माघी रौनक
३० पौष २०७५
•
१५ मिनेट पाठ
पश्चिम तराईमा माघी रौनक
लठवा नाच नाच्दै थारू कलाकार । तस्बिर : योगेश रावल/नागरिक
नेपालगन्ज - पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्। छिमेकका ‘हुनेखाने’ ले माघीलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँथे। तर, कृष्णीका घरमा भने साहु र उनका परिवारबीच चल्ने मोलमोलाइले कमलरी दासताको नयाँ अध्याय सुरु हुन्थ्यो।

‘कहाँ जाने ? कसको घरमा जाने ? साहु आएर मोलमोलाइ गर्थे’, उनले भनिन्, ‘माघी त किन आएको होला भन्ने लाग्थ्यो। माघ १ गते साहुले घरबिदा दिन्थे। २ गतेदेखि नयाँ साहु चयन हुन्थे। अनि ३ गते नै साहुको घर सोझिनुपथ्र्यो। सयपचास र लुगाफाटो जसले बढी दिन्थ्यो, उसैको घरमा जानुपर्थ्याे यो।’

बर्दियामा रहेको अतिविपन्न परिवार। कृष्णीका पाँच दिदीबहिनी, सबै मालिकको घरमा कमलरी थिए। विपन्नताको सिकार बनेको उनको परिवारले चाहन्थ्यो, ‘साहुको घरमा कमलरी बसेपछि कमसेकम खान त पाउँछन्।’ बर्दियाका एक सरकारी हाकिमको घरबाट सुरु भएको कृष्णीको कमलरी जीवन नौ वर्षसम्म चल्यो। ‘अरू जाति मात्रै होइन, थारूकै घरमा पनि कमलरी बसें’, उनले भनिन्। १६ वर्षको उमेरमा उनको विवाह भयो। दासतामा बाल्यकाल पूरा गरेकी उनी गाउँकै कमैया परिवारमा बुहारी बनेर भित्रिइन्। विवाह गरेपछि यो दासताबाट मुक्ति मिल्ने आशा थियो। विवाहपछि पनि उही नियति ‘कमलरी दासता।’

‘कहाँ जाने ? कसको घरमा जाने ? साहु आएर मोलमोलाइ गर्थे। माघी किन आएको होला भन्ने लाग्थ्यो। माघ १ गते साहुले घरबिदा दिन्थे। २ गतेदेखि नयाँ साहु चयन हुन्थे। ३ गते साहुको घर सोझिनुपथ्र्यो। सयपचास र लुगाफाटो जसले बढी दिन्थ्यो, उसैको घरमा जानुपथ्र्यो।’ –उपसभामुख कृष्णी चौधरी

उनका पति कृष्ण थारू कमैया थिए। ज्याला पतिको मात्रै तोकिएको थियो। त्यही ज्यालामा कृष्णी कमलरी बनिन्। ‘महिलालाई दइन्नथ्यो’, उनले भनिन्, ‘पतिकै ज्यालामा मैले काम गर्नुपथ्र्यो।’ विवाहपछिका सात वर्षमा आएका माघी पर्व पनि उसै गरी मालिकसँगको सम्झौतामा बिते। २०५७ मा कमैया मुक्ति आन्दोलन चल्यो। उनीहरू मुक्त भए। ‘कमैया मुक्ति घोषणापछि हामीलाई साहुले जा भनेर पठाइदिए’, उनले भनिन्, ‘कहाँ जाने ? बस्ने घर थिएन।’

कमैया र कमलरी मुक्तिबारेमा चर्का बहस हुन थाले। त्यसको नेतृत्व कृष्णीले लिइन्। यस बीचमा उनलाई आलोचना गर्नेहरूको ताँती लाग्यो। तथापि उनी विचलित भइनन्। मुक्त कमैया समाजको बर्दिया जिल्ला उपाध्यक्ष हुँदै उनी केन्द्रीय सदस्य बनिन्। पुरुष र महिलाबीचको विभेदले उनलाई कमलरी मुक्ति आन्दोलनमा केही असहज महसुस भयो। उनकै नेतृत्वमा कमैया महिला जागरुक समाज गठन भयो। अधिकार प्राप्तिका लागि बनेका यस्ता अभियानको नेतृत्व लिने क्रममा उनी पार्टी राजनीतिमा आबद्ध भइन्। तत्कालीन एमाले राजनीतिमा प्रवेशसँगै उनलाई महिला अधिकारका पक्षमा आवाज उठाउन अझ सहज भयो। गत प्रदेशसभा निर्वाचनमा उनी निर्वाचित भइन्। उनी अहिले प्रदेशसभाको उपसभामुख पदमा आसीन छिन्।

विगतको कालो इतिहास, अहिलेको उच्च ओहदाको आसन। तथापि विगतका माघीलाई भुल्न सजिलो छैन उनलाई। ‘मालिकको घरको भुइँमा सुतेको गनाउँछेस् भनेर बिहानै नुहाउन पठाएको, अरूले फालेको खाना खाएको तितो पल अहिले पनि ताजै छन्,’ उनले भनिन्, ‘नयाँ मालिकसँगको दासता सम्झौता भएको क्षण भुल्न पाए आनन्द हुन्थ्यो भैंm लाग्छ।’ उनी अहिले माघीका अवसरमा हुने विभिन्न कार्यक्रममा सहभागी छिन्। माघीलाई सद्भाव जोड्ने पर्वका रूपमा उनले बुझेकी छिन्।

प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ शान्ता चौधरीलाई पनि माघीमा साहुको घरबाट मिल्ने छुटकाराले औधी खुसी बनाउँथ्यो। तर, यो खुसी दुई दिनसम्म टिक्नै पाउँदैनथ्यो। माघकै दिनदेखि घरमा बैना बुझाउन मालिकहरूको ओइरो लाग्थ्यो। माघको भोलिपल्टै कुनै एक साहुको घरमा कमलरी दासताको म्याद एक वर्षका लागि थपिन्थ्यो। ‘माघ १ गते स्वतन्त्र हुन पाउँथें, त्यो एक दिन पनि जीवनभर स्वतन्त्र भएजस्तो लाग्थ्यो’, उनले भनिन्, ‘२ गते स्वतन्त्रता खोसिन्थ्यो, दासताको म्याद एक वर्षका लागि थपिन्थ्यो।’ घोराही रामपुरकी उनको जीवन आठ वर्षको कलिलो उमेरदेखि नै दासतामा होमियो। उनको बाल्यावस्था र बैंस दासतामै बित्यो। न त विवाहपछि उनले यो दासताबाट मुक्ति पाइन्।

शान्ता २०६३ मा चलेको कमलरी मुक्तिको अभियानमा सहभागी भइन्। अभियानको नेतृत्व उनले नै गरिन्। अभियानले सफलता पायो। अभियानसँगै उनी तत्कालीन एमालेको राजनीतिमा होमिइन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सांसद चुनिइन्। २०७० को संविधानसभा निर्वाचनमा पराजित भएकी उनी अहिले प्रतिनिधिसभा सदस्य एवम् नेकपाकी सचेतकसमेत हुन्।

कमलरी उन्मूलन मात्रै होइन, सदीयौंदेखि साहुको ‘बँधुवा’ (कमैया) का रूपमा रहेका थारू समुदायमा ठूलो परिवर्तन भएको छ। थारू अगुवाका अनुसार सात दशकअघिसम्म थारूहरूमा आत्मनिर्णयको अधिकार थिएन। जमिन जोताहा उनीहरू शासकहरूकै शासनमा बाँधिनुपथ्र्यो। उनीहरूको आफ्नो घर हुँदैनथ्यो। उनीहरू साहुले दिने सानो गोठ वा कटेरोमा जीवन निर्वाह गर्थे। थारू बस्तीमा त्यसताकाका माघी उत्सव बन्दैनथ्यो। उनीहरू साहुसँगको ‘बार्गेनिङ’ मा व्यस्त हुन्थे। दाङका थारू अगुवा रामप्रसाद चौधरी भन्छन्, ‘माघी मानिसकेपछि साहुको घरमा काम गर्न जानुपथ्र्यो।’

थारूहरूको माघी अहिले बेग्लै बन्दै गएको छ। बस्तीमा नयाँनयाँ विकासे योजना बुनिन्छन्। ‘गाउँमा कुुलो पानी, सडक मर्मतजस्ता विकासका अजेन्डा तय गरेर विकास निर्माणको काम गर्छौं,’ चौधरीले भने, ‘अचेलका माघीमा कमैया बस्ने, कमलरी बस्ने विषयमा छलफलै हुँदैनन्।’ केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर थारूको जनसंख्या १८ लाख हाराहारीमा छ। तर, थारू अगुवाहरूले तयार गरेको तथ्यांकअनुसार देशभरको थारूहरूको संख्या २५ लाखको हाराहारीमा छ।

योजना छनोटको वर्ष

निकै हर्षोल्लाससाथ थारू समुदायले मनाउने माघ १ अर्थात् माघी पर्व उनीहरूले रमाइलोमा मात्रै सीमित राख्दैनन्। माघी उनीहरूका लागि योजना बुन्ने अवसरसमेत बन्ने गरेको छ। यो उनीहरूको नयाँ वर्षसमेत हो। यस पर्वमा थारू समुदायले वर्षभरि बस्तीमा भएका कार्यको समीक्षा गर्दै आगामी वर्षको नयाँ रणनीति तय गर्छन्। यस्ता योजना बस्ती विकाससँग मात्रै सम्बन्धित हुँदैनन्। बस्तीका हरेक परिवारका पारिवारिक योजनासमेत यसै पर्वमा तय गरिन्छन्। ‘कसैले छोरा वा छोरीको विवाह गर्न खोज्यो भने कचहरीमा कुरा राख्नुपर्छ,’ थारू अगुवा चन्द्रप्रसाद चौधरी भन्छन्, ‘अनि महतवाले ठीक छ भनेपछि मात्रै विवाह हुने परम्परा छ।’ उनले माघीमा प्रस्ताव नराखेर अन्य समयमा विवाह गर्न नमिल्ने थारू संस्कृति रहेको बताए। ‘कसैले त्यस्तो गरिहालेमा पछि ऊ कारबाहीको भागीदार बन्नुपर्छ,’ उनले भने। तर, अहिले थारू समुदायमा यो परम्परा लोप हुँदै गएको छ।

विवाह उत्सव

थारू समुदायमा माघभरि विवाह बढी हुन्छन्। माघीमा कचहरीमै विवाहको प्रस्ताव उठाउनुपर्छ। माघीमा बुहारीभन्दा राम्रो ज्वाइँ खोजीको चिन्तन यो समुदायमा बढी रहने थारू अगुवा बताउँछन्। विवाहका लागि राम्रो बुहारी वा ज्वाइँ नभेट्टाउनेहरूले फागुनमा पनि विवाह गर्ने चलन छ।

थारू बस्तीमा धुमधाम ‘माघी’

थारू समुदायको मुख्य चाड माघी यो समुदायले धुमधामका साथ मनाउँदैछ। यतिबेला घर लिपपोत गरी सिँगारिएका छन् भने बस्ती सरसफाइ गरी चिटिक्क पारिएका छन्। यसै गरी थारू नाचगानले बस्ती गुञ्जायमान बनेका छन्।

माघीको स्वागतका लागि बर्दिया जिल्लाका विभिन्न ठाउँमा माघी महोत्सव आयोजना गरिएको छ। माघी महोत्सवमा अवलोकनकर्ताको भीड बढेको बाँसगढीस्थित माघ महोत्सव संयोजक रामसिंह थारूले बताए। मुलुकका विभिन्न स्थान वा विदेशमा रहेका थारू समुदाय माघ उत्सव मनाउन घर फर्किसकेका छन् ।

धार्मिक महत्वको चाड भएकाले बिहानै नुहाइधुवाइ गरेर शिवजीको पूजा गर्नुपर्छ। पूजा गरी सेतो चामलको टीका लगाइन्छ। थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा लिने गरेको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष बिरु चौधरीले बताए। उनका अनुसार घरमा आएका चेलीबेटीलाई नुन, चामल, दाल छुट्याएर दिने परम्परा छ।

पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइने माघलाई मिठो खाने र राम्रो लगाउने उत्सवका रूपमा लिइन्छ। यस चाडमा थारूहरूले ढिक्रीलगायतका परिकार तथा सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खान्छन्। मघौटा नाच यो पर्वको अर्को विशेषता हो। यस्तै घरघरमा गएर सकिया नाच देखाइन्छ। ‘माघी सुरु भएसँगै मीठो खानपिनका साथै घरघरमा गएर सकिया नाच गाएर रमाइलो गर्छौं,’ अस्मिता चौधरीले भनिन्। नाचमा बूढादेखि बालकसम्म सहभागी हुन्छन्।

यसै दिन ठूलाबडा वा आफन्तसँग आशीर्वाद लिने चलन छ। सन्तान नभएका व्यक्तिले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको खैरीचन्दनपुरका माधव निगमले बताए।

‘पुस मसान्तका दिन बनाइने खानाका परिकारका लागि चामलको पिठोलगायतका सबै तयार गरिसकेका छौं,’ धनगढी उपमहानगरपालिका–१० का रुपनिया चौधरीले भनिन्। माघ १ गते काँचो मासु हेर्नु हुँदैन भन्ने मान्यताअनुसार पुस मसान्तको साँझ मासु पकाएर राख्ने चलन रहेको कैलाली उर्माका भानुराम चौधरीले बताए।

माघीमै गाउँभरका बसेर एकजना नेता ‘भलवन्सा’ चयन गरिन्छ। औषधि मूलो गर्ने गुरुवा र चौकीदार पनि यसैबेला चुन्ने गरिन्छ। माघीका अवसरमा माघ १ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

(दिलबहादुर छत्याल/धनगढी, निर्मल घिमिरे/बर्दिया र देवेन्द्र बस्नेत/दाङ)
अर्को समाचार
पश्चिम तराईमा माघीको रौनक
३० पौष २०७०
•
८ मिनेट पाठ
पश्चिम तराईमा माघीको रौनक
नेपालगन्ज– बाँके बैजापुरकी सुमित्रा चौधरीलाई तीन दिनयता एकछिन पनि फुर्सद छैन। माघी पर्वको तयारीले उनलाई व्यस्त बनाएको हो। 'घरका लोग्नेमान्छे र पाहुनाका लागि जाँड र रक्सी तयार पारिसकेँ,' ३२ वर्षीया सुमित्राले भनिन्, 'अब ढिक्री र अचार बनाउन बाँकी छ। आज (मंगलबार) रातिसम्म सबै परिकार तयारी गरिसक्नु छ।'
बैजापुरकै मीना थारूले माघी मनाउनका लागि एक साताअघि राप्ती नदी र छेउछाउका खोलामा माछा मारेको सुनाइन्। 'झोल (जाँड) चार महिनादेखि नै तयार छ, माछा पनि तयार भइसक्यो,' उनले भनिन्। उनले ढिक्री बनाउँदै गर्दा पति रामगोपाल भने बंगुर काट्न व्यस्त थिए।

सुमित्रा, मीना, रामगोपालजस्तै पश्चिम तराईका थारू महिला–पुरुषलाई नयाँ वर्ष माघी पर्वलाई उल्लासपूर्वक मनाउन भ्याइ–नभ्याई छ। थारूहरूको बाक्लो उपस्थिति रहेका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा माघी मनाउने तयारी धुमधाम भइरहेको छ। यस क्षेत्रमा थारू समुदायको जनसंख्या करिब १० लाख छ।

माघीको पूर्वसन्ध्यामा थारू बस्ती नाचगानले गुन्जायमान भइसकेका छन्। खानेकुराका विभिन्न परिकार तयार गर्न भ्याइ–नभ्याई छ। अधिकांशको घरमा सुँगुर काटिइसकेको छ। मीठा–मीठा परिकार पकाउने क्रम चलिरहेको छ। यो पर्वमा विशेष महत्व राख्ने सुँगुरको मासुसँगै जाँड खाने चलन छ। थारू समुदाय अहिले घरधन्दा छाडेर नाचगान र खानपिनमा व्यस्त बनेको छ। खेतीपातीको काम सकेर फुर्सदिला बनेका उनीहरू अब झन्डै साता दिनसम्म खानपिनमै तल्लीन हुन्छन्। माघ १ गतेदेखि आफन्तकहाँ पाहुर (कोशेली) लगेर जाने क्रम सातादिनसम्मै जारी रहन्छ। केही वर्ष अघिसम्म भने यो पर्व एक महिनासम्म मनाइन्थ्यो।

अघिल्लो वर्षका क्रियाकलापको समीक्षा र नयाँ वर्षमा गरिने योजना बनाउन थारूहरू व्यस्त बनेका छन्। यस्ता योजना प्रायः विकास–निर्माणसँग सम्बन्धित हुन्छन्। पुलपुलेसा, कुलो, सिँचाइ तथा बाटोघाटो निर्माणलाई प्राथमिकतामा राख्ने गरिन्छ। 'अघिल्लो वर्ष हुन नसकेका कामलाई कसरी सम्पन्न गर्ने र नयाँ काम के–के गर्ने भन्ने योजना माघीदेखि नैै बनाइन्छ,' प्रजातान्त्रिक थारू समाज दाङका अध्यक्ष लक्ष्मीमान चौधरीले भने।

हरेक गाउँमा थारू समुदायका अगुवा तोकिएका हुन्छन्। ठाउँअनुसार यी अगुवालाई महतवा, बडघर, भलमन्सा नाम दिइएको हुन्छ। यिनै अगुवालाई निर्णायक मानेर अगुवाकै निर्णयअनुसार हरेक क्रियाकलाप हुने गर्छ।

जाँड, माछा, बंगुरको मासु, ढिक्री तथा अन्य खानेकुरा तयार गरेपछि माघ १ गते बिहानै ५ बजे उठेर नदी या खोलामा पुगी नुहाएपछि पर्व सुरु भएको मानिन्छ। नदीमा नुहाइसकेपछि गाउँको बडघर या मूली मान्छेको घरमा पुगेर नाचगान गर्ने परम्परा छ। नाचगानपछि सेतो चामलको टीका लगाइन्छ। 'सेतो चामलको टीका लगाउनुको अर्थ हामी पवित्र भयौं भन्ने हो,' कोहलपुरका वीरबल चौधरीले भने।

अगुवाको घरमा जम्मा भएर विभिन्न योजना तय गर्ने कार्यलाई थारूहरु 'माघी देवानी' भन्छन्।

नयाँ वर्ष चयन गरिएका योजना समुदायकै पहलमा गर्न सकिने भए उनीहरू सामूहिक रूपमा ती कार्य गर्छन्। समुदायले एक्लै गर्न नसक्ने कार्य पूरा गर्ने जिम्मा महतवालाई दिइन्छ। तिनै अगुवाले सरकारी–गैरसरकारी विभिन्न निकायसँग समन्वय गर्नुपर्छ। त्यस्ता अगुवाको छनोट पनि माघीकै दिन गरिने बुद्धिजीवी अशोक चौधरी बताउँछन्। 'जसले सरकारी निकायसम्म राम्रो समन्वय गर्न सक्छ, उसैलाई महतवा चयन गरिन्छ,' उनले भने।

उनका अनुसार माघी पर्व थारू समुदायको राजनीतिक योजना बनाउने पर्व पनि हो। गाउँका अगुवा (महतवा) को अस्तित्व खस्कँदै गएको बताउँदै उनले महतवाको अस्तित्व पञ्चायतकालकै जस्तो कायम होओस् भन्नेमा थारू समुदाय रहेको बताए। उनका अनुसार पञ्चायतकालमा थारू समुदायको भोट माग्न जाने जो कसैले पनि महतवासँग अनुमति लिएरमात्रै भोट माग्न पाउँथे।

माघीमै गाउँलेले चुनेका कतिपय महतवा पनि नेतृत्व गर्न नसक्ने भन्दै पछि हट्ने गरेका छन्। त्यस्ता गाउँमा चुनावी प्रक्रियाद्वारा पुनः नयाँ महतावा चयन गरिएको पाइन्छ।

माघीको सांस्कृतिक महत्व पनि उत्तिकै छ। यो पर्वलाई थारू संस्कृति संरक्षण गर्ने पर्वका रुपमा पनि लिइन्छ। एक सातासम्म नाचगान गरेर माघी मनाइन्छ। माघीमा नाचिने नाचलाई मघौटा नाच भनिन्छ। मुख्यतः युवायुवती मिलेर घरघरमा गई मघौटा नाच्ने गरिन्छ। थारू बस्तीमा यो नाच सुरु भइसकेको छ।

'माघीमा मघौटा नाचको विशेष महत्व रहन्छ,' प्रजातान्त्रिक थारू समाजका अध्यक्ष लक्ष्मीमानले भने, 'यो नाच नयाँ वर्षको खुसियालीमा नाच्ने गरिन्छ।' माघे संक्रान्तिको अघिल्लो दिन दाउरा बोकेर महतवाको घरमा जम्मा भएर नाच्ने चलन छ। महतवाको घरमा दाउरा बालेर रातभर जाग्राम भई 'ढुंग्रु' नाच नाचिन्छ। रातभर जाग्राम भई नाच्ने उनीहरू अर्को दिन बिहानै ताल, पोखरीमा गएर नुहाउँछन्। त्यसपछि महतवासँग टीका थापेर आशीर्वाद लिएसँगै वार्षिक कार्ययोजना छनोटमा यो जुट्छन्। दसैंबाट थारू समुदायले सुरु गरेको 'ख्यारा' नाच पनि माघी पर्वमा समापन हुन्छ। यो नाच मिठो खाएर समापन गर्ने गरिन्छ।

यो पर्वमा जाँड र ढिक्री (चामलको पिठोबाट बनाइएको परिकार) को विशेष महत्व रहने गर्छ। यसरी पकाइएका परिकार थारू समुदायले आफन्तीलाई पाहुर लगिदिने चलनसमेत छ।

माघी पर्वमा जिल्लाका धार्मिकस्थल रिहार र बाह्रकुने दहमा भव्य मेला लाग्छ। रिहारमा लाग्ने मेलामा भारतबाट समेत सयौं भक्तजन पूजाआजाका लागि आउँछन्। रिहारस्थित बगारबावा मन्दिरमा भक्तजनको घुइँचो हुन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस